समय, अनुशासन र श्रम सम्बन्ध : स्पेनको अनुभव र नेपालको पाठ

समय, अनुशासन र श्रम सम्बन्ध : स्पेनको अनुभव र नेपालको पाठ

नेपालमा श्रमसम्बन्धी बहस जति भावनात्मक छ, त्यति नै अपूरो पनि छ । हामी अधिकारको कुरा गर्दा प्रगतिशील देखिन चाहन्छौं, श्रमिकको पक्षमा उभिनुलाई नै सामाजिक न्याय ठान्छौं, तर जब जिम्मेवारी, अनुशासन र कार्यसम्पादनको प्रश्न आउँछ, बहस अचानक मौनतामा पुगेर समाप्त हुन्छ। यही मौनताभित्र नेपालको श्रम प्रशासन, औद्योगिक सम्बन्ध र कार्यस्थल संस्कृतिको सबैभन्दा ठूलो कमजोरी लुकेको छ । श्रम कानूनलाई अधिकारको ढालका रूपमा मात्र बुझ्दा यसको नियामक र सन्तुलनकारी चरित्र ओझेलमा परेको छ ।

श्रम कानून मूलतः अधिकार र जिम्मेवारीबीचको सम्झौता हो । यो कुनै एक पक्ष, चाहे श्रमिक होस् वा रोजगारदाता, को  विजयको घोषणापत्र होइन । तर नेपालमा श्रम कानुन वा श्रम प्रशासनसम्बन्धी बहसलाई प्रायः श्रमिक भर्सेज रोजगारदाता को सरल रेखामा बुझिन्छ । यसले राज्यको भूमिका, संस्थागत अनुशासन र दीर्घकालीन आर्थिक प्रभावलाई गौण बनाउँछ । परिणामस्वरूप श्रम सम्बन्ध समयसँगै परिष्कृत होइन, बरु अझ जटिल बन्दै गएको छ ।

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा देखिएका केही कार्यस्थल अनुशासनसम्बन्धी घटनाले महत्वपूर्ण सन्देश दिएको पाईन्छ । उदाहरणका लागि, स्पेनमा हालै एक डेलिभरी कम्पनीमा महिला कर्मचारीलाई तोकिएको काम सुरु समयभन्दा अगाडि कार्यालय प्रवेश गरेको भन्दै बर्खास्त गरिएको घटना व्यापक बहसमा आयो । यो समाचार सतहमा हेर्दा अचम्म लाग्छ । ढिलो आएको होइन, झन् छिटो आएको कारण जागिर गुमाउनु परेको छ । धेरैको पहिलो प्रतिक्रिया हुन्छ, “कामप्रति इमानदार कर्मचारीलाई यसरी कसरी निकाल्न सकिन्छरु” तर अलिकति गहिराइमा हेर्दा यो विषय समयपालन मात्र होइन, श्रम सम्बन्ध, अनुशासन, र संस्थागत विश्वाससँग जोडिएको देखिन्छ ।

पहिलो कुरा, रोजगारीको सम्बन्ध केवल काम गर्ने इच्छामा आधारित हुँदैन, यो कानुनी सम्झौतामा आधारित हुन्छ । ती महिला कर्मचारीको करारमा काम सुरु गर्ने समय बिहान ७:३० बजे स्पष्ट रूपमा तोकिएको थियो । यसको अर्थ के हो भने, त्यो समयभन्दा अगाडि कम्पनीले उनलाई काममा उपस्थित हुन न त निर्देशन दिएको थियो, न त आवश्यकता देखाएको थियो । श्रम कानुनको दृष्टिले पनि “काम गर्ने समय” भनेको रोजगारदाताले तोकेको, जिम्मेवारीसहितको समय हो । त्यसअघि आएको समयलाई स्वतः अतिरिक्त योगदान वा समर्पण मान्न मिल्दैन ।

