एनपीएल : लुम्बिनी च्याम्पियन, सुदूरपश्चिम उपविजेता नै

एनपीएल : लुम्बिनी च्याम्पियन, सुदूरपश्चिम उपविजेता नै
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो। यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ।

पहिलो संस्करणमा पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो। लुम्बिनीलाई पहिलो पटक च्याम्पियन बनाउन कप्तानकुमार रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनीहरूको धारिलो बलिङ सामु धराशयी बनेको सुदूरपश्चिम ८५ रनमै समेटिएको थियो। सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। निकै आक्रामक सुरुवात गरेको लुम्बिनीले पहिलो ओभरमै २७ रन जोडेको थियो। 

लुम्बिनीका दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै चार छक्का प्रहार गर्दै २७ रन जोडेका थिए। दिनेशले १३ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा ४२ रन बनाए। पहिलो विकेटका लागि दिनेशले डार्सी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए। हेमन्त धामीले गरेको पाँचौं ओभरमा डार्सी सर्ट र दिनेश पेभेलियन फर्किएका थिए। सर्टले १३ रन बनाउँदा कप्तान रोहितले १६ र निरोसन डिक्वेलाले अविजित ११ रन बनाए। 

दिलिप नाथले विजयी रन जोडेका थिए। सुदूरपश्चिका हेमन्त धामीले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले एक÷एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो। सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। 
उनले ५१ बलमा एक चौका प्रहार गरे। कप्तान दीपेन्द्रले १३ रन बनाउँदा हरमित सिंह र स्कट कुग्गेलेइनले समान १० रन जोडे। सुदूरपश्चिमलाई धराशयी बनाउन लुम्बिनीका कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्लले तीन÷तीन विकेट लिए। रोहितले ११औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। 

उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई पेभेलियन फर्काएका थिए। उनले चार ओभरमा जम्मा १२ रन खर्चिएका थिए। यस्तै ट्रम्पलम्यानले २.१ ओभरमा तीन रन खर्चिएर तीन विकेट लिएका थिए। ट्रम्पलम्यानले विनोद भण्डारी, सेल्डन ज्याक्सन र अभिनाश बोहराको विकेट लिएका थिए। 

यसैगरी शेर मल्लले पनि चार ओचरमा १८ रन खर्चिएर तीन विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा विराटनगर किङ्सका सन्दीप लामिछाने र सुदूरपश्चिमका अभिनाश बोहरासँगै संयुक्त रुपमा शीर्ष स्थानमा रहे। उनीहरू तीनै जनाले समान १७ विकेट लिएका थिए।

लुम्बिनीको लगातार ६ खेलमा जित
लुम्बिनीले उपाधि जित्ने क्रममा पछिल्ला ६ खेलमा लगातार जित निकालेको थियो। दोस्रो संस्करणको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लगातार तीन खेलमा पराजित भएपछि प्लेअफ होडबाट बाहिरने अवस्थामा पुगेको लुम्बिनीले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो।

लुम्बिनीले कर्णाली याक्ससँग ९ विकेट, काठमाडौं गोर्खाजसँग २२ रन र सुदूरपश्चिम रोयल्ससँग सात विकेटले पराजय बेहोरेको थियो। त्यसपछि पोखरा एभेन्जर्सलाई तीन विकेट, विराटनगर किङ्सलाई पाँच विकेट, जनकपुर बोल्ट्सलाई चार विकेटले परािजत गरेको थियो। 

यस्तै एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

रोहितले पाए कार
नेपाल प्रिमियर लिगमा नेपाली खेलाडीतर्फ लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल उत्कृष्ट घोषित भएका छन्। लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई ६१ लाखको ओमोडाको कार प्रदान गरिएको थियो। रोहितले प्रतियोगिता अवधिभर २ सय ७६ रन बनाउनुका साथै १० विकेट लिएका थिए। रोहितले कर्णाली याक्सविरुद्ध सर्वाधिक ४९ रन बनाएका थिए। उनी प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित भए। उनले एक थान मोटरसाइकल पनि प्राप्त गरे। 

यसैगरी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा घोषित भए। उनले एनपीएलको दोस्रो संस्करणमा १७ विकेट लिएका थिए। उनले विराटनगरका सन्दीप लामिछाने र लुम्बिनीका शेर मल्लसँगै सर्वाधिक विकेट लिनेमा संयुक्त रूपमा शीर्ष स्थान हासिल गरेका थिए। प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने घोषित भए। उनले एक थान मोटरसाइकल पाए।

एनपीएलको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्रम्पलम्यान घोषित भए। नामिबियाका पेस बलर ट्रम्पलम्यानले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। उनले प्रतियोगिता अवधिभर १५ विकेट लिएका थिए। उनले ६५ रन पनि बनाएका थिए। उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भए। मल्लले पनि मोटरसाइकल पुरस्कार प्राप्त गरेका थिए।

लुम्बिनीलाई १ करोड १० लाख पुरस्कार

दोस्रो संस्करणको एनपीएलको उपाधि विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ। लगातार दोस्रो पटक उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझायो। तेस्रो भएको विराटनगरले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौं गोर्खाजले १५ लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। 

प्रतियोगितामा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरेका थिए। मंसिर १ गतेबाट सुरु भएको प्रतियोगिताका अधिकांश खेल दिवा÷रात्रि रूपमा सञ्चालन गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.