हिमाली भेगमा लोकप्रिय लट्टे
गोरखा : तल्लो भेगका बासिन्दाले प्रायः स्वाद चाख्न नपाएका लट्टे हिमाली भेगको भने लोकप्रिय खाना हो। समुद्री सतहबाट २ हजारदेखि २५ सय मिटर उचाइमा हुने लट्टे गाउँलेको पहिलो रोजाइको खाना हुने गरेको चुमनुब्री गाउँपालिका—६ चुम्लिङका स्थानीय बताउँछन्।
पोसिलो र जाडोका बेला ज्यान तताउने हुँदा लट्टे महँगो पनि र लोकप्रिय पनि हुने स्थानीय गोपाल लामा बताउँछन्। ‘गहुँ एक घ्वाक (तीन माना)को डेढ सय रुपैयाँमा पाइन्छ। नाना (लट्टे)लाई एक घ्वाकको दुई सय पर्छ’, चुम्लिङका गोपाल लामा भन्छन्, ‘गहुँ, जौभन्दा पोसिलो र जाडोको बेला ज्यान तातो बनाउने हुनाले गाउँलहरूले लट्टे नै मन पराउँछन्।’
उत्तरी गोरखाको चुम्लिङ, लोक्पा, रिब्चेत, ताजु, बिहीमा पाइने लोकप्रिय लट्टे गाउँलेहरूले भर्खरै भिœयाएका छन्। ‘मकै सँगसँगै वैशाखतिर रोप्ने हो। अनि मकैसँगै असोजतिर भिœयाउने हो’, ताजुका धावा लामा भन्छन्, ‘चार पटकसम्म गोडमेल गर्नुपर्ने भएकाले लट्टे खेती गर्न अल्ली झन्झटिलो हुन्छ।’
यस वर्ष लट्टे गत वर्षभन्दा कम उत्पादन भएको स्थानीय किसानको भनाइ छ। ‘यसलाई झारले धेरै दुःख दिन्छ। त्यसैले धेरैपटक राम्रोसँग गोडमेल गर्नुपर्छ नत्र राम्रो उत्पादन हुँदैन’, उनी भन्छन्, ‘त्यही भएर होला, यो वर्ष पोहोर, परारजस्तो त्यति धेरै राम्रो भएन।’
सरकारले पनि लट्टे, कागुनोजस्ता स्थानीय रैथाने बालीलाई प्राथमिकता दिएको छ। धेरै उत्पादन गरेर सहर पुर्याउन सके यसको बजार पनि धेरै राम्रो भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !