अवैध काठ बरामद
कैलाली: कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा कटान गरिएको १२८ क्यू फिट काठ बरामद गरिएको छ।
डिभिजन वन कार्यालय धनगढीबाट खटिएको टोलीले आज चुरे पहाडी क्षेत्रको उक्त वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त काठ बरामद गरेको हो। कार्यालय प्रमुख रामविचारी ठाकुरका अनुसार चुरे क्षेत्रमा व्यापक रुपमा काठको चोरी तस्करी भइरहेको सूचना पाएपछि गस्ती टोलीले सालको काठ बरामद गरेको हो।
जङ्गलभित्र हातेआरा प्रयोग गरी चिरान गरेर तस्करले सिस्नु र बाँसको झाङमा लुकाएको अवस्थामा उक्त काठ बरामद गरिएको हो। काठ तस्करीमा संलग्न व्यक्तिको खोजतलास भइरहेको वन अधिकृत ठाकुरले बताए। सबैभन्दा बढी वन क्षेत्र रहेको कैलाली जिल्लामा पछिल्ला वर्षमा वन फडानी र तस्करी बढ्दै गए पनि रोकथामको प्रभावकारी पहल नभएको जनगुनासो छ। खासगरी जिल्लाका विभिन्न सडक क्षेत्र आसपासमा रहेको वन क्षेत्र फडानी गरेर वस्ती बस्ने गरेको छ।
स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएका जिल्लाका अधिकांश सामुदायिक वनको संरक्षण, सम्वर्द्धन एवं व्यवस्थापनको काम भने नमूनाको रुपमा रहेको छ। यसैबीच प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मान्त्रालयले वन पैदावार बिक्री वितरण लगाइएको प्रतिबन्ध आज फुकुवा गरिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !