एमाले महाधिवेशन निहितार्थ
नयाँ अनुमोदनसहितको नेतृत्वबाट आसन्न निर्वाचनमा एमालेले नयाँ विचारसहित जाँदा नै आफूलाई अगाडि लैजान सक्छ।
नेकपा एमालेले भदौ २३ र २४ को जेन–जी आन्दोलनप्रति फरक धारणा राखिरहेको छ। त्यसलाई स्वीकार्ने पक्षमा पनि ऊ देखिन्न। तर त्यसैको रापताप र दबाबकै परिणाम एमालेले विशेष महाधिवेशन गर्नु परेको चाहिँ यथार्थ हो। अस्ति २७ गते भक्तपुरमा सुरु भएको एमालेको ११औं महाधिवेशन किन पनि विशेष हो भने यो नियमित महाधिवेशन होइन। र, जेन–जी आन्दोलनले मुलुकमा ल्याएको परिस्थितिको उपज हो, जसले परिवर्तनको शंखघोषमात्रै गरेन, पुराना पार्टीहरूको अस्तित्वमाथि धावा बोल्यो। त्यसमाथि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट विस्थापितसमेत हुनुपर्यो।
हुन त एमालेको यो महाधिवेशनले विचारमाथि छलफल गर्ने होइन, मात्रै नेतृत्व परिवर्तन गर्ने हो। तर गर्नुपर्ने थियो किनभने जेन–जी विद्रोहले मुलुकमा राजनीतिक शक्ति सन्तुलनमात्रै उलटपुलट गरेको छैन, नयाँ कार्यदिशा र दृष्टिकोणको समेत खोजी गरेको छ।
नवयुवा पुस्ताले जस्तो मुलुकको कल्पना गरेको हो, त्यसअनुसारको नयाँ दृष्टिकोण र विचार पार्टीहरूले ल्याउन सकेनन् भने पुराना हौं भनेरमात्रै अस्तित्व नजोगिने खतरा छ। त्यसमाथि विचारलाई प्रधानता दिने पार्टीहरू विस्थापित हुने र सस्तो लोकप्रियतावादी हाबी हुने हो भने त्यसको सिधा असर लोकतन्त्रमाथि नै पर्छ। लोकतन्त्र बलियो हुनका लागि वैचारिक र लोकतान्त्रिक अडान भएका शक्ति नै बलियो हुनुपर्छ। त्यसको एक हिस्सा एमाले पनि हो भन्नेमा कुनै आग्रह राख्नु आवश्यक छैन। त्यस्तै अर्काे पुरानो पार्टी कांग्रेस पनि पुसमा महाधिवेशन जो गर्दैछ। यी दलहरूमा सुधार आए नै लोकतन्त्रमा पनि सुधारको अपेक्षा गर्न सकिन्छ। एमालेले भदौ २३ र २४ लाई फगत विदेशी षड्यन्त्र ठानिरहेको छ। तर त्यसमा ३०औं वर्षदेखि एमाले, कांग्रेस र साविक माओवादीले गरेको सत्ताको राइदाइँबाट उत्पन्न आक्रोश थियो भन्ने कुरालाई नजरअन्दाज गर्नु हुँदैन। सुशासनका लागि जनता व्याकुल बनेका थिए र दलहरू फगत सत्ताको ढिँडो ओडाल्नमात्रै तँछाडमछाड गरिरहे भन्ने जनताको बुझाइ थियो।
पूर्वाधार विकासका केही उल्लेखनीय काम भए पनि साधारण जनताको जीवनस्तरमा तात्विक फरक आउन सकेन। जनताले रोजगारी पाएनन्, इलमको वातावरण बनेन। सरकारी कार्यालयहरूमा निर्धाे नागरिकले काम गर्न सकेन। भनसुन र नातावाद कृपावाद हाबी भयो। त्यही कारण जेन–जीसँगै अरू सर्वसाधारण पनि सडकमा आउनु परेको हो। यो यथार्थलाई नबुझी फगत नेतृत्व परिवर्तनमा महाधिवेशन केन्द्रित हुनु स्वाभाविक छैन।
अघिल्लो पटक विचार र विधानको छलफल गरेको एमालेको तर्क छ। तर जेन–जी आन्दोलनले त्यसलाई असान्दर्भिक तुल्याइदिएको यथार्थ अस्वीकार गर्न परिवर्तनलाई नमान्नु हो। खासमा संसारमा एउटै कुरामात्रै स्थिर छ, त्यो हो परिवर्तन। द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण राख्ने पार्टी एमालेले किन परिवर्तन चाहिरहेको छैन भन्ने नै अनौठो छ। नेतृत्व परिवर्तन पनि केवल कर्मकाण्डमा सीमित नगरी महाधिवेशनले ताजा सन्देश पनि दिन सक्दा नै एमालेले समयलाई आत्मसात् गरेको ठहरिन्छ। नयाँ अनुमोदनसहितको नेतृत्वबाट आसन्न निर्वाचनमा एमालेले नयाँ विचारसहित जाँदा नै आफूलाई अगाडि लैजान सक्छ।
आउँदो निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन पनि एमालेले सघाउनुपर्छ। देशलाई संवैधानिक निकास दिने दृष्टिकोणसहित एमालेको नेतृत्व निर्वाचित हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !