आमा भन्नुमा र नबन्नुमा धेरै फरक हुँदोरहेछ। कसैका लागि यो सामान्य पनि लाग्न सक्छ तर आमा हुँदाको यो क्षण एक नारीका लागि महत्वपूर्ण चरण हो।
हरेक विवाहित नारी सृष्टिको एउटा चक्रसँगै आमा बन्छे। त्यसपछि नारीका लागि सायद दोस्रो अध्याय सुरु हुन्छ। आमा भन्नुमा र बन्नुमा बहुत धेरै फरक हुँदोरहेछ। हुन त मान्छेले हरेक क्षणलाई कसरी लिन्छन् भन्ने पनि हो। कसैका लागि यो सामान्य पनि लाग्न सक्छ। तर कसैका लागि आमा हुँदाको यो क्षण एक नारीका लागि महत्त्वपूर्ण चरण हो। यसमा धेरै चुनौतीका बाबजुद अनेकन खुसी भरिएका हुन्छन्।
परिवारमा नयाँ सदस्यको आगमन हुनु हरेक कामको परिवर्तन हुनु हो। हरेक आमाको दिनचर्या बदलिनु हो। म पेसाले पत्रकार र सामाजिक अभियन्ता। विवाहअगावै सुरु गरेको सुरक्षित महिनावारी राष्ट्रिय अभियान हाल देशव्यापी छ। जसको उद्देश्य विशेषगरी विद्यालयका किशोरी र महिलाको रजस्वला सुरक्षित र स्वस्थ हुनुपर्छ भन्ने थियो। हरेक नारी स्वस्थ भएमात्रै स्वस्थ बच्चा जन्माउन सकिन्छ भनेर गाउँगाउँ पुगेर जनचेतना जगाएको थिएँ। यो अनुभवले पनि शरीरप्रति बढी नै ख्याल गर्ने बानी परिसकेको छ।
२०७७ सालमा मेरो विवाह भयो। बिहेपछि बच्चा जन्माउनुपर्छ भन्ने सोच आउनु स्वाभाविक हो। तर हरेक पारिवारिक र पेसागत कामले गर्दा बच्चा जन्माउने योजनालाई थोरै पछाडि सार्यौं। विवाहको तीन वर्षपछि अब बच्चा जन्माउनुपर्छ भन्ने पारिवारिक योजनाअनुसार हामीले शारीरिक स्वास्थ्य अवस्था जँचायौं। डाक्टरले सबै ठीक छ, अब बच्चाको योजना बनाउनु राम्रो हुन्छ भनेर सल्लाह दिए। सोही योजनाअनुसार २०८१ वैशाखमा म आमा बन्न लागेको सकारात्मक रिपोर्ट आयो।
बुटवलको उखर्माउलो गर्मी, बच्चा पेटमा आइसकेपछि ‘हर्मन’ परिवर्तनले आलस्यपनमात्रै भयो। खाना खायो कि बान्ता हुने, रिंगटा लाग्ने। यी सब चिजले मलाई यस्तो बनायो कि आमाभन्दा जति सजिलो छ, बन्दा निकै गाह्रो हुँदोरहेछ। शरीरसँगै पेटभित्रको अर्को शरीर पनि बचाउनुपर्ने अवस्था साँच्चिकै गर्भवती महिलाका लागि महत्त्वपूर्ण चरण रहेछ। पेसागत काम गर्ने र सोच्नेै नसकिने अवस्था आयो। भित्रभित्रै डर, कमजोरी, रिगंटा यस्तै कारणले गर्दा एक दिन बिताउन पनि महिनादिन जस्तै लाग्न थाल्यो।
एकातिर बुटवलको चर्को गर्मी अर्कोतिर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डाक्टर अनुभवी भए पनि आकस्मिक सेवा समयमै नपाइएला भन्ने त्रासले काठमाडौं जाने निधोमा पुग्यौं। हुन त : आममान्छेको उपचार गर्ने थलो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल हो। बुटवलमा निजी अस्पतालको कमी त थिएन तर सुरक्षित प्रसूतिका लागि मान्छेहरूले प्रादेशिक अस्पताल नै रोजाइमा पर्छन्। म पनि केही समय अगाडि अाकस्मिक सेवा लिन यही अस्पताल पुगें। तर, यस अस्पतालका महिला चिकित्सकको रुखोबोली र हेलचेक्र्याइले फर्किएर जाने मनै भएन। पत्रकारिता पेसामै क्रियाशील भएकाले पनि धेरैपटक यहाँको यस्ता हेलचेक्र्याइ देखेको थिएँ, लेखेको थिएँ।
पुरानो व्यवहार दोहोरिने त्रासले काठमाडौं जाने निधो गर्यौं। प्राय : काठमाडौंको नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउने भएकाले बच्चा जन्माउने योजना पनि त्यही गएर गर्नुपर्छ भन्ने निष्कर्षमा पुगें। सफा, शान्त अनि भरपर्दो अस्पताल जस्तो महसुस हुन्छ। मन त्यसै ढुक्कले भरिन्छ। कुनै कुनामा लुकेर बसेका सबै त्रास क्षणभरमै हराउँछन्। अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. अचला वैद्यले भिडियो एक्स–रे गर्न पठाउनु भयो। भिडियो एक्सरेमा बच्चा पाठेघरमै बसेको रिपोर्ट आयो। जबकि बुटवलको एक निजी क्लिनिकमा बच्चा पाठेघरभित्र छ कि बाहिर भनेर कन्फर्म गर्न दुई महिनापछिको समय दिइएको थियो।
तर दुई महिना कुर्ने समय लामो लाग्यो। पेटमा बच्चा आइसकेपछि पाठेघरमै बसेको छ कि बाहिर भनेर ढुक्क हुनसमेत महिनौं पर्खनुपर्ने बुटवलको समस्याले जबरजस्त काठमाडौं धकेलेको थियो। बुटवलमा घर, परिवार, आफन्त, इष्टमित्र र साथीसंगी छन्। काम गर्ने प्रमुख थलो पनि यही छ। तर, सबै चिज हुँदा पनि स्वास्थ्य जोखिम नहोस् भनेर काठमाडौं पुग्यौं। बुटवलमा सबै छ तर ढुक्कसँग उपचार गर्ने भरपर्दो ठाउँ छैन।
जब नर्भिक अस्पतालमा डाक्टर अचलाले ‘तिम्रो बच्चा नौ महिनाको बनाइदिन्छु, जन्माउन जहाँ गए पनि हुन्छ’ भन्नुभयो तब म एकाएक शून्य बनें। मुटु फुटे झैं भएँ। अाँखाबाट मूल फुटे झैं आँसु बगे। पसिना आयो। डाक्टरले ढुक्कसँग बच्चा नौ महिनाको बनाइदिन्छु भन्दाको खुसीले बहकिएँ। गर्भावस्थाकी महिलालाई डाक्टरले यसरी हौसला दिँदा योभन्दा खुसीको क्षण अरू के हुन सक्छ ? यस्ता डाक्टर हरेक अस्पताल हुने भए
गाउँका बिरामी यसरी दौडिएर सायदै काठमाडौं आउने थिए।
त्यसपछि नौ महिनासम्मै नियमित चेकजाँच डा. अचलासँगै गराएँ। तर तीन महिना पुग्दा ममा पूर्वरक्तस्राव देखियो। मध्यरात १ बजे रक्तस्राव हुँदा मेरो होसहवास उड्यो। विभिन्न पत्रपत्रिका र अनलाइनमा पूर्वरक्तस्राव हुनु र धेरै मात्रामा सेतो पानी बग्नुलाई खतरा मानिन्छ भनेर पढेकी थिएँ। त्रसित भएँ। तर, साथमा श्रीमान् केशरराज क्षेत्री र सानीआमा चन्द्रा घिमिरे, बहिनी रविना र भाइ रिजनसँगै थिए। सबैको सहयोग रह्यो।
अस्पतालमा फोन गरेपछि चारजना डाक्टरसहितको आकस्मिक टिमले कोठामै आएर सेवा दियो। राति नै अस्पताल गएर भर्ना भएर चेकजाँच गर्दा पेटको बच्चा सुरक्षित रहेको रिपोर्ट आयो। डाक्टरहरूले कहिलेकाहीँ शरीरमा हर्मन परिवर्तन र औषधिको खानपिन समयमा नमिल्दा रगत बग्ने समस्या देखिने बताए। त्यसपछि ढुक्क भएँ। गर्भावस्थाका महिलाहरू गाडीबाट ओर्लनासाथ अस्पतालका कर्मचारीहरू दौडिएर ह्विलचियर लिन आइहाल्ने, चेकजाँच गर्ने डाक्टरको कार्यकक्षमा पुर्याइदिने, गर्भवती र सुत्केरीलाई विशेष हेरचाह गर्ने जस्ता व्यवहारले पनि मेरो मन अस्पतालप्रति सकारात्मक बन्यो।
भन्न त मानिसहरू निजी अस्पतालमा सबै चिज पैसाले गरेको हो भन्छन्। तर, कैयौं त्यस्ता निजी अस्पताल छन्, जहाँ जति पैसा खर्च गरे पनि आवश्यक सेवासमेत पाउन सकिँदैन। स्वास्थ्यकर्मीको मीठो व्यवहार पाइँदैन। मान्छे दु : ख गर्छ, कमाउँछ तर बिरामी पर्दा भरपर्दो उपचार र स्वास्थ्यकर्मीको व्यवहार राम्रो पाउँदैन। चाहना यति हो। नर्भिकदेखि भाडामा लिएको कोठा मात्र पाँच मिनेटको दूरीमा थियो। तर समस्या पर्दा घरमै स्वास्थ्यकर्मी आएर सेवा दिन्थे।
दसैंको टीकाको दिन थियो। टीका लगाएर बसेका थियौं। त्यसैदिन मैले लगाउनुपर्ने सुईको समय थियो तर अस्पतालका स्वास्थ्यकर्मीले टिकाको दिनमा पनि घरमै आएर सेवा दिए। यसले पनि त्यहाँका स्वास्थ्यकर्मीको बिरामीप्रति संवेदनशीलता देखाउँछ। यी सबै चरण पूरा भए। पेटमा बच्चा नौ महिनाको भयो। बीचमा त्यस्तो कुनै समस्या भएन। शल्यक्रियामार्फत बच्चा जन्माउने योजना सुरुदेखिकै थियो। पेटमा बच्चा पनि उल्टो थियो।
२०८१ मंसिर २७ गते बिहान ८ बजे अस्पतालको अप्रेसन थिएटरमा पुग्दा ढुक्क थिएँ। मनमा कत्ति पनि त्रास थिएन। जसले मलाई नौ महिनासम्म चेकजाँच गर्नुभएको थियो, उहाँकै टिम जो थियो। छोरी जन्मिइन्। एक दिन छोरीलाई सीसीयू र आमालाई आईसीयूमा राख्ने नियम भएकाले अर्कोदिन मात्र छोरीसित भेट भयो। ६ दिनसम्म अस्पतालमा बस्यौं। र, आमाछोरी कोठा फर्कियौं।
आज २०८२ मंसिर २७ गते छोरीको पहिलो जन्मदिन। संयोगवश हामी काठमाडौंमै छौं। आमा भइसकेपछि आमाको महत्त्व झन् गहिरो हुँदोरहेछ। आफ्ना सबै चिज सन्तानमै समर्पित हुँदा रहेछन्। यो एक वर्ष एक दिनजस्तै लागेको छ। समय बितेको पत्तै नहुँदो रहेछ। सन्तानसँगका हरेक क्षण निकै यादगर हुँदा रहेछन्। उनको पहिलो मुस्कान, पहिलो स्तनपान, पहिलो हिँड्डुल, पहिलो तोतेबोली, पहिलोपटक हुने शरीरका अनेक अंगहरूको विकास। सबैको खास महत्त्व हुने, लाग्ने।
सबै महिलालाई यस्तोबेला पारिवारिक मायाको जरुरत पर्छ। गर्भावस्था र सुत्केरी अवस्थामा श्रीमान् र आफन्तले दिनुभएको अपार माया र साथले यस्तो बेला पनि धेरै सहज भयो। पछिल्लो एक वर्ष स्थलगत रिपोर्टिङलाई थाती राखें र छोरीको हेरचाहमा छु। पेटमा बच्चा भएदेखि जन्माएर काखमा लिँदासम्म पारिवारजस्तै माया गरेर उपचार गर्ने प्राडा वैद्य र उहाँको टिमप्रति आभारी छौं। अनि शुभकामनासँगै आशीर्वाद प्यारी छोरी ग्रीक अचला क्षेत्री तिमीलाई दोस्रो वर्ष प्रवेशको पलमा।
प्रतिक्रिया दिनुहोस !