पाठ्यपुस्तकभन्दा पत्रिका शक्तिशाली
काठमाडौं : भारतको उत्तर प्रदेश सरकारले राज्यका सबै सरकारी प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि दैनिक अखबार पढ्न अनिवार्य गरेको छ। राज्यको आधारभूत तथा माध्यमिक शिक्षा विभागका अतिरिक्त मुख्य सचिव पार्थ सार्थी सेन शर्माले तीन दिनअघि यससम्बन्धी आदेश जारी गरेका हुन्।
आदेशमा भनिएको छ, ‘विद्यार्थीहरूलाई पढ्ने बानी विकास गराउन, मोबाइल र अन्य स्क्रिन समय घटाउन तथा तर्कशक्ति र विश्लेषण क्षमता बढाउन यो नयाँ नियम लागू गरिएको हो।’
द टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार, हरेक विद्यालयमा दैनिक बिहानको सभा कार्यक्रमको समयमा कम्तीमा १० मिनेट ‘अखबार पढ्ने समय’ छुट्याउन निर्देशन दिइएको छ। उक्त समयमा विद्यार्थीहरूले घुम्ती आधारमा राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद, सम्पादकीय, समाचारका मुख्य अंशहरूलगायत पढ्नेछन्। यो नियमले विद्यार्थीहरूलाई दैनिक सामान्य ज्ञान र समसामयिक घटनाप्रति सचेत बनाउने लक्ष्य राखेको छ।
राज्यका शिक्षण अधिकारीले भनेका छन्, ‘नियमित अखबार पढाइले भाषिक क्षमता र शब्दावलीमा सुधार गर्नुका साथै लेखन कौशल, समालोचनात्मक चेत र समाजसँगको सम्पर्क बलियो बनाउँछ।’ सामाजिक मुद्दाहरू, मानवीय कथा र स्थानीय घटनाहरू पढ्दा विद्यार्थीहरूमा दया, जिम्मेवारी तथा नागरिक चेतना पनि जाग्ने अपेक्षा लिइएको छ।
शिक्षकहरूले समाचार विषयक छलफल, शब्दार्थ गतिविधि र सोध–जवाफ अभ्याससमेत सञ्चालन गर्नेछन् जसले विद्यार्थीहरूलाई तर्कसंगत निर्णय र गलत सूचनालाई छुट्याउन सहयोग दिनेछ। शिक्षा विभागले यो परीक्षामा समेत लाभदायक हुने अपेक्षा राखेको छ।
हिमाचलमा पनि अनिवार्य
हिमाचल प्रदेश सरकारले पनि सबै सरकारी विद्यालयमा दैनिक समाचार पढ्न अनिवार्य गरेको छ। राज्यको शिक्षा विभागले यसका लागि सबै विद्यालयलाई निर्देशन जारी गरेको छ।
मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विद्यालयहरूमा बिहानको सभा समयलाई समाचार पढ्ने विशेष सेसनका रूपमा छुट्याउन भनेका छन्। यस कदमले विद्यार्थीहरूको सामान्य ज्ञान, आलोचनात्मक सोच र सञ्चार कौशल वृद्धि गर्ने अपेक्षा गरिएको छ। यो समाचार पनि टाइम्स अफ इन्डियामा प्रकाशन भएको छ। समाचारअनुसार प्रत्येक सरकारी विद्यालयमा विद्यार्थीलाई अंग्रेजी र हिन्दी दुवै भाषाका अखबारहरू उपलब्ध गराइनेछन्। विद्यार्थीहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद र राज्य स्तरीय समाचारका मुख्य अंशहरू पढ्नेछन्।
