कन्काईको दुःख (कविता)
कहीँ रमाइ रहँदा कहीँ पुर्पुरो समाइरहँदा
सुनिदिने बोलिदिनेहरू खोज्दा खोज्दा
थकाइको लामो सुस्केरा हाल्दै
सुसाइरहेकी छिन् कन्काई ।
कति समाहित भए कति विलिन भए
आफ्नै काखमा झरिरहेका
सन्तानको आँसु हेरेर टोलाउँदै
बगिरहेकीछिन् कन्काई ।
आस्वाशनको मलहमहरूले
झन् घाउ चहराए झैँ लाग्छ उनलाई
छातीमा किला ठोकिएको घाइते
उठाइदिन्छ कि कसैले
छटपटिँदै गुहार
मागिरहेकी छिन् कन्काई ।
किनारामा पालो कुरेर बसेका
सन्तान कति आँसुसँगै बगेर गए
वारिपारि गर्ने सपनाहरू
कतिका रहरसँगै अधुरो रहे
अझै कति रुन पर्ने हो बेदना पोख्दै
बिन्ती गरिरहेकी छिन् कन्काई ।
तिम्रो बाटो हेरिरहँदा दृष्टि धमिलो भइसके
कति आएर के सँग के साटेर गइसके
अझै आश त मरेको छैन है
भनिदेऊ योपटक पक्कै दिनेछु¸ अनि...!
अनि¸ तिमीले पुल लिएर आएको त्यो दिन !
तिम्रो स्वागतमा म फूल लिएर उभिनेछु ।
पुल पाउने आसामा कहीँ तिम्रो पर्खाईमा ।
रोइरहेकी छिन् कन्काई
गुहार मागिरहेकि छिन् कन्काई । पर्खिरहेकी छिन् कन्काई।
प्रतिक्रिया दिनुहोस !