विमलको तेक्वान्दोप्रति समर्पण
काठमाडौं : डोल्पाको ठूलीभेरी नगरपालिका–६ का विमल रोकायाका लागि खेलकुदको विषय नयाँ थिएन । उनका दाजु सुवर्ण रोकाया किक बक्सिङका खेलाडी थिए । दाइले खेलेको उनले नजिकबाट नियालेका थिए । दाइकै प्रेरणाले उनले पनि खेलाडी बन्ने प्रण गरेका थिए । विमल आदर्श माविमा पढ्दै गर्दा पृथ्वी बुढाले गाउँमा कराते सिकाउन सुरु गरेका थिए ।
खेलाडी बन्ने लक्ष्य लिएका उनलाई गाउँको त्यो प्रशिक्षणले आकर्षित गर्यो । उनले गाउँमै कराते सिक्न थाले । विमल निकै मेहनती थिए । छोटो समयमा नै उनले राम्रो प्रगति गरे । गाउँमा कराते सिक्न थालेको केही समयपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए । काठमाडौं आएपछि पढाइ र खेलकुदको समय मिलाउन निकै सकस बेहोरे ।
पढाइकै कारण करातेका खेलाडी उनले तेक्वान्दो सिक्ने निर्णय गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजाङमा उनले तेक्वान्दो खेल्न सुरु गरे । उनलाई गाउँमा सिकेको करातेको कलाले पनि सहयोग पुर्यायो । रंगशालामा प्रशिक्षण गरेको केही समयपछि उनले ललितपुरको नखिपोटमा रहेको न्यु गोल्ड्स तेक्वान्दो डोजाङमा सिक्न थाले । उनले अनिश महर्जनबाट प्रशिक्षण लिन सुरु गरे ।
विमलले केही राष्ट्रिय प्रतियोगितामा सहभागी भएर अनुभव बटुले भने केही प्रतियोगितामा पदक पनि जित्न सफल भए । उनले सन् २०१७ मा आयोजना भएको यती ज्ञान तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जिते । सन् २०१५ मा ललितपुरको जावलाखेलमा भएको मार्सल आर्ट्स फेस्टिभलमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । यो प्रतियोगितामा उनले स्वर्ण पदक जितेका थिए ।
सन् २०१५ मा भएको चौथो स्युचाटार तेक्वान्दो च्याम्पियनसिपमा उनले तेस्रो स्थान हात पारे । गोदावरी नगरपालिकास्तरीय दोस्रो मेयर कप तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका उनले प्रथम न्युजेन च्याम्पियनसिपमा पनि रजत पदक नै जित्न सफल भए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगितामा रजत पदक जितेका थिए । यस्तै सन् २०१९ मा आयोजना भएको तेस्रो राष्ट्रव्यापी फ्रेन्डसिप रत्ननगर तेक्वान्दो च्याम्पियनसिपमा पहिलो स्थान हात पारेका थिए ।
नवौं राष्ट्रिय खेलकुद खेल्न नपाउँदाको पीडा
विमल नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट छनोट भएका थिए । उनी बृहत प्रतियोगितामा सहभागी हुन बडो जोसका साथ म्याग्दी पुगेका थिए । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दोको खेल म्याग्दीमा आयोजना भएको थियो । त्यसैले उनी नयाँ जोस र उत्साह बोकेर म्याग्दी पुगेका थिए ।
पोखराबाट म्याग्दी पुगेलगत्तै उनी सिकिस्त भए । परीक्षणपछि डेंगु पुष्टि भयो । उनी पोखरा फर्किएर एक सातासम्म अस्पतालको आईसीयूमा बस्न बाध्य भए । ‘पदक जित्छु भन्ने ठूलो आशा थियो । डेंगुले सबै सपना चकनाचुर भयो । अहिलेसम्मकै ठूलो पीडा बेहार्नु पर्यो’, विमल भन्छन्, ‘१०औं राष्ट्रिय खेलकुद खेल्ने आशामा बस्दाबस्दै हुने कि नहुने भन्ने केही टुंगो नै छैन ।’
अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन
विमलले राष्ट्रियस्तरका प्रतियोगितामा मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । सन् २०१९ मा थाइल्यान्डमा आयोजना भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्दै अन्तर्राष्ट्रिय यात्रा सुरु उनले सन् २०२३ मा हङकङमा भएको २७औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । सन् २०२३ मै बंगलादेशमा भएको पहिलो बंगबन्धु ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप र सन् २०२४ मा भारतमा भएको प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेका थिए ।
यस्तै २०२४ मा हङकङमा भएको २८औं एसियन सिटिज च्याम्पियनसिपमा दोस्रो बनेका उनले यही वर्ष मकाउमा भएको ग्रेटेक्स बे कप तेक्वान्दो च्याम्पियनसिपमा पनि रजत पदकमा चित्त बुझाएका थिए । सन् २०२५ मा नेपालमै भएको कुकिवान कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका उनले मलेसियामा भएको १२औं स्पिड तेक्वान्दो च्याम्पियनसिपमा भने स्वर्ण पदक जित्न सफल भएका थिए । यस्तै २०२५ मै जापानको ओसाकामा भएको २१औं वाटा ओपन तेक्वान्दो च्याम्पियनसिपमा उनले रजत पदक जितेका थिए ।
हात्तीवन एकेडेमी स्थापना
विमलले सन् २०२० मा हात्तीवन तेक्वान्दो एकेडेमी नै स्थापना गरेर खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । उनले एकेडेमीमार्फत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएका छन् । नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको हाई परफरमेन्स कोर्स गरेका उनले ललितपुरको कुसुन्तीमा रहेको माछापुच्छ्रे आईबी वल्र्ड स्कुल र धापाखेलको रिजेन्ट रेजिडेन्ट स्कुलमा पनि तेक्वान्दो सिकाउँदै आएका छन् ।
विगत लामो समयदेखि खेलाडी र प्रशिक्षकको भूमिकामा सक्रिय रहँदै आएका विमल भविष्यमा पनि खेलाडी उत्पादनमै सक्रिय रहने बताउँछन् । ‘रहरै रहरमा खेलाडी बनियो । खेलाडीसँगै प्रशिक्षणमा पनि सक्रिय छु’, विमल भन्छन्, ‘अब यो क्षेत्र छाडेर अरु पेसा अपनाउन सकिँदैन । यही क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सक्रिय रहने छु ।’
प्रतिक्रिया दिनुहोस !