यो निर्णय मुख्यमन्त्री सुखुको एउटा अनौपचारिक विद्यालय भ्रमणपछि ल्याइएको हो। कुलु जिल्लाको एक सरकारी माध्यमिक विद्यालयमा अचानक भ्रमण गर्दा विद्यार्थीहरूलाई सामान्य ज्ञानका प्रश्नहरूमा गाह्रो परेको देखाएपछि उनले यस्तो पहल गरेका थिए। शिक्षकहरूले समाचार पढाइसँगै शब्दार्थ, उच्चारण र वक्तृत्व अभ्यास गराउनेछन्। हिमाचल शिक्षा विभागले आगामी दिनमा यो नियमलाई थप प्रभावकारी बनाउने जनाएको छ।
केरलामा उस्तै नियम
भारतकै केरला सरकारले राज्यका सबै सरकारी तथा निजी विद्यालयमा दैनिक समाचार पढ्ने अभ्यास गराउन निर्देश गरेको छ। यस निर्णयको मुख्य उद्देश्य विद्यार्थीहरूको भाषिक दक्षता, सञ्चार कौशल र समसामयिक घटनाप्रति सचेतना वृद्धि गर्नु हो। शिक्षा मन्त्रालयले यसलाई ‘शैक्षिक गुणस्तर सुधार’अन्तर्गतको एउटा योजना भनेको छ।
माथ्रुभूमि मिडियामा प्रकाशित सामग्रीअनुसार शिक्षामन्त्री भी. शिवानकुट्टीले कक्षाकोठामा समाचार समूहमा पढ्ने र छलफल गर्ने अभ्यास गराउने जानकारी दिए। साथै, विद्यार्थीले पढेका समाचारका आधारमा नोटहरू तयार पार्ने र सहपाठीसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्।
राज्य सरकारले यस पहलसँगै ‘शैक्षिक गुणस्तरको वर्ष’ का रूपमा घोषणा गरेको छ। यसअन्तर्गत विद्यालयहरूले आफ्नै शैक्षिक योजना बनाई दैनिक पाठ्यक्रमसँगै समाचार पढ्न र छलफल गर्न विशिष्ट समय छुट्याउनुपर्नेछ। साथै, विद्यार्थीहरूलाई एक साताभित्र कम्तीमा एउटा पुस्तक पढ्न प्रेरित गरिने र स्कुल पुस्तकालय साता जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिने छ।
मुजफ्फरनगरले पनि तोक्यो
भारतकै मुजफ्फरनगरका सबै स्कुल र कलेजमा विद्यार्थीहरूको पठन संस्कृति सुदृढ पार्न अब दैनिक अखबार पढ्न अनिवार्य गरिएको छ। प्रशासनले जारी गरेको नयाँ निर्देशअनुसार विद्यालयहरूले बिहानको सभा कार्यक्रममा कम्तीमा १० मिनेट पत्रिका पढ्नुपर्ने छ। यस कदमले विद्यार्थीलाई मोबाइल स्क्रिन समय घटाएर पठनमा रुचि बढाउन मद्दत गर्ने लक्ष्य राखिएको छ।
टर्न न्युजका अनुसार यसका साथै विभिन्न विषयका लेख र रिपोर्टलाई पढेर विद्यार्थीहरूको लेखन क्षमता र आलोचनात्मक सोच सुधार्ने अधिकारीहरूले अपेक्षा राखेका छन्। विद्यालय प्रशासनहरूले यसलाई सकारात्मक रूपमा लिएका छन्। प्रार्थना सभापछि अखबार वाचन हुनेछ। यो अभ्यासले विद्यार्थीहरूमा पढ्ने संस्कृति स्थापित गर्नेछ। परीक्षा र सामान्य ज्ञानमा यसले सहयोग गर्ने विश्वास लिइएको छ।
‘क्विज’ का लागि अखबार
भारतको चेन्नई कर्पोरेसनअन्तर्गतका ६ सय ५४ विद्यार्थीलाई हालै क्षेत्रीय स्तरको क्विज प्रतियोगिता गराइएको थियो। प्रतियोगितामा सामान्य ज्ञान, राजनीति, विज्ञान र खेलकुदजस्ता विषयका प्रश्न समावेश गरिएका थिए।
द टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचारअनुसार उक्त प्रतियोगिता ‘अखबार पढ्ने बानी विकास’ कार्यक्रमअन्तर्गत भएको थियो। किनकि, प्रतियोगिताको तयारीका लागि अध्ययन सामग्री अखबार दिइएको थियो। प्रतियोगिताको बजेट ८७ लाख भारतीय रुपैयाँ राखिएको थियो। कर्पोरेसनका संयुक्त शिक्षा आयुक्त के करपगमका अनुसार दैनिक समाचार पढाइले विद्यार्थीहरूको परीक्षामा समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ।
यसका लागि विद्यालयहरूमा दैनिक २० मिनेट समाचार पढ्ने समय छुट्याइएको छ। प्रत्येक शुक्रबार शिक्षकहरूले परीक्षण प्रश्न बनाई विद्यार्थीहरूलाई मौखिक रूपमा क्विज पनि लिने गरेका थिए। आयोजकहरूले यो प्रतियोगिता विद्यार्थीहरूको ज्ञान, सम्झना क्षमता र सोच कौशललाई अझ प्रोत्साहित गर्ने थलो भनेका छन्।
मलेसियाका विद्यालयले पत्रिका लिनैपर्ने
मलेसियाको शिक्षा मन्त्रालयले देशका सरकारी विद्यालयहरूलाई दैनिक अखबारको ग्राहक बन्न र विद्यार्थी अनिवार्य पढाउन निर्देश गरेको छ। मन्त्रालयको वक्तव्यअनुसार यस पहलको मुख्य लक्ष्य विद्यार्थीहरूको राष्ट्रिय भाषाको दक्षता सुधार्नु हो। मन्त्रालयले सबै स्कुललाई मलाया–भाषाका प्रमुख अखबारहरू किन्न सुझाएको छ।
त्यहाँबाट प्रकाशित मलाया मेलले लेखेको छ, ‘विद्यालयहरूले उपलब्ध बजेट मिलाएर यी दैनिक अखबार किन्न पाउने छन्।’ यसको उद्देश्य विद्यार्थीलाई नियमित रूपमा समाचार पढ्ने बानी बसाउन र भाषिक कौशलसँगै समसामयिक घटनाप्रति जागरुकता बढाउन मद्दत पुर्याउनु छ। शिक्षा अधिकारीहरूले समाचार पढाइले विद्यार्थीहरूको लेखन क्षमता, शब्द ज्ञान र भाषा प्रयोगमा सुधार ल्याउन सहयोग पुर्याउने विश्वास लिएका छन्।
यो निर्णयलाई अभिभावक तथा शिक्षक समूहहरूले स्वागत गरेका छन्। कतिपयले भने पत्रिका पढाउनु ठीक भए पनि मालाय भाषाका अखबारमा सीमित राख्न नहुने सुझाव दिएका छन्। 
अध्यापनमा अखबार किन उपयोगी ?
विद्यार्थीको शिक्षा र ज्ञान वृद्धि गर्न समाचारपत्र र मिडिया साक्षरतालाई शिक्षण–सहायक उपकरणका रूपमा प्रयोग गर्दा के कस्तो प्रभाव पर्यो भनी विभिन्न अध्ययनहरूले उजागर गरेका छन्। केही देशमा लागू भएका ‘न्युज पेपर्स इन एजुकेसन (एनआईई)’ कार्यक्रमले विद्यार्थीको मिडिया प्रयोग, सामाजिक र राजनीतिक दृष्टिकोणमा के प्रभाव पर्यो भनी जाँच गरेको छ। एनआईई ५० भन्दा बढी देशमा सञ्चालन हुन्छ। यसले समाचारपत्रलाई कक्षाकोठामा पाठ्य–सहायक स्रोतका रूपमा प्रयोग गर्ने अभ्यास सिकाउँछ।
शोधको निष्कर्ष अनुसार यो कार्यक्रममा सहभागी विद्यार्थीहरूमा समाचार पढ्ने बानी, समसामयिक घटनाप्रति ज्ञान र रुचि बढेको देखिएको छ। अनुसन्धानले अखबार प्रयोगले पठन कौशल, आलोचनात्मक सोच र समसामयिक विषयमा अवधारणा वृद्धि गरेको पाएको छ।
कतिपय देश जस्तै फिनल्यान्ड, क्यानडा र फ्रान्सले प्रारम्भिक तहदेखि नै मिडिया साक्षरता शिक्षा लागू गरिसकेका छन्। तर, धेरै देशमा अझै यो पाठ्यक्रममा समावेश गरिएको छैन। शिक्षक प्रशिक्षण, नीति र स्रोतमा कमी देखिन्छ।
सूचना साक्षरतामा खाडल
डिजिटल युगमा गलत सूचना र भ्रामक सामग्री तीव्र रूपमा फैलिँदै गएको छ। यस्तो बेला मिडिया तथा सूचना साक्षरतासम्बन्धी नीति र शिक्षामा विश्वव्यापी रूपमा ठूलो खाडल रहेको तथ्य सार्वजनिक भएको छ। युनेस्कोले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार धेरै देशले मिडिया साक्षरताको महŒव स्वीकार गरे पनि यसलाई व्यवस्थित रूपमा पाठ्यक्रम र नीतिमा उतार्न सकेका छैनन्।
प्रतिवेदनअनुसार युनेस्कोका १ सय ९४ सदस्यमध्ये १ सय ७१ देशले मिडिया तथा सूचना साक्षरतालाई नीति दस्तावेजमा उल्लेख गरेका छन्। तर, केवल १७ देशमा मात्रै यससम्बन्धी छुट्टै नीति बनाएका छन्।
युनेस्कोले क्षेत्रीय असमानतासमेत औंल्याएको छ। युरोप र उत्तर अमेरिकाका अधिकांश देशहरू यस क्षेत्रमा अगाडि देखिए पनि अफ्रिका र एसिया–प्यासिफिक क्षेत्रका धेरै देश अझै पछाडि छन्। युनेस्कोले सरकारहरूलाई मिडिया तथा सूचना साक्षरताका लागि स्पष्ट राष्ट्रिय नीति, शिक्षक तालिम, पर्याप्त स्रोत र दिगो लगानी सुनिश्चित गर्न आग्रह गरेको छ।
परिवारभित्रै पठन संस्कृतिको विकास
इन्टरनेटसँगै हुर्किएका जेन–जेड र अल्फा जेनेरेसनका बालबालिका अघिल्लो पुस्ताभन्दा धेरै अगाडि देखिन्छन्। अघिल्लो पुस्ताका आफ्नै भोगाइ, सिकाइ, संघर्ष, चेतनाको स्तर, चुनौती र अहिलको भन्दा नितान्त फरक थिए। डिजिटल प्रविधिको विकाससँगै पछिल्लो पुस्ता धेरै अगाडि देखिन्छ। विद्यालयमा कम्प्युटर, इन्टरनेट, स्मार्ट बोर्ड र कम्प्युटर ल्याब जस्ता भौतिक संरचना र शिक्षकहरूलाई छोटो अवधिको कम्प्युटर तालिम पनि सञ्चालन गरिरहेका छन्। तर पनि अभिभावकको गुनासो उस्तै छ, ‘छोराछोरी प्रविधिसँगै हुर्किए। अनुशासन छैन। व्यवहार गर्न जान्दैन। पुस्तक, पत्रपत्रिका पढ्नै मान्दैनन्।’
शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालका अनुसार पछिल्लो समय विद्यार्थीमा पठन संस्कृति कमजोर छ। डा. दाहाल भन्छन्, ‘चुपचापसँग मोबाइल हेर्ने, कम्प्युटर चलाउने संस्कार विकास भएको छ। मुखले प्रस्ट उच्चारण गर्न नसक्ने, अरूसामु बोल्नसमेत नसक्ने पाइएको छ।’ उनका अनुसार पढ्ने संस्कार कसरी विकास गर्ने भन्ने विषयमा न घरमा अभिभावकबीच छलफल हुन्छ न विद्यालयमा। उनले पनि पत्रपत्रिका पढ्न सुझाए। विद्यार्थीको ध्यान र एकाग्रता बढाउन कस्तो कार्य सहयोगी हुन सक्छ ?
