राष्ट्रियताको बहसमा कांग्रेस पैरवी
कांग्रेसले भन्न सक्नुपर्छ, राष्ट्रियता भनेको आफ्नै जनतालाई बलियो बनाउनु हो।
नेपालमा राष्ट्रियता सधैं भावनात्मक शब्दावलीमा उच्चारित हुँदै आएको छ। कहिले सीमा, कहिले सार्वभौमसत्ता, कहिले विदेशी हस्तक्षेप, त कहिले पहिचान—राष्ट्रियता राजनीतिक बहसको केन्द्रमा रहँदै आएको छ। विडम्बना के छ भने राष्ट्रियता जति धेरै बोलिन्छ, त्यति नै कम गहिरो छलफल हुन्छ। यही परिवेशमा प्रश्न उठ्छ, नेपालमा राष्ट्रियताको बहस किन यति सतही बन्दै गएको छ ? र यस बहसमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका, वर्तमान अवस्था र भविष्यको जिम्मेवारी के हो ?
राष्ट्रियता कुनै ढुंगामा कुँदिएको स्थिर सिद्धान्त होइन। यो समय, सन्दर्भ र जनचेतनासँगै पुनर्परिभाषित हुने जीवन्त अवधारणा हो। २००७ सालको आन्दोलनको राष्ट्रियता र २०७२ सालको संविधानपछिको राष्ट्रियता एउटै हुन सक्दैन। तर हाम्रो राजनीतिक विमर्शमा राष्ट्रियतालाई अझै पनि ‘विदेश विरोधी नारा’ वा ‘सीमामा चर्को बोली’मा सीमित गरिँदैछ। वास्तविक राष्ट्रियता भनेको जनताको स्वाभिमान, राज्यको संस्थागत क्षमता, लोकतान्त्रिक स्थायित्व र समावेशी विकासको सामूहिक योगफल हो। कमजोर संस्था, भ्रष्ट शासन र विभाजित समाजमा राष्ट्रियताको नारा केवल भावनात्मक औजार बन्छ र यो खतरनाक पनि हुन्छ।
नेपाली कांग्रेसको जन्म नै राष्ट्रियता र लोकतन्त्रको संयुक्त चेतनाबाट भएको हो। राणा शासनविरुद्धको संघर्ष केवल सत्तान्तरणका लागि थिएन, त्यो नेपाली जनताको आत्मसम्मान, नागरिक स्वतन्त्रता र स्वाधीन अस्तित्वको लडाइँ थियो। बीपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रियता भनेको जनताको स्वतन्त्रता हो’ भन्ने दर्शन आज पनि गहिरो सान्दर्भिक छ। कांग्रेसको राष्ट्रियता बुझाइ सधैं खुला, आत्मविश्वासी र अन्तरनिर्भर विश्वसँग संवादमुखी रह्यो। न त आत्मसमर्पणवादी, न त अन्धराष्ट्रवादी। यही सन्तुलन नै कांग्रेसको मौलिकता थियो।
आजको नेपालमा राष्ट्रियताको बहस गम्भीर चिन्तनभन्दा पनि राजनीतिक प्रतिस्पर्धाको अस्त्र बनेको छ। को बढी ‘राष्ट्रवादी’ देखिने ? को बढी ‘विदेशी विरोधी’ बोल्ने ? को बढी ‘सीमा र सुरक्षाको रक्षक’ बन्ने ? यस प्रतिस्पर्धाले राष्ट्रियतालाई नीति होइन, नारामा झारिदिएको छ। यस सन्दर्भमा कांग्रेस केही हदसम्म रक्षात्मक देखिन्छ। उसले ऐतिहासिक राष्ट्रियता दर्शनलाई आत्मविश्वासका साथ पुनः प्रस्तुत गर्न सकेको छैन। कहिले गठबन्धनको दबाब, कहिले सत्ताको अंकगणित, त कहिले गलत आरोपको भय—कांग्रेस राष्ट्रियताको बहसमा स्पष्ट वैचारिक अग्रसरता लिन हिच्किचाएको देखिन्छ।
राष्ट्रियता बहसको एक प्रमुख आयाम सीमा र कूटनीति हो। सीमा समस्या समाधान नारा वा उत्तेजनाबाट होइन, तथ्य, संवाद र संस्थागत क्षमताबाट हुन्छ। कांग्रेस पार्टीको परम्परा यही हो, संवादबाट समाधान, कूटनीतिबाट सम्मान। तर आज जब कूटनीतिलाई कमजोरी र शान्त भाषालाई कायरता ठान्ने प्रवृत्ति बढ्दैछ, कांग्रेसले यो भ्रम चिर्नुपर्छ। राष्ट्रियता भनेको चर्काे बोली होइन, स्थिर नीति हो। छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नु आत्मसमर्पण होइन, विवेक हो। राष्ट्रियता केवल बाह्य सम्बन्धको विषय होइन।
देशभित्रै नागरिकले न्याय, समान अवसर र सम्मान नपाए राष्ट्रियता कमजोर हुन्छ। मधेस, पहाड, हिमाल, भाषा, संस्कृति, पहिचान– यी सबैलाई समेट्ने समावेशी राष्ट्रियता बिना राज्य बलियो हुँदैन।
राष्ट्रियता बहसको एक प्रमुख आयाम सीमा र कूटनीति हो। सीमा समस्या समाधान नारा वा उत्तोजनाबाट होइन, तथ्य, संवाद र संस्थागत क्षमताबाट हुन्छ। कांग्रेस पार्टीको परम्परा यही हो, संवादबाट समाधान, कूटनीतिबाट सम्मान।
कांग्रेसले ऐतिहासिक रूपमा समावेशी लोकतन्त्रको वकालत गरेको भए पनि व्यवहारमा अझै धेरै सुधार आवश्यक छ। राष्ट्रियता तबमात्रै विश्वसनीय हुन्छ, जब राज्य सबै नागरिकको साझा घर बनेको अनुभूति हुन्छ। आज नेपाललाई चाहिएको राष्ट्रियता चर्काे होइन, चित्त बुझाउने होस् भावनात्मक होइन, विवेकशील होस् बहिष्करणकारी होइन, समावेशी हो। यो पार्टी यदि फेरि राष्ट्रिय राजनीतिको नैतिक केन्द्र बन्न चाहन्छ भने उसले राष्ट्रियताको बहसलाई पुनः नेतृत्व गर्नुपर्छ, स्पष्ट, निर्भीक र वैचारिक रूपमा।
कांग्रेसले भन्न सक्नुपर्छ, राष्ट्रियता भनेको लोकतन्त्र कमजोर पार्नु होइन। राष्ट्रियता भनेको असहमति दबाउनु होइन। राष्ट्रियता भनेको विदेशी घृणा होइन। राष्ट्रियता भनेको आफ्नै जनतालाई बलियो बनाउनु हो। आजको नेपालमा राष्ट्रियता सबैले बोल्ने शब्द बनेको छ, तर सबैले जोगाउने मूल्य बनेको छैन। यही खाडल नै सबैभन्दा ठूलो खतरा हो। कांग्रेसको ऐतिहासिक जिम्मेवारी यही हो, राष्ट्रियतालाई नाराबाट निकालेर नीतिमा, भावनाबाट निकालेर विवेकमा र प्रतिस्पर्धाबाट निकालेर साझा सहमतिमा रूपान्तरण गर्ने।
यदि कांग्रेसले वैचारिक आत्मविश्वास पुनः प्राप्त गर्न सकेन भने राष्ट्रियताको बहस अरूले कब्जा गर्नेछ। र, त्यो बहस देशका लागि हितकर नहुन पनि सक्छ। राष्ट्रियता बचाउने हो भने पहिले त्यसलाई बुझ्नुपर्छ। र, बुझाउने जिम्मेवारी इतिहासले फेरि एकपटक कांग्रेसकै काँधमा राखेको छ। र यसका लागि एक बलियो काँध नेता डा. शेखर कोइरालाको नेतृत्व हुन सक्छ।
समकालीन नेपाली नेताहरूमध्ये वैश्विक कूटनीति बुझ्ने उहाँ शीर्ष हुन्। उनको विशेषगरी चीन र भारतका राजनीतिक व्यक्ति र संस्थाहरूसँग समीपको सम्बन्ध छ र उनीले नै मैत्री सम्बन्धलाई सन्तुलित स्तर राख्न निपुणता प्रदर्शन गर्न सक्छन्। बीपीको सोचाइको विरासतलाई निरन्तरता दिने खुबी र सामथ्र्यको प्रयोग देख्न यो पार्टी प्रतीक्षारत छ।
राष्ट्रियता तबमात्रै विश्वसनीय हुन्छ, जब राज्य सबै नागरिकको साझा घर बनेको अनुभूति हुन्छ। आज नेपाललाई चाहिएको राष्ट्रियता चर्काे होइन, चित्ता बुझाउने होस् भावनात्मक होइन, विवेकशील होस् बहिष्करणकारी होइन, समावेशी हो।
प्रतिक्रिया दिनुहोस !