जाडो बढ्दै छ, बाआमा बचाऔं !
काठमाडौं उपत्यकालगायत हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ। जाडोप्रति ७० वर्ष नाघेका बा आमाहरूको भनाइ छ, ‘जाडो कट्यो त काल कट्यो।’
ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलका अनुसार, समयमै सावधानी नअपनाउँदा चिसोकै कारण ज्यान जाने जोखिम यो उमेर समूहमा बढी हुन्छ। शरीरको तापक्रम न्यून भएमा भए शरीरमा शीतांग (हाइपोथर्मिया) हुने हुन्छ। समुदायमा आधारित तथ्यांक नभए पनि शीतलहरबाट हरेक वर्ष वृद्धवृद्धाको ज्यान जाने गरेको डा. कँडेल बताउँछन््। डा. कँडेलका अनुसार शरीर चिसो भएको अवस्थामा होससमेत हराउन सक्छ। नेपालमा ६० वर्ष नाघेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ। यो उमेरमा रोगसँग लड््ने क्षमता पनि ह्रास हुँदै गइरहेको हुन्छ।
निमोनियाको जोखिम
जाडोका बेला फोक्सोमा संक्रमण हुने जोखिम हुन्छ। फोक्सोका कोषहरू सुनिन्छन्। श्वासप्रश्वासमा बाधा पुग्छ। जसलाई निमोनिया भनिन्छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार निमोनियाविरुद्धको खोप पनि विज्ञ चिकित्सकको सिफारिसमा ज्येष्ठ नागरिकलाई लगाउन सकिन्छ। खोप लगाउनुअघि विज्ञ चिकित्सकसँग सरसल्लाह गर्नु राम्रो हुन्छ। यसका साथै ब्याक्टेरियाको संक्रमणले ज्येष्ठ नागरिकलाई टाइफाइड, आउँ, हैजा, क्षयरोगको जोखिम हुन्छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार, जाडोले मुटु, फोक्सोसहित भित्री अंगका साथै बाहिरी भागलाई बढी असर गर्छ। सामान्य रुघाखोकी, रक्तचाप बढ््नेदेखि कडा निमोनिया, मस्तिष्कघात, हृदयाघात भएर ज्यानसमेत जान सक्छ।’
के गर्ने ?
जाडोमा झोलिलो खुवाउने क्रममा सुपमा नुनको मात्रा बढी भएर उच्च रक्तचापको समस्या हुन सक्छ। तेलमा तारेको, भुटेको खानेकुरा खाँदा स्वास्थ्य जोखिममा पर्न सक्छ। तेल, घिउ र नुनको मात्रामा पनि ध्यान दिनुपर्छ। उमेर र शारीरिक अवस्था हेरेर खानपानमा ख्याल गर्नुपर्छ। डा. कँडेलका अनुसार कोठालाई न्यानो बनाउने क्रममा कोइला बालेर सुत्ने, ग्यास हिटर बाल्दा निसास्सिएर ज्यानसमेत जाने गरेको छ। यसमा सचेत बन्नुपर्छ।
बदलिएको परिवारिक संरचना तथा युवा बिदेसिँदा ज्येष्ठ नागरिक एक्लिएका छन््। हेरचाह, स्याहारसुसार र उपयुक्त वातावरण नहुँदा ज्येष्ठ नागरिक बिरामी पर्ने जोखिम बढी हुन्छ। एकल तथा विधुर, शारीरिक एवं मानसिक रूपमा अशक्त, परित्यक्त, असहाय एवं आफ्नो परिवार वा संरक्षक नभएका बाआमा बढी जोखिममा रहेको चिकित्सकको भनाइ छ।
डा. कँडेल ससाना बालबालिकाझैं बाआमालाई पनि शरीर न्यानो हुने कपडा लगाइदिन सुझाव दिन्छन््। ‘खुट्टामा मोजादेखि शरीरमा न्यानो कपडा, मफलर (गलबन्दी), बाक्लो टोपी लगाइदिनुपर्छ’, डा. कँडेल भन्छन, ‘बाक्लो लुगा नभएको अवस्थामा पत्रपत्र गरेर धेरै लुगा लगाउँदा पनि हुन्छ। जाडोका बेला शरीरलाई न्यानो बनाइराख्नुपर्छ।
चिसो पानीले नुहाउनु हुँदैन।’ बाआमाको शारीरिक एवं मानसिक अवस्थाको ख्याल गर्दै मनतातो पानीले नुहाउनुपर्छ। वा मनतातो पानीमा नरम कपडा भिजाएर शरीर पुछिदिँदा बाआमाको मन खुसी हुने चिकित्सकहरू बताउँछन््। ज्येष्ठ नागरिकलाई शरीरभित्रबाट पनि न्यानो पार्न खानपानमा पनि ध्यान दिनुपर्छ। मनतातो झोलिलो खानेकुरा, सुपको मात्रा बढाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !