चुनावी रोमाञ्चकता, पृथक् अग्निपरीक्षा

चुनावी रोमाञ्चकता, पृथक् अग्निपरीक्षा

जेन–जी आन्दोलनपछि देश फेरि एकपटक चुनावी प्रक्रियामा प्रवेश गरेको छ। प्रतिनिधिसभा पुनस्र्थापनाको एजेन्डा बोकेका कांग्रेस–एमालेले समानुपातिकको बन्द सूची बुझाइसकेका छन्। सडकको आन्दोलनबाट उठेको आवाज अब मतपेटिकातर्फ मोडिएको छ। राजनीतिक रूपमा यो स्वाभाविक संक्रमण हो। निःसन्देह, आन्दोलनले प्रश्न उठाउँछ, चुनावले उत्तर खोज्छ।

यसबीच एमालेले महाधिवेशन टुंग्याएको छ। कांग्रेस आन्तरिक किचलोमै अल्झिएको छ। केही दल फुटेका छन्। केही जुटेका छन्। पुरानो राजनीतिक संरचना पुनः सन्तुलन खोज्दैछ। तर, यो चुनावलाई अघिल्लाहरूभन्दा फरक बनाउने मुख्य कारण छ– युवाहरूको वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा उभिनु। लामो समयदेखि नेपाली राजनीतिमा पुराना दलहरूमाथि एउटै आरोप दोहोरिँदै आएको छ– स्थिरता दिन नसक्नु, सुशासनमा असफल हुनु र सत्ता स्वार्थमा डुब्नु। सरकार फेरिने, तर शासन नफेरिने रोगले देश थलिएको छ। यही पृष्ठभूमिमा जेन–जी आन्दोलन जन्मियो। यो कुनै दलको झन्डामुनि सीमित थिएन, बरु पुस्ताको असन्तोषको अभिव्यक्ति थियो। अब यही आन्दोलनको जगमा युवाहरूको वैकल्पिक राजनीतिक शक्ति चुनावी मैदानमा उत्रिएको छ। यसले चुनावी माहोललाई रोमाञ्चक बनाएको छ। मतदातासामु अब ‘कम खराब’ छान्ने बाध्यता मात्र छैन, ‘नयाँ सम्भावना’ रोज्ने विकल्प पनि छ।

अन्तर्राष्ट्रिय अनुभवले देखाउँछन्– वैकल्पिक शक्तिहरू सफल हुन सक्छन्। तर, त्यसका लागि अनुशासन, स्पष्ट दृष्टिकोण र संस्थागत क्षमता अनिवार्य हुन्छ। भारतमा आम आदमी पार्टी भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उदायो र दिल्लीको शासनमा प्रभाव देखायो। स्पेनमा पोडेमोस र फ्रान्समा इमानुएल म्याक्रोँको आन्दोलनले परम्परागत दलहरूको एकाधिकार तोड्यो। तर, उही उदाहरणहरूले अर्को सत्य पनि देखाउँछन्– आन्दोलनबाट जन्मिएका दलहरू टिक्न नसक्दा वा सत्ता पुगेपछि पुरानै रोग दोहोर्‍याउँदा जनविश्वास छिट्टै खस्किन्छ। 

नेपालमै पनि यस्ता उदाहरण नयाँ होइनन्। विगतमा वैकल्पिक दाबी गर्दै आएका कतिपय शक्ति ख्याउटे सावित भए। कतिपय लोसे देखिए। कतिपय त इतिहासमै बिलाए। कारण एउटै थियो– स्पष्ट नीति नहुनु, संगठन कमजोर हुनु र सत्ताको पहिलो स्वादमै लहसिनु। त्यसैले यो चुनाव युवाहरूका वैकल्पिक शक्तिका लागि अवसर मात्र होइन, कठोर परीक्षा पनि हो। पुराना दललाई गाली गरेर मात्र नयाँ बन्न सकिँदैन। सुशासन, पारदर्शिता, आर्थिक दृष्टिकोण, संघीयताको व्यावहारिक कार्यान्वयन र समावेशी लोकतन्त्रबारे स्पष्ट उत्तर दिनुपर्छ। आन्दोलनको ऊर्जा नीति र कार्यक्रममै अनुवाद हुन सकेन भने जनताले दिएको मौका पनि क्षणिक हुनेछ।
यो चुनाव पुराना दलहरूका लागि पनि आत्मसमीक्षाको घडी हो। 

जनताले बारम्बार दिएको चेतावनी बेवास्ता गर्ने छुट अब छैन। सुध्रिन नसक्ने हो भने प्रतिस्थापनको जोखिम वास्तविक बन्नेछ। प्रतिस्पर्धाले मात्र लोकतन्त्रलाई जीवन्त बनाउँछ। किनकि, जेनजी आन्दोलनले परिवर्तनको ढोका खोलेको छ। त्यो ढोका राष्ट्र निर्माणतर्फ खुल्छ कि फेरि निराशातर्फ, यसको फैसला अब चुनावले गर्नेछ। पुराना दल सुध्रिने, नयाँ शक्ति जिम्मेवार बन्ने वातावरण बनेमा मात्र यो आन्दोलन सार्थक ठहरिनेछ। अन्यथा, आन्दोलन फेरि सडकमा फर्किन धेरै समय लाग्ने छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.