सूर्यकै कारण चराचर जीव उत्पन्न हुने, सूर्यद्वारा नै उनका पालन हुने। सूर्यमा नै सृष्टिका लय प्राप्त हुने र जो सूर्यनारायण हो, उनै म हुँ। सूर्य उपासना गायत्री मन्त्रसँग गहिरो सम्बन्ध रहन्छ।
हिमालय पर्वतहरूको महिमाको प्रशंसा वैदिककालदेखि नै गरिएको छ। मानसरोवर र कैलाशले भारत वर्षको आत्मालाई मूर्तरूप दिन्छन्। दुवै वैदिक सनातन धर्मको कालातीत इतिहाससँग अभिन्न रूपमा जोडिएका छन्। मानसरोवर तिब्बतमा अवस्थित एक ताल हो र यसको केही दूरीमा कैलाश पर्वत छ। यसलाई कुबेरको भव्य निवास र शिवको स्वर्ग मानिन्छ।
वेदहरूमा हिमालय शब्द प्रत्यक्ष रूपमा उपस्थिति नभेट्ने सन्दर्भहरू भए पनि हिमालयको व्युत्पत्ति संस्कृत शब्दहरू मार्फत पत्ता लगाउन सकिन्छ। ‘हिम’को अर्थ हिउँ र ‘आलय’को घर वा निवास हो। वेदहरूमा हिमालयको उल्लेख धर्म र भूगोलसँग यसको प्रासंगिकताको कारणले महत्त्वपूर्ण छ। भूगोल र धर्म अध्ययनका पृथक् क्षेत्रहरू देखिए पनि तिनीहरू हामीले सोचेभन्दा बढी अन्तरसम्बन्धित छन्। सनातन संस्कृतिमा समयसँगै हिमालयले प्राप्त गरेको महत्त्व र हिन्दु धर्मले भौगोलिक अस्तित्त्वको रूपमा हिमालयलाई–
२. पवित्र नदीहरूको उद्गम
३. देवीदेवताका निवास र
४. आध्यात्मिक साधना केन्द्रको रूपमा मानेको छ।
वैदिक एवं पौराणिक ग्रन्थहरूमा हिमालय भगवान् शिव र अन्य देवीदेवताको निवास बताएको पाइन्छ। धार्मिक ग्रन्थहरूमा भगवान् शिवलाई गिरीराज पर्वतहरूका स्वामी पनि भनिन्छ। शिवको अस्तित्त्व हिमालसँग गहिरो रूपमा गाँसिएको छ। गौरीशंकर हिमाल नेपालको बागमती प्रदेशअन्तर्गत दोलखा जिल्लामा अवस्थित ७,१३४ मिटर (२३,४०६ फिट) अग्लो पवित्र शिखर हो। जुन रोल्वालिङ हिमालको दोस्रो अग्लो चुचुरो हो। गौरीशंकर हिमाल रोल्वालिङ हिमालको पश्चिमी किनारमा अवस्थित छ, काठमाडौंबाट लगभग १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा पर्छ। यो पर्वतलाई दुई चुचुराले छुट्ट्याइएको छ।
उत्तरी उच्च चुचुरोलाई सनातन हिन्दु देवता शिवको नामबाट शंकर भनिन्छ, जबकि दक्षिणी चुचुरोलाई गौरी भनेर चिनिन्छ, जसले शिवको पत्नी पार्वतीको प्रतिनिधित्व गर्दछ। एकसाथ गौरीशंकर नामले दुई देवताहरूको दिव्य मिलनको प्रतीक हो। हिमालय गौरीशंकरको स्थानीय नाम जोमो त्सेरिङ्मा हो, जुन शेर्पा जातिले प्रयोग गर्ने नाम हो। जहाँ दक्षिणमा रहेकी गौरीले उत्तरमा रहेको शंकरलाई झुकेर ढोगेको जस्तो स्वरूप देखिन्छ। शंकर र गौरीको मूर्तरूप घारण गर्ने यसका– दुईवटा प्राकृतिक विम्बले प्रेममा पूर्ण समर्पण र आत्मिक एकात्मकताको अनुभव गराउने माध्यम हो। जसले मानवीय गुणहरू करुणा, सहिष्णता, श्रद्धा र विवेकको प्रवद्र्धन गराउँछ।
शताब्दीयौंदेखि यो पहाडलाई पवित्र मानिन्छ। हिन्दु र बौद्ध दुवै परम्पराबाट प्रभावित स्थानीय समुदायहरूले यसलाई एक शक्तिशाली प्राकृतिक देवताको रूपमा मान्छन्। गौरीशंकर केवल एउटा पहाडमात्र होइन। यो प्राकृतिक वैभव र आध्यात्मिक भक्तिबीचको सद्भावको प्रतीक हो। हिन्दु धर्मावलम्बीको आराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाको कारणले आरोहण गर्न प्रतिबन्ध छ। गौरीशंकर प्रकृति, पर्यटन, पर्यावरण र जैविक विविधतामात्र महत्त्वपूर्ण होइन कि सांस्कृतिक, आध्यात्मिक र धार्मिक कारणले सबैभन्दा महत्त्वपूर्ण छ। गौरीशंकर हिमालको केही महत्त्वपूर्ण कारणहरू–
१. गौरीशंकर हिमालको प्राकृतिक विम्ब – प्रकृति र पुरुषको प्रतिनिधित्व : गौरीशंकर हिमालको भौगोलिक महत्त्वभन्दा बाहिर अद्वितीय सांस्कृतिक, धार्मिक र आध्यात्मिक मूल्य छ। यो पर्वतले शिवशक्तिको तात्विक मिलनलाई प्रतिनिधित्व गर्छ। सृष्टिको मूल चेतना र ऊर्जा तत्त्व छन्, ती अनादितत्त्व शिव र शक्ति हुन्। ऊर्जा तत्त्व शिव हुन्, शिव त्यो मौन, शुद्ध, निश्चल चेतना हुन्, जुन सम्पूर्ण गति र परिवर्तनको साक्षी हुन्। शक्ति त्यो चेतनाको क्रियात्मक रूप वा अभिव्यक्त ऊर्जा हो, जसले सृष्टिको सृजन, पालन र प्रलयको समस्त चक्रलाई सम्भव बनाउँछ। यी दुई छुट्टाछुट्टै होइनन्, एकै सत्यका दुई आयाम हुन्।
तस्मिन्नण्डे स भगवानुषित्वा परिवत्सरम्।
स्वयमेवात्मनो ध्यानात्तदण्डमकरोद्विधा।।
– मनुस्मृति (१।१२)
अर्थात्, भगवान् त्यस अण्डाभित्र आफैं एक वर्ष बसेर ध्यानबाट दुई भाग लगाउनुभयो। यी दुई शिव र शक्ति तत्त्व अलग छैनन्, एउटै परमसत्यका दुई रूप हुन्। जसलाई न त छुट्ट्याउन नै सकिन्छ न त टुक्र्याउन सकिन्छ। यो सत्य प्रकट हुन्छ कि शिवशक्ति कुनै बाह्य आकृति होइनन्, ती त चेतन र जडको जागृत जीवनशक्तिको प्रतिरूप हो। परमात्माले प्रकृति र पुरुष अर्थात् जड र चेतनद्वारा ब्रह्माण्डको उत्पत्ति गर्नुभयो। एक्लो प्रकृति र पुरुषबाट सृष्टि सम्भव हुँदैन।
शिवको जस्तो मौन स्थिरता र शक्तिको जस्तो क्रियाशील लयबीचको सन्तुलनलाई अनुकरण गरेर जीवन स्थापित गर्न प्रेरित गराउँछ। जहाँ चेतन र जड एकआपसमा पूरक बन्छन्। यहीँ समन्वयबाटै आत्मिक जागरण सम्भव हुन्छ। अन्तत : गौरीशंकर हिमालको प्राकृतिक विम्बले आध्यात्मिक अनुभूतिको सर्वोच्च बिन्दु जहाँ प्रकृति र पुरुष प्रतिनिधित्व गर्दछ। यस प्राकृतिक विम्बको अर्थपूर्ण बोधले व्यक्तिलाई धर्म, दर्शन र चेतनाको संगममा उभ्याउँछ। जहाँ अन्धविश्वास र मुर्खता होइन, अनुभूतिमा आधारित श्रद्धा र विश्वासपूर्ण विवेक हुन्छ। यही पर्वतमा महादेवले पार्वतीलाई तन्त्र परीक्षण गराएको अति पवित्र भूमि हो।
२. गायत्री मन्त्रद्रष्टा राजर्षि विश्वामित्रको साधना स्थल : गायत्री मन्त्रको दर्शन वैदिककालमै राजर्षि विश्वामित्रले प्राप्त गर्नुभएको हो। विश्वामित्रको जन्म वर्तमान नेपालको कोशी नदीको पावनपुलिनमा वैदिककालमै भएको थियो। आफ्नो दृढ इच्छाशक्ति, अटल अभ्यास र कठोर तपस्या गरेर ब्रह्मऋषि उपाधि प्राप्त गरेका थिए। उनको सम्पूर्ण जीवन अद्भुत प्रेरणा र ज्ञानको स्रोत हो। क्षत्रीय कुलमा जन्मेका विश्वमित्र कुनै समय महर्षि वशिष्ठको प्रतिद्वन्द्वी थिए। महर्षि वशिष्ठले राजर्षि विश्वामित्रलाई ब्रह्मऋषि पदले विभूषित गरेका थिए।
विश्वामित्र गायत्री मन्त्रका द्रष्टा ऋषि हुन्। क्षत्रीय कुलका भए पनि विश्वामित्रको अपार तप शक्तिद्वारा ब्रह्मऋषिको योग्यता पाए। वैदिककालमा वर्ण व्यवस्था गुण र कर्मको आधारमा निर्धारण गरिएको छ। प्राचीन सनातन संस्कृति गुण र कर्मको आधारमा हो, जन्मको आधारमा होइन। त्यसैले पढ्न, लेख्न, जप गर्न र साधना गर्न पाउने अधिकार हरेक व्यक्तिको मानव अधिकार हो। जस्तोसुकै समाजबाट परिवारबाट पनि योग्य मानिस भए उसको वर्ण बदलिन्छ, यही नै सनातन धर्मको दिव्य सन्देश हो।
गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ–
चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागश : ।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्।।
– गीता ४–१३
चतुर्वर्ण व्यवस्था एक कर्मयोग र गुणात्मक प्रणाली हो। जसको उद्देश्य समाजमा व्यक्तिले आर्जित गरेको स्वभावमा निर्भर पर्छ। यो नै गीताको सर्वश्रेष्ठ ज्ञान हो। विश्वामित्र मात्र यसको उदाहरण नभएर भगवान् गौतम बुद्ध, भगवान् महावीर र विदेहराज जनक आदि उपदेशकर्ता क्षत्रीय कुलकै थिए। त्यसैले गायत्री मन्त्र शुद्ध पवित्र भएर मानवले जप गर्न, उच्चारण गर्न, ध्यान गर्न सकिन्छ। यो एक विश्वव्यापी प्रार्थना हो। यो सर्वव्यापी र अलौकिक परमात्मालाई सम्बोधन गरिएको छ, जसलाई सबिता नाम दिइएको छ। दृढ संकल्प र कठोर तपस्याबाट विश्वामित्रले गायत्री मन्त्र प्राप्त गरे, त्यो हिमाल गौरीशंकर हिमाल हो।
