नवौं केएनपी नृरोलेक राष्ट्रिय महिला भलिबल : न्यु डायमन्ड र आर्मी भिड्ने
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा हुने नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। बुधबारदेखि चार दिनसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।
पहिलो खेल सातौं संस्करणको विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेल साविक विजेता नेपाल पुलिस क्लब र सुरुका ६ संस्करणको विजेता एपीएफ क्लबबीच हुनेछ। राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा यिनै चार टोली सहभागी छन्। राउन्ड रोविन लिगमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि खेल्ने छन्।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ। विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, दोस्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रालि र तेस्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ। यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ। विधागततर्फ सात उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’बाट सम्मान गरिने छ।
प्रतियोगितालाई एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक, ग्लोबल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सांग्रिला कार्गो, ट्रेङक्युलिटि स्पा, केल्मी, केएफसी, मर्कुरी होटल, बाराही होटल, आईजीआई प्रुडेन्सियल फाइनान्स, बुद्ध एयर, चाँगुनारायाण नगरपालिका र सिमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनले सहयोग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !