आईसीसी टीट्वेन्टी विश्वकप : शेर र बसिर राष्ट्रिय टोलीमा
काठमाडौं : भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटका लागि नेपालको राष्ट्रिय टोलीका घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।
नेपाली टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै उदयीमान खेलाडी बन्न सफल शेर मल्ल र बसिर अहमदले पहिलो पटक स्थान बनाउन सफल भएका छन्। शेर मल्ल एनपीएलको उपाधि विजेता लुम्बिनी लायन्स र बसिर विराटनगर किङ्सका खेलाडी हुन्। पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीमध्ये नौ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्।
पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पाण्डे, साहब आलम, रुपेश सिंह, आदिल अन्सारी, कुशल मल्ल भीम सार्कीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।
टीट्वेन्टी विश्वकप भारत र श्रीलंकामा आयोजना हुँदैछ। आगामी फेब्रुअरी ७ बाट सुरु हुने टीट्वेन्टी विश्वकप मार्च २० सम्म सञ्चालन हुनेछ। यस पटक २० टोलीले टीट्वेन्टी विश्वकप खेल्दैछन्। सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘सी’मा परेको छ। यसैगरी समूह ‘ए’मा साविक विजेतासमेत रहेको भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन्। समूह ‘बी’मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बावे छन्। समूह ‘डी’मा अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।
निकै कठिन मानिएको समूह ‘सी’मा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालले इङ्ल्यान्डसँग फेब्रुअरी ८ मा पहिलो खेल खेल्नेछ। नेपालको समूह चरणका चार वटै खेल मुम्बईमा हुनेछ। यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशको सामना गर्नेछ।
अमेरिका र वेस्ट इन्डिजमा भएको अघिल्लो संस्करणमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग एउटै समूहमा परेको थियो। वेस्ट इन्डिजमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुलसन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा
प्रतिक्रिया दिनुहोस !