त्यसैले गायत्री मन्त्रको द्रष्टा राजर्षि विश्वामित्र ब्रह्मऋषि हुन पुगे। ‘गौरीशंकर हिमाल नै विश्वामित्रको साधनास्थल भएको र त्यही गायत्री मन्त्र प्राप्त गरेका हुन्’ भनेर स्व. योगी नरहरिनाथ महाराजज्यूले धेरैमा ठाउँमा बोल्नुभएको पाइन्छ। त्यस्तै ‘विश्वामित्रको जन्म नेपालमा भएको थियो र विश्वामित्रले गायत्री मन्त्रको साक्षात्कार नेपालमै गरेका थिए’ भनेर डा. स्वामी प्रपन्नाचार्यज्यूको पुस्तक ‘मिल्काको झिल्का’मा भन्नुभएको छ। यही ज्ञानभूमि तपोभूमि नेपालमै गायत्री मन्त्रको साक्षात्कार राजर्षि विश्वामित्रले गरेका थिए।
३. सूर्य उपासना गर्नका लागि सर्वोत्तम स्थल : गौरीशंकर हिमालमा प्रकृतिको पूर्ण दर्शन लुकेको छ। यस पर्वतले धार्मिक र आध्यात्मिक गहिराइलाई दर्शाउँछ। गौरीशंकर हिमालयको दुईवटा स्वरूपले जुन भन्ज्याङ बनाएका छन्। त्यो भन्ज्याङबाट सूर्य उपासना गर्न सर्वोत्तम ठाउँ मानिन्छ। आदिमकालदेखि नै सूर्योपासनाको प्रचलन चलिरहेको छ। सूर्यलाई समस्त चराचर जगत्को आत्मा मान्नुका साथै ऊर्जाको केन्द्र पनि मानिन्छ। किनकि सूर्यलाई प्रत्यक्ष देवता हुन्, सम्पूर्ण जगत्का नेत्र भएको हुँदा हामी सूर्यको प्रत्यक्ष दर्शन गर्छौं।
वैदिक ज्योतिषमा सूर्यदेवलाई सबैभन्दा महत्त्वपूर्ण खगोलीय पिण्डमध्ये एक मानिन्छ। सूर्यदेवलाई वेदमा जगत्को आत्मा भनिन्छ। वैदिककालदेखि नै सूर्यलाई सारा जगत्का कर्ता–धर्ता मान्दै आइरहेको पाइन्छ। सूर्यकै कारण यो निखिल ब्रह्माण्ड र जीवको अस्तित्त्व छ, यो एक सर्वमान्य सत्य हो। सूर्यको शाब्दिक अर्थ ‘सर्वप्रेरक’ हुन्छ। सूर्य सर्वप्रकाशक एवं
सर्वप्रवर्तक हुनाले सर्व कल्याणकारी मानिन्छ।
सूर्योद्भवन्ति भूतानि सूर्येण पालितानि तु।
सूर्ये लयं प्राप्नुवन्ति य : सूर्य : सोहमेव च।।
– सूर्योपनिषद्
अर्थात्, सूर्यकै कारण चराचर जीव उत्पन्न हुने, सूर्यद्वारा नै उनका पालन हुने। सूर्यमा नै सृष्टिका लय प्राप्त हुने र जो सूर्यनारायण हो, उनै म हुँ। सूर्य उपासना गायत्री मन्त्रसँग गहिरो सम्बन्ध रहन्छ। गायत्री मन्त्रलाई वेदको सार मानिन्छ। वेदको महामन्त्र हो। वेदको अर्थ ज्ञान हो र यो प्रार्थनाले ज्ञान दिने क्षमतालाई बढावा दिन्छ। गायत्री मन्त्र एउटा पवित्र मन्त्र हो, जसले सृष्टिमा रहेको बहुआयामिकताको एकतालाई प्रदर्शन गर्दछ। यो एकताको पहिचानबाट नै बहुआयामिकता बुझ्न सक्छौं। जुन मन्त्र राजर्षि विश्वामित्रले साक्षात्कार गरे, त्यो हिमाल गौरीशंकर हो। यो गायत्री मन्त्रमा सूर्यलाई सम्बोधन गरिएको प्रार्थना हो। विश्वामित्रले यही बसेर लामो समयसम्म तपस्या गरेका थिए।
