एमालेको अग्निपरीक्षा, आन्तरिक विग्रहमा अल्झिने कि बृहत् वाम एकतामा अग्रसर हुने ?

एमालेको अग्निपरीक्षा, आन्तरिक विग्रहमा अल्झिने कि बृहत् वाम एकतामा अग्रसर हुने ?
एमालेको बन्द सत्र

काठमाडौं : २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीको मूलधार बोकेको एमालेको ११ औं महाधिवेशन राजधानीमा जारी छ। उद्घाटन सत्रमा व्यापक जनसहभागिता जुटाएको एमाले बन्दसत्रबाट नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ। र, उ सामु गम्भीर प्रश्न तेर्सिएको छ– सबैको नेतृत्व गर्दै राष्ट्रिय शक्ति बन्ने कि आन्तरिक विग्रहमा अल्झिने ? किनभने, यतिबेला एमालेको घर झगडा उग्र बन्दै गएको छ। 

नेताहरूबीच आरोप–प्रत्यारोप र तिक्तता बढ्दो छ। पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी गतिविधिमा फर्किन बन्देज लगाएपछि चर्केको विवाद झन बढ्दै गएको छ। ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको’ चर्को माग भइरहेका बेला तेस्रोपटक पार्टीको नेतृत्व लिन केपी शर्मा ओली नै अग्रसर भएपछि पार्टीमा गुटले संस्थागत रूप लिँदैछ। शक्ति हत्याउन विशेष महाधिवेशनले गरेका निर्णय उल्टयाउँदै ‘पदाधिकारी थप्ने, केन्द्रीय समिति बढाउने र मनोनीत प्रतिनिधिमा एकलौटी’ गरिएको भन्दै संस्थापन पक्षमाथि आरोप छ। त्यति मात्र होइन, पदाधिकारी थप्ने निर्णय उल्टयाउँदा ‘७० वर्षे उमेर हद र नेतृत्वमा दुई पटकभन्दा बढी बस्न नपाइने’ पूर्ववत निर्णयमा किन आंखा चिम्लेको भन्ने पनि प्रश्न पनि अध्यक्ष ओलीमाथि तेर्सिएका छन्। 

पार्टी अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष चुनावी मैदानमा उत्रिएको छ। स्थिति यस्तो देखिएको छ कि–संस्थापन पक्ष र पोखरेल समूह प्यानलै बनाएर चुनावी मैदानमा उत्रिँदैछन्। प्यानल बनाएर चुनाव लड्दा कुनै एक पक्ष सर्लक्कै बाहिरिए पार्टीको द्वन्द्व झनै उत्कर्षमा पुग्ने भन्दै महाधिवेशन प्रतिनिधि चिन्ता व्यक्त गर्न थालेका छन्। अर्कोतिर, वाम एकता गर्दै त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न एमालेमाथि दवाव बढिरहेका बेला आन्तरिक विवादले पार्टी झनै कमजोर हुने स्थिति देखिएको छ।

संस्थागत हुँदै गुट
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच आरोप–प्रत्यारोप बढ्दो छ। चुनावमा दुवै पक्षले तलैसम्म प्यानल बनाउने सम्भावना बढ्दै गएको छ। पार्टीको निर्वाचन आयोगले पुस १ गते मतदानका लागि निर्वाचन कार्यतालिक सार्वजनिक गरिसकेको छ। गुटगत प्यानलले पार्टीभित्र ‘फेरि पनि गुटलाई संस्थागत’ गर्ने सम्भावना देखा पर्दैछन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले उम्मेदवारी घोषणा गरेसँगै एमाले स्पट रूपमा दुई समूहमा विभाजित छ। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले बन्दसत्रमा नै विधि विधानअनुसार पार्टी नचलेको आरोप लगाइसकेका छन्। उनले पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीमा आउन नदिनु गलत भएको बताए। ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति आउँछु भनेपछि आउन पाउँदैनौं भन्नु कति विवेक सम्मत् हो ? पोखरेलले भने, ‘विल्कुल त्यो गलत हो त्यसरी भनिनुहुँदैन। नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ। तर, आउँछु मेरो घर हो। म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछुभन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो। यो गरिनु उचित थिएन।’
अध्यक्ष ओलीले भने दुनियाँले आफूलाई लखेटेर सत्तोसराप गरिरहेका बेला पार्टीका नेताहरूबाट नेतृत्व छोडन दबाब दिइएको भन्दै असन्तुष्टि जनाए।

