युरोप र अमेरिकामा फैलिँदै सुपर फ्लु ! नेपाल कति सुरक्षित ?

युरोप र अमेरिकामा फैलिँदै सुपर फ्लु ! नेपाल कति सुरक्षित ?

 

दिनेश गौतम

हाल विश्वमा विशेषतः बेलायत, क्यानडा, फ्रान्स, स्पेन, जर्मनी, अमेरिका र जापानमा सुपर फ्लु भाइरस फैलिएको छ। युरोपेली मुलुकमहरूमा फैलिरहेको सुपर फ्लु भाइरस भित्रिने त होइन ? जिज्ञासा, चासो तर चिन्ता स्वास्थ्यकर्मीमाझ बढेको देखिन्छ।

नेपालमा हरेक वर्ष विशेषगरी फ्लु एअन्तर्गत स्वाइन फ्लु (एचवान एनवान) र हङकङ फ्लु (एचथ्री एनटु) देखिँदै आइरहेको छ। हाल भने विशेषत हङकङ फ्लु (एचथ्री एनटु)ले अग्रता लिएको देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, सुपर फ्लु भाइरसलाई विश्व स्वास्थ संगठनले एचथ्रीएनटु अन्तर्गतको सबक्लेड ‘के’ नामकरण गरेको छ। तर सञ्चारमाध्यमहरूले भने यसलाई ‘सुपर फ्लु’ को संज्ञा दिएका छन्।

वैज्ञानिकहरूले भने सुपर फ्लुको निगरानी प्रणाली सुदृढ गर्न, जोखिम समूहलाई खोपमा प्राथमिकता दिन, स्वास्थ्य संस्था एवं जनशक्तिलाई तयारी अवस्थामा राख्न र जनस्वास्थ्य सतर्कता (मास्क, हातधुने, बिरामी हुँदा आइसोलेसन) अपनाउन आह्वान गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वका विभिन्न मुलुकहरूमा यो भाइरस फैलिरहेको जनाएको छ। तर, हालसम्म उपलब्ध तथ्यांकले रोगको गम्भीरतामा वृद्धि भएको संकेत नगरेको डब्लूएचओले उल्लेख गरेको छ। यद्यपि, भाइरसको विकास क्रममा उल्लेखनीय परिवर्तन आइरहेको जनाएको छ।

डब्लूएचओका अनुसार, दक्षिण अमेरिकाबाहेक विश्वका धेरै भागहरूमा सब–क्लेड केका भाइरसहरूको पहिचान (डिटेक्सन) बढ्दो क्रममा रहेको छ। विशेषगरी सन् २०२५ को अगस्टदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सब–क्लेड के भाइरसहरू स्पष्ट रूपमा पत्ता लागेको छ।। पछिल्ला ६ महिनामा विश्वका ३४ भन्दा बढी मुलुकमा ती भाइरसहरू पत्ता 
लागिसकेका छन्।

नेपाल कति सुरक्षित ? 
सुपर फ्लुको सबैभन्दा बढी अमेरिकाको न्युयोर्क, म्यानहटन, लुसियाना, कोलोराडो राज्यमा फैलिएको छ। अन्तर्राष्ट्रिय एवं आन्तरिक यात्राको केन्द्र एवं घटना जनसंख्या भएको न्युयोर्कमा सुपर फ्लुको जोखिम उच्च रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यसबाहेक आइल्यान्ड र न्यु जर्सीमा पनि सुपर फ्लुका बिरामी भेटिएका छन्।

‘वैज्ञानिकहरूले यसलाई मौसमी फ्लुकै रूपमा लिएका छन्,’ डा. पुन भन्छन्, ‘सुपर फ्लु’ विश्वमा तीव्र रफ्तारमा फैलिरहेको भए पनि नेपालमा आउँछ ÷आउँदैन ? आयो भने यसले कस्तो प्रभाव पार्नेछ ? त्यो हेर्न बाँकी नै छ। ’
लक्षणहरू
–    उच्च ज्वरो आउने
–    शरीर दुख्ने
–    अत्यधिक थकान महसुस हुने
–    लगातार खोकी लाग्ने
–    घाँटी दुख्ने
–    कडा टाउको दुखाइ
को बढी जोखिममा छन् ? 
–    ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक
–    साना बालबालिका
–    गर्भवती
–    दीर्घरोगी (दम, मधुमेह, मुटु रोग आदि)
–    कमजोर प्रतिरक्षा भएका व्यक्ति
संक्रमित व्यक्तिमा लक्षण सामान्य फ्लुजस्तै देखिएका छन्। सबैमा एउटै लक्षण नदेखिए पनि केही समान लक्षण देखिएको छ। अचानक ज्वरो आउनु, मांसपेशी दुखाइ, लामो समयसम्म रहने खोकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने र अत्यधिक थकान महसुस हुने गरेको सुपर फ्लु संक्रमित बिरामीहरूको अनुभव छ। प्रायः संक्रमण भएको दुई दिनभित्रै लक्षण देखिन थालेको पाइएको छ।

सामान्य फ्लुभन्दा फरक छ ? 
लक्षण उस्तै देखिए पनि सुपर फ्लु छिटो फैलिएको छ। सुपर फ्लुको संक्रमणपछि लामो समयसम्म थकान रहने समस्या हुने गरेको छ। कतिपय बिरामीमा निमोनियाको संक्रमणसमेत भएको छ। फ्लुका भाइरसहरू निरन्तर परिवर्तन (म्युटेसन) भइरहन्छन्। यो भाइरस पनि फैलिँदै जाँदा साना आनुवंशिक परिवर्तनहरू जम्मा हुँदै जान्छ। र, अन्ततः ती परिवर्तनहरूले भाइरसको संरचना नै फरक बनाई अझ आक्रामक बनाउन सक्ने वैज्ञानिकको भनाइ छ। म्युटेसन भएका फ्लु भाइरसलाई अर्को सम्भावित प्यानडेमिकको रूपमा समेत हेर्ने गर्छन्। तसर्थ यही कारणले सुपर फ्लुप्रति वैज्ञानिकहरूको विशेष चासो हुनुमा मुख्य कारण मानिन्छ।

डा. पुन भन्छन्, ‘विभिन्न अनुसन्धानको नतिजाले अहिले पनि हाल उपलब्ध खोपले धेरै हदसम्म सुरक्षा दिने निष्कर्ष निकालिएको छ। नेपालमा कहिले भित्रिन्छ वा पुष्टि हुन्छ त्यो हेर्न बाकी रहे पनि हामीले हाल विश्वमा देखिरहेको प्रभावबाट शिक्षा लिएर ततनुसार योजना बनाउनु उपयुक्त हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.