दोस्रो महत्वपूर्ण पक्ष आज्ञापालन र व्यवस्थापन–कर्मचारीबीचको विश्वास हो । कम्पनीले सन् २०२३ मै लिखित चेतावनी दिएको रहेछ । चेतावनीको अर्थ स्पष्ट हुन्छ, व्यवस्थापनले यो व्यवहार स्वीकार्य छैन भनेको हो । त्यसपछि पनि लगातार सोही व्यवहार दोहोरिनु अदालतको नजरमा “अवज्ञा” र “विश्वासको उल्लंघन” बन्न पुग्यो । यहाँ कर्मचारीको नियत राम्रो थियो वा थिएन भन्ने भन्दा पनि, उनले व्यवस्थापनको स्पष्ट निर्देशनलाई किन बेवास्ता गरिन् भन्ने प्रश्न मुख्य बन्यो ।

तेस्रो, यो निर्णयले “काम धेरै गर्नु सधैं राम्रो” भन्ने सामान्य धारणामाथि प्रश्न उठाउँछ । आधुनिक श्रम सम्बन्धमा कामको मात्रा भन्दा प्रक्रिया, अनुशासन र संस्थागत नियमको पालना बढी महत्व राखिन्छ । निर्धारित समयभन्दा अगाडि कार्यालय आउनुले सुरक्षा, बीमा, जिम्मेवारी र ओभरटाइम बापत थप भुक्तानी जस्ता दायित्व र कानुनी जटिलता पनि सिर्जना गर्न सक्छ । त्यसैले धेरै कम्पनीहरू अनधिकृत रूपमा चाँडो वा ढिलो काममा आउन नदिन कडाइ गर्ने गर्छन् ।

उक्त अदालतको यो फैसला श्रमिक विरोधी जस्तो देखिए पनि, वास्तवमा यो करार र व्यवस्थापकीय अधिकारको पक्षमा गएको निर्णय हो । अदालतले कर्मचारीलाई “छिटो आउनु गलत” भनेर होइन, “निर्देशन नमानेर निरन्तर अनुशासन उल्लंघन गर्नु गलत” भनेर दोषी ठहर गरेको हो । यसले श्रम सम्बन्धमा भावना भन्दा नियम र सम्झौताको प्रधानता देखाउँछ ।

नेपालको सन्दर्भमा यो समाचार अझ चाखलाग्दो छ । यहाँ धेरै कार्यालयमा समयपालन आफैं कमजोर छ । ढिलो आउने, चाँडो जाने सामान्य मानिन्छ। यस्तो अवस्थामा “छिटो आएको कारण बर्खास्त” भन्ने समाचार अस्वाभाविक लाग्नु स्वाभाविक हो । तर यही समाचारले हामीलाई सम्झाउँछ, असल श्रम सम्बन्ध भनेको न अन्धाधुन्ध कडाइ हो, न त मनलाग्दी लचिलोपन। यो दुवै पक्षले स्वीकार गरेको स्पष्ट नियम र पारस्परिक विश्वासमा टिकेको सम्बन्ध हो ।

यसै प्रकारको दृष्टिकोण जापान, जर्मनी र अन्य विकसित मुलुकहरूमा पनि देखिन्छ । त्यहाँ “काममा उपस्थित हुनु मात्र” सम्मानको विषय होइन, निर्धारित समय र जिम्मेवारीको पालना नै आधुनिक श्रम सम्बन्धको आधार हो । जापानमा, उदाहरणका लागि, कामको समयभन्दा अगाडि वा ढिलो आउनु केवल व्यक्तिगत मर्यादाको प्रश्न होइन, यसले टीमको समग्र कार्यक्षमता र सुरक्षा नियमनमा असर पार्छ । जर्मनीमा भने औद्योगिक करार र ट्रेड युनियन सहमतिमा समयपालन, ओभरटाइम र कार्यसम्पादनको स्पष्ट निर्देशिका समावेश हुन्छ । यहाँ कुनै कर्मचारीले करार उल्लङ्घन गरे कानुनी रूपमा व्यवस्थापन कारबाही गर्न सक्षम हुनेगरी आवश्यक व्यवस्था गरी सन्तुलित श्रम सम्बन्धको स्थापना गर्ने प्रयास गरिएको पाइन्छ ।

अन्ततः यो घटनाले एउटा सन्तुलित सन्देश दिन्छ । कर्मचारीले समर्पण देखाउनु राम्रो हो, तर त्यो समर्पण संस्थागत नियमभित्र हुनुपर्छ । रोजगारदाताले पनि अनुशासन लागू गर्दा मानवीय संवेदनशीलता गुमाउनु हुँदैन। नियम र विवेकबीचको यही सन्तुलन नै स्वस्थ कार्यस्थलको आधार हो ।

यसरी हेर्दा, विकसित मुलुकहरूमा पनि श्रमिक अधिकार निरपेक्ष छैन । त्यहाँ समयपालन, करार पालन र कार्यसम्पादन अधिकारसँगै जोडिएका अनिवार्य दायित्व हुन् । तर हाम्रो देशको सन्दर्भमा भने श्रम कानूनलाई प्रायः “श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने दस्तावेज” जस्तो अर्थमा बुझ्ने गरिन्छ, जसको अनुशासनात्मक पक्ष प्रयोग गर्दा नैतिक अपराध गरेजस्तो गरिन्छ । यही सोचले श्रम कानूनलाई कमजोर बनाएको छ ।

नेपालको श्रम ऐन, २०७४ र श्रम सम्बन्धी अन्य कानूनी व्यवस्थाहरु आफैंमा अवश्यपनि कमजोर कानुन होइनन् । यी कानूनी व्यवस्थाहरुले श्रमिकका लागि न्यूनतम तलबको प्रत्याभूति गरेको छ, सामाजिक सुरक्षा कोषमार्फत दीर्घकालीन सुरक्षा संरचना दिएको छ, कार्यस्थल सुरक्षा, लैंगिक समानता र ट्रेड युनियनको वैधानिक भूमिकालाई मान्यता दिएको छ । समस्या ऐन कानूनमा होइन, यसको सामाजिक स्वीकृतिमा छ । कानुन लागू गर्दा हुने असहजतालाई हामी राजनीतिक समस्या बनाइदिन्छौं, प्रशासनिक कमजोरी ढाकछोप गर्छौं, र अन्ततः सबै दोष प्रणालीमाथि थोपर्छौं ।

कार्यस्थल अनुशासनको प्रश्न यस बहसको केन्द्रमा पर्छ । सरकारी निकायका अतिरिक्त नेपालका धेरै  उद्योग  प्रतिष्ठानमा समयपालना अझै पनि गम्भीर विषय बन्न सकेको छैन । ढिलो आउनु, काम ढिला सुरु हुनु, जिम्मेवारी अस्पष्ट हुनु सामान्य स्वीकार्य व्यवहार जस्तै देखिन्छ । डिजिटल वा मेनुअल हाजिरी प्रणाली भए पनि त्यसको निगरानी र परिणाम कमजोर छन् । यसले कार्यसम्पादन होइन, उपस्थितिको औपचारिकता मात्र जन्माउँछ । दीर्घकालमा यसले श्रमिकको सीप, प्रतिस्पर्धात्मक क्षमता र संस्थागत विश्वसनीयतालाई कमजोर बनाउँछ ।

यो कमजोरीलाई केवल श्रमिकको दोष भनेर टार्न मिल्दैन । रोजगारदाताको भूमिकामा पनि गम्भीर प्रश्न छन् । न्यूनतम तलबको पूर्ण कार्यान्वयन अझै चुनौतीकै रूपमा छ । ओभरटाइमको दुरुपयोग, सामाजिक सुरक्षा कोषमा आबद्धता र नियमित योगदानमा ढिलाइ, नियमित रोजगारीको स्थानमा सहजकारी र सहयोगी एवम् सुरक्षा सेवामा आपूर्तिकर्ता मार्फत श्रमिक प्राप्ति गर्ने कानुनी व्यवस्थाको दुरुपयोग र श्रमिकसँग श्रम सम्बन्ध समिति जस्ता संरचनाहरुको कार्यान्वयन गरी निरन्तर संवाद र समन्वयलाई प्रभावकारी बनाउने संस्कृतिको अभाव व्यापक छ । जब श्रमिक असुरक्षित महसुस गर्छ, अनुशासन होइन, प्रतिरोध जन्मिन्छ । यसर्थ श्रम अनुशासनको बहस रोजगारदाताको आचरणबाट अलग गरेर गर्न सकिँदैन ।

राज्यको भूमिका यहाँ निर्णायक देखिन्छ । श्रम निरीक्षण प्रणाली कमजोर छ, निरीक्षकको संख्या र क्षमता दुवै अपर्याप्त छन् । संस्थागत व्यवस्था हेर्दा केन्द्रमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र देशभरि जम्मा ११ वटा श्रम तथा रोजगार कार्यालय र काठमाडौंस्थित एउटा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रमार्फत खटिने पुगनपुग एक दर्जन श्रम निरिक्षक ९कारखाना निरिक्षक० को अपर्याप्तता र अप्रभावकारिता यसै छर्लंग हुन्छ । अनुगमन एचयबअतष्खभ हुन सकेको छैन, Reactive छ ।  प्रायः उजुरी आएपछि मात्र सक्रिय हुन्छ । जोखिममा आधारित, नियमित र क्षेत्रगत निरीक्षणको अभ्यास संस्थागत हुन सकेको छैन । अनौपचारिक क्षेत्र अझै पनि श्रम कानूनको प्रभावकारी पहुँचबाहिर छ । यस्तो अवस्थामा श्रम कानूनलाई दोष दिनु सजिलो भए पनि समस्या कानुनको होइन, राज्यको कार्यान्वयन क्षमताको हो ।

अर्को तर्फ, श्रम कानुनको एक महत्वपूर्ण सरोकारवालाको रुपमा ट्रेड युनियनको भूमिकालाई पनि गम्भीर पुनर्विचार आवश्यक छ । युनियन भनेको केवल मागपत्र बुझाउने संस्था होइन । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा बलिया युनियनहरू उत्पादनशीलता, सीप विकास र कार्यस्थल अनुशासनका साझेदार हुन् । नेपालमा भने श्रमिक संघ संगठनहरुको अत्यधिक राजनीतिकरणको कारणले युनियन र व्यवस्थापनबीचको अविश्वास यति गहिरो छ कि अनुशासनात्मक कदम तुरुन्तै व्यवस्थापनको दमनका रूपमा व्याख्या हुन्छ । यसले संस्थागत सुधारको सम्भावनालाई कमजोर बनाउँछ ।

श्रम सम्बन्धलाई केवल अधिकारको भाषामा सीमित गर्दा दीर्घकालीन क्षति हुन्छ । अधिकार बिनाको जिम्मेवारीले अराजकता जन्माउँछ भने जिम्मेवारी बिनाको अधिकारले शोषण । श्रम कानूनको सार यही दुईबीचको सन्तुलन हो । तर सन्तुलन कानूनले मात्र बनाउँदैन, सामाजिक व्यवहार र संस्थागत अभ्यासले बनाउँछ । नेपालमा यही व्यवहारिक सन्तुलनको अवस्था नै अत्यन्त कमजोर छ ।

अर्को महत्त्वपूर्ण पक्ष श्रम उत्पादकत्व हो । नेपालको औद्योगिक उत्पादकत्व क्षेत्रीय औसतभन्दा तल छ । यसको कारण केवल पूँजी वा प्रविधिको अभाव होइन, कार्यसंस्कृति र अनुशासनको कमजोरी पनि हो । निर्णय प्रक्रियामा ढिलाइ, कामप्रति कम प्रतिबद्धता, जवाफदेहिताको अभाव यी सबै श्रम उत्पादकत्वसँग प्रत्यक्ष जोडिएका छन् । उत्पादकत्व कमजोर हुँदा तलब वृद्धि, सामाजिक सुरक्षा र रोजगारीको दिगोपन सबै प्रभावित हुन्छन् ।

न्यायिक प्रणालीको भूमिका पनि यस बहसमा महत्त्वपूर्ण छ । श्रमसम्बन्धी मुद्दाहरू श्रम तथा रोजगार कार्यालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको प्रशासकीय कार्य प्रणालीको चुस्तताको न्यूनता र कार्यक्षमताको सीमितताको कारणले अधिकांश निर्णय प्रक्रियामा ढिलाइ हुन्छ । लामो प्रशासनिक र अर्धन्यायिक प्रक्रिया न त श्रमिकको हितमा हुन्छ, न रोजगारदाताको । यस सन्दर्भमा वैकल्पिक विवाद समाधान संयन्त्र, मध्यस्थता र श्रम अदालतको संस्थागत क्षमता विस्तार अपरिहार्य देखिन्छ । छिटो र निष्पक्ष न्यायले मात्र श्रम सम्बन्धमा विश्वास पुनःस्थापित गर्न सक्छ ।

श्रम कानून कार्यान्वयनको प्रश्नलाई हामी प्रायः राजनीतिक दृष्टिले मात्र हेर्छौं । तर यो आर्थिक प्रतिस्पर्धासँग पनि जोडिएको विषय हो । नेपालले लगानी आकर्षणको कुरा गरिरहेको छ । लगानीकर्ता सस्तो श्रम मात्र खोज्दैनन्, स्थिर र पूर्वानुमानयोग्य श्रम सम्बन्ध खोज्छन् । अनुशासन, करार पालन र कानूनी स्पष्टता यही पूर्वानुमानयोग्यताको आधार हुन् । श्रम सम्बन्ध अस्थिर हुँदा लगानी जोखिम बढ्छ, र जोखिम बढ्दा रोजगारी सिर्जना कमजोर हुन्छ ।

यसर्थ श्रम कानुनलाई विकासविरोधी भनेर प्रस्तुत गर्नु गलत हो । सही कार्यान्वयन भएको श्रम कानून विकासको आधार हुन सक्छ । तर त्यसका लागि अधिकार र अनुशासनलाई एक अर्काको विरोधी पक्षको रुपमा होइन, पूरकका रूपमा बुझ्नुपर्छ । ट्रेड युनियनले जिम्मेवारीको भाषा  र शैली अपनाउनुपर्छ, रोजगारदाताले श्रमिकको अधिकारको सम्मान गर्नुपर्छ, र राज्यले निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्नुपर्छ ।

यसरी वास्तवमा, समयपालना जस्तो सामान्य देखिने विषय संगठनात्मक कार्यसंस्कृतिको मेरुदण्डको भूमिकामा रहेको निष्कर्षमा पुग्न सकिन्छ । समयमै काम सुरु हुनु, जिम्मेवारी स्पष्ट हुनु, परिणामको मूल्यांकन हुनु यी सबै आधुनिक श्रम सम्बन्धका आधार हुन् । यी बिना श्रम कानुन कागजमै सीमित हुन्छ । हामीले यदि साँच्चै सम्मानजनक श्रम र दिगो रोजगारी चाहन्छौं भने भावनात्मक बहसभन्दा माथि उठ्नैपर्छ ।

श्रम कानुनको सफल कार्यान्वयन कुनै एक सुधारले मात्र सम्भव हुँदैन । यो निरन्तर संवाद, पारदर्शिता र संस्थागत प्रतिबद्धताको परिणाम हो । श्रमिक, रोजगारदाता र राज्य तीनै पक्षले आ–आफ्नो भूमिकामा आत्मआलोचना गर्नुपर्ने समय आएको छ । अधिकार र अनुशासनबीचको सन्तुलन स्वीकार नगरी श्रम सम्बन्ध सुधार सम्भव छैन ।

अन्ततः प्रश्न सरल छ । हामी कस्तो श्रम संस्कृति चाहन्छौं? केवल माग गर्ने तर जिम्मेवारी नलिने संस्कृति, वा अधिकारसहित उत्तरदायित्व स्वीकार गर्ने संस्कृति? नेपालको आर्थिक भविष्य, औद्योगिक रूपान्तरण र सामाजिक स्थायित्व यही उत्तरमा निर्भर छ । श्रम कानुन यस यात्राको उपकरण मात्र हो । दिशा हामीले नै तय गर्नुपर्छ ।

लेखक नेपाल सरकारका उप-सचिव हुन् र हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.