४. नेपालको प्रमाणिक समय निर्धारण गरिएको स्थल : ग्रिनविच प्रमाणिक समय बेलायतको प्रमाणिक समय हो। यो शून्य देशान्तरमा अवस्थित लन्डनको नजिकैको ग्रिनविचको आधारमा तय गरिएको हो। यसैको आधारमा अन्य देशको प्रामाणिक समय निश्चित हुन्छ। यही ग्रिनविच प्रमाणिक समयभन्दा नेपालीको प्रमाणिक समय ५ घण्टा ४५ मिनेटले छिटो छ। यो समयलाई आधिकारिक समय मानेर २०४२ वैशाख १ गतेबाट गौरीशंकर हिमाललाई आधार मानेर राखिएको हो। यो समय नै यस देशको प्रमाणिक समय हो।
गौरीशंकर हिमाल, नेपाललाई जनाउने समय क्षेत्र हो। यही समयले नेपालको विशिष्ट समय क्षेत्रलाई प्रतिनिधित्व गर्दछ। यसै समयलाई आधिकारिक मानेर नेपालको पञ्चांग निर्माण गरिएको छ। पञ्चांग एक वैदिक सनातन परम्परागत पात्रो हो। जसले समयको एकाइहरू प्रयोग गरिन्छ। पञ्चांगको शाब्दिक अर्थ पाँच भाग (पञ्च+अंग) हो। यसको अर्थ मुख्यत : पाँच कुराको उल्लेख गर्छ– दिन, तिथि, नक्षत्र, करण र योग। हामी समस्त नेपालीको धर्म, संस्कृति, संस्कार, रीतिरिवाज, चाडपर्व, पूजा–पाठ, धार्मिक अनुष्ठानदेखि लिएर अनेकन मूल्यमान्यता र परम्पराको संवाहक र निर्देशन कार्यतालिका भनेको वैदिक पञ्चांग (पात्रो) हो।
नेपाल संस्कृतिपरक भएकाले यसलाई आआफ्नो सांस्कृतिक मूर्तरूपमा नान्ने गर्छौं। पञ्चांग वैदिक ज्योतिष, खगोल विज्ञान, आध्यात्मिक एवं धार्मिक अवधारणामा आधारित हुन्छ। व्यक्तिको दैनिक जीवनमा महत्त्वपूर्ण घटना र समयसम्बन्धी निर्णय लिन मार्गदर्शन गर्नुका साथै शुभ र अशुभ समयको बारेमा सूचना प्रदान गर्छ। आज पनि, नेपालका हिमालय पर्वतहरू हजारौं स्थलहरूको घर हो, जहाँ देवीदेवता र तपस्वीहरूको निवासस्थान मानिन्छ। हिमालय जैन, बौद्ध, किराँत र हिन्दु सन्तहरूलाई समर्पित असंख्य मठ र गुफाहरू छन्।
हजारौं वर्षदेखि तपस्या गर्दै आएका धेरै तपस्वीको अझै पनि यी गुफाहरूमा बस्छन् भन्ने विश्वास गरिन्छ। राजर्षि विश्वामित्रले गौरीशंकर हिमालयमै गायत्री मन्त्र साक्षात्कार गरे। विश्वामित्र र गायत्रीमन्त्र दुवै नेपालको भूमिबाट विश्वमा छरिन पुग्यो। यहीँ हिमालमा नेपालको प्रमाणिक समय निर्धारण गरियो। यही हिमालय महादेव र पार्वतीको तपस्थली, जहाँ महादेवले पार्वतीलाई तन्त्र परीक्षण गराए। प्रकृति (शक्ति) र पुरुष (परमात्मा) अर्थात् सृष्टिको मूल दुई अनादितत्त्व शिव र शक्तिको प्राकृतिक विम्बको रूपमा अत्यन्तै महत्त्वपूर्ण पर्वत गौरीशंकर हो। यहीँ कारण यो हिमाल अत्यन्तै पवित्रतम मानियो।
गायत्री मन्त्रको द्रष्टा राजर्षि विश्वामित्र ब्रह्मऋषि हुन पुगे। गौरीशंकर हिमाल नै विश्वामित्रको साधनास्थल भएको र त्यही गायत्री मन्त्र प्राप्त गरेका हुन् भनेर योगी नरहरिनाथले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस !