किताबकी टेलर
जुनसुकै चीजको पनि आवरणले ठूलो महत्त्वराख्छ। सजीव र निर्जीव वस्तु दुवैमा यसले सुरक्षा र आकर्षणको काम गरेको हुन्छ। भित्री रूप बुझ्न बाहिरी रूपले सूत्रधारको भूमिका निर्वाह गरेको हुन्छ। किताबको सन्दर्भमा पनि आवरणले त्यसभित्रको विषयवस्तुबारे गम्भीर अभिव्यक्ति दिएको हुन्छ। त्यसैले यसको सिर्जना गर्नु अत्यन्त सुन्दर कला हो। कलाकारको नाम भन्नैपर्छ, अनामिका गौतम। जसले थुप्रै किताबका अद्भुत बस्त्र सिलाइसकेकी छन्। उनी किताबकी टेलर हुन्।
नेपालमा महिला चित्रकार त आंैलामा गन्न सकिनेछन्। किताबको कुशल रूपमा कभर डिजाइन गर्ने चाहिँ अनामिका हून्। कलिलै उमेरमा उनले परिचय बनाइसकेकी छन्। जसले ३० वर्षको उमेरमै उल्लेखनीय कलायुक्त काम गरिसकेकी छन्। उनले ४२ वटा किताबको कभर डिजाइन गरेकी छन्। लखनउ युनिभर्सिटीबाट फाइन आर्टस्मा ब्याचलर गरेकी उनका कलाकृतिमा भावना र शिल्पको लेपन हुन्छ। उनको परिभाषामा जीवन भनेको कला हो।
हरेक प्रहर, मोड र उतारचढावमा भावना व्यक्त गर्ने शैली सबैको पृथक् हुन्छ। कुनै न कुनै कलाको माध्यमबाट मानिसहरू जीवनलाई इन्द्रेणी बनाउने कोसिस गर्छन्। कोही पाककलामा निपुण हुन्छन् भने कोही वाककलामा आफूलाई दर्शाउन सक्छन्। कोही प्रकृतिमा रमाउँछन् भने कोही डिजिटल तरंगहरूमा झुम्छन्। कला आदिम युगदेखि नै मानव सभ्यताको इतिहास र वर्तमान युगको ऐना बन्दै आएको छ। यसै सिलसिलामा चित्रकला हृदयको परिप्रेक्ष्यबाट कोरिएको हुन्छ। कलाले व्यक्तिका निजी भावना, सामाजिक रूपान्तरण र भूगोलका कथा बोकेको हुन्छ। यसले संस्कृति र परम्पराको धरोहरलाई जगेर्ना गर्ने कोसिस गरेको हुन्छ। यो वर्तमान युगको स्वतन्त्र अभिव्यक्तिको माध्यम पनि बनेको छ।
अनामिकाको चित्रकारिता पनि कलाको एक रूप हो। सानी छँदा सिसाकलम र स्केलले घर बनाएको दृश्य सम्झिन्छन् उनी। त्यतिबेला उनी पा“च वर्षकी थिइन्। एलकेजीमा पढ्थिन्। उनी त्यही घरको चित्र बनाएर प्रथम भइन्। पुरस्कारस्वरूप बज्ने खेलौना पाइन्। उफ्रिँदै नाच्दै घरमा आमाबुवालाई देखाएकी थिइन्। उनलाई चित्रभित्रको संसार प्यारो लाग्थ्यो। त्यहा“का पात्र जीवित लाग्थे र तिनै रंगीन चित्रसँग उनी अन्तरक्रिया गर्थिन्।
आमाले बेलाबखतमा तन्नामा फूलका पेन्टिङ बनाउँथिन्। ती बालचित्रकारलाई त्यो माहौल नौलो र रमाइलो लाग्थ्यो। उनको बुवा नेपाली अध्यापन गराउँथे। लेख, रचना र साहित्यमा उहाँको पनि उत्तिकै प्रेम र लगाव थियो। सानो छँदादेखि बुवाले थुप्रै चित्रपुस्तक, हस्तलेखनका पुस्तक र दन्त्यकथाहरू ल्याइदिन्थे। तिनै पुस्तकमा रङ भर्दै, अक्षर सुन्दर बनाउँदै उनी समय बिताउँथिन्। पछि हुबहु चित्र कोर्ने, कथाका पात्र कल्पना गरेर बनाउने र विभिन्न चित्रकला प्रतियोगितामा प्रथम भइरहने गर्थिन्। कसैले ‘ठूली भएर के बन्छ्यौ ?’ भन्ने प्रश्न गर्दा उनी मुस्कुराउ““दै जवाफ दिन्थिन्, ‘चित्रकार बन्छु।’
अहिलेसम्म मन परेको पुस्तकको कभर सम्झनु पर्दा उनलाई अक्षर क्रिएससबाट प्रकाशित ईल्या भट्टराईको ‘मिसर’ विशेष लाग्छ। जुन नियात्रा पुस्तक हो। सौर्य डुंगाको अवधारणा यो कभरको प्रमुख आकर्षण हो। अनामिकाले अर्चना थापास“ग पुस्तकको मूलसारबारे छलफल गरिन्। त्यसपछि सौर्य डुंगाको परिकल्पना गरिन्। पहेँलो र सुनौलो रङको प्रयोग पुस्तकको अर्को महŒवपूर्ण पाटो हो। प्राचीन इजिप्ट (मिश्र्र)मा सुनलाई दैवी र अनन्त रंग पनि मानिन्थ्यो। जसले उनीहरूको धर्म, कला र परलोकसम्बन्धी विश्वाससँग गहिरो सम्बन्ध राख्थ्यो। त्यसकारण चित्रकारलाई फरक खालको अनुभुति भएको थियो। उनलाई आफैं पनि बारम्बार इजिप्टको कुनै तिलस्मी कालखण्डमा पुगेजस्तो आभास भएको थियो।
अनामिकालाई धेरै किताबको लुगामा भावना अनि कलाको बुट्टा भर्न धमाधम छ। अनामिका पाँच वर्षदेखि मानसिक स्वास्थ्यको महत्त्वर सजगताका लागि भनेर ‘इट्स ओके’ सिरिजमा कलाकृति बनाउँदैछन्। मानसिक रोगी भन्ने बितिक्कै हेयको दृष्टिले हेरिन्छ। व्यक्तिको मनोदशाबारे नकारात्मक प्रचार हुन्छ। तिनलाई अनेकौं उपनाम दिइन्छ।
अनामिकाको सोचाइमा मानसिक स्वास्थ्यबारे समाजको बुझाइमा बदलाव आउनु जरुरी छ। भन्छिन्, ‘त्यसैले आफ्ना कलाकृतिमार्फत यस विषयलाई व्यक्तिगत पहलबाट सचेतनाको रूपमा प्रस्तुत गर्ने गरेकी छु।’ उनको विचारमा मानसिक अस्थिरता चरम बिन्दुमा एक किसिमको मनोवैज्ञानिक दुर्घटना बन्छ। ‘त्यसैले अरूको मानसिक अवस्थामा नकारात्मक टिप्पणी दिनुको साटो सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्नुपर्छ भनेर बनाउँछु’, उनी थप्छिन्।
सन् २०१२ मा ‘नेपाल छात्रा विद्या पदक’बाट विभूषित भइन्। तत्कालीन राष्ट्रपति रामवरण यादवले बधाई दिँदै भनेका थिए, ‘देश र समाजको हितमा काम गर्नुहोला।’ कला क्षेत्र अझ चित्रकलामा रहेर पनि समाजमा योगदान र परिवर्तन गर्न सकिन्छ भनेर उनलाई त्यतिखेर अनुभूत भयो। त्यसपछिका यात्रामा चित्रकला उनका लागि एक दृश्य तृप्ति र व्यावसायिक माध्यममात्र थिएन। व्यक्ति, समुदाय, समाज र विश्वमा विचार, भावना र सामाजिक सन्देश व्यक्त गर्ने शक्तिशाली औजार पनि थियो।
मानसिक स्वास्थ्यको महत्त्वर यसप्रतिको सजगतालाई मूल विषयवस्तु बनाएको समय थियो। सन् २०२० देखि चित्र, कविता र मिक्समिडियामा काम गर्न थालेको बेला उनी सम्झिरहन्छिन्। त्यो उनको जीवनकै महत्वपूर्ण समय थियो। स्वेच्छाले चित्र बनाउनु र आवरणका लागि बनाउनुमा उनी केही भिन्नता पाउ“छिन् उनी। चित्रकारको रूपमा कला निर्माण गर्दा व्यक्तिगत भाव, विचार वा अवधारणा व्यक्त गर्ने मुख्य उद्देश्य हुन्छ।
आवरण बनाउँदा पुस्तकको कथा, विषयवस्तु र शीर्षकलाई कसरी सरल या प्रतीकात्मक रूपमा व्यक्त गर्ने भन्ने नै हो। लेखक, प्रकाशकसँग कन्सेप्टमा सहकार्य गर्दै डिजाइनको मापदण्डभित्र रही सिर्जनात्मक अभिव्यक्ति र संयोजन गर्नुपर्छ भन्ने उनलाई लाग्छ। ‘कहिलेकाहीँ कुनै कभरमा सोचेअनुरूपको तृप्ति पाइँदैन’, जीवनमा केही गर्न चाहिरहेका तर अलमलमा परिरहेका नारीहरूका लागि प्रेरणाकी पात्र अनामिका थप्छिन्, ‘आफूले चाहेको कामलाई निरन्तरता दिइरहनु नै सबलता र सफलताको सूत्र हो।’
प्रतिक्रिया दिनुहोस !