मिर्गौला धोकेबाज हुन्छ, लक्षण नकुरौं
मिर्गौला बिग्रेको लक्षण सुरुमै थाहा पाउन सकिँदैन। यो लक्षणविहीन हुन्छ। लक्षणविहीन हुने भएकोले भित्रभित्रै रोग लुकेर बसेको हुन्छ। मिर्गौला बिग्रँदै गएको हुन्छ तर त्यसको आभास व्यक्तिलाई हुँदैन। खानपान, रहनसहन हेर्दा ठिकै देखिन्छ। तर, पिसाबबाट प्रोटिन गइरहेको हुन्छ।
के कारणले बिग्रिन्छ, मिर्गौला ?
कस्तो अवस्थामा एउटा मात्र मिर्गौला बिग्रिने वा दुवै मिर्गौला बिग्रिने हुन्छ ?
मिर्गौला रोगलाई किन साइलेन्ट किलर भनिएको हो ?
मिर्गौला बिग्रेको लक्षण सुरुमै थाहा पाउन सकिँदैन। यो लक्षणविहीन हुन्छ। लक्षणविहीन हुने भएकोले भित्रभित्रै रोग लुकेर बसेको हुन्छ। मिर्गौला बिगँ्रदै गएको हुन्छ तर त्यसको आभास व्यक्तिलाई हुँदैन। खानपान, रहनसहन हेर्दा ठीकै देखिन्छ। तर, पिसाबबाट प्रोटिन गइरहेको हुन्छ। जब मिर्गौला ७०÷८० प्रतिशत बिग्रिसकेको हुन्छ, त्यतिबेला लक्षण देखिन सक्छ। त्यतिखेरको उपचार भनेको डायलाइसिस र प्रत्यारोपण हो। रोग चुपचाप (साइलेन्ट) बसेको छ। जुन परीक्षण नगरी थाहा हुँदैन। समयमा परीक्षण वा उपचार नगर्ने हो भने अकालमा ज्यानसमेत लिन सक्छ। त्यसैले मिर्गौला रोगलाई साइलेन्ट किलर भनिएको हो।
मिर्गौला बिग्रिँदाको सुरुमा देखिने कुनै न कुनै लक्षण त होला नि ?
सुरुमै देखिने त्यस्तो विशेष लक्षण केही पनि हुँदैन। सामान्यतयाः पहिलो खराबी पिसाबमा हुन्छ। पिसाबमा फिँज आउँछ। तर, आफ्नो मिर्गौला कस्तो छ ? भन्ने थाहा पाउने हो भने लक्षण नकुरौं। किड्नी फङ्सन टेस्ट (पिसाब र रगतको जाँच) गर्नुहोस्। तब मात्र थाहा हुन्छ, मिर्गौलाले काम गरेको छ, छैन भन्ने कुरा। मिर्गौलामा पत्थर छ, छैन ? पिसाब थुनिएको छ कि छैन ? फोकाहरू छन् कि छैनन् ? आदि विषयमा अल्ट्रासाउन्ड गर्दा थाहा हुन्छ।
सुकिसकेको कागती निचोर्दा जसरी रस निस्कँदैन त्यसरी नै बिग्रिसकेको मिर्गौला पुनः रिकभर हुँदैन। त्यसैले मिर्गौला बिग्रेको लक्षण कुर्नु हुँदैन। पहिल्यै बिग्रिन थालेको जानकारी दिँदैन। कतिखेर बिग्रिन्छ थाहै हुँदैन। मिर्गौला धोकेबाज हुन्छ। त्यसैले लक्षण कुर्नु गल्ती हुन्छ। स्वस्थ भए पनि वर्षमा एक पटक मिर्गौलाको जाँच गराऔं।
मिर्गौलामा रहेको पत्थर लामो समयसम्म पनि रहिरहँदा मिर्गौला बिग्रिने जोखिम कत्तिको हुन्छ ?
मिर्गौलामा बनेको पत्थरले पिसाब थुनिने पनि हुन्छ। पिसाब थुनिँदै जाँदा मिर्गौला बिग्रेको बिरामीलाई पत्तै नहुन पनि सक्छ। दुईवटा मिर्गौलामध्ये एउटा मिर्गौलाले काम गरिरहेको र अर्को मिर्गौला बिग्रिसकेको पनि हुन सक्छ। त्यसैले मिर्गौलामा रहेको पत्थर लामो समयसम्म पनि रहिरहँदा मिर्गौला बिग्रिने जोखिम बढाउँछ।
हाल कति नेपालीहरू मिर्गौला रोगबाट प्रभावित छन् ?
यति जना नेपाली मिर्गौला रोगबाट प्रभावित भएका छन् भन्ने पहिचान वा खोजी भएको छैन। सरकारी वा निजी क्षेत्रबाट बृहत् सर्भेक्षण पनि भएको छैन। तर, ठाउँठाउँमा गरिएको अनुसन्धानले करिब १० प्रतिशत जनसंख्यामा मिर्गौलाको समस्या छ भन्ने देखिन्छ। झन्डै ३० लाख व्यक्तिमा मिर्गौला बिग्रेको अनुमान छ। अमेरिका पढ्न गएका नेपालीहरू पनि मिग्र्रौला बिग्रेर डायलाइसिसमा बसेका उदाहरण छन्।
खाडी मुलुकमा रोजगारीका लागि गएका युवाहरूमा मिर्गौला बिग्रिने समस्या बढिरहेको छ नि ?
खाडी मुलुकमा गएका युवाहरू मिर्गौला बिग्रेपछि हरेक महिनाजसो उपचार गराउन आइरहेका छन्। गर्मी ठाउँमा काम गर्ने तर पर्याप्त पानी नपिउने गर्दा पनि मिर्गौला बिग्रिन्छ। समयसमयमा पानी नपिउने, कामको बोझ र तनावले गर्दा समयमै नसुत्ने, अत्यधिक माछा, मासु र पेनकिलर खाने प्रवृत्ति पाइएको छ। यी कारणहरूले गर्दा पनि खाडी मुलुकमा गएका नेपालीहरूको मिर्गौला बिग्रेको छ।
मिर्गौला बिग्रेका व्यक्तिहरू कुन स्टेज (चरण)मा जँचाउन आउँछन् ?
अधिकांश व्यक्ति मिर्गौला बिग्रिसकेपछि बल्ल उपचारमा आइपुग्छन्। ८०/९० प्रतिशत बिग्रिसकेपछि बल्ल आउँछन्। त्यो बेला बिग्रिसकेको मिर्गौलालाई औषधि र खानपानद्वारा सन्तुलनमा राख्ने मात्र हो। रोग निको पार्न सकिने होइन। अन्ततः कि डायलाइसिस गर्नुपर्ने हुन्छ कि त मिर्गौला प्रत्यारोपण गर्नुपर्छ।
मिग्र्रौला बिग्रेपछि अकस्मात ज्यान जाने अवस्था हुन्छ कि हुँदैन ?
मिर्गौला बिग्रेपछि हार्टअट्याक (हृदयाघात), स्ट्रोक हुने जोखिम हुन्छ। त्यसैले मिर्गौला बिग्रेकामध्ये कतिपयको अकालमै वा अकस्मात मृत्यु हुन्छ।
कस्तो अवस्थामा डायलाइसिस गर्नुपर्छ ?
करिब ९० प्रतिशत मिर्गौला बिग्रिसके पछि डायलाइसिस गर्नुपर्ने हुन्छ। डायलाइसिसभन्दा प्रत्यारोपण उपचार राम्रो हो।
हेमोडायलाइसिस र पेरिटोनिलयल डायलाइसिसमा के फरक छ ?
हेमोडायलाइसिस रगत शुद्धीकरण गर्ने उपचार विधि हो। अस्पतालमा गएर गरिने डायलाइसिस हेमोडायलाइसिस हो। बिरामीको रगत सफा गरेर फर्काइन्छ। घरमै बसीबसी गरिने डायलाइसिस पेरिटोनियल डायलाइसिस भनिन्छ। पेरिटोनियलमा बिरामी र घरका सदस्यहरूले पनि गरिदिन सक्छन्। दिनको तीन पटक गर्नुपर्ने हुन्छ।
डायलाइसिस बाँचुञ्जेल गर्नुपर्ने हुन्छ ?
जसको मिर्गौला सुकेको छ, काम गर्दैन भने डायलाइसिस जिन्दगीभर गर्नुपर्ने हुन्छ। डायलाइसिसको विकल्प प्रत्यारोपण हो। मिर्गौला प्रत्यारोपण नगर्ने हो भने बाँचुञ्जेल डायलाइसिस गर्नुपर्छ। हप्ताको दुई वा तीन पटक डायलाइसिस गरिरहनुपर्ने हुन्छ।
तर कडा झाडापखाला भएर वा पेनकिलर सेवनका कारण अथवा अरिंगालले टोकेर, अग्लो ठाउँबाट लडेर किड्नी फेलियर भएको छ भने डायलाइसिस गरेर ठीक हुन्छ। यो अस्थायी (टेम्पोररी डायलाइसिस) हो।
मिर्गौला प्रत्यारोपण डायलाइसिसभन्दा किन राम्रो मानिन्छ ?
