ढुंगा कुँदेर अमर आकृति
सुनसरी : कठ्यांग्रिने चिसो। सुनसरीको इटहरी–१९ स्थित भवानीपुरमा बुधबार बिहान कुहिरो हटिसकेको थिएन। चिसो हावाले शरीर सिरिङ बनाइरहेको थियो। न्यानो कपडाभित्र आफूलाई सुरक्षित राख्नुपर्ने बेला एउटा सानो मूर्तिकला उद्योगको आँगनमा भने ढुंगामाथि छिनो र हतौडाले हानेको आवाज निरन्तर सुनिरहेको थियो। हात नांगै छन्, औंलाहरू चिसोले कठोर बनेका छन्, तर आँखामा अदम्य एकाग्रता छ। ढुंगाको कठोर सतहमा बिस्तारै जीवनको आकृति कोर्दै थिए ४० वर्षीय मूर्तिकार किसन चौलागाईं।
सुनसरीको इटहरी–१९ का चौलागाईं तीन छोराछोरीका अभिभावक हुन्। उनी केवल आफ्ना सन्तानको लालनपालन गर्ने पिता मात्र होइनन्, वृद्ध आमाबुवा र भाइबुहारीका सन्ततिका समेत १४ जनाको संयुक्त परिवारको दैनिकी धान्ने मुख्य आधार हुन्। ढुंगा, डलोट, आरसिसी कङ्क्रिट र फाइबरमा आकार दिन सक्ने उनको कलाले केवल मूर्ति मात्र बनाएको छैन, यसले धेरै परिवारको जीवनलाई आधार दिएको छ।
किसनको मूर्तिकला यात्रा २०५९ सालबाट सुरु भएको हो। इटहरीको काव्यबाटिकामा घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ६ महिने आवासीय मूर्तिकला तालिम लिए। त्यसपछि उनको जीवनले नयाँ मोड लियो। तालिमका दिनहरूमा उनले मूर्ति बनाउने सीप मात्र सिकेनन्, आफूभित्र लुकेको कलालाई पनि चिन्ने मौका पाए। त्यहीँबाट सुरु भएको अभ्यास र लगनशीलताले उनलाई स्थापित मूर्तिकारका रूपमा परिचित गराएको छ।
इटहरी–१९ स्थित भवानीपुरमै उनले सञ्चालन गरेको ‘जोर्बा द आर्ट सोलुसन’ नामको मूर्तिकला उद्योग आज स्थानीयस्तरमा मात्र होइन, बाहिरी जिल्लासम्म चिनिन् थालेको छ। सानो देखिने यो कार्यशालाभित्र सिर्जना हुने मूर्तिहरू भने गहिरो अर्थ बोकेका छन्। यहाँ उनले विभिन्न आकार र स्वरूपका राम्रा र आकर्षक मूर्तिहरू निर्माण गरिरहेका छन्। आफ्नै जीविकोपार्जनका लागि मात्र नभई उनले नियमित रूपमा सात जनालाई रोजगारी दिइरहेका छन्। तीमध्ये धेरैलाई उनले मूर्तिकला सिकाउँदै सीपमूलक रोजगारीमा जोडिरहेका छन्।
किसन भन्छन्, ‘सीप बाँड्दा घट्दैन, अझै बलियो हुन्छ।’ यही सोचका कारण उनले नयाँ पुस्तालाई पनि मूर्तिकलातर्फ आकर्षित गरिरहेका छन्। काम सिक्नेहरूका लागि उनको कार्यशाला एउटा विद्यालयजस्तै बनेको छ। पेसाबाट हुने आम्दानीबाट १४ जनाको संयुक्त परिवारको जीविकोपार्जन चलाइरहेको किसन बताउँछन्। संघर्षका दिनहरू सम्झिँदै उनी भन्छन्, ‘सजिलो कहिल्यै थिएन, तर मूर्ति बनाउन हार मानिनँ।’ उनको यात्रामा भाइ कुमार चौलागाईं पनि सहयात्री बनेका छन्। कुमार पनि मूर्तिकै काम गर्छन्। हाल उनी काठमाडौंको सुन्दरीजलस्थित बीपी कोइरालाको संग्रहालयमा मूर्ति निर्माणमा संलग्न छन्। एउटै सीप, एउटै सपना बोकेका दाजु–भाइले आआफ्नो ठाउँबाट कला र इतिहास जोगाइरहेका छन्।
किसनले बनाएका मूर्तिहरू केबल ढुंगा, सिमेन्ट वा फाइबरका संरचना मात्र होइनन्। यी मूर्तिहरू स्मृति, सम्मान र इतिहासका प्रतीक हुन्। उनले मृत्यु भएका आफन्तहरूको सम्झनामा बनाइने सालिकदेखि विभिन्न पार्क र सार्वजनिक स्थानमा राखिने राष्ट्रिय विभूतिहरूका मूर्तिहरू निर्माण गरिरहेका छन्। किसनका हातबाट बनेका मूर्तिहरू सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, खोटाङ, भोजपुर, काठमाडौं, महेन्द्रनगर, चितवन र दाङसम्म पुगेका छन्। एउटा स्थानीय कलाकारको श्रम र सीप यति धेरै ठाउँमा फैलिनु आफैंमा ठूलो उपलब्धि भएको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केशीले बताए।
०६२/६३ को जनआन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको अर्धकदको सालिक दाङमा निर्माण गर्नु किसनका लागि गर्वको विषय बन्यो। उक्त सालिक अर्का कलाकार रामचन्द्र पण्डितसँग मिलेर संयुक्त रूपमा बनाइएको किसनले बताए। त्यसबेला सहिदको अनुहारमा भाव उतार्न निकै मेहनत गर्नुपरेको उनी सम्झन्छन्। त्यस्तै, ०३६ सालको किसन आन्दोलनका सहिद मुगालाल महतो र मोहन महतोको सालिक पनि उनले ढल्केबरमा निर्माण गरेका छन्। ‘सहिदहरूको मूर्ति बनाउँदा सामान्य कामजस्तो हुँदैन’, किसन भन्छन्, ‘त्यो जिम्मेवारी देशको इतिहासप्रतिको सम्मान हो।’
पुसको अत्यधिक जाडोमा पनि किसन चौलागाईं काममै व्यस्त भेटिन्छन्। हातमा छिनो र हतौडा लिएर ढुंगामा मूर्तिको आकार बनाउँदै गर्दा जाडोको कुनै प्रवाह उनी गर्दैनन्। औंलाहरू सुनिन्थ्यो, हात चिलाउँथ्यो, तर काम रोकिँदैन। ‘काम नगरे पेट चल्दैन’, उनी मुस्कुराउँदै भन्छन्, ‘कला भनेको मौसम हेरेर गर्ने कुरा पनि त होइन।’ देशका चोक–चोकमा ठडिएका सहिदका सालिक, पार्कमा रहेका विभूतिहरूका मूर्तिहरू र सार्वजनिक स्थलमा देखिने आकृतिहरूको पछाडि किसनहरू जस्तै श्रमिकहरूको पसिना लुकेको धरानका मूर्तिकार रमेश रोदुङ राईले बताए। ढुंगामा जीवन फुक्ने यो यात्रा सजिलो छैन। तर, किसन चौलागाईंका लागि यही यात्रा नै जीवन हो। छिनो र हतौडाको आवाजसँगै उनले आफ्नो भविष्य मात्र होइन, समाजको स्मृति पनि कोर्दै आएका छन्। ‘पुसको चिसो बिहानमा भवानीपुरको सानो कार्यशालामा उभिएका किसन चौलागाईं वास्तवमा एउटा जीवित मूर्ति हुन्’, रमेश भन्छन्।
प्रतिक्रिया दिनुहोस !