‘दुनियाँका विरोधीहरूले लखेटेर अरू कोही नपाए जसरी केपी ओली एक्लो व्यक्तिलाई गालीगलौज, सत्तोसराप गरेका बेला मेरा वरिपरिका प्रिय कमरेडहरूले झन् माया गर्नुपर्ने होइन ? डोकोमा हालेर फाल्छौं भनेर त कहाँ हुन्छ र।’ ओलीले भने। भदौ २३ र २४ को घटनापछि ओली अपदस्थ भएका थिए। उनीप्रति चौतर्फी प्रहार पनि भयो र भइरहेको छ। अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्तावसमेत राखेका छन्। ओलीले जेन–जी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्नेसमेत प्रष्ट पारे। ‘कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने फेरि साथीहरूले ईश्वर कमरेड डोको फिर्ता लैजाऊँ है, तपाईंलाई पनि फाल्नुपर्छ भन्छन्। मेरो तर्फबाट घच्चमच्च भएको छ भने सरी,’ ओलीले भने। आफूले पार्टी, देश र जनताको शीर निहुरिने काम कहिल्यै नगरेको ओलीले दाबी गरे। अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा आउन चाहेमा निवेदन दिएर नयाँ सदस्यता लिन सक्ने बताए।  ‘उहाँले पार्टीलाई घृणा गरेर, मन नपरेर सदस्यता छाडेको हैन। पार्टीप्रति सम्मान र माया नै थियो,’ ओलीले भने, ‘राष्ट्रपति हुँदा संवैधानिक व्यवस्थाका कारण साँच्चै छाड्नुभएको हो। हामीले दुनियाँलाई ढाँट्नुपर्दैन। फर्किएर आए पनि भावनामा हैन, यथार्थमा चल्नुपर्छ।’

उनले सदस्यता नवीकरण भने नहुने स्पष्ट पारे। ‘विद्या भण्डारीको ७ वर्षको कार्यकालको सदस्यता दोहोरिँदैन। त्यो अघि एमालेको नेता हुनुन्थ्यो, त्यसपछि हुन सक्नुहोला तर त्यो अवधिमा उहाँ राष्ट्रको नायक हो,’ उनले भने, ‘त्यो बीचको सदस्यता जोड्नु भनेको कानुनसँगको खेलबाड हो। लिन मन छ भने म सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्‍यो।’

अध्यक्ष ओलीले नेतृत्व गरेको संस्थापन र पोखरेलले नेतृत्व गरेको इतर समूहबीचमा अस्वस्थ टकराव बढेको छ। ओलीसँग टक्कर लिनेलाई भीम रावल र माधव नेपाल बनाइने भन्ने चेतावनीका भाषाले पनि पार्टीमा विवाद बढ्दै गएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्पादकहरूसँगको संवादमा हारे पनि आफूले पार्टीमा विग्रह नल्याउने त बताएका छ्न् तर विगतमा उदाहरणले उनको भनाइमा पनि आशंका नगरिरहने ठाउँ छैन।

उता पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले ढोक्सो थापिरहेका छन्। २७ गतेपछि एमालेमा पहिरो जाने भन्दै प्रचण्डले प्रचार गरिरहेका छन्। छैटौं महाधिवेशनदेखि नै पार्टीमा विग्रह आउने गरेको पनि देखिएको छ। तत्कालीन शक्तिशाली नेता वामदेव गौतमले पार्टी विभाजन गरेका थिए। त्यस्तै ९ नवौं महाधिवेशनमा पराजित भएका र पार्टीको १५ वर्षसम्म एकछत्र राज गरेका माधव नेपालले समेत पार्टी विभाजन गरेका इतिहास छन्। 

