राजनीतिक एकता कि ए... कता ?
जब सत्तामा पुग्छन्, तब राजनीतिक दल र नेताहरूको नैतिक विचलन सुरु भएको देखिन्छ ।
नयाँ र वैकल्पिक दलहरूबीच एकता : किन विगत असफल भयो ?
अब कस्तो ‘रसायन’ चाहिन्छ ? नेपालको राजनीतिक इतिहास दलहरूको विभाजन, पुनर्एकीकरण र फेरि विघटनको शृंखलाले भरिएको छ । विशेषत : नयाँ र वैकल्पिक भनिने दलहरूबीच ‘एकता’को नारा बारम्बार उठ्छ, तर व्यवहारमा ती एकता टिकाउ हुन सकेका छैनन् । प्रश्न अब केवल एकता गर्ने कि नगर्ने होइन, प्रश्न हो । कस्तो आधारमा एकता गर्ने ? हतारमा एकता घोषणा गरेर कतै एकता दुर्घटनामा त पर्दैन ? भर्खरै एकता प्रक्रियामा गएका रास्वपा उज्यालो नेपाल र बालेन समूहले अपनाउनुपर्ने केही व्यावहारिक, संस्कारजन्य र सैद्धान्तिक उपायहरूबारे आजको विमर्श केन्द्रित छ ।
विगतमा दलहरूको एकता किन टिक्न सकेन ?
विगतका एकताहरू असफल हुनुका मुख्य कारण भनेका संरचनागत, वैचारिक, व्यावहारिक र संस्कारगत खोटहरू हुन् । एकता आफ्ना लागि, सानो स्वार्थ समूहका लागि कि देशका लागि मूल प्रश्न यही हो । सत्ता–केन्द्रित एकता अधिकांश एकता निर्वाचन गणित, संसद्को अंकगणित वा सरकारमा पुग्ने सर्टकटका लागि गरिए । सत्ता साझा गर्ने सहमति भयो, तर विचार साझा गर्ने श्रम गरिएन ।
वैचारिक अस्पष्टता– एकीकृत दलभित्र समाजवाद, उदारवाद, राष्ट्रवाद, क्रान्ति र सुधार सबै मिसिए तर कुन मूल दर्शन हो भन्ने स्पष्ट भएन । परिणामत : संकट पर्दा निर्णय लिने साझा बिन्दु रहेन । फरक फरक धार र ‘स्कुल अफ थट’बाट आएकाहरूको समायोजन हुने एकीकृत ढाँचा तयार गरिएन मनोगत र व्यक्तिपरक विश्लेषणमा नीति दर्शन र कार्ययोजनाको व्याख्या गरियो । अलमल चिर्ने वैचारिक आरन निर्माण भएन ।
व्यक्तिकेन्द्रित नेतृत्व– विगतमा पनि दलहरू पटकपटक एक भए तर एकतालाई अपवाद बाहेक दीर्घकालीनरूपमा टिकाउन सकेनन् । दल एक भए, तर नेतृत्व एक भएनन् । अध्यक्ष, सहअध्यक्ष, महासचिवदेखि केन्द्रीय सदस्य हुँदै विभिन्न तह र तप्काको सन्तुलन मिलाइयो तर सांस्कृतिक अहंकार मिलेन । आफ्नो समूह र गुटको हित हेरियो– समग्र कार्यकर्ता र देशको भावना र चाहना विचार गरिएन । एकै व्यक्तिलाई सर्वेश्वरवादको सिद्धान्तअनुसार आआफ्नो समूहले प्रस्तुत गर्यो । यसर्थ, व्यक्तिकेन्द्रित नेतृत्व भयो, सामूहिक नेतृत्वको अभ्यास गौण बन्यो ।
आन्तरिक लोकतन्त्रको अभाव– दलहरूको एकतापछि पनि निर्णय शीर्ष तहमा सीमित रह्यो । कार्यकर्ता र आधार पंक्तिले आफूलाई ‘मालिक’ होइन, ‘आदेश पालक’ मात्र ठाने । कार्यकर्ताको भावना एकातिर नेताको निर्देशन र फरमान अर्काेतिर रह्यो । मालिक र आज्ञाकारी सिपाहीको रूपमा मात्र कार्यकर्तालाई सीमित गरियो जब कि लोकतन्त्रमा कार्यकर्ता प्रश्न गर्न, विमति राख्न र आफ्नो स्वतन्त्रता प्रयोग गर्न पाउनुपर्छ त्यसो भएन । आन्तरिक लोकतन्त्र कमजोर भएको दल एकीकृत रहिरहने सम्भवना कम हुन्छ ।
सामाजिक सवालको उपेक्षा– दलित, महिला, मधेसी, जनजाति, युवा, अल्पसंख्यक यी सबैलाई एकतामा संख्याका रूपमा हेरियो, राजनीतिक साझेदारका रूपमा बुझिएन । ६० लाख दलितको विषय आजसम्म राष्ट्रको लाजको विषय बन्न सकेको छैन । दलितको मुद्दा अन्तर्राष्ट्रिय मानवअधिकार घोषणापत्र–१९४८ को विषय बनाउन आज पनि दलहरू चुकेका र हिच्किचएका देखिन्छन् । महिलाको सवाल र मधेसीको विषय अल्पसंख्यक समुदायको अवस्था र जनजातिगत पहिचानको मुद्दामा सबै किसिमका दलको नीतिमा तात्विक भिन्नता देखिएको छैन । यी तमाम विषय पनि पार्टी विघटन हुने आधार हुन् ।
एकता संख्या होइन, संस्कार हो। नयाँ र वैकल्पिक दलहरूको एकता इतिहासको आवश्यकता हो। तर यो कार्य हतारको प्रयोगशालाको परीक्षण बन्नु हुँदैन। एकता टिक्न विचार, लक्ष्य, योजना र संस्कार सबै मिसिनुपर्छ।
