राजनीतिक एकता कि ए... कता ?

राजनीतिक एकता कि ए... कता ?

जब सत्तामा पुग्छन्, तब राजनीतिक दल र नेताहरूको नैतिक विचलन सुरु भएको देखिन्छ ।

नयाँ र वैकल्पिक दलहरूबीच एकता : किन विगत असफल भयो ?

अब कस्तो ‘रसायन’ चाहिन्छ ? नेपालको राजनीतिक इतिहास दलहरूको विभाजन, पुनर्एकीकरण र फेरि विघटनको शृंखलाले भरिएको छ । विशेषत :  नयाँ र वैकल्पिक भनिने दलहरूबीच ‘एकता’को नारा बारम्बार उठ्छ, तर व्यवहारमा ती एकता टिकाउ हुन सकेका छैनन् । प्रश्न अब केवल एकता गर्ने कि नगर्ने होइन, प्रश्न हो । कस्तो आधारमा एकता गर्ने ? हतारमा एकता घोषणा गरेर कतै एकता दुर्घटनामा त पर्दैन ? भर्खरै एकता प्रक्रियामा गएका रास्वपा उज्यालो नेपाल र बालेन समूहले अपनाउनुपर्ने केही व्यावहारिक, संस्कारजन्य र सैद्धान्तिक उपायहरूबारे आजको विमर्श केन्द्रित छ ।

विगतमा दलहरूको एकता किन टिक्न सकेन ?

विगतका एकताहरू असफल हुनुका मुख्य कारण भनेका संरचनागत, वैचारिक, व्यावहारिक र संस्कारगत खोटहरू हुन् । एकता आफ्ना लागि, सानो स्वार्थ समूहका लागि कि देशका लागि मूल प्रश्न यही हो । सत्ता–केन्द्रित एकता अधिकांश एकता निर्वाचन गणित, संसद्को अंकगणित वा सरकारमा पुग्ने सर्टकटका लागि गरिए । सत्ता साझा गर्ने सहमति भयो, तर विचार साझा गर्ने श्रम गरिएन ।

वैचारिक अस्पष्टता– एकीकृत दलभित्र समाजवाद, उदारवाद, राष्ट्रवाद, क्रान्ति र सुधार सबै मिसिए तर कुन मूल दर्शन हो भन्ने स्पष्ट भएन । परिणामत :  संकट पर्दा निर्णय लिने साझा बिन्दु रहेन । फरक फरक धार र ‘स्कुल अफ थट’बाट आएकाहरूको समायोजन हुने एकीकृत ढाँचा तयार गरिएन मनोगत र व्यक्तिपरक विश्लेषणमा नीति दर्शन र कार्ययोजनाको व्याख्या गरियो । अलमल चिर्ने वैचारिक आरन निर्माण भएन ।

व्यक्तिकेन्द्रित नेतृत्व– विगतमा पनि दलहरू पटकपटक एक भए तर एकतालाई अपवाद बाहेक दीर्घकालीनरूपमा टिकाउन सकेनन् । दल एक भए, तर नेतृत्व एक भएनन् । अध्यक्ष, सहअध्यक्ष, महासचिवदेखि केन्द्रीय सदस्य हुँदै विभिन्न तह र तप्काको सन्तुलन मिलाइयो तर सांस्कृतिक अहंकार मिलेन । आफ्नो समूह र गुटको हित हेरियो– समग्र कार्यकर्ता र देशको भावना र चाहना विचार गरिएन । एकै व्यक्तिलाई सर्वेश्वरवादको सिद्धान्तअनुसार आआफ्नो समूहले प्रस्तुत गर्‍यो । यसर्थ, व्यक्तिकेन्द्रित नेतृत्व भयो, सामूहिक नेतृत्वको अभ्यास गौण बन्यो ।

आन्तरिक लोकतन्त्रको अभाव– दलहरूको एकतापछि पनि निर्णय शीर्ष तहमा सीमित रह्यो । कार्यकर्ता र आधार पंक्तिले आफूलाई ‘मालिक’ होइन, ‘आदेश पालक’ मात्र ठाने । कार्यकर्ताको भावना एकातिर नेताको निर्देशन र फरमान अर्काेतिर रह्यो । मालिक र आज्ञाकारी सिपाहीको रूपमा मात्र कार्यकर्तालाई सीमित गरियो जब कि लोकतन्त्रमा कार्यकर्ता प्रश्न गर्न, विमति राख्न र आफ्नो स्वतन्त्रता प्रयोग गर्न पाउनुपर्छ त्यसो भएन । आन्तरिक लोकतन्त्र कमजोर भएको दल एकीकृत रहिरहने सम्भवना कम हुन्छ ।

सामाजिक सवालको उपेक्षा– दलित, महिला, मधेसी, जनजाति, युवा, अल्पसंख्यक यी सबैलाई एकतामा संख्याका रूपमा हेरियो, राजनीतिक साझेदारका रूपमा बुझिएन । ६० लाख दलितको विषय आजसम्म राष्ट्रको लाजको विषय बन्न सकेको छैन । दलितको मुद्दा अन्तर्राष्ट्रिय मानवअधिकार घोषणापत्र–१९४८ को विषय बनाउन आज पनि दलहरू चुकेका र हिच्किचएका देखिन्छन् । महिलाको सवाल र मधेसीको विषय अल्पसंख्यक समुदायको अवस्था र जनजातिगत पहिचानको मुद्दामा सबै किसिमका दलको नीतिमा तात्विक भिन्नता देखिएको छैन । यी तमाम विषय पनि पार्टी विघटन हुने आधार हुन् ।

एकता संख्या होइन, संस्कार हो। नयाँ र वैकल्पिक दलहरूको एकता इतिहासको आवश्यकता हो। तर यो कार्य हतारको प्रयोगशालाको परीक्षण बन्नु हुँदैन। एकता टिक्न विचार, लक्ष्य, योजना र संस्कार सबै मिसिनुपर्छ। 

नयाँ र वैकल्पिक दलहरूका लागि दिगो एकताका आधार तत्त्वहरू
विश्वास नै एकताको पहिलो आधार र खुड्किला हो, किनकि विश्वासबिना कुनै सम्बन्ध, समूह वा आन्दोलन दिगो बन्न सक्दैन । जब मान्छेले एकअर्काको नियत, प्रतिबद्धता र इमानदारीमा भरोसा गर्छन्, तब मात्र सहकार्य सम्भव हुन्छ । यही भरोसाले डर, शंका र स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यतर्फ, देशको सर्वांङ्गीण हिततर्फ अघि बढ्न हौसला दिन्छ । त्यसैले एकता अचानक पैदा हुँदैन । यो विश्वासको सानो खुड्किलाबाट सुरु भएर निरन्तर अभ्यास र जिम्मेवारीबाट मजबुत बन्दै जान्छ । अबको एकता पुराना गल्तीको पुनरावृत्ति हुनु हुँदैन । दिगो एकताका कम्तीमा यी आधार अनिवार्य छन् । 

साझा विचार र दर्शन– एकता अघि स्पष्ट उत्तर हुनुपर्छ । राज्य कस्तो बनाउने ? बजार र राज्यको सम्बन्ध के ? समावेशिता कोटा हो कि सत्ता साझेदारी ? यदि न्यूनतम साझा दर्शन तय भएन भने एकता केवल संगठनात्मक छल हो । जनतालाई सत्ता प्राप्तिका लागि देखाउने सपनाको भुलभुलैया हो ।

लक्ष्यको स्पष्टता– पुराना दललाई जसरी पनि विस्थापन गर्ने मात्र लक्ष्य होइन । नयाँ दलको लक्ष्य स्पष्ट र मानक रूपमा यसरी आउनुपर्छ । शासन प्रणाली सुधार कि संरचना परिवर्तन ? प्रतिनिधित्व सुधार कि शक्ति पुनर्वितरण ? लक्ष्य अस्पष्ट भए एकता दिशाहीन हुन्छ । जनताको स्थिर राजनीति र सुशासन देख्ने सपनाको पछिल्लो कडीको बन्ध्याकरण हुनेछ ।

योजना र रोडम्याप– एकता घोषणापत्रमा सीमित होइन, कार्ययोजनामा आधारित हुनुपर्छ :  १ वर्ष, ५ वर्ष, १० वर्षको स्पष्ट योजना देखाउनुपर्छ । जुन योजना धरातलीय यथार्थ भौगोलिक अवस्थिति, भूराजनीतिको अवस्था, अन्तर्राष्ट्रिय आर्थिक, कूटनीतिक र सामाजिक स्वरूपको अध्ययन विश्लेषणमा आधारित नेपाली क्षमतामा विश्वासयोग्य हुनुपर्छ । सत्ता बाहिर हुँदा के गर्ने ? सत्ता भित्र हुँदा के नगर्ने ? स्पष्ट रोडम्याप आवश्यक हुन्छ ।

संगठनात्मक न्याय– एकता भनेको ठूलो दलमा सानो मिसिनु’, विलय हुनु, आत्मसमर्पण गर्नु पक्कै होइन । जहाँ सबै तह र तप्काले पछि मिसिने र पहिलेदेखि रहेकाबीच आग्रह पूर्वाग्रह पुराना र नयाँ कुनै रेखा र संकेत नराखी नेतृत्व चयनमा प्रतिस्पर्धा, उम्मेदवार छनोटमा मापदण्ड, आन्तरिक असहमतिको सम्मानलाई स्थान दिने वातावरण निर्माण हुनुपर्दछ ।

सामाजिक सञ्जाल– सडक जनआवाजको प्रत्यक्ष अभिव्यक्ति हो । यहाँ जनता आफैं सक्रिय भएर अन्याय, असन्तोष र अपेक्षालाई देखिने रूपमा प्रस्तुत गर्छन् । सञ्जाल (सोसल मिडिया, वैकल्पिक मिडिया) विचार फैलाउने, बहस सिर्जना गर्ने र सचेतना बढाउने माध्यम हो, जसले छोटो समयमै ठूलो जनसमूहलाई जोड्न सक्छ । जनभावना भने यी दुवैको आत्मा हो । जनताले के महसुस गर्छन्, के चाहन्छन् र कसलाई विश्वास गर्छन् भन्ने कुरा नै वैकल्पिक दलको दीर्घकालीन शक्ति हो ।

वैकल्पिक र एकताको भाष्य गाउँ र टोलका आम मानिससम्म पुर्‍याउन सहज भाषा र दैनिक जीवनसँग जोडिएका उदाहरण प्रयोग गर्नुपर्छ । टोलभेला, चौतारी छलफल, किसान–महिला–युवा समूहसँग संवादमार्फत राजनीतिक कुरा नारामा होइन, समस्याको समाधानका रूपमा राख्नुपर्छ । सञ्जाल प्रयोग गर्नेले छोटा भिडियो, स्थानीय बोलीमा सन्देश र स्थानीय मुद्दालाई प्राथमिकता दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, नेताभन्दा बढी कार्यकर्ता र सचेत नागरिकमार्फत विश्वास निर्माण गर्नु हो । किनकि वैकल्पिक दलको शक्ति देखावटी होइन, जनताको मनभित्र बस्न सकेमा मात्र स्थायी हुन्छ ।
पार्टी एकतालाई अक्षुण्ण राख्ने ‘रसायन’ (केमिकल) के हुन् ?

दर्शन– दर्शन भनेको विचारहरूलाई व्यवस्थित, गहिरो र दीर्घकालीन रूपमा हेर्ने आधार हो । यसले जीवन, समाज, राजनीति वा अस्तित्वलाई बुझ्ने मूल दृष्टिकोण दिन्छ र धेरै विचारलाई एउटै दिशामा मार्गदर्शन गर्छ । राजनीतिक पार्टीको बाइन्डिङ टेप र स्ट्रिच हो, दर्शन । दर्शन सिमेन्ट हो । बिना दर्शन संगठन बालुवाको घर हुन्छ । यसर्थ, नेताकार्यकर्तालाई एकताको सुत्रमा बाँध्ने प्रमुख आधार पार्टीको राजनीतिक दर्शन हो ।

नैतिकता– सत्तामा जाँदा पनि नबिग्रिने नैतिक मापदण्ड एकताको स्थायित्व हो । जब सत्तामा पुग्छन्, तब राजनीतिक दल र नेताहरूको नैतिक विचलन सुरु भएको देखिन्छ । यसलाई रोक्न सडक सदन र सत्ता जता रहे पनि लक्ष्यमा दृढ रहने उच्च नैतिकबल आवश्यक हुन्छ ।

समावेशिता– दलित, महिला, सीमान्तकृतलाई केन्द्रमा राख्दा मात्र एकता ऊर्जाशील हुन्छ । दलितलगायतलाई उपेक्षा गरेर गरिने कुनै पनि योजना सफल बन्न सक्दैन । त्यो एकताको आधार भत्काउने कारण बन्छ । समावेशीकरणको मूल मर्मलाई पार्टी संगठनदेखि सत्ता सञ्चालन गर्दा समेत 
अवलम्बन गर्न छोड्नु हुँदैन ।

आन्तरिक लोकतन्त्र– असहमति विस्फोट नहोस् भन्न लोकतान्त्रिक प्रक्रिया आवश्यक छ । निरन्तर र यथासम्भव हरेक निर्णय लोकतान्त्रिक विधिबाट टुंग्याउनु पर्दछ । नेतृत्वको आत्मसंयम– मबिना पार्टी चल्दैन भन्ने अहंकार एकताको सबैभन्दा घातक विष हो । सुरक्षा भल्भको रूपमा राजनीतिमा नेतृत्वको आत्मसंयम र सबैलाई मिलाएर लाने क्षमतालाई लिइन्छ । संकटमा नेतृत्वले आत्मसंयम गुमाउँदा प्राय :  दलहरू फुटेका वा तलमाथि परेका छन् ।

निष्कर्ष– एकता संख्या होइन, संस्कार हो । नयाँ र वैकल्पिक दलहरूको एकता इतिहासको आवश्यकता हो । तर यो कार्य हतारको प्रयोगशालाको परीक्षण बन्नु हुँदैन । एकता टिक्न विचार, लक्ष्य, योजना र संस्कार सबै मिसिनुपर्छ । यदि एकता केवल सिट र पदका लागि भयो भने त्यो दल एक भएजस्तो देखिएला, तर भित्रभित्रै विघटनको उल्टो गन्ती सुरु भइसकेको हुन्छ । अबको एकता राजनीतिक अंकगणित होइन, सामाजिक पुनर्संरचनाको परियोजना बन्नुपर्छ । त्यसैले मात्र वैकल्पिक राजनीति विकल्प बन्न सक्छ, नत्र फेरि अर्काे विफल प्रयोग सिद्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.