बाल साहित्यकार ललिता शर्माका अनुसार, ‘तीन दशक अघिसम्म हजुरबा–हजुरआमा एवं घरपरिवारमा सेटमा हुर्किएका बालबालिका हुर्किन्थे। शर्मा भन्छिन्, ‘अहिलेका बालबालिकाको दिमाग गुगलमा सेट छ। यी सब कारणले बालबालिकालाई सही बाटोमा डोर्याउन अभिभावकलाई निकै चुनौती छ।’
पछिल्लो पुस्ताको पढाइ, अवसर र प्रगतिप्रति अघिल्लो पुस्ताका कतिपय अभिभावक अचम्मित छन्। सूचना प्रविधिमा आएको चरम विकासको उपयोग यो एआई पुस्ताले गरिरहेको छ। पुस्तान्तरण नेपालका संस्थापक अध्यक्ष प्रतिवेदन वैद्य मोबाइल र कम्प्युटर चलाउँदैमा छोराछोरी बिग्रिएको ठान्नु गलत भएको बताउँछन्। ‘प्रविधिको उपयोग गरेर छोराछोरीले धेरै कुरा सिकिरहेका छन् भन्ने कुरालाई अभिभावकले बिर्सनु हुँदैन। प्रविधिको सदुपयोग भइरहेको छ कि दुरुपयोग भन्ने कुरामा अभिभावले सूक्ष्म निगरानी राख्नै पर्छ,’ उनी भन्छन्, ‘त्यसमा अखबार थपियो भने सुनमा सुगन्ध हुन्छ।’
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी समयानुकूल विद्यालय पाठ्यक्रम परिमार्जन हुने उल्लेख गर्दै भन्छन्, ‘कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई अलराउन्डर बनाउन पत्रपत्रिका पढ्न लगाउने अभ्यास जरुरी छ।’
पुस्तान्तरण नेपालका संस्थापक अध्यक्ष वैद्य बिहान अभिभावक स्वयं पनि पत्रपत्रिका पढ्ने र बालबालिकालाई पढ्ने अभ्यास गराउनुपर्ने सुझाउँछन्। नेपालमा अधिकांश अभिभावकहरूले अखबार पढ्ने बानी विकास गराएका छैनन्।
‘अभिभावकको व्यस्त जीवनशैली छ। परिवारलाई पर्याप्त समय दिन पाइरहेका छैनन्। यसको गम्भीर असर सन्तानमा देखिँदैछ,’ वैद्य भन्छन्, ‘बालबालिकाले आफूभन्दा ठूला व्यक्तिले गरेका कुरालाई अनुकरण गर्ने भएकाले परिवारभित्र पठन संस्कृतिको विकास जरुरी छ। अभिभावक नै रोल मोडल बनेर बालबालिकामा सकारात्मक अभ्यासको विकास गर्नु आवश्यक छ।’
पठन संस्कृति कहाँबाट ?
नेपालमा शिक्षा प्रणालीको प्रवेशद्वार हो, बालविकास केन्द्र। प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम–२०७७ अनुसार बालबालिकालाई खेल, गीत, संगीत, कथा, अभिनय र अवलोकनमार्फत सिकाइ गराउनुपर्ने व्यवस्था छ। यो चार वर्ष पूरा भएका बालबालिकाका लागि तयार पारिएको एक वर्षे कार्यक्रम हो। निजी स्कुलमा भने सानै उमेरदेखि प्ले ग्रुप, नर्सरी, एलकेजी, यूकेजी कक्षा राखेर गृहकार्य गराउन लगाइन्छ। चार वर्षमुनिका बालबालिका विद्यालय शिक्षाको संरचनाभित्र पर्दैनन्।
बाल साहित्यकार ललिता शर्मा भन्छिन्, ‘विद्यालय शिक्षाको संरचनाभित्र पर्ने बालबालिकामा पनि मोबाइलको अधिक प्रयोगले पत्रपत्रिका तथा पुस्तक पढ्ने प्रवृत्ति कम भएको छ। त्यसलाई उल्ट्याउनुपर्छ। उमेरअनुसारको पढाइ, सिकाइ नहुँदा बालबालिकामा पढाइप्रति वितृष्णा बढेको छ। प्राथमिक तहका विद्यार्थीलाई उमेर र शैक्षिक स्तरअनुसारको बालकथा, कविता, चित्रकथा, नाटक, निबन्धका किताब पढ्ने बानी सानैबाट बसाल्नु जरुरी छ। निम्नमाध्यमिक र माध्यमिक तहमा पुगेपछि पत्रपत्रिका एवं सिर्जनशील पुस्तक पढ्ने बानी बसाल्नुपर्छ।’
शिक्षामा पत्रपत्रिका (न्युज पेपर इन एजुकेसन) कार्यक्रम विश्वका ५२ भन्दा बढी देशमा सञ्चालित छ। अनुसन्धानकर्ता एलेन क्लेस र एलेन क्विन्टेलियरको अध्ययनअनुसार पछिल्ला १० वर्षमा बेल्जियमलगायत मुलुकमा अन्तर्राष्ट्रिय कार्यक्रम प्रयोग गरिएको छ। किशोर–किशोरीहरूलाई राजनीतिक क्षेत्रबारे खोज–अन्वेषण गर्न प्रेरित गर्ने तथा लोकतान्त्रिक प्रक्रियामा सोच्ने र सहभागिता जनाउने माध्यमको रूपमा पत्रपत्रिकालाई लिइएको छ। पत्रपत्रिका पढ्ने बानीले विद्यार्थीको सामाजिक र राजनीतिक दृष्टिकोणमा सकारात्मक प्रभाव पारेको पाइएको छ।
प्रस्ट उच्चारण गर्न गाह्रो हुने, अरूसामु निर्धक्क बोल्न हिचकिचाउने विद्यार्थीहरू धेरै छन्। विद्यालयमा बिहानी प्रार्थना सभा (मर्निङ एसेम्बली)मा विद्यार्थीलाई पत्रपत्रिका पढ्न लगाउने संस्कार विकास गर्नु राम्रो हो।
राजेन्द्र दाहाल, सम्पादक, शिक्षक मासिकविद्यार्थीको व्यक्तिगत विकासका साथै देश–विदेशको जानकारी हुन्छ। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई बिहानी प्रार्थना सभामा वा कुनै निश्चित समयमा पत्रपत्रिका पढ्न लगाउँदा भोलिको सचेत नागरिक बन्न सहयोग पुग्छ।
सुप्रभात भण्डारी, अध्यक्ष, नेपाल अभिभावक महासंघ
‘मोबाइल लत छुटाउन पत्रिका दिउँ’
‘मेरो छोरो जतिसुकै बेला मोबाइलमा झुन्डिन्छ। मोबाइल गेम मात्र खेल्छ। टेर्दा पनि टेर्दैन। गृहकार्य गर्न भन्दा झनक्क रिसाउँछ। पढ्नै पढ्दैन। के गर्ने होला ? लौन, तपाईं (शिक्षक)हरूले नै सुधार्नुपर्यो।’
०००े
‘घरमा कोही आफन्त आएपछि नमस्कारसम्म गर्छ। त्यसपछि बोल्दैन। कुनै आफन्तको घरमा लैजाँदा सुरुमै वाइफाइको पासवर्ड माग्छ। मोबाइलमा भुल्छ। आत्मीयता नै देखिँदैन। छोरी असामाजिक हुन्छे कि भन्ने डर भयो। के पो गर्ने होला खैै ?’
०००
सरकार होस् वा निजी विद्यालय, अभिभावक र शिक्षकबीचको बैठकमा अभिभावकहरूले गर्ने आम गुनासो हो यो। छोराछोरी मोबाइल र कम्प्युटरमा झुन्डिएकामा चिन्तित हुने अभिभावकहरू सन्तानको बानी सुधार्न शिक्षकहरूसँग हरेक बैठकमा याचना गरिरहन्छन्। विद्यार्थीलाई विद्यालयमा मोबाइल हेर्न निषेध गरिएको उल्लेख गर्दै घरमा अभिभावकले आफ्नो दायित्व निर्वाह गर्न शिक्षकहरूले सुझाव दिन्छन्।
स्कुल उमेरका सन्तानहरू अत्यधिक समय स्क्रिनमै बिताउँछन्। यसलाई निरुत्साहित गर्न अभिभावकलाई सकस परिरहेको छ। आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगा भन्छन्, ‘धेरै समयसम्म स्क्रिनमा हेर्दा आँखाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
कम्प्युटर, मोबाइल फोन र ट्याब्लेटबाट डिजिटल स्क्रिनहरूमा निरन्तर धेरै समय बिताउँनाले आँखामा समस्याहरू देखिन सक्छ। डिजिटल आँखा थकान (तनाब) वा कम्प्युटर भिजन सिन्ड्रोम हुन सक्छ। त्यसबाट जोगाउन पत्रिका वा पुस्तक पढाउने बानी बसाउन लाउनुपर्छ।’
यसकारण घरमै पठन संस्कृति विकास गरौं
- विद्यार्थी अथवा बालबालिकाको उमेर स्वाभाविक रूपमा जिज्ञासु हुन्छ। त्यसैले आफ्नो जिज्ञासा मेटाउन मोबाइल वा गुगलको प्रयोग गर्छन्।
- हाल सबै परिवारको प्रमुख समस्या भनेकै बालबालिकामा मोबाइलको अत्यधिक प्रयोग हो। बाबुआमाले आफैं धेरै समय मोबाइलमा बिताउने तर बालबालिकालाई मोबाइल नदिनु उपयुक्त हुँदैन।
- घरमा मोबाइल प्रयोगसम्बन्धी स्पष्ट नियम बनाएर सबैले पालना गर्ने, मोबाइल हेर्दा नकारात्मक सामग्रीभन्दा सकारात्मक सामग्रीलाई प्राथमिकता दिने गर्नुपर्छ।
- बालबालिकालाई मोबाइल प्रयोग गर्न पूर्णरूपमा निषेध गर्नुको सट्टा सकारात्मक रूपमा प्रयोग गर्न
- प्रोत्साहन दिनुपर्छ।
- देश र समाजमा भइरहेका घटनाहरूको तथ्यपरक जानकारी दिई गलत तथा भ्रामक सूचनाबाट बच्न प्रोत्साहित गर्नुपर्छ।
कसरी कार्यान्वयन गर्ने ?
- विद्यालय/सामुदायिक पुस्तकालयमा प्रतिष्ठित र गुणस्तरीय नेपाली तथा अंग्रेजी पत्रपत्रिका उपलब्ध गराउने।
- बिहानी सभामा समाचार पठनका लागि १०–२० मिनेटको समय छुट्याउने।
- दैनिक रूपमा पत्रपत्रिकाबाट ५ वटा नयाँ र कठिन शब्द चयन गरी अर्थ बुझाउने र व्याख्या गर्ने।
- हप्तामा एकपटक कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई कुनै महŒवपूर्ण सम्पादकीय विषयमा आफ्ना मौलिक विचार लेख्न र समूह छलफलमा सहभागी गराउने।
पत्रपत्रिका पढ्न किन लगाउनुपर्छ ?
- सामान्य ज्ञान र वर्तमान घटनाक्रमबारे बुझाइ बलियो बनाउँछ।
- छापिएका पत्रपत्रिका पढ्दा ध्यान केन्द्रित गर्ने क्षमता र धैर्य बढ्छ।
- शब्द उच्चारण, भाषा र शब्दभण्डार सुधार्न, समालोचनात्मक र तार्किक सोच विकास गर्न मद्दत गर्छ।
- स्थानीय तथा विश्वव्यापी घटना बुझ्न सहयोग पुग्छ। समुदायसँगको सम्बन्ध मजबुत बनाउँछ।
- मानवीय रुचिका समाचारहरूले सहानुभूति विकास गर्छ। विद्यार्थीलाई जिम्मेवार नागरिक बन्न मार्गदर्शन गर्छ।
- मिडिया साक्षरता बढ्छ। प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा सहयोग पुर्याउँछ।
- शब्दजाल जस्ता गतिविधिबाट समस्या समाधान सीप विकास हुन्छ।
प्रतिक्रिया दिनुहोस !