उत्तरी गोरखाका हजार घरधुरी एक महिनादेखि विद्युतविहीन

उत्तरी गोरखाका हजार घरधुरी एक महिनादेखि विद्युतविहीन
धार्चे गाउँपालिका—२ रुन्चेत गाउँ । तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : चुमनुब्री—३ जगतका वीरबल घलेले सामाजिक सञ्जाल फेसबुकमा घरभित्र बलिरहेको टुकीको भिडियो जारी गर्दै लेखे, ‘हामी फेरि टुकीको युगमा पुग्यौं ।’

त्यही पोस्टमा पहिलो टिप्पणी थियो, धार्चे गाउँपालिका— २ केरौंजाका शुभराज घलेको । अर्को टुकीको तस्बिर पोस्ट गर्दै उनले लेखे, ‘हाम्रो गाउँको हालत पनि त्यस्तै छ दाजु ।’

यी दुईमात्र होइन, यतिबेला उत्तरी गोरखाका धेरै गाउँबस्तीहरू विद्युत् सेवाबाट वञ्चित छन् । हिमालपारिको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका आधा दर्जनभन्दा धेरै गाउँबस्ती करिब एक महिनादेखि विद्युत्विहीन भएका स्थानीयहरूले बताएका छन् ।

चुमनुब्री गाउँपालिका—१ सामागाउँ र साम्दो विद्युत्विहीन भएको ठ्याक्कै एक महिना पुगेको छ । मंसिरको अन्तिम सातादेखि विद्युत् सेवाविहीन भएको त्यहाँका पूर्ववडाध्यक्ष वीरबहादुर लामाले जानकारी दिए । सामागाउँ लघुजलविद्युत् आयोजनामा खराबी आएपछि सामागाउँ र साम्दोका करिब तीन सय घरधुरीका बासिन्दा विद्युत् सेवाबाट वञ्चित भएका उनको भनाइ छ ।

धार्चे गाउँपालिका—१ को रुन्चेत र केरौंजाका गरी करिब सात सय घरधुरीका बासिन्दाले अन्धकारमै रात गुजार्न थालेको पनि एक महिना भएको स्थानीय सुकबहादुर गुरुङ बताउँछन् । चुमनुब्री गाउँपालिका—३ जगत, सल्लेरी र भालुवनका बासिन्दा पनि तीन सातादेखि विद्युत् सेवा उपभोग गर्नबाट वञ्चित छन् ।

  •    उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका धेरै बस्ती एक महिनादेखि विद्युत्विहीन छन्।
  •     सामागाउँ, साम्दो, रुन्चेत, केरौंजा, जगत, सल्लेरी र भालुवनका करिब १ हजारभन्दा बढी घरधुरी प्रभावित।

१०० किलोवाट क्षमताको सामागाउँ लघुजलविद्युत् आयोजनाको टर्बाइन फुटेर सामागाउँ र साम्दोका गाउँबस्ती विद्युत् सेवाविहीन भएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए । ‘आयोजना निर्माण भएको पाँच वर्ष भयो । अहिले टर्बाइन फुटेर विद्युत् उत्पादन बन्द भएको छ’, लामाले भने, ‘चार लाख खर्च गरेर हेलिकोप्टरमा झुन्ड्याएर काठमाडौं ल्याइयो, तर नेपालमा बन्न सकेन । इन्डियाबाट सामान ल्याउनुपर्ने रहेछ । अब मर्मत गरेर फेरि हेलिकोप्टरमै झुन्ड्याएर लैजानु पर्छ । त्यसका लागि ६÷७ लाख लाग्छ ।’ तर कहिले बन्छ भन्ने निश्चित नभएको उनको भनाइ छ ।

१०० किलोवाट क्षमताकै रुञ्चेतखोला जलविद्युत् आयोजनाको टर्बाइनमा आएको खराबी अझै समाधान हुन सकेको छैन । आयोजना मर्मतसम्भार हुन नसक्दा रुञ्चेतका २५२ र केरौंजाका गरी करिब सात सय घरधुरीका बासिन्दा टुकीकै भरमा बस्नु परेको स्थानीय दीपेन्द्र गुरुङको भनाइ छ । सो टर्बाइन मर्मतका लागि पनि भारतबाट सामान ल्याउनुपर्ने भएकाले मर्मतसम्भार हुन नसकेको गुरुङले बताए । विद्युत् सेवा अवरुद्ध हुँदा गाउँका बासिन्दाले मोबाइल चार्जसमेत गर्न पाएका छैनन् ।

त्यस्तै ३५ किलोवाटको जगत जलविद्युत् आयोजनाको पनि टर्बाइनमा खराबी आएका कारण चुमनुब्री गाउँपालिका—३ को जगत, सल्लेरी, भालुवनका ७२ घरधुरीका बासिन्दा विद्युत् सेवाबाट वञ्चित भएका छन् । विगत एक महिनादेखि गाउँलेहरू विद्युत् उपभोग गर्नबाट वञ्चित भएका स्थानीय गणेश कार्कीले जानकारी दिए । सो टर्बाइन पनि भारत लगेरै बनाउनुपर्ने भएकाले ढिलो भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.