मिर्गौला बिग्रेको वा डायलाइसिस गरिरहेको छ भने सबैभन्दा राम्रो प्रत्यारोपण नै हो। बिरामीको नातेदार स्वस्थ र दुईवटा मिर्गौला छन् भने दान गर्न सक्छन्। स्वेच्छाले एउटा मिर्गौला दिन्छन् र जाँच गर्दा दिन मिल्ने देखियो भने बिरामीमा प्रत्यारोपण गर्न मिल्छ। मिर्गौला प्रत्यारोपण ९७, ९८ प्रतिशत सफल छ। एक, दुई प्रतिशतमा मात्र समस्या देखिन सक्छ।
मिर्गौला दिइसके पछि औषधि सेवन गर्नुपर्छ कि पर्दैन ?
मिर्गौला दिने व्यक्तिले औषधि खानुपर्दैन। जीवनशैली स्वस्थ राख्ने र वर्षमा एकपटक स्वास्थ्य परीक्षण गरे हुन्छ।
मिर्गौला लिएको व्यक्तिले नि ?
मिर्गौला लिएको व्यक्तिले जिन्दगीभर औषधि सेवन गर्नुपर्छ। औषधि सेवन गर्न छोडेको अवस्थामा प्रत्यारोपण गरेको नयाँ मिर्गौला बिग्रिन्छ। त्यसैले औषधि सेवन गर्ने र बेलाबखत मिर्गौला रोग विशेषज्ञसँग परामर्श र जाँच गराइरहनुपर्छ।
प्रत्यारोपित मिर्गौला कति वर्षसम्म काम गर्छ ?
सामान्यतया: १० वर्षसम्म मज्जाले काम गर्छ। त्योभन्दा बढी समयसम्म पनि काम गर्छ।
मिर्गौला बिग्रिनेको संख्या बढिरहेको बेला डायलाइसिस र प्रत्यारोपणमा बिरामीको पहुँच कस्तो छ ?
नेपाल सरकारले डायलाइसिस निःशुल्क गरेको छ। डायलाइसिस अहिले जिल्ला अस्पतालहरूमा पनि पुगेको छ। अहिले बिरामीहरूलाई सहज भएको छ। सरकारी र निजी अस्पतालमा पनि डायलाइसिस र प्रत्यारोपण सेवा उपलब्ध छ। सबै अस्पतालमा बिरामीको चाप बढी नै छ।
मिर्गौलाका बिरामीले के खान हुन्छ के हुँदैन ?
मुख बार्नुपर्छ। नुन पनि कम खानुपर्छ। अमिलो, पिरो पनि खानु हुँदैन। सुन्तला, केराजस्ता फलफूल पनि खान नहुने हुन्छ। धेरै मासु पनि खानु हुँदैन। डायलाइसिसमा बसेका बिरामीले पानी पनि धेरै खानु हुँदैन।
जनताको मिर्गौला बचाउन सरकार र अन्य क्षेत्रले के गर्नु उपयुक्त हुन्छ ?
मिर्गौला बिग्रिसकेपछि उपचार गर्नुभन्दा बिग्रिनै नदिनु उत्तम हो। त्यसैले मिर्गौला बिग्रिनै नदिनका लागि सरकार, गैरसरकारी संघसंस्था र निजी क्षेत्रले पनि देशव्यापी रूपमा मिर्गौला बचाउ अभियान चलाउनु पर्छ। रोग लाग्नै नदिने अर्थात् रोकथाम गर्ने तर्फ लगानी गर्नुपर्छ। उपचारका साथसाथै जनचेतना जगाउनेतर्फ पनि खर्च गर्नुपर्छ। हरेक स्कुलमा विद्यार्थीलाई जानकारी दिनुपर्छ। हरेक पालिकामा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने हो भने केही वर्षमै मिर्गौलाका बिरामी बढ्ने होइन घट्नेक्रम हुन्छ।
अन्त्यमा, मिर्गौला जोगाउन कस्तो जीवनशैली अपनाउनुपर्छ ?
हरेक व्यक्तिले मिर्गौला स्वस्थ राख्न जीवनशैली पनि स्वस्थ बनाउनुपर्छ। जाडोमा कम्तीमा दुई लिटर र गर्मीमा तीन लिटर पिसाब हुने गरी शरीरलाई फाइदा पुग्ने झोल पदार्थ खानु राम्रो हुन्छ। मिर्गौला स्वस्थ राख्ने हो भने चुरोट, खैनी, जाँड, रक्सी नखानु राम्रो हो। समयमा सुत्ने, उठ्ने गर्नुपर्छ। दैनिक ७ हजारदेखि १० हजार पाइला हिँड्नु राम्रो हुन्छ। माछा, मासुभन्दा पनि सागसब्जी, गेडागुडी, फलफूल खानमा जोड दिनुपर्छ। वर्षमा एक पटक जाँच गर्दा आफ्नो मिर्गौलाको अवस्थाबारे जानकारी पाउन सकिन्छ।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !