एनपीएलमा ‘ सर्प्राइज’ बनेको लुम्बिनी
तेस्रो, दोस्रो र पहिलोलाई पाखा लगाउँदै लम्कियो उपाधिमा सिंहको पन्जा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सकिएको छ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको उपाधि जितेको हो।
नयाँ च्याम्पियन पाए पनि एनपीएलको पहिलो र दोस्रो संस्करणको उपविजेता टिम भने एउटै बन्यो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको पनि उपविजेता थियो भने दोस्रो संस्करणमा पनि उपविजेतामा सीमित भयो।
पहिलो संस्करणमा लिग चरणको पुछारमा रहेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा उपाधि जित्छ भन्ने कसैको परिकल्पना पनि थिएन। लिगको पुछारबाट च्याम्पियनसम्म लुम्बिनी लायन्सले तय गरेको यात्रा पक्कै सहज थिएन। तर असम्भव भने टिमले मानेन। यही विश्वास र उत्प्रेरणासहित लिगको पुछारबाट लुम्बिनी लायन्सले च्याम्पियनसम्मको यात्रा तय गर्यो।
दोस्रो संस्करणको एनपीएलका लागि लुम्बिनी लायन्स ‘सरप्राइज’बन्यो। कसैले अपेक्षा नै नगरेको लुम्बिनीको सिंहले शीर्ष चारभित्र स्थान बनाउँदै तेस्रो, दोस्रो र पहिलो टिमलाई पाखा लगाउँदै उपाधिमा आफ्नो पन्जा लम्कायो।
दोस्रो संस्करणमा पहिलो खेल जित निकाले पनि त्यसपछिका लगातार तीन खेलमा हार व्यहोरेपछि लुम्बिनी लायन्स प्लेअफमा पनि स्थान बनाउँदैन कि! भन्ने शङ्का र उपशंकाका बीचमा स्थान बनाउने टिम हो। लुम्बिनी लायन्सले त्यसपछिका लगातार चार खेलमा जित दर्ता गर्दै प्लेअफ, एलिमिनेटर, दोस्रो क्वालिफायरको चरण पार गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा लुम्बिनी लायन्सले लिग चरणमा निकै राम्रो लय कायम गरेर पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको सुदूरपश्चिम रोयल्ससँग खेलेको थियो।
सुदूरपश्चिम रोयल्सको लगातारको जित र उच्च मानसिकतासहितको टिमसँग फाइनलमा भेट गर्न कप्तान रोहित पौडेल र उनको टिम तयार भयो। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लियो। यो निर्णय कप्तान दीपेन्द्र सिंह ऐरीले लिए।
ओपनिङ ब्याटिङमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी र केही परिवर्तनशील रणनीतिका साथ मैदानमा छिरेका इशान पाण्डे आए। विनोद भण्डारी डकआउट हुँदै पेभेलियन फर्किए। खेलको मोड तब बदलियो जब रोहित कुमार पौडेलले ११ औँ ओभरमा ह्याट्रिक विकेटले पहिलो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरी पेभिलियन फर्किए। दोस्रो विकेट दीपक बोहरा सन्दीप जोराको हातबाट क्याचआउट भए। यस्तै एघारौँ ओभरको अन्तिम बलमा रोहित कुमार पौडेलले पुनित मेहरालाई एलबीडब्लु आउट गराए।
यतिबेला सुदूरपश्चिम रोयल्सले ११ ओभरको समाप्तिमा ४४ रन जोड्दै ६ विकेट गुमाएको थियो। रोहित कुमार पौडेलको ह्याट्रिक विकेटले सुदूरपश्चिम रोयल्सको ब्याटिङ कोल्याप्स भयो। उनलाई शेर मल्ल र रुबेन ट्रम्पलमेन्टको पनि राम्रो सहयोग मिल्यो। तीन खेलाडीले ३–३ विकेट लिँदा सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अल आउट भयो। लेक्चरन र पहिलो क्वालिफायरमा निकै राम्रो प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको सुदूरपश्चिम रोयल्सले फाइनलमा यस्तो प्रदर्शन गर्ला भन्ने निकै कमको अपेक्षा रहेको थियो।
लुम्बिनी लायन्सले जितमा तारिफ योग्य बलिङ ग¥यो। ब्याटिङमा पहिलो ओभरमै ओपनर ब्याटर दिनेश अधिकारीले लगातार चारवटा छक्का प्रहार गर्दै पहिलो ओभरको समाप्तिमा २७ रनको स्कोर बनाए। उनको आक्रामक सुरुवातसँगै लुम्बिनीले राम्रो सुरुवात बनायो।
६ ओभरको समाप्तिमा लुम्बिनी लायन्सले दुई विकेटको क्षतिमा ७२ रन बनाएको थियो। सात ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा लुम्बिनीले ८३ रन बनायो। ७.२ ओभरमा अविनाश बोहराको बलमा निरोशन डिकवेलाले एक रन लिए। ८४ रन जितका लागि लुम्बिनी लायन्सलाई जम्मा दुई रन चाहिएको थियो। दुई रन चाहिएको अवस्थामा लुम्बिनीले दुईवटा विकेट पतन गर्यो। ७.५ ओभरमा अविनाश बोहराको बलमा रोहित कुमार पौडेल। त्यस्तै ८.५ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोरा अविनाश बोहराको हातमा क्याच भए। ८.३ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा निरोशन डिकवेलाले एक रन लिए। जितका लागि एक रन आवश्यक रहेको थियो। ८.५ ओभरमालुम्बिनी लायन्सले चौथो विकेटका रूपमा सन्दीप जोरालाई गुमायो। लुम्बिनी लायन्सका लागि पाँचौं विकेटका रूपमा क्रिजमा आएका दिलीप नाथले ८.६ ओभरमा एक रन लिँदै लुम्बिनीलाई जित दिलाए।
यसरी धर्मराउँदै उतारचढाव पूर्ण रहेको लुम्बिनी लायन्सले उपाधिसम्मको यात्रा तय गर्यो।
लुम्बिनीको सपना पूरा भएको क्षण
दोस्रो संस्करणको एनपीएल सुरु गर्दा लुम्बिनी लायन्स अघिल्ला चार खेलमा एक जीत र ३ हारसहित अङ्कतालिकाको तल्लो स्थानमा रहेको थियो। त्यो स्थानबाट च्याम्पियनसम्मको यात्रा तय गर्नु कप्तान रोहित पौडेलको टिमलाई सहज थिएन। तर यो जित लुम्बिनी लायन्सको सपना पूरा भएको क्षण रहेको कप्तान पौडेलले बताए। ‘सपना पूरा भएको क्षण हो यो। सिजन सुरु गर्दा चार खेल खेलिसक्दा १ जित र ३ हारसहितको स्थितिबाट च्याम्पियनसम्मको स्थितिमा आउनु भनेको एकदमै ठूलो उपलब्धि हो,’दोस्रो संस्करणको एनपीएलको उपाधि जितिसकेपछि कप्तान रोहित पौडेलले पत्रकारसँग भने।
उपाधि जितिसकेपछि सम्पूर्ण टिमले च्याम्पियन लेखेको जर्सी लगायो। त्यो जर्सी फाइनल खेलको बिहानमा मात्रै बनेको थियो। सोही जर्सीको लाज राख्न भएपनि टिमले राम्रो खेलेको कप्तान रोहितले जितपछि बताए। ‘यो जर्सी फाइनल खेलको बिहान मात्रै बनेको थियो। यसका लागि भएपनि खेल्नुपर्छ भन्ने भावना आएको थियो।’
अङ्ग्रेजीमा भनिन्छ, ‘राइज फ्रम र एसेस’ (खरानीबाट फेरि उठ्नु) सायद यो भनाइ लुम्बिनी लायन्सका लागि निकै सौहार्दपूर्ण हुन्छ। पुछारबाट शीर्षसम्मको यो यात्रा लुम्बिनी लायन्सका लागि मात्र नभई अन्यको लागि प्रेरणादायी बनेको छ। असफलताबाट सिकेर पुनरागमन गर्न सकिन्छ भन्ने उदाहरण लुम्बिनीले प्रस्तुत गरेको छ।
खेलमा हार जित सामान्य कुरा हो। तर लुम्बिनी लायन्सका लागि उपाधि जित्नु भनेको सामान्य कुरा रहेन। यो खेलकुदको सबैभन्दा मिठो पक्ष हो। जहाँ अन्तिम साससम्म पनि लड्न सक्ने क्षमता यो विधामा रहन्छ। अन्तिम विकेट र अन्तिम रनसम्म पनि जित्ने प्रतिज्ञा र आशसहित खेलाडीहरू मैदानमा खेलिरहन्छन्। लिग चरणमा लगातारको तीन हारपछि लुम्बिनीले पनि पुनरागमन र पुनर अठोट पुनः रणनीतिक संयोजन र आत्म विश्लेषण गर्यो। सोही अठोटलाई एकपछि अर्को खेल गर्दै लुम्बिनीले लागू गर्दै गयो। यसैको कारण लुम्बिनीले दोस्रो संस्करणको एनपीएलको उपाधि जित्यो।
यस वर्ष गजबको संयोग अर्को बन्यो पहिलो संस्करणको उपाधि विजेता रहेको जनकपुर बोल्ड्स यसपटक अङ्कतालिकाको पुछारमा रहेको छ। पहिलो संस्करणको पुछारमा रहेको टिम लुम्बिनी लायन्स दोस्रो संस्करणको उपाधि विजेता टिम बन्यो। यो संयोग बन्दै गर्दा अर्को एउटा संयोग बन्यो जसमा शेर मल्लले पहिलो संस्करणको उपाधि विजेता टिम जनकपुर बोल्ड्सबाट खेलेका थिए। दोस्रो संस्करणमा पनि उनले एनपीएलको स्वर्ण पदक पहिरिए।
लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल प्रतियोगिताको नेपाली खेलाडीमध्ये सर्वाधिक रनकर्ता हुँदै पल्सर मोटरसाइक विजेता रहे। उनले १० खेलमा १० विकेट र २७६ रन बनाएका थिए। जसको फलस्वरूप उनी सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमेडाको कार जिते। लुम्बिनीको सुखद अन्त्यसँगै कप्तान रोहित कुमार पौडेलको कप्तानीमा अर्को एउटा स्टार थपिएको छ।
लुम्बिनी लायन्सका अर्का खेलाडी शेर मल्ल प्रतियोगिताको उदयमान खेलाडी घोषित भए। उनले पल्सरको एक थान मोटरसाइकल जिते। लुम्बिनी लायन्सका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रूपमा लुम्बिनी लायन्सका बायाँ हाते तीव्र गतिका बलर रुबेनट्रम्पलमेन घोषित भए। उनले पाँच लाख रुपैयाँ प्राप्त गरे। व्यक्तिगत उपाधितर्फ पनि लुम्बिनीका खेलाडीको वर्चस्व रह्यो।
रेडबुल इनर्जेटिक प्लेअर अफ दी टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका अभिनास बोहोरा भए। सर्वाधिक विकेट लिने नेपाली खेलाडी सन्दीप लामीछाने भए। उनले १ थान पल्सरको बाइक जिते।
प्रतिक्रिया दिनुहोस !