दुर्दान्त निर्माण कथा

सिनेमा

दुर्दान्त निर्माण कथा

सन् १९४३ सालतिरको कुरा हो, विश्वले पछि चिनेका सत्यजित राय भारतको कलकत्ता सहरमा नोकरीका लागि जुत्ता फटाइरहेका थिए। घुम्दाघुम्दै एउटा बेलायती कम्पनी जे. किमरमा मासिक ८५ तलब पाउने गरी उनले नोकरी पाए। समयक्रममा त्यही कम्पनीका अधिकृत डी.के. गुप्ताले नयाँ खुलेको सिग्नेट प्रेसमा छाप्ने पुस्तकहरूको आवरण डिजाइन गर्ने काम पनि उनलाई दिए।

एउटा यथार्थवादी चित्रकारसमेत रहेका रायलाई यसरी कभर डिजाइन गर्ने क्रममा त्यसताका भारतका महसुर बंगाली लेखक विभूतिभूषण बन्धोपाध्यायको उपन्यास पाथेर पाञ्चालीको आवरण बनाउने मौका मिल्यो। उपन्यासलाई मिहिन किसिमले पढेर बनाइएको सोको आवरणचित्र विभूतिपत्नी रमा बन्धोपाध्यायलाई औधी मन प¥यो। यसरी रायको बुरुसले सुसज्जित पाथेर पाञ्चाली उपन्यास कालान्तरमा उनै विख्यात सिनेनिर्देशक सत्यजित रायको क्यामराले विधा परिवर्तन गरी विश्वभर तरंग ल्याउँदै ओस्कारको सफलतासमेत प्राप्त गर्न सकेको छ।

पश्चिम बंगालको देहाती क्षेत्रका गरिबीको सपाट चित्र प्रस्तुत भएको उपन्यासले रायलाई मनैदेखि छोयो। एउटा बहुल चरित्र भएको ग्रामीण विषयवस्तुयुक्त उपन्यास पाथेर पाञ्चालीमाथि सिनेमा बनाउन एकाएक हौसिए राय। यसका लागि सबैभन्दा पहिला फिल्मांकन गरिने उपन्यासका स्रष्टाबाट कानुनी अनुमति लिनु आवश्यक थियो। राय युरोपबाट सिनेमा अध्ययन गरी स्वदेश फर्कदा विभूतिभूषणको मृत्यु भइसकेको थियो तर विभूतीपत्नी श्रीमती रमाले आवरणचित्र बनाएको प्रसंग निकालेपछि उनले सहजै स्वीकृति दिइन्। अब अर्थ व्यवस्थापनको समस्या अघि आयो। त्यसपछि उनी अनेक निर्माताकहाँ पैताला खियाउन थाले, कल्पना मुभिजका मिस्टर भट्टाचार्यकहाँ पुगे तर उनले विभूतिकी श्रीमती रमालाई उचालेर पाथेर पाञ्चालीमाथि तत्कालीन चल्तापुर्जा निर्देशक देवकी बोसले सिनेमा बनाउन चाहे।

रायजस्तो सिनेमाको क, ख, ग नजानेको व्यक्तिलाई पाथेर पाञ्चालीमाथि सिनेमा बनाउन दिनु स्वयं विभूतिशरणमाथिको अपमान हो समेत भने उनले। आफूलाई सो कृतिमाथि सिनेमा बनाउन दिए १५ हजार रुपियाँ रोयल्टीसमेत दिने लोभ देखाए। तर श्रीमती रमा आफ्नो वचनमा टसमस नभई तिनीहरूलाई खाली हात फर्काइन् र रायलाई दिएको अनुमतिमा अडिग रहिन्। सिनेमा निर्माणका लागि एक दर्जनजति निर्माताहरूसँग सम्पर्क गरे रायले तर सबैले पीठमात्र फर्काए।

अन्तमा, उनले आफ्नो बिमालेख ३५ सय रुपियाँमा धरौटी राखेर ऋण लिए भने छायांकन युनिटका अन्य सहयोगीले दुई हजार रुपियाँको बन्दोबस्त गरे। अब कलाकारको खोजी सुरु भयो। चलचित्रमा नयाँ अनुहार चाहिन्थ्यो केही भने केही अनुभवी पनि। आमा सर्वजयाको भूमिकामा करुणा बनर्जीलाई पाए तर अपु र दुर्गाको भूमिकाका लागि धेरै ठूलो कसरतपछि रायपत्नी विजयाको सहयोगमा उनले अपुको भूमिकामा सुवीर बनर्जी र दुर्गाको भूमिकामा उमादास गुप्तालाई पाए। पिताको भूमिकामा कन्नु बनर्जीलाई अनुबन्ध गरेपछि उनी पुन :  अरू निर्माताहरूसित सम्पर्क गर्न पुगे तर कसैले पनि चासो देखाएनन्।

अब १६ मिलिमिटरको क्यामरा लिएर लाग्यो रायको टोली कलकत्ताबाट चार किलोमिटर बाहिरको बोडाल भन्ने गाउँमा जहाँ एउटा खण्डहरजस्तो घर मासिक ५० रुपियाँमा भाडामा लिएर छायांकनका लागि रोजियो। त्यो खण्डहरलाई छायांकनयोग्य बनाएर दुई दिन छायांकन गर्दा राय र उनको युनिटसित भएको ९ हजार ५ सय रुपियाँ सकियो। थप पुँजीका लागि उनले कलकत्ताको स्टार थिएटरका प्रमुख शिशिर मल्लिकको सहयोगमा राना कवासीसित पहिलो किस्तास्वरूप चार हजार पाउने आश्वासन पाए।

अब सिनेमाको महŒवपूर्ण चरित्र बूढी स्त्री अर्थात् इन्दिरा ठाकरुनको खोजीका लागि ठूलो मूल्य चुकाउनु प¥यो। बडो कष्टले ८० वर्षकी रंगमञ्चकी अभिनेत्री चुन्नीवाला देवीलाई अनुबन्ध गरे उनले। अब कलाकार चयनको काम त सकियो तर अर्थ व्यवस्थापनको काम भीमकाय पहाड बन्यो। राना साहेबले पहिलो किस्ता त दिए तर उनका फिल्महरू एकपछि अर्काे गर्दै डुब्न थालेपछि उनले पैसा दिन असमर्थता जाहेर गरे।

केही सीप नलागेपछि रायपत्नी विजयाका गरगहनाहरू धरौटीमा राखियो। यो स्थिति यस्तो बन्यो कि सुहागका गहना भनेर साँचिएको चिनोसमेत अलग गर्नुपर्दा विजयाले तरक्क आँसु झारेकी थिइन्। यसो गर्दा पनि दुई दिनको मात्र छायांकन चल्यो, यसबाट अघि बढ्ने कुनै बाटो थिएन। विजयाको हालत यस्तो रह्यो भने स्वयं रायले युरोपबाट ल्याएका बहुमूल्य पुस्तक र संगीतका डिस्क रेकर्डहरू बेच्नुप¥यो। विजयाका गहनाहरू त धरौटीमा थिए, पैसा भए कुनै दिन छुट्न सक्थे तर दुर्लभ पुस्तक र संगीतसामग्री रायबाट सदाका लागि गुमेका थिए।

आठ महिनाका लागि छायांकन रोकियो पैसाको अभावमा। लगभग चार हजार फिट अर्थात् सिनेमाको एक तिहाइ भाग छायांकन भएको थियो, त्यसलाई सम्पादन गरियो। विधानचन्द्र राय त्यसबेला पश्चिम बंगाल सरकारका मुख्यमन्त्री थिए, साथै एक सुपरिचित डाक्टर पनि। सिनेमाका प्रोडक्सन मेनेजर अनिलचन्द्र रायले एक दिन आएर सत्यजितलाई मुख्यमन्त्रीसित सहयोग गर्न आग्रह गर्नुपर्ने कुरा राखे।

विजयाकी सानीआमा वासन्तीदेवी, सुप्रभा राय, बेला सेनकी पुत्री अर्चना र अनिल रायको टोलीले सिनेमाको सम्पादित अंश मुख्यमन्त्रीलाई स्थानीय मिनिएचर हलमा देखाएपछि उनले राज्य सरकारबाट वृत्तचित्रका लागि वित्तीय अनुदान दिने निर्णय गरे। यसरी किस्ताकिस्ता गरेर दुई लाख रुपियाँ

राज्य सरकारले दिने तर सिनेमाको सर्वाधिकार राज्य सरकारकै हुने निर्णय भयो।
राज्य सरकारबाट चलचित्र महोत्सवमा सहभागी हुँदा प्राप्त हुने सहयोगको केही हिस्सा रायलाई पनि दिने निर्णय भएको थियो तर सोबापत उनले जीवनभर एक पैसा पनि नपाएको कुरा विजयाले आफ्नो संस्मरणमा उल्लेख गरेकी छन्। कहिले वर्षायामको झरीको दृश्य खिच्नुपर्दा किस्ताको रकम नआएर वर्षा टथ्र्यो त कहिले कलाकारहरूको कपाल हलक्क लामो हुन्थ्यो, हजाम खोज्न कलकत्ता पुग्नुपथ्र्यो। कहिले प्रमुख अभिनेत्री चुन्नीवाला बिरामी पर्थिन्। यसरी धेरै ठूलो भुक्तमान पछि योजना बनाएको झन्डै आठ वर्षपछि सिनेमा तयार भयो। पाश्र्वसंगीत रविशंकरबाट गरियो, बडो हतारमा।

सिनेमाको सम्पादनमा पूरै युनिट १० दिन १० रात खट्यो। सम्पादक दुलाल दत्त हरेक दिन आधा घण्टामात्र सुतेका थिए यो अवधिभर। रायपत्नी विजयाले आफ्नो संस्मरणमा यो कुरा पनि उल्लेख गरेकी छन्। अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भोलिपल्ट सो सिनेमा लैजानु थियो। अघिल्लो रातभर पहिलो प्रिन्ट निकाल्न नै लाग्यो। एकपटक पनि आफूले राम्ररी हेर्न नपाई एकाबिहानै विदेश उडाए आफ्नो अमूल्य सिर्जना र घर आएर आरामले सुते राय। त्यसपछि उनको सिर्जनाले विश्व सिनेमामा कस्तो प्रभाव छाड्यो ? समग्रमा यस्तो थियो सत्यजित रायको अमर सिर्जना पाथेर पाञ्चालीको निर्माण कथा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.