कांग्रेसको विशेष महाधिवेशन, बहुमत पुर्याउने कसरत
काठमाडौं : महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारेको छ। सभापति शेरबहादुर देउवाको असहमतिबीच हुन लागेको विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू धमाधम काठमाडौं आइरहेका छन्।
आइतबार र सोमबार हुने विशेष महाधिवेशनले कतै कांग्रेस विभाजनतिर उन्मुख त होइन भन्ने प्रश्न पनि उब्जेको छ। सभापति देउवा पक्षले ‘संयमित हुन’ विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरेको छ। यद्यपि, विशेष महाधिवेशन पक्षधरले महाधिवेशन स्थल भृकुटीमण्डप सिंगार्दै तयारी तीव्र पारेको छ।
विशेष महाधिवेशन पक्षधर र विपक्षीबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोप पनि चलिरहेको छ। संस्थापन पक्षका नेताहरूले विज्ञप्ति जारी गर्दै प्रतिनिधि रोक्न र विशेष महाधिवेशनका लागि गरिएका हस्ताक्षर फिर्ता गराउन प्रयत्न गरिरहेको छ। कतिपय जिल्लाका ९५ प्रतिशतभन्दा पनि बढी प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको विशेष महाधिवेशन पक्षधरको दाबी छ। सबैभन्दा बढी हस्ताक्षर पाल्पा र दार्चुलाबाट भएको दाबी गरिएको छ भने सबैभन्दा कम मुस्ताङ बाट विशेष महाधिवेशनका पक्षमा प्रतिनिधिले हस्ताक्षर गरेका छन्। प्रदेशका हिसाबले सुदूरपश्चिममा सबैभन्दा कमले हस्ताक्षर गरेको दाबी संस्थापन पक्षको छ।
बागमतीमै ५० प्रतिशतले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्। कोशी प्रदेशमा सबैभन्दा बढी हस्ताक्षर भएको छ। कोशीका सबै जिल्लामा ५० प्रतिशत बढी नेता विशेष महाधिवेशनका पक्षमा देखिएका छन्। विशेष महाधिवेशन ‘हुनुहुँदैन यसले पार्टीलाई राम्रो गर्दैन’ भन्ने तर्क गर्दै आएका नेता कृष्ण सिटौलाको गृहजिल्ला झापामा पनि ५० प्रतिशतले विशेषकै पक्षमा हस्ताक्षर गरेका छन्। मध्यमार्गी धारमा रहेका नेता डा.शेखर कोइरालाको गृहजिल्ला मोरङमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका पक्षमा ५०० जनाको हस्ताक्षर थप हुने अवस्था देखिएको दाबी गरेका छन्। महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेअनुसार विधानबमोजिम विशेष महाधिवेशन हुन लागेको दाबी गरे।
पहिले हस्ताक्षर भएका थप ५०० सय जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने अनुमान गरिएको महामन्त्री शर्माले बताए। ‘हामीले सोचेको भन्दा बढी प्रतिनिधिहरू काठमाडौं आउँदै हुनुहुन्छ,’ महामन्त्री शर्माले भने, ‘पहिले हस्ताक्षर गरेकामध्ये अहिलेसम्म २४ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका छन्।’
कांग्रेस नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्ने बताएका छन्। ‘७७ वटै जिल्लाका साथी हामीसित छन्,’ भण्डारीले भने, ‘७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन्। नेताहरूलाई पनि मिलाएर लैजानुपर्छ। सभापति पनि आउनुपर्छ।’
विशेष महाधिवेशन पक्षधरले पार्टी सभापति देउवालाई पनि विशेष महाधिवेशनमा निम्तो गर्ने तयारी गरिरहेको छ। विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिने बताए। ‘शनिबारसम्म चिठी पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘सबै पदाधिकारी केन्द्रीय सदस्य र प्रदेश, जिल्ला सभापतिहरूलाई निमन्त्रणा पठाउने क्रममा छौं। अरू राजनीतिक दलका नेताहरूलाई भने नबोलाउने भन्ने छ। यो विशेष परिस्थितिमा गरिएको महाधिवेशन भएकाले अरू दलका नेतालाई नबोलाउने भएका हौं।’
कांग्रेसका २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग भएको थियो। कांग्रेसको १४ औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। तर, संस्थापन पक्षले भने वैशाखमा नियमित महाधिवेशनको मिति तोक्दै विशेष महाधिवेशन रोक्ने प्रयत्न गरिरहेको छ।
उद्घाटन अघि र्याली
विशेष पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने तयारी गरेको छ। आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी छ। ललितपुरको कुपन्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायत स्थानबाट जुलुससहित भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ।
संस्थापन पक्षले भन्यो, ‘संयमता अपनाऔं’
कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउन संयमता अपनाउन पार्टी पंक्तिसमक्ष आह्वान गरेको छ। शुक्रबार बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको भन्दै एकतालाई बचाउनका लागि संयमता अपनाउन आह्वान गर्ने निर्णय गरेको हो।
पार्टीमा देखिएको दुई धारले पार्टी कमजोर हुने र कमजोर कांग्रेस, विभाजित कांग्रेसले लोकतन्त्र र राष्ट्रियता धान्न नसक्ने भएकाले सचेत रहनका लागि देशभरिका नेता तथा कार्यकर्तालाई आग्रह गरिएको नेता गुरु बरालले बताए।
उनले इतिहासको मोडमा कांग्रेस अत्यन्त पेचिलो ठाउँमा प्रवेश गरेको र पार्टीभित्र विभाजन गर्न चाहने, पार्टी कमजोर गराउन चाहने तŒवहरू पनि त्यति नै सक्रिय भएको बताए।
बरालले मुठभेड नभइ एकताका लागि बल पुगोस् भनेर नेता कार्यकर्ताको भेला आयोजना गरिएको उल्लेख गरे। केन्द्रीय सभापति र केन्द्रीय नेतृत्व फेरेर मात्र सबै समस्याको समाधान नहुने भन्दै उनले तल्लो तहदेखि नेता–कार्यकर्तालाई पार्टीमा जोडेर ल्याउनुपर्ने बताए। कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनै पनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताए। ‘फागुन २१ गतेको निर्वाचन अगाडि पार्टीभित्र केही समस्याहरू हामीले देखेका छौं,’ उनले भने,‘ अब विषेश महाधिवेशनको आह्वान पनि भएको छ। पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ। कुनै पनि कांग्रेसका नेता कार्यकर्ताले पनि कांग्रेस फुटोस् भन्ने चाहेका छैनन्। तर, चुनावअगाडि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था छ।’
मधेसका ८ जिल्ला सहभागी नहुने
कांग्रेसको मधेस प्रदेशअन्तर्गतका आठ जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन्। संयुक्तरूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टी विधानअनुसार ‘महाधिवेशन वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !