समृद्धिको सपनाभित्र गरिबीको गणित

समृद्धिको सपनाभित्र गरिबीको गणित

विकास कसका लागि र समृद्धि केका लागि भन्ने विषयमा राज्यको नीति र योजना प्रस्ट हुनुपर्छ। अनि विकास र समृद्घिको सपना देख्नका लागि पहिला गरिबी, अभाव र भोकमरीको अन्त्य जरुरी छ।

यतिखेर नेपाली जनता समृद्धिको सपना र अभावको यथार्थबीच दोसाँधमा बाँचिरहेका छन् । राज्यसत्ताले समृद्धिको सपना बाँड्दै आएको छ । जनता भने गरिबी र अभावको यथार्थ भोगिरहेका छन् । सरकारको नीति तथा कार्यक्रममा समृद्धिको सपना छ । आर्थिक वर्षको वार्षिक बजेटमा समृद्धिको सपना छ । सरकारका उच्च पदस्थहरूको भाषणमा समृद्धिको सपना छ ।

नेताका आश्वासनमा समृद्धिको सपना छ । तर जनता भने दैनन्दिन गरिबी र अभावले छटपटाइरहेका छन् । सरकारी तथ्यांकले नै भन्छ, देशका २०.३ प्रतिशत जनता गरिबीको रेखामुनिको जीवनयापन गरिरहेका छन् । त्यो गरिबीको रेखामुनिको जीवनयापन कति कष्टकर छ भन्ने कुरा गरिब जनतालाई बाहेक कसैलाई थाहा छैन । त्यसैले गरिबीको पीडाले असह्य भएर सामुहिक आत्महत्या गर्ने शृंखला चलिरहेकै छ र सामूहिक आत्महत्याको दर्दनाक समाचार पढेर मर्माहत भइरहनु परेको छ ।

गरिबीको रेखामुनि रहेका जनता भनेका झुपडीमा बस्ने नै हुन् । जो खोलेफाँडो पनि नियमित खान पाउँदैनन् । बिरामी परे ओखतीमुलो गर्न नसक्ने र अस्पतालको त कुरै छोडौं, नजिकको स्वास्थ्यचौकीसम्म पनि पुग्न नसक्ने जनता हुन् । तिनका छोराछोरीले विद्यालयको मुखसम्म पनि देख्न पाउँदैनन् । तिनले शिक्षा हासिल गर्न पाउँदैनन् । कुनै सीप सिक्न पाउँदैनन् । रोजगारीको कुनै अवसरका लागि प्रतिस्पर्धा गर्न सक्दैनन् । अनि बाबुजस्ता थिए त्यस्तै बन्छन् छोराछोरी पनि र भोग्छन् बाबुकै नियति ।

गरिबीको रेखामुनि बाँचेका जनतालाई प्रजातन्त्र के हो थाहा छैन । गणतन्त्र के हो थाहा छैन । लोकतन्त्र के हो थाहा छैन । यी कुनै पनि तन्त्रहरूले तिनको जीवनमा कुनै माने राख्दैनन् । यी त टाठाबाठाहरूको सुख र सुविधाका लागि ल्याइएका शासन पद्धतिमात्रै बनेका छन् । यी शासन पद्धतिले ती गरिबीको रेखामुनिको कष्टकर जीवनयापन गर्ने जनतालाई समेट्नै सकेको छैन । ती जनतालाई प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रका सुखद अनुभूति हुने काम राज्यसत्ताले गर्नै सकेको छैन । राज्यसत्ता हिजो सत्ता र शक्तिमा केन्द्रित थियो । राज्यसत्ता आज पनि सत्ता र शक्तिमै केन्द्रित छ ।

जेन—जी आन्दोलन त्यसै भएको होइन । शिक्षित किशोर र युवाको लहडले मात्रै भएको होइन, जेन—जी आन्दोलन । वर्षौंदेखिको राजनीतिक बेथिति, भ्रष्टाचार, कुशासन, अपारदर्शिता र जवाफदेहीविहीनताले जन्माएको निराशा, आक्रोश र विद्रोहको परिणाम हो, जेन—जी आन्दोलन । जुन आन्दोलनले परिवर्तन चाहेको थियो, त्यो राजनीतिक परिवर्तन प्राप्त गर्‍यो । भ्रष्ट राज्यसत्तालाई गलहत्यायो र जनपक्षीय लोकतन्त्र र जनपक्षीय शासन पद्धतिको सुरुवात गर्‍यो । अब आगामी निर्वाचनपछि बन्ने सरकारले जनपक्षीय काम गर्नेछ र गरिबीको रेखामुनि बाँचेका ती २०.३ प्रतिशत जनतालाई पनि साँच्चै देशमा जनपक्षीय लोकतन्त्र छ भन्ने महसुस गराउनेछ, गराउनु पर्नेछ । आम मतदाताले आगामी फागुन २१ हुने निर्वाचनपछि यही अपेक्षा गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली ।’ कति मिठो छ यो नारा । तर नाराले मात्रै देश समृद्ध बनेन र नेपाली सुखी पनि भएनन् । किनभने सुख र समृद्धि ल्याउने काम कुनै सरकारले गर्नै सकेन । कुनै नेताहरूले त्यो समृद्धि र सुख आउने काम गर्नै चाहेनन् । व्यक्तिगत र दलगत स्वार्थले परिचालित हुँदै आएको नेतृत्व र उस्तै कर्मचारीतन्त्रले गर्दा देशमा भ्रष्टाचार र कुशासनले प्रश्रय पाउँदै आयो । समृद्धिका नीति, कार्यक्रम र योजनाहरू कागजी दस्तावेज, सरकारी उच्च पदस्थहरूको भाषण र नेताहरूको आश्वासनमै सीमित रहँदै आयो । अनि झन्डै एक चौथाइ जनताले भोग्नुपर्‍यो, चरम गरिबी र अभाव । अनि त्यही गरिबी र अभावले दिएको पीडा सहेर बाँच्नुपर्‍यो, गरिब जनताले ।

जनता गरिबी र अभावमा बाँचिरहेका छन् । भोकमरी खेपिरहेका छन् । तथ्यांकले देश गम्भीर भोकमरीको स्थितिबाट मध्यम भोकमरीको स्थितिमा पुगेको देखाए पनि भोकमरी त भोकमरी नै हो । भोकमरी अन्त्यका योजना र कार्यक्रमलाई न्यून प्राथमिकतामा राखेर राज्यसत्ता चाहिँ विकासको मृगतृष्णा साँचेर ठूल्ठूला भौतिक पूर्वाधार निर्माणमा जुटेको छ । ठूलो परिमाणमा विदेशी ऋण र दान ल्याएर भौतिक संरचना निर्माणमा खन्याइरहेको छ र तिनै भोकमरी पीडित जनताको टाउकोमा ऋणको भारी बोकाइरहेको छ । पहिला जनतालाई गरिबी, अभाव र भोकमरीबाट मुक्त गर्ने कि ठूल्ठूला भौतिक संरचना निर्माण गरेर विकासको साक्षी उभ्याउने ? भोकमरीबाट पीडित जनताका ख्याउटे र मलिन अनुहारमा विकास प्रतिविम्बित भएको हेर्ने राज्यसत्ताको सपना जायज हो कि नाजायज ? विकास पहिला कि गरिबी र भोकमरी अन्त्य पहिला ? अब राज्यसत्ताले पहिला यी दुई कुरामा प्राथमिकता निर्धारण गर्न सक्नुपर्छ ।

समृद्धि सपना हो, तर गरिबी, अभाव र भोकमरी त यथार्थ हो । सपनामा बाँच्नु र यथार्थमा बाँच्नुमा अन्तर छ । सपनामा बाँच्नु रोमाञ्चक होला, तर गरिबी, अभाव र भोकमरीको यथार्थमा बाँच्नु निकै कष्टपूर्ण हुन्छ । त्यसैले राज्यले नीति निर्माण गर्दा अथवा योजना तर्जुमा गर्दा सपना र यथार्थबीचको विरोधाभास कम गर्ने प्रयत्न गर्नुपर्छ । समृद्धिको सपना देख्दै गर्दा गरिबीको गणितलाई भुल्नु हुँदैन ।

दूरदराजका जनताले नुनका लागि सकस भोगिरहँदा सरकारले सुनको कुरा गर्न थाल्यो भने जनताले सिटामोल र जीवनजल मागिरहँदा सरकारले प्लाइओभर र मेट्रोरेलको कुरा गर्‍यो भने सपना र यथार्थको दूरी अझै बढ्दै जान्छ । औद्योगिकीकरण र निर्यातका ठूल्ठूला कुरा गर्ने तर देशको अपार आर्थिक सम्भावना बोकेको कृषिलाई उपेक्षा गरिरहने हो भने कसरी हु्न्छ खाद्यान्न उत्पादन वृद्धि ? अनि कसरी बढ्छ खाद्य सञ्चय र कसरी हुन्छ खाद्य सम्प्रभुताको सुनिश्चितता ?

खाद्यान्न उत्पादन वृद्धि र खाद्यान्न सञ्चितिमा नै वृद्धि नभए संविधानप्रदत्त खाद्यसम्प्रभुता सुनिश्चित हुनै सक्दैन । आन्तरिक उत्पादनको न्यूनताले कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको पछिल्लो तथ्यांकअनुसार अहिले पनि देशका २२ जिल्लाको खाद्य वासलात ऋणात्मक छ अर्थात् त्यहाँ खाद्यान्नको अभाव छ । आयातित खाद्यान्नले जनताको भोक मेट्नुपर्ने अवस्था छ । आर्थिक वर्ष २०८१/०८२ मात्रै ६० अर्ब ७८ करोडभन्दा बढीको खाद्यान्न आयात भयो । धान–चामलमात्रै ४० अर्ब १९ करोडको आयात भयो । यस्तो अवस्थामा निर्यात होइन, कृषिलाई प्राथमिकतामा राखेर खाद्यान्न उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन मात्रै गर्नसके पनि वैदेशिक व्यापारघाटा न्यून भई अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।

जनतालाई भोकमरीमा राखेर दिइएको विकास र समृद्धिको नाराले आफैंलाई गिज्याउँछ । दूरदराजका जनता हिँड्दाहिँड्दै भिर र पाखाबाट लडेर अकालमा ज्यान गुमाइरहेको यथार्थलाई भुलेर विकास देखाउन सहरका बाटाहरू फराकिलो पार्ने बहानामा जनताका सग्ला घरहरू भत्काइरहने हो भने विकासले नै गिज्याउँछ । विकासको अर्थ ठूल्ठूला भौतिक संरचना निर्माण गर्नु, फराकिला सडक बन्नु र त्यसमा चिल्ला गाडीहरू गुड्नुमात्रै होइन, मान्छेले न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्दै न्यूनतम मानवअधिकारसहित र संविधानप्रदत्त हक र अधिकारको उपभोग गर्दै सुखले बाँच्न पाउनु पनि हो । भोको पेटले विकासको अनुभूति गर्न सक्दैन । अत :  भोकमरी अन्त्यलाई विकासको पूर्वसर्तको रूपमा स्वीकार गर्नु आवश्यक छ ।

सडक विस्तारका नाउँमा सडकछेउमा घरसंरचना बनाई वर्षौंदेखि बस्दै आएका बासिन्दाका घर रातारात भत्काउँदा घर मात्रै भत्किएको हुन्न । त्यो घरसँगै सयौं–हजारौं परिवारको श्रम, साधना र सपना पनि भत्किएको हुन्छ । सामाजिक संरचना नै भत्किएको हुन्छ । आर्थिक संरचना भत्किएको हुन्छ । हिजोअस्ति भर्खरै सडक विस्तारका नाउँमा हेटौंडा बजारका ५ सय ३१ घरसंरचना डोजर लगाएर भत्काउँदा त्यहाँ सग्लो घरमात्रै भत्किएनन्, सयौं परिवारका मिहिनेत, लगानी, आशा र सपना पनि भत्किएका छन् । करोडका मालिकहरू रोडमा पुगेका छन् । एकातिर विकासका नाउँमा लगानी गरिँदैछ भने अर्कोतिर ५ सय ३१ वटा घरसंरचना भत्किँदा अर्बौं रुपैयाँको नोक्सानी पनि भएको छ ।

मान्छेको भौतिक सम्पत्ति र भावानात्मक क्षति गरेर ल्याइएको विकासले मान्छेलाई सुखको अनुभूति दिन सक्दैन । विकासको नाउँमा बस्तीबाट मान्छेको बासै उठाउने नीतिले विकासको योजनाले लक्ष्य प्राप्त गर्न सक्दैन । विकास कसका लागि र समृद्धि केका लागि भन्ने विषयमा राज्यको नीति र योजना प्रष्ट हुनुपर्छ । अनि विकास र समृद्धिको सपना देख्नका लागि पहिला गरिबी, अभाव र भोकमरीको अन्त्य जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.