ल्भिभदेखि किभसम्म

युद्धकालीन युक्रेन

ल्भिभदेखि किभसम्म

निरन्तर बमबारीबीच पनि खार्किभ पुनर्निर्माण अघि बढाइरहेको छ :  सुरक्षित सिकाइ वातावरण बढ्दैछन् र पुनर्निर्माण भूमिगत स्तरमै भए पनि रोकिएको छैन।

‘क्रामिया ग्लोबल :  अन्डरस्यान्डिङ् युक्रेन थ्रु द साउथ’ भन्ने विषयले मेक्सिको, कंगो लोकतान्त्रिक गणराज्य, ब्राजिल, कीर्गिस्तान, भारत, मलेसिया, अर्जेन्टिना, म्यानमार, नाइजेरिया, कोस्टारिका, नेपाल, केन्या र अन्य मुलुकका अनुसन्धानकर्ता, पत्रकार तथा विज्ञहरूलाई एक ठाउँमा ल्यायो।

कात्तिक २६ देखि मंसिर ४ सम्म स्वायत्त गणराज्य क्राइमियामा रहेका युक्रेनका राष्ट्रपतिको मिसन, क्राइमिया प्लेटफर्मको कार्यालय तथा केही युक्रेनी गैर–सरकारी संस्थाहरूले आयोजना गरेको तेस्रो संस्करण ‘क्राइमिया ग्लोबल’ मा सहभागी हुन युक्रेन पुगें।

रुसद्वारा विदेशी नागरिकहरू (नेपाली पनि) लाई युक्रेनविरुद्धको युद्धमा भर्ना गराउने विषयमा रहेको प्यानलमा बोल्ने अवसर पाएँ। युक्रेनमा करिब आठ नेपाली अहिले युद्धबन्दीको रूपमा राखिएका छन्। सन् २०२२ पछि युद्धका कारण युक्रेनका उडानहरू निलम्बित भएकाले मेरो यात्रा वार्साेको चिसो बिहानको उज्यालोबाट सुरु भयो।

त्यहाँबाट हामी सानो मिनिभ्यानमा रातभर ‘ड्राइभ’ गर्दै ल्भिभतर्फ लाग्यौं। युक्रेनी भोजनको न्यानोपनले हो वा लामो यात्राको थकानले, म निद्रामा यति डुबें कि होटलको बेसमेन्ट बंकरतिर जानुपर्ने एयर–रेड सायरन पनि सुन्न सकिनँ। त्यसको खबर भोलिपल्टको बिहान नास्ता खाने बेला पाउनु—युद्धको मध्यमाझ म शान्तिसँग सुतिरहेको व्यंग्यात्मक यथार्थ— एकदमै असाध्यै अतार्किक क्षण जस्तै लाग्यो।

ल्भिभ– इतिहास, सहनशीलता र करुणा  :  ल्भिभले आफूलाई इतिहासका तह–तह र शान्त दृढतासहित प्रस्तुत गर्‍यो। बीसौं शताब्दीको सुरुमा यो विश्वकै एकमात्र सहर थियो, जहाँ तीनजना क्याथोलिक आर्चबिसप कार्यरत थिए– धार्मिक सह–अस्तित्वको परम्पराले चिन्तक र साहित्यकारका पुस्ताहरूलाई आकार दिएको प्रमाण। हामी ल्भिभका पुराना गल्लीहरू हुँदै हिँड्यौं र सहरका मेयरसँग भेट््यौं, जसले ल्भिभमाथि भएका रुसी आक्रमण तथा समावेशी सहरी संरचना निर्माण र पूर्वसैनिकहरूको पुनस्र्थापनाका प्रयासबारे बताए।

लिचाकिभ कब्रिस्तान जहाँ करिब एक हजार जति सहिद रक्षकहरू चिरनिद्रामा छन् र त्यसपछि ‘अनब्रोकन युक्रेन’ पुनस्र्थापना केन्द्रमा स्थानीय संस्थान र अन्तर्राष्ट्रिय साझेदारहरूले घाइते (सैनिक तथा नागरिक)लाई निको पार्न गरिरहेका विशाल प्रयासहरूको प्रत्यक्ष साक्षी बन्यौं। मेयर आन्द्रिय सादोभेलीले युक्रेनको आत्मालाई एउटा प्रभावशाली विचारमा समेटे। युक्रेनी विजयका दुई अभिन्न पक्ष छन्— अधिगृहीत भूभागहरूको मुक्तीकरण र देशको पुनर्निर्माण। ‘पुनर्निर्माण !’ उनले जोड दिए, ‘युद्ध सकिन कुर्न सकिँदैन; आशा र दैनिक जीवनको लय जोगाइराख्न यो युद्धकै बीचमा पनि जारी रहनुपर्छ।’ल्भिभको इतिहास र युरोपेली भोजनमा केही दिन बिताएपछि हामी रुसको सीमाबाट जम्मा २५ किलोमिटर टाढा रहेको खार्किभका लागि निस्कियौं।
खार्किभ मोर्चाको छेउमा  :  युक्रेनका सबैभन्दा बढी ध्वंस (क्षति) भएको प्रदेशमध्ये एकमा पुग्दैगर्दा हाम्रो फोनमा रुसले किभमाथि विशाल ड्रोन तथा क्षेप्यास्त्र हमला गरिरहेको खबरहरू लगातार आउन थाले। २८ कात्तिकमा ४ सय ३० ड्रोन र १८ मिसाइल किभमा प्रक्षेपण गरिएको रिपोर्ट आयो। भारत, नेपाललगायत देशका साथीहरूबाट आएका चिन्तित सन्देशहरूले हाम्रो बेचैनी झनै बढायो। विश्वले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठूलो युद्ध देखिरहेको भए पनि मैले परिवारलाई आफूले सामना गरिरहेको जोखिमबारे धेरै कुरा बताएको थिइनँ।

तर, खार्किभ आइपुग्दा ती सबै चिन्ता केही नरम बने। चिसो जाडोको हावा, स्वादिलो युक्रेनी भोजन, भूमिगत विद्यालयमा पढिरहेका बालबालिकाका उज्यालो हाँसो र स्थानीयको न्यानो आतिथ्य— यी सबैले केही क्षणका लागि माथिबाट झर्दै गरेको युद्धलाई भुलाइदिए। हामीले खार्किभ क्षेत्रीय सैन्य प्रशासनका उपप्रमुखसँग भेट्यौं। उनले प्राय :  चार वर्षदेखि जारी पूर्ण–स्तरको आक्रमणबाट सहरलाई कसरी जोगाइरहेका छन् भन्ने बताए।

निरन्तर बमबारीबीच पनि खार्किभ पुनर्निर्माण अघि बढाइरहेको छ :  भूमिगत अस्पताल र विद्यालय विस्तार हुँदैछन्, सुरक्षित सिकाइ वातावरण बढ्दैछन् र पुनर्निर्माण भूमिगत स्तरमै भए पनि रोकिएको छैन। हाम्रो दिन केही समय उत्तरी साल्तिभ्काजस्ता ध्वस्त समुदायहरूमा, केही समय भूमिगत शरणस्थलहरूमा छलफल तथा भ्रमणमा बित्यो। अझै भन्न सक्दिनँ— बढी समय जमिनमाथि बिताएँ कि जमिनमुनि— तर जुन यथार्थ देखें, त्यो टाढाबाट हेरिने स्क्रिनको दृश्यभन्दा धेरै फरक थियो।

किभ– सुनौलो गुम्बजहरूको सहर  :  खार्किभ ‘विद्यार्थी, विज्ञान र उद्योगको सहर’बाट हामी किभ ‘सुनौलो गुम्बजहरूको दन्त्यकथामय सहर’ पुग्यौं। मध्यरातमा पुगेको किभले भोलिपल्ट बिहान पुराना छानाहरूमा चम्किएको घामका किरणमार्फत हामीलाई स्वागत गर्‍यो। हामी 
सहरको ऐतिहासिक केन्द्र, यारोस्लाविभ वाल, गोल्डेन गेट, सन्त सोफियाको क्याथेड्रल, र मिखाइलिभ्स्का स्क्वायर घुम्यौं।

त्यसपछि, युक्रेनको द्रुत गतिमा बढिरहेको रक्षा उद्योगबारे जान्न ‘युक्रेनियन काउन्सिल अफ वेपनमा’ गएँ। ल्भिभमा म एयर–रेड सायरनमै सुतें। किभले त्यस्तो सौभाग्य प्रदान गरेन। पहिलो रात, सायरन बज्नेबित्तिकै हामी एक घण्टा भूमिगत शरणमा बस्यौं; अन्तिम रात, बिहानसम्म चिसो बंकरमै बस्नुपर्‍यो। हामीलाई ‘भाग्यशाली’ भनिन्थ्यो किनकि हाम्रो शरणस्थलमा ओछ्यान, पानी र बिजुली थियो। धेरै युक्रेनी नागरिकहरूले यीमध्ये केही पनि नपाई रात काट्छन्।

‘युद्धमा युक्रेनको दृढता  :  चुनौती, प्रतिक्रिया र अन्तर्राष्ट्रिय समर्थन’ शीर्षकको एक बन्द–ढोका गोलमेचमा पनि सहभागिता जनायौं। सांसद, राजदूतहरू र राष्ट्रपति कार्यालयका अधिकारीहरूसँगका संवादले कतिको विशाल पीडा र कतिको अचल संकल्प युक्रेनले बोकेको छ भन्ने देखायो। हाल हजारौं युक्रेनी राजनीतिक बन्दीहरू रुसमा छन्। उनीहरूले हामीलाई भने, ‘युक्रेनले केवल आफ्नै स्वतन्त्रताकै लागि होइन, युरोपको सुरक्षाका लागि पनि लडिरहेको छ।’ यति विशाल युद्धमा तीन तत्त्वनिर्णायक हुन्छन् :  अन्तर्राष्ट्रिय समर्थन, प्राविधिक रूपमा तैयार सेना र प्रतिस्पर्धी रक्षा उद्योग।

युक्रेनप्रति नेपालको समर्थन  :  कार्यक्रमहरूमा केही नेपाली तथा भारतीय अनुहार देख्दा निकै खुसी लाग्यो। झनै रोचक भनेको— पूरै युक्रेनमा अहिले करिब १० भन्दा पनि कम नेपाली परिवार बसेका रहेछन्। त्यत्तिकै आश्चर्य लाग्ने कुरा—युद्धको समय नेपालले युक्रेनलाई गरेको समर्थनबारे धेरैलाई थाहा थिएन। फागुन २०७८ मा नेपालले संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा रुसको सैन्य आक्रमणलाई निन्दा गर्न युक्रेनले मागेको आकस्मिक 
छलफल प्रस्तावको पक्षमा मतदान गर्‍यो।

२९ राष्ट्रमध्ये नेपाल पनि समर्थक थियो, जबकि ठूलो छिमेकी मुलुकको मत फरक थियो— चीनले विरोध गर्‍यो, भारत तटस्थ रह्यो। त्यसैगरी, फागुन २०८१ मा, नेपालले संयुक्त राष्ट्र साधारणसभाको ‘एड्भान्सिङ् ए कम्प्रिहेन्सिभ, जस्ट एनड लास्टिङ पिस इन युक्रेन’ शीर्षकको प्रस्तावको पक्षमा भोट गर्‍यो। नेपालले समर्थन गर्‍यो तर भारत र चीनले पुन :  तटस्थता अपनाए। रोचक त के भने अमेरिकाले रुससँगै उक्त प्रस्तावविरुद्ध मतदान गर्‍यो। यी क्षणहरूले नेपालको सिद्धान्तप्रति आधारित नीतिलाई देखाउँछन्, जुन कुरा धेरै युक्रेनीलाई थाहा थिएन।

अनुभूति र आशा  :  दुई दिनको गहिरो छलफलपछि युक्रेन—पहिले हामीबाट टाढा परेको देश— अब मित्रता, न्यानोपन र जीवन्त कथाहरूले भरिएको नजिकको स्थानजस्तै बन्यो। किभबाट पोल्यान्डतर्फ जाँदै गर्दा रेलका झ्यालछेउमा उभिएर हाँसी–मुठी हल्लाउँदै, झण्डा फहराउँदै, फूल बोकेर, नाच्दै बिदाइ गरिरहेका साहसी, न्यानो मनका मानिसहरू देख्दा मन भारी भयो। आँसु झार्न पनि सकिन्थेन, न त उनीहरूको आँखामा देखिएको भावनालाई बेहेर्नै नसक्ने गरी नजर फर्काउन सकिन्थ्यो।

घर फर्केपछि थाहा पाएँ– अमेरिकाले २८ बुँदे शान्ति योजना अघि सारेको रहेछ, जसले युद्ध अन्त्य गर्ने व्यापक रूपरेखा प्रस्ताव गरेको छ। तर किभ इन्स्टिच्युट अफ सोसियोलोजीको सर्वेक्षणअनुसार, ७६ प्रतिशत युक्रेनीहरूले उक्त योजनालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। यसले राहत ल्याउला वा दीर्घकालीन शान्ति अहिले भन्न कठिन छ। तर लाखौं मानिस झैं म पनि युक्रेनमा चाँडै शान्ति आओस् भन्ने आशामा छु। त्यो शान्ति जसले युक्रेनको सार्वभौमिकताको सम्मान गरोस् र त्यसका जनताका लागि दीर्घकालीन स्थिरता र समृद्धि सुनिश्चित गरोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.