जब नन्दबहादुरले पुल ढोगे

जब नन्दबहादुरले पुल ढोगे
९८ वर्षीय नन्दबहादुर शाही बेलिब्रिजलाई ढोग्दै । तस्बिर : जीवन सेजुवाल

मुगु : कर्णाली करिडोरअन्तर्गत हुम्ला–मुगु जोड्ने पीपलमोडा, जहाँ हुम्ला कर्णाली नदीले सोरुबासीको साहस र भाग्यको परीक्षा लिने गथ्र्यो। आज त्यही नदीमाथि फलामे बेलिब्रिज ठडिएको छ। 

पुलमाथि गाडी गुडेको दृश्यले सोरु गाउँपालिका–२ जवलधाराका ९८ वर्षीय नन्दबहादुर शाही पुलको बीच भागमा उभिएर श्रद्धाले ढोगे। आँखा रसाएका थिए। ‘नदीमाथि गाडी गुडेको देख्ने इच्छा थियो, पूरा भयो,’ उनी भन्छन्, ‘यही ठाउँमा बाबियोको लठ्ठा समातेर, ज्यानको जोखिम मोलेर वारपार गरिन्थ्या। त्यतिबेला यही नदीमाथि गाडी गुड्ने पुल बनोस् भन्ने सपना देख्थें। आज यो उमेरमा त्यो सपना आफ्नै आँखाले देख्न पाएको छु।’ त्यसैले पुललाई  श्रद्धाले ढोगेको उनले बताए।

सोरु गाउँपालिका–२ का नन्दबहादुर शाही मात्र होइन, सोही वडाका ज्वारीलाल शाही पनि आफ्ना पालाका ती जोखिमपूर्ण यात्राका साक्षी हुन्। बाबियोको लठ्ठा समातेर हुम्ला कर्णाली पार गर्नुपर्ने बाध्यता सम्झँदा उनीहरू आज पनि सम्झन्छन्। अहिले त्यो पीडादायी यात्राको सम्झना बोकेर बाँचेकाहरूमध्ये एक्ला पात्र हुन्।

२०३३ सालअघिसम्म यस स्थानमा मानिसहरू बाबियोको लठ्ठाको सहाराले नदी वारपार गर्थे। ०३३ सालमा झोलुंगे पुल बनेपछि केही सहजता त भयो, तर जोखिम टरेन। नन्दबहादुरका अनुसार, उनीसहित अन्य दुई घरपरिवारको जग्गा हुम्लाको तुम्च भन्ने स्थानमा थियो। त्यहाँँ पुग्न हुम्ला कर्णाली पार गर्नैपथ्र्यो। वर्षायाममा नदी उर्लिंदा मान्छेको मन पनि उर्लिंन्थ्यो।

आज त्यही नदीमाथि बेलिब्रिज बनेर गाडी आफ्नै घरआँगनसम्म पुग्न थालेपछि यो पुल उनका लागि भौतिक संरचना मात्र होइन–आफ्नो पुस्ताले भोगेको पीडाको अन्त्य पनि हो। 
‘हाम्रो पालामा ‘विकास’ शब्द नै टाढाको कुरा थियो’, उनी सम्झन्छन्, ‘हुम्ला र मुगुका मान्छे बिरामी हुँदा होस् वा अन्य कामले वारपार गर्न नदी नै सबैभन्दा ठूलो बाधक हुन्थ्यो। नदीसँग जुध्नुपथ्र्यो।’ उनका अनुसार, आफ्नो पुस्ताले भोगेका अनुभवहरू लेख्ने हो भने एउटा ग्रन्थ नै तयार हुन्छ। तर, आज पुलले ती सबै दुःखहरू बिर्साइदिएको छ। 
‘म बाँचुञ्जेल यस्तो दृश्य देख्न पाइँदैन कि भन्ने डर थियो,’ उनी भन्छन्, ‘तर आज आफ्नै आँखाले सपना पूरा भएको देखेँ।’ हुम्ला र मुगु जोड्ने यो बेलिब्रिजले केवल दूरी घटाएको छैन, भरोसा बढाएको छ।

पुल बनेपछि सोरु गाउँपालिकाका बासिन्दाले सदरमुकाम गमगढी हुँदै सुर्खेत वा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ। 
अधिकांशले कर्णाली करिडोर प्रयोग गर्न थालेका छन्। यसको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा देखिएको छ। पुल निर्माणपछिको एक वर्षमै स्थानीय व्यापारीहरूले कृषकका घरमै पुगेर ६५ मेट्रिक टन रैथाने अन्नबाली खरिद गरी अन्यत्र ढुवानी गरेका छन्। यसले कृषकलाई रैथाने बालिको खेती र संरक्षणतर्फ थप प्रेरित गरेको स्थानीय बताउँछन्। 

पहिले बिरामी परे सदरमुकाम गमगढी पुग्नै पथ्र्यो। जिल्ला अस्पतालमा उपचार सम्भव नभए रारा विमानस्थल हुँदै नेपालगन्ज वा काठमाडौंं जानुपथ्र्यो। जहाज कुर्दाकुर्दै धेरैले ज्यान गुमाएका पीडादायी घटना पनि कम छैनन्। अहिले भने एम्बुलेन्स र जिपमार्फत एक दिनमै सुर्खेत वा नेपालगन्ज पुग्न सकिने भएको छ।
‘हामीले पाएका दुःख सुनाउने हो भने अहिलेको पुस्ताले पत्याउँदैन,’ नन्दबहादुर भन्छन्, ‘मैले पुललाई ढोग्नुको कारण हाम्रो पुस्ताले भोगेको पीडालाई बिर्साउने विकासप्रति सम्मान प्रकट गर्नु पनि हो।’

३ करोड ३७ लाख ९४ हजार ४ सय ३७ रुपैयाँ लागतमा निर्माण गरिएको ४८ मिटर लामो यो बेलिब्रिजले सोरु गाउँपालिकालाई कर्णाली करिडोरसँग जोडेको छ। यससँगै यातायात, स्वास्थ्य, व्यापार र कृषिमा आएको सहजताले कर्णालीको विकास यात्रामा नयाँ अध्याय थपिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.