election background

प्रतिनिधि सभा निर्वाचन २०८२

२३ देशमा यात्रा नगर्न अस्ट्रेलियाको चेतावनी

२३ देशमा यात्रा नगर्न अस्ट्रेलियाको चेतावनी
फाइल तस्बिर

सिड्नी (अस्ट्रेलिया) : बिदा मनाउन वा मनोरञ्जन गर्न, यतिबेला अस्ट्रेलियनहरू देशबाहिर जाने लहर सुरु भएको छ। तर, अस्ट्रेलियाले २३ वटा देशलाई खतराको सूचीमा राखेर आफ्ना नागरिकलाई ‘यात्रा नगर्नुहोस्’ भन्ने कडा चेतावनी दिएको छ। नयाँ वर्ष नजिकिँदै गर्दा विदेश मामिला तथा व्यापार विभागको ‘स्माट्र्रावेल्लर’ सेवाले २३ देशमा यात्रा नगर्न वा नजान भनेको हो।

पछिल्ला वर्षका यात्रा प्रवृत्तिहरूलाई आधार मान्दा नयाँ वर्ष सन् २०२६ मा यहाँबाट एक करोडभन्दा बढी अस्ट्रेलियालीहरू विदेश यात्रा गर्न सक्ने अनुमान गरिएको छ। कतिपयले त यात्रा तय नै गरिसकेका छन्। तर, संघीय सरकारले बिदा मनाउन २३ देशमा नजान कडा चेतावनी दिँदै ती गन्तव्यको नाम नै सार्वजनिक गरेको छ। जसमध्ये अफगानिस्तान पनि हो। जानै नहुने भनिएको अफगानिस्तानमा ज्यान जान सक्ने उच्च जोखिम भएकाले सजग रहन भनिएको हो। 

अन्य देशहरूमा युद्धग्रस्त युक्रेन, प्यालेस्टाइन, यमन, म्यानमार र उत्तर कोरिया छ। यस्तै, अफ्रिकाका ठूला क्षेत्रहरू, जहाँ आतंकवाद, अपहरण र अन्य हिंसात्मक अपराधको खतरा छ। ती सबै देश ‘यात्रा नगर्नुहोस्’ सूचीमा समावेश छन्। त्यसैगरी रूस र उसका सहयोगी देश इरान र बेलारुस पनि जान नहुने सूचीमा छन्। जहाँ अस्ट्रेलियालीहरू हिरासतमा पर्ने वा पश्चिमाहरूलाई लक्षित गरी मनपरी लागू गरिने कानुनको समेत जोखिम छ। 

रूसी अधिकारीहरूले अस्ट्रेलियालाई ‘मैत्रीहीन’ राष्ट्रका रूपमा लिन्छन् र सोहीअनुसार व्यवहार गर्छन्। संसारकै सबैभन्दा ठूलो देशका बारेमा विदेश मामिला तथा व्यापार विभागले भनेको छ, ‘यदि तपाईं रूसमा हुनुहुन्छ भने, व्यावसायिक साधन प्रयोग गरेर तुरुन्तै देश छोड्नुहोस्।’ युद्धले थिलथिलो बनेको, कमजोर र वैदेशिक सहयोगमा निर्भर अर्थतन्त्रलाई मजबुत बनाउने प्रयासस्वरूप अफगानिस्तानलाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न थालेको छ। 

गत जुन महिनामै त्यहाँका उपपर्यटनमन्त्री कुदरतुल्लाह जमालले भनेका थिए, ‘अफगान जनता न्यानो र अतिथि सत्कार गर्ने खालका छन् र अन्य देशका पर्यटकलाई आतिथ्य दिन तथा उनीहरूसँग अन्तरक्रिया गर्न चाहन्छन्।’ मन्त्री जमालले पर्यटनले कुनै पनि देशलाई धेरै फाइदा पुर्‍याउने ठानेर यस्तो धारणा व्यक्त गर्नुको धारणाप्रति अस्ट्रेलिया विश्वस्त देखिँदैन। 