पाकामाथि त्यागको दबाब
एमालेमा युवापुस्तालाई नेतृत्वमा ल्याउन र पाकालाई त्याग गर्न दबाब बढ्दै गएको छ। पटक–पटक नेतृत्व लिएका नेताले ठाउँ छोडिदिएर युवाहरूलाई मौका दिनुपर्ने देखिएको छ। कतिपय नेताले अब महाधिवशेनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन्। उनीहरूले ७० वर्षे उमेर हद कायम गर्नु माग गर्दै केन्द्रीय कमिटीको आइतबारको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नहुने घोषणा गरेका हुन्। 

उनीहरूले अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्न पनि सुझाव दिएका छन्। ज्ञवाली र शाक्यले पार्टी नेतृत्वमा नरहेपनि अनुभवका आधारमा पार्टीमा सक्रिय रहने बताए। शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री हुन्। काठमाडौंकी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री भएकी थिइन्। ज्ञवाली पनि पटक–पटक मन्त्री भइसकेका नेता हुन्। उनीहरू पार्टी नेतृत्वमा पनि लामो समयदेखि रहँदै आएका थिए। अनुशासन आयोग अध्यक्ष केशव बडालले पनि नेतृत्वको दाबी नगर्ने बताएका छन्। पार्टी महाधिवेशनको बन्दसत्रमा अनुशासन आयोगका अध्यक्ष बडालले अब सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिने घोषणा गरे। पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने बताउँदै बडालले भुइँ तहमा बसेर पार्टीको काम गरिरहने बताए।

ज्ञवाली, शाक्य र बडाल तीन जनाले ७० वर्ष पनि काटिसकेका छन्। पूर्वमन्त्री दलबहादुर रानामगर, बर्दियाका नेता भीम केसीले पार्टी जीवनबाट अलग हुने घोषणा गरेका छन्। युवा नेतृ ईश्वरी जिएमले केही वर्ष पार्टीको कामबाट अलग हुने घोषणा गरेकी छन्। पत्रकारिताबाट राजनीतिमा आएकी रोल्पाकी नेतृ जिएम २०७९ मा रोल्पाबाट समानुपातिक संसद् भएकी थिइन। पारिवारिक व्यवस्थापनका कारण केही वर्ष पदीय जिम्मेवारी नलिने, कार्यकर्ताका रूपमा मात्रै रहनेछु, उनले भनिन्। केन्द्रीय सदस्य एवं बर्दिया नेता भीम केसीले सामाजिक सञ्जालमा लेखेर पार्टी जीवनबाट बिदा लिने घोषणा गरेका छ्न। उनले लेखेका छन्, ‘यसै महाधिवेशनबाट खुसी साथ बिदा लिँदैछु। बाचिन्जेलसम्म पार्टी र आन्दोलनको पक्षमा लागिरहने प्रतिज्ञा गर्दछु।’ 

एमालेको नेतृत्वमा रहेका अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ७० काटिसकेका छन्। राजनीतिक विश्लेषक रामरिजन यादव एमालेका माथिल्लो तहका नेताहरूले रूपान्तरण नै नचाहने बताउँछन्। ‘एमालेमा नेतृत्वबाट बिदा लिन कोही तयार छैनन्,’ उनले भने, ‘अहिलेको अवस्थामा युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हो। तर, त्यो हुनेवाला छैन। पुरानै नेतृत्वमा आउने छन्।’ दुई कार्यकालको व्यवस्था गरेर रुपान्तरणको दिशामा जाने आशा गरिएको एमालेले पुन:  पछाडि हटेर तीन कार्यकाल अध्यक्ष ओली नै नेतृत्व गर्न लागेको पनि उनले स्मरण गराए। 

वरिष्ठ उपाध्यक्ष राखिएन, पदाधिकारीको संख्या १९ नै पुर्‍याइयो 

एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले पदाधिकारी घटाउने भनी गरेको निर्णय उल्ट्याएको छ। पदाधिकारी १९ जना नै राख्ने निर्णय गरिए पनि वरिष्ठ उपाध्यक्ष पद भने ब्युँताइएन। हाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्। अन्तिम केन्द्रीय समितिको बैठकले १९ सदस्यीय पदाधिकारी राख्ने व्यवस्थालाई अनुमोदन गरेको छ भने केन्द्रीय समिति ३ सय १ सदस्यीय बनाउने निर्णय गरेको छ। 

