सबल नीति र नेतृत्व चयनमा ध्यान देऊ
युवापुस्तालाई विश्वासमा लिने, आन्तरिक लोकतन्त्र बलियो बनाउने र जबजको मार्गदर्शनमा देशलाई स्थायित्व, सुशासन र समृद्धितर्फ लैजाने स्पष्ट नीति तर्जुमा गर्न सक्नु नै यस महाधिवेशनको ऐतिहासिक जिम्मेवारी हो।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ। नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार र सबैभन्दा पुरानो, संगठित तथा प्रभावशाली दलका रूपमा स्थापित एमालेको महाधिवेशनलाई यसपटक विशेष चासोका साथ हेरिएको छ। जेन–जी आन्दोलनपछिको बदलिँदो राजनीतिक चेतना, युवापुस्ताको दबाब र देशमा देखिएको नेतृत्वप्रतिको निराशाबीच एमालेले कस्तो नेतृत्व चयन गर्छ र कस्तो नीति अघि सार्छ भन्ने प्रश्न केवल पार्टीभित्र सीमित छैन, यो सिंगो देशको सरोकारको विषय बनेको छ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास २००६ वैशाख १० बाट औपचारिक रूपमा सुरु भएको हो। निरंकुश जहानियाँ राणा शासनविरुद्ध संघर्षकै क्रममा पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक बनेर भारतको कलकत्तास्थित श्यामबजार इलाका २८, नवीन सरकार लेनको एक घरको दोस्रो तलामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो।
कम्युनिस्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको जन्म भएको थियो। यही ऐतिहासिक आन्दोलन अनेक विभाजन, बहस र संघर्ष हुँदै आजको एमालेको रूपमा विकसित भएको हो। पहिलो महाधिवेशन २०१० माघ १० बाट मनमोहन अधिकारी महासचिव चयन भएदेखि पाँचौं महाधिवेशन (२०४९) मा मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव चयन हुँदै जनताको बहुदलीय जनवाद (जबज) स्थापित भयो। छैटौंदेखि नवौं महाधिवेशनसम्म पार्टीले भोगेका संकट, विभाजन र पुनः एकीकरणका अनुभव यी सबै एमालेका वैचारिक र संगठनात्मक पुँजी हुन्। जबज आज पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहनु यसको ऐतिहासिक निरन्तरताको प्रमाण हो। २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएयता एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित भयो। नयाँ संविधान निर्माणदेखि २०७४ का स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्म एमाले निर्णायक शक्तिका रूपमा उदायो। यद्यपि, पछिल्ला वर्षहरूमा पार्टीभित्र गुटबन्दी, पुस्तान्तरणको ढिलाइ र समाजको अपेक्षाअनुसार नेतृत्व विकास नहुनुजस्ता प्रश्न पनि उठिरहेका छन्।
जेन–जी आन्दोलनपछि राजनीतिमा आएको नयाँ चेतनाले यी प्रश्नलाई अझ तीव्र बनाएको छ। पार्टीभित्रै केपी ओलीको विकल्प खोजिनुपर्छ भन्ने आवाज उठेको छ। ११ औं महाधिवेशनमा २ हजार २६२ निर्वाचित प्रतिनिधि, १०८ मनोनीत र ३०९ केन्द्रीय सल्लाहकार गरी कुल २ हजार ५७१ सहभागी छन्। यी प्रतिनिधिले नेतृत्व र नीति तर्जुमा गर्नेछन्। नेतृत्वमा केपी शर्मा ओली र ईश्वर पोखरेलको दाबी रहँदा युवापुस्ताको सहभागिता, समावेशिता र भविष्यको नेतृत्व निर्माण कसरी हुन्छ भन्ने प्रश्न निर्णायक बन्नेछ। देशका ठूला राजनीतिक दलहरूले लिने नीति र चयन गर्ने नेतृत्वले नै मुलुकको भविष्य निर्धारण गर्छ।
एमालेको यो महाधिवेशनले विगतको गौरवमात्र सम्झेर होइन, वर्तमानका चुनौती र भविष्यका अपेक्षालाई आत्मसात् गर्दै नेतृत्व चयन गरोस्। युवापुस्तालाई विश्वासमा लिने, आन्तरिक लोकतन्त्र बलियो बनाउने र जबजको मार्गदर्शनमा देशलाई स्थायित्व, सुशासन र समृद्धितर्फ लैजाने स्पष्ट नीति तर्जुमा गर्न सक्नु नै यस महाधिवेशनको ऐतिहासिक जिम्मेवारी हो। यही अपेक्षा आज पार्टीपंक्ति मात्र होइन, सिंगो देशले राखेको छ। यस विषयमा मुलुकको प्रमुख राजनीतिक शक्ति एमालेका नेता कार्यकर्ताले विशेष ध्यान पुर्याउनु आवश्यक छ।
प्रतिक्रिया दिनुहोस !