रोटी बनाउने सीप सिक्दै, आयआर्जनमा जोडिँदै
तानसेन : पछिल्लो समय महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्ने चाहनासँगै विभिन्न सीप तथा उद्यममा आकर्षित हुँदै गएका छन्। घरमै बसेर स–साना काम गर्नेदेखि ठूला उद्योग–कलकारखाना सञ्चालन गर्नेसम्मका सीप सिकेर महिला आयआर्जनमा जोडिन थालेका छन्।
जसको कारण चुलोचौकोमा सीमित रहन बाध्य महिलाहरू घर, परिवार, समाज राष्ट्रको नेतृत्वमा सबल र सक्षम बन्दै गएका छन्। बजारको आवश्यकता, माग र उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै सीप विकासमा लागेका महिलाहरूले आफ्नै घरआँगनबाटै लाखौं रुपैयाँ आम्दानी गर्न थालेका उदाहरणहरू बढ्दै गएका छन्।
महिलालाई आर्थिक रूपमा बलियो बनाउने अभियानका साथ तानसेन नगरपालिकाभित्रका महिलाहरूलाई लक्षित गर्दै असनटोल विकास समितिले नेवारी कला, संस्कृति तथा परम्परामा आधारित रोटी बनाउने सीपमूलक तालिम सञ्चालन गरेको छ। महिलाहरूको आयआर्जन बढाउने उद्देश्यसहित सञ्चालन गरिएको तीन दिने तालिममा २० महिलाले विभिन्न प्रकारका रोटी बनाउने सीप सिकेका छन्।
तालिममा सहभागी महिलाहरूले लोपोन्मुख अवस्थामा पुगेका नेवारी समुदायका परम्परागत रोटीका परिकारहरू लाखामरी, पाते, सेगुली, सिन्कामरी, झिनिया, फिनी तथा सेल रोटी बनाउने व्यावहारिक सीप सिकेका छन्।
पछिल्लो समय आधुनिक जीवनशैली, फास्टफुड संस्कृतिको प्रभाव र पुस्तान्तरणको अभावका कारण नेवारी समुदायमा चलनचल्तीमा रहेका पाते र लाखामरीजस्ता परिकारहरू हराउँदै जान थालेपछि तिनको संरक्षण र प्रवर्द्धनका लागि तालिम सञ्चालन गरिएको संस्थाकी अध्यक्ष अनुराधा वज्राचार्यले बताइन्। नेवारी कला संस्कृति जोगाउनुका साथै एक समुदायबाट अर्को समुदायमा मौलिक परम्पराको हस्तान्तरण गर्दै महिलालाई आर्थिक गतिविधिमा जोड्ने उद्देश्य संस्थाको रहेको छ।
तानसेन एउटा सांस्कृतिक सहर भएकोले, यहाँका जातजातिका परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्ने र जसबाट महिलाले राम्रो आम्दानी गर्न सक्ने भएकोले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिइने तानसेन नगरपालिका– २ का वडाध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले बताए।
रोटी बनाउने सीप हस्तान्तरण तालिममा सहभागी महिलालाई परम्परागत रोटी बनाउने विधि, कच्चा पदार्थको छनोट, सरसफाइ, गुणस्तर तथा बजार व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरेको प्रशिक्षक अनुजा वज्राचार्यले बताइन्। महिलालाई आफैंले रोटी बनाएर अभ्यास गराएको , स्वाद र गुणस्तर कायम गर्ने भन्ने विषयमा विशेष ध्यान दिइएको संस्थाकी सचिव सुनिताकुमारी प्रधानले बताइन्। अनुजा वज्राचार्य, कृष्णकली वज्राचार्य, यशोधरा वज्राचार्य र उषा प्रधानले सहभागी महिलालाई रोटी बनाउने सीप सिकाएका थिए।
घरमै बसीबसी महिलाहरू सीप सिकेर आत्मनिर्भर पनि बन्ने र परम्परागत ज्ञान र संस्कृति जोगिन सक्ने भएकोले सीप हस्तान्तरण तालिम सञ्चालन गरिएको संस्थापक अध्यक्ष शकुन्तला वज्राचार्यले बताइन्। तालिमबाट घरमै बसेर परम्परागत रोटी बनाएर बिक्री गर्न सकिने, विवाह, व्रतबन्ध भोजभतेरमा होटल तथा समारोहमा रोटी बनाई बिक्री गरी घरायसी खर्च धान्न सकिने गरी व्यावहारिक रूपमै अभ्यास गरी सीप सिकेको तालिममा सहभागी महिला निर्मला श्रेष्ठ र गंगा नेपालले बताए। तानसेन नगरपालिका– २ को आर्थिक सहयोगमा संस्थाले तीन दिने रोटी बनाउने तालिम सञ्चालन गरेको हो।
प्रतिक्रिया दिनुहोस !