गौरवका राजमार्गको स्रोत सुनिश्चितता खोज्दै भौतिक मन्त्रालय, बजेट नहुँदा ठेक्का लाग्न सकेनन्

गौरवका राजमार्गको स्रोत सुनिश्चितता खोज्दै भौतिक मन्त्रालय, बजेट नहुँदा ठेक्का लाग्न सकेनन्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय गौरवका पाँच राजमार्गको स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले पुस १३ गते ‘बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड २०८२’ जारी गरेको थियो। उक्त मापदण्डमा टेकेर प्रक्रिया अघि बढाइएको भौतिक सचिव केशवकुमार शर्माले जानकारी दिए। अर्थको मापदण्डमा गौरवका र ठूला आयोजनाहरूको मात्र स्रोत सुनिश्चितता गर्दै बहुवर्षीयमा जान अनुमति दिने भनिएको छ।

राष्ट्रिय गौरवअन्तर्गतका मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तरदक्षिण कोशी करिडोर, उत्तरदक्षिण कालीगण्डकी करिडोर, उत्तरदक्षिण कर्णाली करिडोरका आयोजनाहरूको स्रोत सुनिश्चितताका लागि भौतिकले प्रक्रिया अघि बढाएको हो।

‘कतिपय राजमार्ग तोकिएको निर्माण अवधि सकिनलाग्दा पनि ठेक्का लाग्न सकेका छैनन्। स्रोत सुनिश्चितता भए ठेक्का लगाएर समयमा नै सम्पन्न गर्न सकिन्छ,’ सचिव शर्माले भने, ‘सडक विभागबाट मन्त्रालयमा फाइल आएका छन्। मन्त्रालयबाट राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालय पुग्छन्। अर्थले आफ्नो बजेट आँकलन गरेर स्वीकृत दिन्छ।’ सरकारका प्राथमिकतामा नै भएका सडकको स्रोतको उपलब्धताका लागि अर्थ मन्त्रालय पठाउने तयारी भएको सचिव शर्माले बताए। पटकपटक ठेक्का गर्न नपरोस् भनेर नै यी राजमार्गका स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान गरिनेछ। बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड २०८२ अनुसार, राष्ट्रिय गौरवका आयोजनाहरूको बहुवर्षीय रूपमा ठेक्का आह्वान गर्ने भन्ने किसिमले फाइलहरू बनाउँदै भौतिक मन्त्रालयमा पठाउने गरिएको सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले बताए। 

‘प्रक्रिया पूरा गरी अर्थबाट स्रोत सुनिश्चितता भएपछि ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ,’ खड्काले भने। उनका अनुसार विभागले राष्ट्रिय गौरवका आयोजनासँगै रणनीतिक महŒवका अन्य सडक तथा राजमार्गका आयोजनाहरूको पनि स्रोत सुनिश्चितताका लागि पनि फाइल तयार भइरहेका छन्।

सडक विभागले स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढाएका राजमार्ग
१. मध्यपहाडी राजमार्ग
सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको मध्यपहाडी अर्थात् पुष्पलाल राजमार्ग आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको हो। सुरुको अवधिबमोजिम आयोजना सम्पन्न हुनुपर्ने वर्ष २०७३/७४ हो। तर, अवधि संशोधित गरेर २०८४/८५ मा आयोजना सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। 
आयोजनाको कुल अनुमानित लागत ८४ अर्ब ३३ करोड रुपैयाँ थियो। हालसम्म आयोजनाको कुल खर्च ७१ अर्ब १० करोड रुपैयाँ रहेको छ। आयोजनाको भौतिक प्रगति ७७.३२ प्रतिशत छ। राजमार्गअन्तर्गतका केही सडकखण्ड अझै ठेक्का नलागेकोले स्रोत सुनिश्चितताका लागि फाइल पठाएको छ।

२. हुलाकी राजमार्ग
राष्ट्रिय गौरवको यो आयोजना आर्थिक वर्ष २०६६/६७ बाट सुरु भएको हो। सुरु अवधि अनुसार आव २०७३/७४ मै यो राजमार्ग बनिसक्नुपर्ने हो। तर, संशोधन गर्दै अब २०८३/०८४ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको अनुमानित लागत १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ थियो। हालसम्म आयोजनाको खर्च ७० अर्ब २९ करोड रुपैयाँ पुगिसकेको छ। आयोजनाको भौतिक प्रगति ७२.७५ प्रतिशत छ।
३.उत्तरदक्षिण कोशी करिडोर
यो आयोजना आर्थिक वर्ष २०६५/६६ सुरु भएको हो। संशोधित अवधि बमोजिम आयोजना सम्पन्न हुने वर्ष आर्थिक वर्ष २०८५/८६ (प्रस्तावित) छ। आयोजनाको कुल अनुमानित लागत १६ अर्ब २ करोड रुपैयाँ रहेकोमा हालसम्मको आयोजनाको कुल खर्च ६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। आयोजनाको कुल भौतिक प्रगति ४५ प्रतिशत छ।

४. उत्तरदक्षिण कर्णाली करिडोर आयोजना
यो करिडोरअन्तर्गत दुई खण्ड छन्। पहिलो गैंडाकोट–राम्दी–मालढुंगा र दोस्रो मालढुंगा–बेनी–जोमसोम–कोरला हुन्।
क. गैंडाकोट–राम्दी–मालढुंगाः उत्तरदक्षिण कर्णाली करिडोरअन्तर्गत गैंडाकोट–राम्दी–मालढुंगा आयोजना आर्थिक वर्ष २०६६/६७ सालमा सुरु भएको हो। सुरु अवधिबमोजिम आयोजना सम्पन्न हुनुपर्ने वर्ष २०७९/८० भए पनि संशोधित अवधिबमोजिम आयोजना सम्पन्न हुने वर्ष २०८३/८४ (प्रस्तावित) छ। आयोजनाको कुल अनुमानित लागत २० अर्ब रहेकोमा आयोजनाको कुल खर्च १४ अर्ब ७ करोड रुपैयाँ रहेको छ। आयोजनाको कुल भौतिक प्रगति ७९.८६ प्रतिशत छ।

ख. मालढुंगा–बेनी–जोमसोम–कोरला : यो आयोजना सुरु भएको वर्ष २०७३/७४ हो। सुरु अवधि बमोजिम आयोजना सम्पन्न हुनुपर्ने वर्ष २०८१/८२ रहेकोमा संशोधित अवधिबमोजिम आयोजना सम्पन्न हुने वर्ष २०८२/८३ (प्रस्तावित) छ। आयोजनाको कुल अनुमानित लागत १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ। यस आयोजनाअन्तर्गत कागबेनी–कोरला खण्डको ८७ किमि बाँकीसमेत कालोपत्रे गर्ने अवस्थामा संशोधित लागत अनुमान १५ अर्ब हुन सक्ने भनिएको छ। आयोजनाको कुल खर्च ८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको कुल भौतिक प्रगति ८५ प्रतिशत छ।

५. उत्तरदक्षिण कर्णाली करिडोर
क.खुलालु सल्लीसल्ला सडक योजना : यो आयोजना सुरु भएको वर्ष २०८०/८१ हो। सुरु अवधिबमोजिम आयोजना सम्पन्न हुनुपर्ने आर्थिक वर्ष २०८४/८५ रहेको छ। आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ छ। तर, सम्पूर्ण सडक खण्ड कालोपत्रे स्तरमा स्तरोन्नति गरिने भएमा अनुमानित लागत संशोधन भएर १५ अर्ब रुपैयाँ पुग्न सक्ने देखिन्छ। आयोजनाको कुल खर्च ७२ करोड रुपैयाँ र आयोजनाको कुल भौतिक प्रगति ५.५ प्रतिशत छ।

ख. हिल्सा–सिमीकोट सडक योजना : यो आयोजना २०६९/७० मा सुरु भएको हो। संशोधित अवधि बमोजिम आयोजना सम्पन्न हुने वर्ष २०८४/८५ प्रस्ताव गरिएको छ। आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। यसमा पनि सम्पूर्ण सडक खण्ड कालोपत्रे स्तरमा स्तरोन्नति गरिने भएमा अनुमानित लागत संशोधन भई १५ अर्ब रुपैयाँ पुग्न भनिएको छ। आयोजनाको कुल खर्च २ अर्ब ४ करोड रुपैयाँ छ भने आयोजनाको कुल भौतिक प्रगति ३६ प्रतिशत छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.