अध्यक्ष १,उपाध्यक्ष ५,महासचिव १,उपमहासचिव ३,सचिव ९ सहित १९ पदाधिकारी बनाउने निर्णय केन्द्रीय समितिले गरेको स्थायी समिति सदस्य शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी रहने व्यवस्था पनि गरिएको छ। पोलिटब्युरो सदस्य ९९ जना हुने निर्णय भएको छ भने पदाधिकारीसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने छ। 

गत भदौ २० देखि २२ गतेसम्म भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या घटाएर १५ बनाएको थियो। केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने निर्णय गरेको थियो। यस्तै, अध्यक्ष १, उपाध्यक्ष ३,महासचिव १, उपमहासचिव ३ र सचिव ७ सहित १५ जना मात्रै पदाधिकारी रहने व्यवस्था विधान महाधिवेशनले गरेको थियो। सचिवालय खारेज गर्दै १५ सदस्यीय पदाधिकारीलाई स्थायी समिति बनाउने निर्णय गरेको थियो। 

स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह मात्रै विधान महाधिवशेनले कायम गरेको थियो। नयाँ संरक्षाअुनसार केन्द्रीय कमिटीमा ३०१ जना हुनेछन्। महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपांगता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुल्ला, ३ जना महिला र १ जना युवा रहनेछन्। खुल्ला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। उक्त कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएका छन्।

समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुल्ला १५, महिला ८, युवा २) निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यस्तै मधेसीबाट १९ जना (खुल्ला ११, महिला ६, युवा २), दलितबाट १२ जना (खुल्ला ७, महिला ४, युवा १), थारु समुदायबाट ८ जना (खुल्ला ५, महिला ३), मुस्लिम समुदायबाट ५ जना (खुल्ला ४, महिला १) प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जना, श्रमिकबाट ३ जना (खुल्ला २, महिला १), अपांगता भएका व्यक्तिबाट १ जना, पिछडिएको क्षेत्रबाट २ जना (खुल्ला १, महिला १), सम्पर्क समन्वय कमिटीबाट २ जना (खुल्ला १, महिला १) निर्वाचित हुने छन्। 

एमाले संगठन विभाग सचिव माधव ढुंगेलले यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको बताए।

राजनीतिक विश्लेषक रामरिजन यादवले एमालेको महाधिवेशनले कुनै नयाँ सन्देश नदिने बताए। ‘यो महाधिवेशन मात्रै भुलभुलै हो। जनतालाई झुक्याउने मात्रै खोजिएको छ, यसले कुनै नयाँ सन्देश पनि दिदैन।’ उनले भने,न त जेनजीपुस्तालई नेतृत्व दिन पनि तयार छन्।’ 

केन्द्रीय कमिटीमा ५ प्रतिशत युुवा 
जेन–जी आन्दोलनको केही प्रभाव भने एमालेमा पनि परेको छ। एमालेले पार्टीमा युवा प्रतिनिधित्व ग्यारेन्टी गराउने गरी प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना गरी १ सय ६५ जना (४० वर्षमुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट गरेको छ। केन्द्रीय कमिटीमा ४० वर्षमुनिका करिब ५ प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउने भएको छ। त्यसो हुँदा १५ जना युवा केन्द्रीय कमिटीमा आउने छन्।

उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन्। एमालेको पार्टी संरचनामा ८ प्रदेश छन्। सात प्रदेश र उपत्यका गरेर एमालेको संरचनामा ८ प्रदेश छन्। खुला कोटामा युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेसीतर्फ युवा २ र दलिततर्फ युवा १ जना आउने व्यवस्थाको सुनिश्चिता गरिएको छ। अन्तिम केन्द्रीय समितिको बैठकले पुन:  एमालेको केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाउने निर्णय गरेको छ। यसरी हेर्दा अब एमालेको केन्द्रीय समितिमा युवा १५ जना हुनेछन्। यो कुल संख्याको ४.९८ प्रतिशत हुन्छ। ४० वर्षमुनिका नेतृत्वमा जान चाहनेहरू प्रशस्त छन्। जेन–जी आन्दोलनको प्रभावको बेला यो संख्या पनि कमी भएको कतिपय नेताको भनाइ छ। 

युवा संघ अध्यक्ष क्षितिज थेबे, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल, सुहाङ नेम्वाङ, अब्दुस मिया, प्रकाश पौडेललगायतले ४० वर्षमुनिका युवाबाट केन्द्रीय सदस्यका लागि लविङ गरिरहेका छन्। 

महाधिवेशन लम्बियो 
एमालेको ११ औं महाधिवेशन एक दिन थप लम्बिने भएको छ। महाधिवेशन २७ देखि २९ गतेसम्मलाई तय गरिएकोमा मतदानको मिति नै पुस १ मा तोकिएको छ। पुस १ गतेलाई मतदान तोकिएसँगै महाधिवेशनको अवधि पनि लम्बिएको हो। केन्द्रीय निर्वाचन आयोगले आइतबार (मंसिर २८ गते) बिहान ७ बजेदेखि मंगलबार पुस १ सम्मको कार्यतालिका सार्वजनिक गरेको छ।

पुस १ गते बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान र त्यसपश्चात मतगणना हुने जानकारी दिइएको छ। त्यसअघि मंसिर २९ गते सोमबार बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि साढे १० बजेदेखि मनोनयन दर्ता सुरु गरिने आयोगले जनाएको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोधसहित बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

निर्वाचनबाटै नेतृत्व 
नेतृत्व चयनका लागि एमालेमा निर्वाचन हुने सम्भनावना बढ्दै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचनकै तयारीमा जुटेका छन्। उनीहरू आआफ्नो टिम बनाउन थालेका छन। नेतृत्वमा सर्वसम्मतको लागि खासै कसरत भइरहेको पनि देखिँदैन। वरिष्ठ उपाध्यक्ष पद हटेका कारणले पनि निर्वाचनमै जाने निश्चित भएको छ। संस्थापन पक्षमा आकांक्षी धेरै भएको कारण पनि पदाधिकारीको संख्या थप भएका छ। 
निवर्तमान पोलिटब्युरो सदस्य विशाल भट्टराई सर्वसम्मतको सम्भावना क्षिण हुँदै गएको बताउँछन्। ‘सर्वसम्मतिको प्रयास त भइरहेको छ, तर सम्भावना कम नै देख्छु,’ उनले भने। अध्यक्ष ओली पक्षबाट महासचिवका लागि तीन जना नेता आंकाक्षी छन्। वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ महासचिवका दावेदार हुन्। 

ओलीले वर्तमान महासचिव पोखरेललाई अघि नै सार्ने सम्भावना धेरै छ। ज्ञवाली र गुरुङ पनि पछि नहट्ने भन्दै अड्िड कसिरहेका छन्। तर, ज्ञवाली र गुरुङलाई अरू पदमा व्यवस्थापन गरेर जाने गरी गृहकार्य भइरहेको छ। ओली पक्षबाट उपाध्यक्षमा कोशीबाट गुरु बराल, बागमतीबाट रामबहादुर थापा, गण्डकीबाट पृथ्वी सुब्बा गुरुङ, लुम्बिनीबाट विष्णुप्रसाद पौडेल आउन सक्ने सम्भावना छ। प्रदीप ज्ञवाली पनि उपाध्यक्षमा आउने सम्भावना छ। उपमहासचिवमा वर्तमान उपमहासचिव विष्णु रिमाल करिब–करिब कन्फर्म नै छन। वर्तमान सचिव पदमाकुमारी अर्याल उपमहासचिवको उम्मेदवार बन्ने सम्भावना छ। साथै छविलाल विश्वकर्मा पनि उपमहाचिवमा उक्लन सक्ने एक दाबेदार हुन्। 

वर्तमान सचिव रघुवीर महासेठ र लेखराज भट्टले माथिल्लो पद ताकिरहेका छन्। उपमहासचिवमा स्थायी समिति सदस्य शेरबहादुर तामाङ र शेरधन राईले पनि दाबी गरेको छ। पुराना नेता लालबाबु पण्डीतको व्यवस्थापन पनि छ। 

पोखरेलको पक्षबाट महासचिवमा सम्भवत वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा आउने सम्भावना प्रबल छ। पाण्डे उपाध्यक्षमा बसेर वर्तमान सचिव योगेश भट्टराई महासचिवमा लड्ने सम्भावना पनि उस्तै छ। वर्तमान सचिव गोकर्ण विष्टको महासचिवको चर्चा छ। उपाध्यक्ष र उपमहासचिवका उम्मेदवार पोखरेल पक्षले खोजिरहेको छ।

प्रतिस्पर्धा सचिवमा

कोशी प्रदेशबाट हाल योगेश भट्टराई सचिव छन्। उनले ईश्वर पोखरेल समूहबाट महासचिवमा लबिङ गरिरहेका छन्। महासचिव नपाए भट्टराई उपमहासचिवको उम्मेवार बन्ने पक्का जस्तै छ। अन्यमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्रप्रसाद गौतम, भीम आचार्य, हिक्मत कार्की, विनोद ढकाल, भानुभक्त ढकाल, अग्नि खरेल, विशाल भट्टराईलगायतले लबिङ गरिरहेका छन्। विनोद ढकालबाहेक सबै संस्थापन पक्षका हुन्।

मधेसबाट पदाधिकारीमा सचिव रघुवीर महासेठ छन्। उनले सचिवभन्दा माथिल्लो पदमा दाबी गर्ने तयारी छ। उपाध्यक्ष नभएमा उपमहासचिव त्यो पनि नपाए सचिवमा नै दोहोरिने छन्। महासेठका साथै मधेस प्रदेश पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, जुलीकुमारी महतो, ज्वालाकुमारी साहले पदाधिकारीका लागि लबिङ गरिरहेका छन्।

बागमती प्रदेशबाट काशीनाथ अधिकारी, रघुजी पन्त, राजन भट्टराई, गोकुल बास्कोटा, महेश बस्नेत, माधव ढुंगेल, बिन्दा पाण्डे, आनन्द पोखरेल, महेशकुमार बर्तौला, पार्वत गुरुङ, रचना खड्कागायतले पदाधिकारीमा जाने चाहना राखेका छन्। बास्कोटा र पाण्डे पोखरेल समूहका हुन् बाँकी सबै संस्थापन पक्षमा छन्।

गण्डकी प्रदेशबाट पद्माकुमारी अर्याल सचिव छन्। अर्यालले उपमहासचिवमा उक्लने चाहना राखेकी छिन्। अर्याललाई महाधिवशेनको प्रचारप्रसारको जिम्मेवारी पनि अध्यक्षले सुम्पिएका छन्। उनी उपमहासचिव नभएमा सचिवमा नै दोहोरिने छिन्। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, किरण गुरुङ, पदम गिरी, थममाया थापा र जगत विश्वकर्मालगायत पदाधिकारीमा उक्लन चाहन्छन्।

लुम्बनी प्रदेशबाट हाल गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी सचिव छन्। भुटानी नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलिरहेकोले रायमाझी निलम्बनमा छन्। सचिव विष्ट पनि ईश्वर पोखरेल टिममा छन्। उनले महासचिव बन्ने चाहना राखेका छन्। पोखरेल समूहबाट महासचिवको उम्मेदवार बन्न नपाए उपमहासचिव पदका लागि विष्ट बलिया दाबेदार हुन्। विष्ट नवौं र १० औं महाधिवेशनबाट दुई पटक सचिव भइसकेकाले अब पुन : तेहरिने सम्भावना भने कम नै छ।

उता ०७९ सालमा दलित समुदायबाट १६५ सिटमा एक मात्र प्रत्यक्ष निर्वाचित भएका विश्वकर्मा उपाध्यक्ष वा उपमहासचिवको दाउमा छन्। त्यसो नभए उनी पुनः सचिवमा नै दोहोरिने सम्भावना पनि छ। 

लुम्बिनी प्रदेशबाट सूर्य थापा, खिमलाल भट्टराई, रामकुमारी झाँक्री, ठाकुर गैरे, लीला गिरीलगायत नेता पदाधिकारीका लागि दौडधुपमा छन्। झाक्री हालै एमालेमा फर्किएको र चर्चित नेतृसमेत भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवको उम्मेदवार बनाउने सम्भावना प्रबल छ। ठाकुर गैरे ईश्वर पोखरेल समूहमा खुलेका छन्।

कर्णाली प्रदेशबाट हालको कमिटीमा कोही पनि पदाधिकारी छैनन्। त्यसकारण यस पटक कर्णालीबाट पदाधिकारी बनाउनैपर्ने नेतृत्वलाई दबाब छ। प्रदेश मुख्यमन्त्री यामलाल कँडेल, गोरख बोगटी पदाधिकारीको लबिङमा छन्। नीरज आचार्य, विष्णु रिजाललगायतले पनि सचिवमा उठने चाहना राखेका छन्।

सुदूरपश्चिम प्रदेशबाट सचिवमा लेखराज भट्ट एक जना मात्रै पदाधिकारी छन्। नेकपा कालमा माओवादी केन्द्रबाट आएका भट्टको व्यवस्थापन चुनौती छ। उनलाई पदाधिकारीमा समेट्नै पर्ने दबाब नेतृत्वमाथि छ। भीम रावलले एमाले छोडेपछि अवस्था समाल्न पनि सुदूरपश्चिममा एमाले बलियो प्रतिस्पर्धी तयार गर्नुपर्ने देखिएको छ। स्थायी कमिटी सदस्य कर्ण थापा, पूर्वउद्योगमन्त्री दामोदर भण्डारी, पोलिटब्युरो सदस्य नारदमुनि राना र लीला भण्डारी पनि पदाधिकारी हुने आकांक्षा राखेका छन्। 

संस्थापन पक्षबाट उम्मेदवारी नपाएका इतर पक्षमा आउने सम्भावना पनि छ। दुवै पक्षमा सचिवमा धेरै दाबेदार छन्।

एमाले महाधिवेशनको बन्दसत्र केन्द्रीय कमिटीको संरचना

१) पदाधिकारी (१९)जना
    अध्यक्ष :  १
    उपाध्यक्ष :  ५
    महासचिव :  १
    उपमहासचिव :  ३
    सचिव :  ९

स्थायी समिति सदस्य :  पोलिटब्युरोको एकतिहाइ 
    पेलिटब्युरो सदस्य:  ९९ 
    केन्द्रीय कमिटी :  ३०१ 

२) प्रदेश प्रतिनिधित्व         उपत्यकासहित सबै ८ प्रदेशबाट:  ९ह्८(७२) जना
    खुला :  ५
     महिला :  ३
     युवा :  १
 
३) खुला कोटा (१२५) जना
    खुला :  ७१
     महिला :  ५२
     युवा :  २

४) जनजाति/आदिवासी (२५) जना
     खुला :  १५
     महिला :  ८
     युवा :  २

५) मधेसी (२०) जना
    खुला :  १२
    महिला :  ६
    युवा :  २

६) प्रवास (२) जना
    भारत :  १
    अन्य देश :  १

७) श्रमिक (३) जना
    खुला :  २
    महिला :  १

८) अपांगता भएका व्यत्तिाm (१)
    खुला :  १

९) दलित (१२) जना
    खुला :  ७
    महिला :  ४
    युवा :  १

१०) थारु (८) जना
    खुला :  ५
    महिला :  ३

११) मुस्लिम (५) जना
    खुला :  ४
    महिला :  १

१२) थारु (८) जना
    खुला :  ५
    महिला :  ३

१३) पिछडिएको क्षेत्र (२) जना
    खुला :  १
    महिला :  १


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.