नयाँ र वैकल्पिक दलहरूका लागि दिगो एकताका आधार तत्त्वहरू
विश्वास नै एकताको पहिलो आधार र खुड्किला हो, किनकि विश्वासबिना कुनै सम्बन्ध, समूह वा आन्दोलन दिगो बन्न सक्दैन । जब मान्छेले एकअर्काको नियत, प्रतिबद्धता र इमानदारीमा भरोसा गर्छन्, तब मात्र सहकार्य सम्भव हुन्छ । यही भरोसाले डर, शंका र स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यतर्फ, देशको सर्वांङ्गीण हिततर्फ अघि बढ्न हौसला दिन्छ । त्यसैले एकता अचानक पैदा हुँदैन । यो विश्वासको सानो खुड्किलाबाट सुरु भएर निरन्तर अभ्यास र जिम्मेवारीबाट मजबुत बन्दै जान्छ । अबको एकता पुराना गल्तीको पुनरावृत्ति हुनु हुँदैन । दिगो एकताका कम्तीमा यी आधार अनिवार्य छन् ।
साझा विचार र दर्शन– एकता अघि स्पष्ट उत्तर हुनुपर्छ । राज्य कस्तो बनाउने ? बजार र राज्यको सम्बन्ध के ? समावेशिता कोटा हो कि सत्ता साझेदारी ? यदि न्यूनतम साझा दर्शन तय भएन भने एकता केवल संगठनात्मक छल हो । जनतालाई सत्ता प्राप्तिका लागि देखाउने सपनाको भुलभुलैया हो ।
लक्ष्यको स्पष्टता– पुराना दललाई जसरी पनि विस्थापन गर्ने मात्र लक्ष्य होइन । नयाँ दलको लक्ष्य स्पष्ट र मानक रूपमा यसरी आउनुपर्छ । शासन प्रणाली सुधार कि संरचना परिवर्तन ? प्रतिनिधित्व सुधार कि शक्ति पुनर्वितरण ? लक्ष्य अस्पष्ट भए एकता दिशाहीन हुन्छ । जनताको स्थिर राजनीति र सुशासन देख्ने सपनाको पछिल्लो कडीको बन्ध्याकरण हुनेछ ।
योजना र रोडम्याप– एकता घोषणापत्रमा सीमित होइन, कार्ययोजनामा आधारित हुनुपर्छ : १ वर्ष, ५ वर्ष, १० वर्षको स्पष्ट योजना देखाउनुपर्छ । जुन योजना धरातलीय यथार्थ भौगोलिक अवस्थिति, भूराजनीतिको अवस्था, अन्तर्राष्ट्रिय आर्थिक, कूटनीतिक र सामाजिक स्वरूपको अध्ययन विश्लेषणमा आधारित नेपाली क्षमतामा विश्वासयोग्य हुनुपर्छ । सत्ता बाहिर हुँदा के गर्ने ? सत्ता भित्र हुँदा के नगर्ने ? स्पष्ट रोडम्याप आवश्यक हुन्छ ।
संगठनात्मक न्याय– एकता भनेको ठूलो दलमा सानो मिसिनु’, विलय हुनु, आत्मसमर्पण गर्नु पक्कै होइन । जहाँ सबै तह र तप्काले पछि मिसिने र पहिलेदेखि रहेकाबीच आग्रह पूर्वाग्रह पुराना र नयाँ कुनै रेखा र संकेत नराखी नेतृत्व चयनमा प्रतिस्पर्धा, उम्मेदवार छनोटमा मापदण्ड, आन्तरिक असहमतिको सम्मानलाई स्थान दिने वातावरण निर्माण हुनुपर्दछ ।
सामाजिक सञ्जाल– सडक जनआवाजको प्रत्यक्ष अभिव्यक्ति हो । यहाँ जनता आफैं सक्रिय भएर अन्याय, असन्तोष र अपेक्षालाई देखिने रूपमा प्रस्तुत गर्छन् । सञ्जाल (सोसल मिडिया, वैकल्पिक मिडिया) विचार फैलाउने, बहस सिर्जना गर्ने र सचेतना बढाउने माध्यम हो, जसले छोटो समयमै ठूलो जनसमूहलाई जोड्न सक्छ । जनभावना भने यी दुवैको आत्मा हो । जनताले के महसुस गर्छन्, के चाहन्छन् र कसलाई विश्वास गर्छन् भन्ने कुरा नै वैकल्पिक दलको दीर्घकालीन शक्ति हो ।
वैकल्पिक र एकताको भाष्य गाउँ र टोलका आम मानिससम्म पुर्याउन सहज भाषा र दैनिक जीवनसँग जोडिएका उदाहरण प्रयोग गर्नुपर्छ । टोलभेला, चौतारी छलफल, किसान–महिला–युवा समूहसँग संवादमार्फत राजनीतिक कुरा नारामा होइन, समस्याको समाधानका रूपमा राख्नुपर्छ । सञ्जाल प्रयोग गर्नेले छोटा भिडियो, स्थानीय बोलीमा सन्देश र स्थानीय मुद्दालाई प्राथमिकता दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, नेताभन्दा बढी कार्यकर्ता र सचेत नागरिकमार्फत विश्वास निर्माण गर्नु हो । किनकि वैकल्पिक दलको शक्ति देखावटी होइन, जनताको मनभित्र बस्न सकेमा मात्र स्थायी हुन्छ ।
पार्टी एकतालाई अक्षुण्ण राख्ने ‘रसायन’ (केमिकल) के हुन् ?
दर्शन– दर्शन भनेको विचारहरूलाई व्यवस्थित, गहिरो र दीर्घकालीन रूपमा हेर्ने आधार हो । यसले जीवन, समाज, राजनीति वा अस्तित्वलाई बुझ्ने मूल दृष्टिकोण दिन्छ र धेरै विचारलाई एउटै दिशामा मार्गदर्शन गर्छ । राजनीतिक पार्टीको बाइन्डिङ टेप र स्ट्रिच हो, दर्शन । दर्शन सिमेन्ट हो । बिना दर्शन संगठन बालुवाको घर हुन्छ । यसर्थ, नेताकार्यकर्तालाई एकताको सुत्रमा बाँध्ने प्रमुख आधार पार्टीको राजनीतिक दर्शन हो ।
नैतिकता– सत्तामा जाँदा पनि नबिग्रिने नैतिक मापदण्ड एकताको स्थायित्व हो । जब सत्तामा पुग्छन्, तब राजनीतिक दल र नेताहरूको नैतिक विचलन सुरु भएको देखिन्छ । यसलाई रोक्न सडक सदन र सत्ता जता रहे पनि लक्ष्यमा दृढ रहने उच्च नैतिकबल आवश्यक हुन्छ ।
समावेशिता– दलित, महिला, सीमान्तकृतलाई केन्द्रमा राख्दा मात्र एकता ऊर्जाशील हुन्छ । दलितलगायतलाई उपेक्षा गरेर गरिने कुनै पनि योजना सफल बन्न सक्दैन । त्यो एकताको आधार भत्काउने कारण बन्छ । समावेशीकरणको मूल मर्मलाई पार्टी संगठनदेखि सत्ता सञ्चालन गर्दा समेत
अवलम्बन गर्न छोड्नु हुँदैन ।
आन्तरिक लोकतन्त्र– असहमति विस्फोट नहोस् भन्न लोकतान्त्रिक प्रक्रिया आवश्यक छ । निरन्तर र यथासम्भव हरेक निर्णय लोकतान्त्रिक विधिबाट टुंग्याउनु पर्दछ । नेतृत्वको आत्मसंयम– मबिना पार्टी चल्दैन भन्ने अहंकार एकताको सबैभन्दा घातक विष हो । सुरक्षा भल्भको रूपमा राजनीतिमा नेतृत्वको आत्मसंयम र सबैलाई मिलाएर लाने क्षमतालाई लिइन्छ । संकटमा नेतृत्वले आत्मसंयम गुमाउँदा प्राय : दलहरू फुटेका वा तलमाथि परेका छन् ।
निष्कर्ष– एकता संख्या होइन, संस्कार हो । नयाँ र वैकल्पिक दलहरूको एकता इतिहासको आवश्यकता हो । तर यो कार्य हतारको प्रयोगशालाको परीक्षण बन्नु हुँदैन । एकता टिक्न विचार, लक्ष्य, योजना र संस्कार सबै मिसिनुपर्छ । यदि एकता केवल सिट र पदका लागि भयो भने त्यो दल एक भएजस्तो देखिएला, तर भित्रभित्रै विघटनको उल्टो गन्ती सुरु भइसकेको हुन्छ । अबको एकता राजनीतिक अंकगणित होइन, सामाजिक पुनर्संरचनाको परियोजना बन्नुपर्छ । त्यसैले मात्र वैकल्पिक राजनीति विकल्प बन्न सक्छ, नत्र फेरि अर्काे विफल प्रयोग सिद्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस !