election background

प्रतिनिधि सभा निर्वाचन २०८२

संस्थापनद्वारा विशेष महाधिवेशन फिर्ता लिन आग्रह, महामन्त्री थापाद्वारा अस्वीकार

संस्थापनद्वारा विशेष महाधिवेशन फिर्ता लिन आग्रह, महामन्त्री थापाद्वारा अस्वीकार

काठमाडौं : नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ। पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो। 

बैठकपछि नेता एनपी साउदले कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नरहेकाले देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्दछौं।’ बैठकले विशेष महाधिवेशन भन्ने भेला रोक्नका लागि अपिल गर्ने निर्णय गरेको उनले जानकारी दिए।

विशेष महाधिवेशन हुन्छ, विधानसम्मत छौं : महामन्त्री थापा 

कांग्रेस महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने भन्दै सभापति शेरबहादुर देउवालाई उपस्थित हुन कार्यबाहक सभापति पूर्णबहादुर खड्कामार्पmत जानकारी गराएका छन्। 
थापाले भनेका छन्, ‘कार्यवाहक सभापति (खड्काजी) ले सभापति (देउवा) लाई यो कुरा पुर्‍याइदिनु होला पुस २७ गते उहाँ सहभागी हुनुपर्छ। उहाँको पनि मान बढाउँछ। यहाँ बसेर फिर्ता लिउ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ।’

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बोलाउन आवश्यक नरहेको भन्दै पार्टीको विधानअनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक नरहेकाले फिर्ता लिन आग्रह गरेका थिए। खड्काको प्रस्तावमा महामन्त्री थापाले विशेष महाधिवेशन हुने र ‘विधानको कुन धाराअनुसार नियमित महाधिवेशन घोषणा भएका बेला विशेष महाधिवेशन नहुने भन्ने छ ? भन्दै उल्टै प्रश्न गरेका थिए। 

महामन्त्री थापाले कार्यवाहक सभापति खड्काले विधानको अपव्याख्या गरेको भन्दै अगाडि भने, ‘विधानअनुसार विशेष बोलाउनु पर्दैन भन्नु विधानको अपव्याख्या हो। यो विधानसम्मत छैन। विधानको अपव्याख्या हो। केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस ग‍र्‍यो भने महाधिवेशन प्रतिनिधिहरूले हक स्थापित गरेको हो।’

उनले विधान कार्यान्वयन गर्दा पार्टी विभाजनमा लैजान खोजिएको भन्ने हौवा फैलाइएको आरोप लगाए। ‘विधानको हक प्रयोग गरेर विशेष महाधिवेशन माग गरियो भने विभाजनतर्फ जान्छ भनिएको छ,’ थापाले भने, ‘महाधिवेशन प्रतिनिधिहरूले जे भन्यो त्यो हुन्छ भन्ने छैन। तर, एकपटक सुन्ने र संवाद गर्ने काम पनि भएन। निर्वाचनमा जानुभन्दा पहिला नेता र नीति बदलिनुपर्छ भन्ने आवाज उठाइरहेका साथीहरूलाई पार्टी फुट्छ भनियो। जबकी उनीहरूको मन टुटेको छ। एक ठाउँमा छैन।’

खड्काले कार्यसम्पादन समितिको बैठकमा ‘वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशन पार्टीको हितमा नभएको बताएका थिए।’ तर, महामन्त्री थापाले संवेदनशील अवस्था स्वीकार गर्ने तर महाधिवेशन नगर्नु विरोधाभाषपूर्ण भएको विषयमा अडान राखे। ‘अवस्था संवेदनशील भएकाले नै विशेष महाधिवेशन मागिएको हो,’ थापाले भने, ‘भदौ २३ र २४ गते नवयुवाहरूले ठूलो विद्रोह गरे। असन्तुष्ट पोखे। उनीहरूले देश र राजनीतिक दल ठीक ढंगले चलेका छैनन् भने। त्यो कुरा मान्न हामी तयार भएका छैनौं।’ 
 
उनले भने, ‘भदौ २२ को नेपाल र भदौ २५ को नेपाल एउटै होइन। भदौ २३ र २४ गतेको हाम्रो भूमिका के रह्यो। कहाँ चुक्यौं। समीक्षा गरौं। नीति पनि फेरौं। नेतृत्व पनि फेरौं भनेर विशेष महाधिवेशन मागिएको हो। छिटो गर्न सकिन्छ भने नियमित महाधिवेशन गरौं। नभए विशेष महाधिवेशन गरौं भनेको हो।’

थापाले कांग्रेसमा दुई युवा महामन्त्री आएपछि उनीहरूको अस्तित्व कहिले पनि स्वीकार नगरीएको भन्दै अगाडि भने, ‘हामी महामन्त्री भएर आएपछि स्वीकार गर्न नसकिएको हो। त्यो विशेष महाधिवेशन माग्ने हामी होइन। विशेष महाधिवेशन माग्ने त हामीभन्दा धेरै सिनियर नेता र जुनियर नेता हुन। दुईवटा युवा महामन्त्री भएकाले पेल्नुपर्छ र ठेल्नुपर्छ भनियो। कति ठाउँमा सकेनौं होला। कतिपय ठाउँमा चुक्यौं होला। कतिपय ठाउँमा लाचार भयौं होला। हामीलाई पेल्नुपर्छ भन्दा यो ठाउँमा पुग्यो।’

महामन्त्री थापाले विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि महाधिवेशन बोलाउनै पर्ने बाध्यकारी व्यवस्था भएका कारण सोही अधिकार प्रयोग गरिएको भन्दै अगाडि भने, ‘केन्द्रीय कार्यसमितिले यस्तो गर्ला भन्ने कल्पना गरिएन त्यसकारण लेखिएन।’

विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट साथीहरू आउने भएकाले पार्टी सभापतिजीलाई पनि सहभागी हुन कार्यबाहक सभापतिमार्फत सूचना पठाएको थापाले बताए। ‘सबै साथीहरू आउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने,‘पार्टी सभापतिलाई पनि यो कुरा पुर्‍याइदिनुहोला भनेर कार्यवाहक सभापतिलाई भनेको छु। यो विधानसम्मत हो। उहाँ पनि सहभागी हुनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.