देशबाट भाग्न बाध्य भएका अफगानीहरूले तालिबानको हिंसात्मक र दमनकारी शासनलाई वैधता दिन सक्ने जोखिम रहेको भन्दै चेतावनी दिएका भए पनि, त्यहाँ यात्रा गर्ने विदेशीहरूमध्ये केही अस्ट्रेलियालीहरू पनि छन्। तर, अफगानिस्तान भ्रमणबारे संघीय सरकारको सल्लाह भने निकै स्पष्ट र कडा छ। ‘अफगानिस्तानको कुनै पनि ठाउँ सुरक्षित छैनन। तपाईं मर्न पनि सक्नुहुन्छ भन्ने कुरा बुझ्नुहोस्’ चेतावनीमा उल्लेख गरिएको छ।

‘यात्रा नगर्नुहोस्’ सूचीमा रहेका देशहरू आश्चर्यजनक नहुन सक्छन्। तर सूचीमा केही तुलनात्मक रूपमा सुरक्षित मानिने देशहरूका लागि दिइएको सल्लाहले कतिपय यात्रुहरूले आश्चर्य मानेका छन्। फ्रान्स र संयुक्त अधिराज्य (युनाइटेड किङ्डम) मात्र पश्चिमी युरोपका देशहरू हुन्, जसलाई ‘उच्चस्तरको सावधानी अपनाउनुहोस्’ भन्ने दोस्रो तहको यात्रा सल्लाह दिइएको छ। अस्ट्रेलियालीहरूका लागि अर्को लोकप्रिय गन्तव्य थाइल्यान्डलाई पनि उही स्तरको चेतावनी दिइएको छ। तर, मंकीपक्सको प्रकोप देखिएका र सीमावर्ती क्षेत्रमा ‘यात्रा नगर्नुहोस्’ भनिएका रुवान्डा र जाम्बियामा जाने यात्रुहरूलाई भने ‘सामान्य सुरक्षा सावधानी अपनाउनुहोस्’ भनिएको छ। यद्यपि ती देशका केही विशेष क्षेत्रहरूमा भने उच्चस्तरको चेतावनी लागू गरिएको छ।

यस्तो यात्रा सल्लाह अस्ट्रेलियाका सहयोगी राष्ट्रहरूबाट प्राप्त गुप्तचर निकायको जानकारीसहित विभिन्न पक्षहरूलाई आधार मानेर तय गरिएको हो। त्यसले यात्रुहरूले त्यहाँ सामना गर्न सक्ने जोखिमलाई वस्तुगत रूपमा प्रतिविम्बित गर्छ। यस्तो चेचावनी दिँदादिँदै पनि कतिपयले घरपरिवारलाई समेत छलेर जोखिमयुक्त देशको भ्रमणमा जाने गरेका घटनाहरू सार्वजनिक भएका छन्। तीमध्येकी जेस डेभिस पनि हुन्। 

उनले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानमा दुई हप्ता यात्रा गरिसकेकी थिइन्। त्यहीबेला मेलबर्नबाट उनकी आमाले फोन गरेर उनले बोलेको झुट पत्ता लगाइन्। ‘मैले झुट बोलेकी थिएँ र अरू नै ठाउँमा उडेको भनेर भनेकी थिएँ,’ उनले यहाँको एउटा टेलिभिजनलाई बताइन्। आतंकवादी आक्रमण, अपहरण र मनपरी रूपमा थुनामा पारिने जोखिम हुँदाहुँदै पनि मध्य एसियाली उक्त देश भ्रमण गर्ने पश्चिमी पर्यटकहरूको बढ्दो छ। अफगानिस्तानमा कुनै पनि अस्ट्रेलियाली सरकारी अधिकारी वा कन्सुलर सहायता उपलब्ध छैन। विमानस्थल, उडान तथा दूरसञ्चार सेवा बिनासूचना अवरुद्ध हुन सक्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.