पोखरामा सडक महोत्सव, सुनसरीमा प्रचारप्रसार
सुनसरी : पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने २७ औं पोखरा सडक महोत्सवको भव्य तयारी गरिएको छ। सडक महोत्सव भव्यरुपमा सफल बनाउन आयोजकले देशभरका मुख्य शहरमा प्रसारप्रसारलाई तीव्र पारेका छन् ।
पोखरा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) को आयोजनामा आउँदो पुस १३ गतेदेखि १७ गते सम्म हुने सडक महोत्सवमा सहभागी हुन निम्तो दिन आयोजक टोली सुनसरीको धरान,इटहरी र विराटनगरमा प्रचारप्रसारलाई तीव्रता दिएको हो।
पर्यटकीय नगर पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक वसन्त गौतमले बताए ।
उनले महोत्सव अवधिभर पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गरिने बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, लोक दोहोरी, सांस्कृतिक झाँकी, परम्परागत नृत्य, खानाका स्टल, हस्तकला प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक खेल समावेश गरिने गौतमले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै युवालाई सिर्जनशील गतिविधितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । फूड फेस्टिभल, टग अफ वार, ट्यालेन्ट शोजस्ता कार्यक्रमले दर्शकको विशेष आकर्षण बढाउने संयोजक गौतमले बताए । 'सडकमै खायौं, सडकमै रमाऔं' भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्तरास्ट्रिय परिकारहरूको स्वाद लिन पाइनेछ । त्यस्तै फेवा तालमा बोट रेस, वेटर रेस, रस्सा कस्सी जस्ता साहसिक खेल प्रतियोगिता गराइने पनि गौतमले बताए ।
महोत्सवलाई थप आकर्षक बनाउन र अवलोकनमा आउने पर्यटकलाई होटल तथा रेष्टुरेन्ट व्यवसायीले महोत्सव अवधिभर होटलका कोठामा २० प्रतिशतसम्म छुट तथा खानाका परिकारमा समेत विशेष छुट प्रदान गरिने पोखरा पर्यटन वर्ष २५ का संयोजक गोपी भट्टराईले बताए ।
यो सुविधाले पर्यटकलाई पोखरामा बसाइ सहज हुने उनको भनाइ छ । पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रलाई एकैसाथ मजबुत बनाउने लक्ष्यसहित आयोजना हुन लागेको यो महोत्सवले पोखराको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने आयोजकले बताएको छ ।
महोत्सवको प्रचार प्रसारमा आयोजकको टोली धरान, विराटनगर, जनकपुर, काठमाडौंलगायतका स्थानमा गएर महोत्सवमा आउन निम्तो दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !