चोइटिएका सम्बन्धहरू !
कति सम्बन्धहरू नजानेरै पनि मिठा हुन्छन्। कति जानेरै पनि तिता र क्षणिक हुन्छन्। कति सम्बन्धहरू मौनताबाटै सकिन्छन् पनि। स्वार्थका लागि र स्वार्थका कारण जोडिएका सम्बन्धहरूलई स्वार्थले नै टुटाउँछ। हृदयभरि लुकाएर राखिएको सपनाहरू न मर्न सक्छन्, न आफैंले मार्न नै सक्छन्। यसरी भौँतारिरहेका यादहरूले सिधै हृदयसँग सम्बन्ध राखेको हुन्छ। ती सबै यादहरूले जिन्दगीमा असर गर्दैनन् तर केही सम्बन्धहरू यस्ता हुन्छन्¸ जसले जिन्दगीका हरेक पलपल सताइरहन्छन्¸ झस्काइरहन्छन्। कहीँ आसा बनेर त कहीँ निरासा बनेर। कहीँ आँसु बनेर त कहीँ खुसी बनेर।
सम्बन्धहरूमा कतै अपरिचित आवाजहरू परिचित मात्र लाग्दैनन्! आफैंलाई बोलाइरहे जस्तो पनि लाग्छन्। कति लेखकहरूका कथा कविता गीतहरू सबै आफ्नै जीवनमा मेल खाएझैँ लागिरहन्छ। सम्बन्धमा कोरिएका विम्बहरूले मानिसलाई कहिले शिखर पुर्याउँछ त कहिले पुनः उठ्नै नसक्ने गरी भसाइदिन्छ। कहीँ पत्थर पनि रसाइदिन्छ¸ कहीँ फुल बनी बसाइदिन्छ। जीवन बाँच्न सिकाउनेमात्र होइन, मृत्युमा आनन्द देख्ने पनि बनाइदिन्छ। सम्बन्धहरू बिना शस्त्रका अस्त्रहरू हुन्। बिना आवाजका लाठीहरू वर्षीरहेका हुन्छन्।
सायद सोचेजस्तो स्वतन्त्रता¸ आधुनिकता¸ अधिकार अनि जीवनप्रतिको बुझाइ र भोगाइको तालमेल नमिल्नाले पनि सम्बन्धहरू कमजोर बन्दै गएका पो हुन् कि! सम्बन्धले फेर्दै गएको अर्थमा नयाँ-नयाँ परिभाषा पनि थपिँदैछन्। कहीँ श्रीमान-श्रीमती टुटिरहेका छन् त कहीँ सन्तानसँगको माया छुटिरहेका छन्। शंकैशंकामा बाँचेका छन् सम्बन्धहरू। व्यक्ति व्यक्ति आ-आफ्नो दुनो सोझ्याउनेमा छन्। आफ्ना र पराइ उस्तै देखिन्छन्। स्वार्थको स्वादमा आर्थिक¸ सामाजिक¸ पारिवारिक सबैखाले सम्बन्धहरू जुट्छन् र छुट्छन् पनि। सम्बन्धमा लागेको चोट देखेर सम्बन्धहरू नै हाँसिरहेका छन्। आफूलाई सभ्य समाज भन्नेहरू ऐनामा आफ्नै मुहार हेरेर आफैंलाई जिस्काइरहेका छन्। आजकालका सम्बन्धहरू¸ स्वार्थका रंगमा पोतिएका सम्बन्धरुपी विम्वहरू। जहाँ इमान्दारिता हुँदैन त्यहाँ स्वच्छ सम्न्धको आशा गर्न सकिँदैन।
लहडैलहडमा गाँसिएका सम्बन्धहरू¸ हल्लाहल्लैमा टुट्छन् पनि। सभ्य अनुशासन र इमान्दारिता बिनाका सम्बन्धहरूले समाजमा विकृति ल्याउँछ। दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच एकआपसको जडान अर्थात् जोडाइ हो सम्बन्ध। एकअर्काप्रति महशुस गर्ने र व्यवहार गर्ने माध्यम पनि हो। स्वस्थ सम्बन्ध हुन एकआपसबीच इमान्दारपूर्ण सम्मान¸ सीमा¸ भरोसा र समर्थनजस्ता मूल गुणहरू हुनुपर्छ। स्वस्थ सम्बन्धहरूले साझेदारहरूबीच इमानदारी¸ विश्वास¸ सम्मान र खुला सञ्चारलाई प्रसय दिन्छ। एकअर्काको स्वतन्त्रताको सम्मान गर्छन्।
आपसी शक्ति सन्तुलन हुन्छ। एक अर्कामा कुनै बदला वा प्रतिशोधको भावना हुँदैन। तर, स्वार्थका रंग पोतिएका सम्बन्धहरू रंगिन हुन्छन्। झट्ट हेर्दा राम्रा र सुन्दर देखिन्छन् पनि। स्वार्थसँग गाँसिएका सम्बन्धहरू स्वार्थसँगै टुट्छन् पनि। सम्बन्ध गाँसेरमात्र हुँदैन निभाउन पनि जान्नुपर्छ। जीवनमा बिर्सन नसक्ने चोटहरूको स्रोत पनि हुन् सम्बन्ध। एउटाले चोट दिइरहने र अर्कोले लिइरहने पनि हो सम्बन्ध।
मानिसले खुसी प्राप्त गर्ने एउटा माध्यम पनि हो सम्बन्ध। मानिस खुशीको खोजीमा नै पारिवारिक विचलन र सम्बन्धहरूको जाल झेलमा फसिरहेको हुन्छ। मान, प्रतिष्ठा, सम्पत्ति र सम्बन्धहरूले मात्र वास्तवमा मानिसलाई खुसी दिने होइन। सबथोक भएर पनि पूर्ण हुँदैन मानिस। मान, प्रतिष्ठा, सम्पति र सम्बन्धहरू आफ्नो हैसियत र आवश्यकता अनुकुल मानिसले समेट्दै जान्छ। कति छुट्दै जान्छन् त कति जुट्दै जान्छन्। कति आफ्नो कारणले टुट्लान् या कति समेटिएलान्। सम्बन्धका चाबीहरू आफूसँग मात्र पनि हुँदैनन्। सम्बन्धको अंसियार आफू एक्लोमात्र पनि होइन। सम्बन्धभित्रका कुटिलताहरूले कहाँ ढोक्सो थाप्छन् अनि आँसु मिल्छ या सुख! नाफा र घाटाको हिसाबमा गाँसिएका सम्बन्धहरू नाफामा रमाउँछन्¸ घाटामा विरह गाउँछन्।
आफ्नो सफलता र प्राप्तिका लागि गाँसिएका स्वार्थहरूले कहाँनेर सम्बन्ध छाडिरहेछ¸ कहाँनेर जिम्म्वारीबाट चिप्लिइरहेछ हेक्का राख्दैन। स्वार्थ त पूरा होला तर उसका सम्बन्ध र सम्बन्धीहरू धेरै टाढा छाडिइसकेका हुन्छन्। भित्तामा राखिएका चित्र र कलमले छरिएका शव्दहरूमा खुसी भेट्दैन अनि खुसीको प्यास मेट्न भौँतारिन्छ मानिस। आफूले आफैंलाई दुःखी बनाउने सम्बन्धीहरू पनि हुन् सम्बन्ध।
यो धर्तीमा भएको सृष्टिहरूमा मानिस सर्वोत्तकृष्ट सृष्टि हो। धर्तीका अन्य सबै सृष्टिहरूलाई मानिसले उसको पहिचान र गुणका हिसाबले प्रयोग पनि गर्न सक्छ। भौतिक विज्ञानका आधारमा औचित्यताको पुष्टि पनि गर्न सक्छ। कल्पनाको संसारलाई यथार्थतामा पनि परिणत गर्दैछ।
मानिसका अंग-अंगहरूको चिरफार गरिसक्यो। एउटाको अंग अर्काको शरीरमा प्रवेश गराई मृत्युलाई पनि चुनौती दिइसक्यो। तर, मानिसभित्रको मन्छे पहिचान गर्न भने सकिरहेको छैन। जटिल प्रकृतिको सिर्जनामा प्रकृतिले पनि जटिलता थपिरहेकै छ। हातमा तराजु लिएर बाहिर सबैलाई तौलन सक्ने मनिस ऊ आफ्नै मनको शुद्धतालाई तौलन सकिरहेको छैन। आफ्नै चरित्र देखिने ऐनासामु उभिएर आफैंलाई हेर्न सकिरहेको छैन। आफूले आफैंलाई ढाँट्न सक्ने भए सायद त्यो पनि सम्भव हुन्थ्यो होला कि!
मानिस आफैंमा यति जटिल छ कि ऊ आफैंले आफैंसँग गाँसेका सम्बन्धहरूमा समेत स्थिरता कायम गर्न सक्दैन। रहस्यात्मक छन् मान्छेका सम्बन्धहरू, अनि कलुषित छन् मान्छेका स्वार्थहरू। जटिलै जटिलताको खानीभित्र बाँचेको छ मानिसभित्रको मान्छे। आफूले आफैंलाई भ्रम छरेर पनि सम्बन्धहरू गाँसिरहेछ। कलुषित स्वार्थहरू बोकेर मानिसकै सामु हाँसिरहेछ। कहाँ के लत्त्याउँछ त कहाँ के हत्त्याउँछ। स्वार्थमा बाँचेका रहरहरूलाई सम्बन्धमा लागेका चोटहरूले पीडा दिँदैन।
एउटा सम्न्ध टुटेर के भो र! अर्को सम्बन्धहरू जुटेकै छन्। मानिसभित्रको मान्छे आफ्नै सम्बन्धहरू चोइटिएको साक्षी बनिरहेछ। तर, बोल्दैन या बोल्न सक्दैन। हेर्दैन या हेर्न सक्दैन। स्वार्थको पट्टीले आँखा छोपिएका छन्। अमृतरुपी स्वार्थका विरुवाहरू रोपिएका छन्। मान्छेको शत्रु नै भनि यो धर्तीमा अर्को कुनै सृष्टि छैन। मान्छेको शत्रु भनेका मान्छे नै हुन्। मान्छेले मान्छेबाटै धोका पाइरहेछन्। सम्बन्धको पासोमा स्वार्थको जाल फ्याँकिरहेछन्। न जाल देखिन्छ¸ न ताल। तैपनि सम्बन्धहरू विश्वासको गहिराइमा हिजोपनि हाम्फालिरहे¸ आज पनि हाम्फालिरहेछन् र भोलिली पनि हाम्फालिरहनेछन्। विश्वासमा अल्झिएका मतभेदहरू सुल्झाउँदै सम्बन्धलाई सम्मान गर्नेहरूले सुन्दर जीवन जीउँछन्।
प्रतिक्रिया दिनुहोस !