मधेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ११ जनाको उम्मेदवारी
जनकपुरधाम : मधेशमा चार जना राष्ट्रिय सभा सदस्यका लागि ११ जनाको मनोनयन दर्ता भएको छ। आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट ११ जनाको मनोनयन दर्ता भएको हो।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय मधेश प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारी अन्य तर्फको कोटाबाट दर्ता भएको हो। उनको प्रस्तावकमा लोसपाका मधेस प्रदेशसभा सदस्य जयनुल राईन रहेका छन् भने समर्थकमा पनि लोसपाकै प्रदेशसभा सदस्य एवं मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी रहेकी छन्।
मधेश प्रदेशमा नेकपाबाट चार जनाको उम्मेदवारी दर्ता भएको छ। अल्पसंख्याकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका शम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो। राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गठबन्धन नभए पनि नेकपाले छुट्टै उम्मेदवारी दिएको हो।
त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेबाट एक/एक जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलिततर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको हो। त्यस्तै महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन्।
जनकपुरस्थित निर्वाचन कार्यालयमा उनीहरूले मनोनयन दर्ता गराएका छन्। त्यस्तै खुल्लाबाट सो गठबन्धनले जसपाको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्। अल्पसंख्याकमा उम्मेदवारी दर्ता गराउने कर्ण संविधानसभा सदस्य र नेविसंघका पूर्व केन्द्रीय सभापति हुन्। दलित तर्फका पासवान भने दलित संघका केन्द्रीय सदस्य हुन्।
त्यस्तै महिलातर्फ उम्मेदवारी दिने एमालेकी झा २०७४ र २०७९ मा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी थिइन्। उनी एमाले प्रदेशक कमिटी सदस्य हुन्। मधेश प्रदेशमा चारवटा दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ। मधेश प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार ५३ छ भन्ने २६६ जना पालिका प्रमुख र उपप्रमुखको मतभार प्रति व्यक्ति १९ छ। मधेशको कूल मतभार १०८३९ रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !