मानव तस्करको डरलाग्दो सञ्जाल : डिपोर्ट हुने बोल्नै मान्दैनन्, तस्कर पक्राउ नै पर्दैनन्

मानव तस्करको डरलाग्दो सञ्जाल : डिपोर्ट हुने बोल्नै मान्दैनन्, तस्कर पक्राउ नै पर्दैनन्

काठमाडौं : अमेरिकाबाट डिपोर्ट (निष्कासन) गरिएका ७५ जना नेपाली पुस ३ गते काठमाडौं आइपुगे। अमेरिकाले ओम्नी एयरको विमान चार्टरबाट उनीहरूलाई काठमाडौं पठाएको थियो। गैरकानुनी रूपमा बसोबास गरेको भन्दै उनीहरू निष्कासन (डिपोर्ट) मा परेका थिए। जसमा ३ जना महिला र ७२ पुरुष थिए। काठमाडौं उत्रेपछि उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले सोधपुछ गरेको थियो।

डिपोर्ट भएर आएका अधिकांश गैरकानुनी  रूपमा तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए। उता पुग्नासाथ पक्राउ परेका उनीहरूले ब्युरोलाई जानकारी त दिए। तर, गैरकानुनी बाटोबाट अमेरिका पुर्‍याउने ‘एजेन्ट र समूह’ बारे ब्युरोले सोध्दा भने कसैले पनि मुख खोलेनन्। एजेन्टविरुद्ध ब्युरोमा उजुरी दिनै मानेनन्। 

७५ जनाको समूहमा फर्किएका थिए, संखुवासभाका एक युवा पनि। अमेरिकी पीआरको लोभमा फस्दा उनले करिब ७० लाख खर्च गरेका थिए। तर, अमेरिका पुग्नासाथ पक्राउ परेको बयान ब्युरोलाई दिए। त्यसपछि उनलाई अमेरिकी अदालतले डिपोर्ट गर्ने फैसला गरेको थियो। तैपनि, उनी आफू फर्किएको विषयमा कसैलाई केही बताउन चाहन्नन्। घर संखुवासभा पनि फर्कन चाहन्नन्। काठमाडौंमा नै टिक्नका लागि उनले कामको खोजी गरिरहेको बताए। मोटो रकम लिएर आफूलाई अमेरिका पुर्‍याउने एजेन्ट सञ्जालबारे प्रहरीमा उजुरी दिने र हल्लाखल्ला गर्ने पक्षमा उनी देखिएनन्।

ooo
मंसिर १० गते अमेरिकाबाट निष्कासन भएका ५ जना काठमाडौं ओर्लिए। दाङका ओली र खड्का थरका युवा, प्युठानका बुढाथोकी थरका व्यक्ति, रुकुम र रुकुम पूर्वका शाही र खड्का थरका व्यक्तिलाई अमेरिकी सरकारले डिपोर्ट गरेको थियो। उनीहरू ५ जना नै तल्लो बाटो हुँदै अमेरिका पुगेका हुन्।

दलाललाई ६० लाखदेखि एक करोडसम्म बुझाएर अमेरिका पुगेका उनीहरू पनि प्रहरीलाई उजुरी दिन तयार भएनन्। नेपाल प्रहरीको लागुऔषध ब्युरोका प्रमुख कृष्ण पंगेनीका अनुसार, ब्युरोका प्रहरीले सम्झाइबुझाइ गर्दा पनि उनीहरू चुइँक्क बोल्न मानेनन्। 
 
ooo
गत जेठ २५ मा अमेरिकाबाट डिपोर्ट भएका ३७ जना काठमाडौं आइपुगे। उनीहरूलाई अध्यागमनले सामान्य सोधपुछ गर्‍यो। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पनि केरकार गर्‍यो। तर, कसैले पनि अमेरिका पठाउने व्यक्तिको नाम भन्न मानेनन्। अर्थात् त्यसबारे बोल्नै चाहेनन्। जाहेरी दिन पनि आनाकानी गरे। सामान्य सोधपुछपछि उनीहरूलाई आफन्त तथा परिवारको जिम्मा लगाइयो। उक्त टोलीमा थिए रुकुमका एक युवा पनि। उनी अमेरिका जान भन्दै २०८० को कात्तिकमा नेपालबाट हिँडेका थिए। अमेरिका हिँडेको डेढ वर्षमा १३ देश पुगेर पनामा जंगलबाट अमेरिका छिर्ने क्रममा पक्राउ परेका थिए। अमेरिकी प्रहरीको हिरासतमा ५६ दिन बसेपछि उनलाई नेपाल फर्काइएको थियो। ६५ लाखमा अमेरिका पुर्‍याइदिने र जान नसकेको खण्डमा पैसा फिर्ता दिने सर्तमा नेपालबाट दलालले नयाँदिल्ली पुर्‍याइएको थियो। करिब ७० लाख खर्च गरिसकेपछि अमेरिका पस्नै लाग्दा समातिएका थिए। उनलाई काठमाडौंबाट नयाँदिल्ली हुँदै त्यहाँबाट श्रीलंका लगिएको थियो। श्रीलंकाबाट दुबई लगिएको थियो।

त्यहाँ केही समय राखिएको थियो। दुबईबाट उज्वेकिस्तान र त्यहाँबाट साउथ अफ्रिका पुर्‍याइएको थियो। साउथ अफ्रिकाबाट खाडी मुलुक कतार र युरोपियन मुलुक स्पेन पुर्‍याइएको थियो। स्पेनबाट दक्षिण अमेरिकी मुलुक ब्राजिल लगियो। ब्राजिलबाट अमेरिका छिराउन नसकेपछि उनलाई मानव तस्करको समूहले बोलिभिया पुर्‍याएका थिए। बोलिभियाबाट पेरु, इक्वेडर, कोलम्बिया हुँदै पानामा लगियो। तल्लो बाटोको रुट परिवर्तन भएको भन्दै तस्करको समूहले ६५ लाख र थप ४ लाख मागेका थिए। ६९ लाख बुझाएर उनी पनामा जंगलमा पुगेका थिए। तर, पनामा जंगलबाट अमेरिका छिर्दै गर्दा पक्राउ परेको प्रहरीको मानव बेचबिखन ब्युरोले जनाएको छ।

ooo
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा ०८० असोजमा एक महिलाले निवेदन दर्ता गरिन्। अमेरिका जाने चक्करमा करिब ६० लाख खर्च गरेर फिलिपिन्स र थाइल्यान्ड पुर्‍याएर बन्धक बनाएको भन्दै उनले उजुरी दर्ता गरेकी थिइन्। विभिन्न देश लगेर बन्धक बनाएको भन्दै उनले रुकुमपूर्व सिस्नेका हस्त गौतम र ज्ञानेन्द्र गौतमविरुद्ध उजुरी दर्ता गरेकी थिइन्।

मानव बेचबिखन ब्युरोका प्रवक्ता विश्वराज खड्काका अनुसार जाहेरीवाला महिलाका श्रीमान् ११ वर्षअघि जापान गएर बेपत्ता बनेका थिए। नाबालक छोरी हुर्काउँदै काठमाडौंमा बसेकी उनलाई गौतमको समूहले कानुनीतवरले नै अमेरिका पुर्‍याइदिने आश्वासन दिएको थियो। उनले पटकपटक विभिन्न व्यक्तिको नाममा ६० लाख बढी रकम बुझाएकी थिइन्। उनलाई फिलिपिन्स पुर्‍याएर केही महिना बन्धक बनाएर पुनः थाइल्यान्ड पुर्‍याएर घरेलु श्रमिकका रूपमा काममा लगाइएको थियो। दलालले फसाएको थाहा पाएपछि उनी आफैँले जहाजको टिकट काटेर स्वदेश फर्किएकी थिइन्। 
 
०००

नेपाली युवाहरूलाई अमेरिका पुर्‍याइदिन्छु भनेर प्रलोभन दिने र विभिन्न देश पुर्‍याएर बन्धक बनाउने कसुरमा रुकुमपूर्व सिस्नेका ५३ वर्षीय हस्त गौतम गत वर्ष पक्राउ परेका थिए। मानव बेचबिखन ब्युरोको टोलीले उनलाई मानव बेचबिखन तथा तस्करीको कसुरमा मुद्दा दर्ता गरेको थियो। केन्द्रीय कारागार सुन्धारामा रहेका उनी जेन–जी आन्दोलनका क्रममा हिरासतबाट भागे। प्रहरीले उनको खोजी भइरहेको बताएको छ। ह्विलचियर प्रयोगकर्ता हस्त गौतम के कसरी कारागारबाट भागे ? कसरी फरार बने ? भन्नेमा प्रहरी नै अचम्ममा परेको छ। प्रहरीका एक अधिकृत भन्छन्, मानव बेचबिखन र तस्करीको नाममा उनी ‘चर्चित तस्कर’ हुन्। अमेरिका जाने सपना देख्ने युवाहरूलाई ठग्न उनी पेसेबर मानिन्छन्।

निरीह प्रहरी 
डिपोर्ट भएकाहरूबारे प्रहरीले आन्तरिक रूपमा छानबिन त गर्छ, तर उजुरी नपर्दा निरीह जस्तै बन्ने गरेको छ। कतिपय व्यक्तिको विषयमा थाहा पाएरै पनि कारबाही गर्न सक्ने अवस्था नहुने प्रहरीका उच्च अधिकारी बताउँछन्। यस्ता गिरोहमा चर्चित नेतादेखि जनप्रतिनिधि र राजनैतिक दलका कार्यकर्तासमेत संलग्न हुने गरेका छन्।

उनीहरूविरुद्ध उजुरी नआउँदासम्म प्रहरीले कानुनी कारबाही अगाडि बढाउन अड्चन भोगिरहेको हुन्छ। मानव बेचबिखन नियन्त्रण ब्युरोका एक प्रहरी अधिकृत भन्छन्, ‘करौडांै ठगेर पनि नेपालमै बसिरहेका छन्। कम्तीमा पनि ५७ लाखदेखि करौडौं खर्चिएर अमेरिका जानेहरू अहिले धमाधम फर्किरहेका छन्। उनीहरूको समस्या समाधानका लागि चाहेर पनि केही गर्न सक्ने 
अवस्था छैन।’

के भन्छ अध्यागमन विभाग ? 
पुस ३ गते डिपोर्ट भएका ७५ मध्ये ३ जना महिला पनि थिए। उनीहरूमध्ये एक जना त ३० वर्षदेखि अमेरिका बस्दै आएका पुरुषसमेत छन्। निष्कासन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले वासिंटन डीसीस्थित नेपाली दूतावासलाई केही दिनअघि नै उनीहरूबारे पत्राचार गरेको थियो। गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको थियो। नेपालस्थित अमेरिकी दूतावासले सरकारलाई पठाएको पत्रमा भनिएको छ, ‘डिपोर्ट भएर नेपाल आउनेहरूलाई त्यहाँको अदालतको आदेशपछि मात्रै फर्काइएको हो।’

पछिल्लोपटक ११० जना नेपालीलाई डिपोर्ट गर्ने सूचना बाहिरिएको थियो। अवैध बाटो हुँदै अमेरिका पुगेकाहरू केही त पुग्नासाथ पक्राउ परेका थिए। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार फर्काइएका ७५ जना अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेका व्यक्तिहरू भएको बताइएको छ। डिपोर्ट हुनेहरूमध्ये धेरैजसो तल्लो बाटो हुँदै अमेरिका पुगेकाहरू छन्। अमेरिकाबाट निष्कासित हुनेमध्ये ९० प्रतिशत अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। अन्य व्यक्तिमा डिभी परेर जाने तथा अमेरिकी कानुन उल्लंघन गरेर कारबाहीमा परेका व्यक्तिसमेत छन्।

अमेरिकाबाट डिपोर्ट हुनेको संख्या
प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष ७५ ÷७६ पछि अमेरिकाबाट डिपोर्ट हुनेमा ६६७ जना रहेका छन्। जसमा ६३२ जना पुरुष र ३५ जना महिला छन्। सन् २०२५ को जनवरीमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि आप्रवासीप्रति कडाइ नीति लागू गरिएको थियो। ११ महिनामा मात्रै ४४० जना नेपालीलाई निष्कासन गरिएको छ। जसमा ३० जना महिला पनि रहेका छन्। निष्कासनमा पर्नेमा सबैजना गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका मात्रै छैनन्।

भिजिट भिसामा गएका, डिभी परेर गएका, त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेका पनि समावेश छन्। कतिपय त विद्यार्थी भिसामा अमेरिका गएका पनि डिपोर्ट भएका छन्। स–साना कारणहरूमा पनि पछिल्लो समय अमेरिकी सरकारले धरपकड गर्दै डिपोर्ट गरिरहेको पीडितहरू बताउँछन्। अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई फर्काउने क्रम जारी राखेको छ। केही नेपाली त अमेरिकी अध्यागमनको हिरासतमा रहेका छन्। ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाको आप्रवासनसम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवसनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ।

६६७ डिपोर्ट, उजुरी १० वटा मात्रै 
डिपोर्ट भएर फर्किएकाहरूमध्ये १० जनाले मात्रै प्रहरीमा उजुरी दिएका छन्। उजुरीमाथ प्रहरीले छानबिन र अनुसन्धान गरिरहेको जनाएको छ। कतिपय केसमा तस्करहरू पनि पक्राउ पनि परेका छन्। दलालबाट पीडितहरूको रकम फिर्ता गराउने र क्षतिपूर्ति दिलाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

उजुरी दिनेमा अमेरिका पुगेर फर्किएका भन्दा पनि बाटोबाटै फर्किएकाहरू धेरै छन्। तल्लोबाटो अमेरिका जाने बेलामा नै एजेन्टहरूको एउटै सर्त हुन्छ, उनीहरूलाई अमेरिका पुर्‍याउने मात्रै। यसैले पनि अमेरिका पुगिसकेका व्यक्तिहरूले उजुरी दिन नचाहने अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन्। 

जिल्लागत रूपमा डिपोर्ट भएकाको तथ्यांक
प्रहरीका अनुसार अमेरिकाबाट डिपोर्ट भएर आउनेहरूमा सबैभन्दा बढी दाङका छन्। प्रहरीले डिपोर्ट भएर आउनेमध्ये मुख्य १० जिल्लाका व्यक्तिहरू तथ्यांक राखेको छ। ०७५ देखि यता अमेरिकाबाट दाङका १८७ जना डिपोर्ट भएर फर्किएका छन्। यस्तै, रुकुम पश्चिमका १३० जना, रुकुमपूर्वका ५९ जना, पर्वतका ३० जना, सल्यानका २८ जना, बागलुङका २४ जना, म्यादीका २२, काठमाडौंका २१, सिन्धुपाल्चोक १७ र रोल्पाका १५ जना छन्। अरू जिल्लाबाट गएका पनि डिपोर्ट भएका देखिन्छन्। 

१३ जना तस्कर पक्राउ, १४ फरार, १८ जना पीडितले बाटोमै ज्यान गुमाए
पछिल्लो ७ वर्षमा अमेरिका लैजाने भन्दै ठगी गर्ने र तल्लो बाटो हुँदै अमेरिका पुर्‍याउन सक्रिय गिरोहका १३ जनामात्रै पक्राउ परेका छन्। १४ जना आरोपी भने फरार छन्। उसो त पीडितहरूले उजुरी नै दिन नमानेका कारण तस्कहरू कमै मात्र पक्राउ पर्ने गरेका छन्। प्रायजसो दाङ, रुकुम, रुकुमपूर्व, सल्यान प्युठानका युवाहरू तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेको प्रहरीको भनाइ छ। 

अमेरिकी सपनामा दुःख पाउने र फर्कनेहरूको कथा मात्रै समेटिन्न। पानामा जंगलमा एक्लेै मृत्युवरण गरेका युवाहरू हुन् या समुद्रमा डुंगा पल्टिएर हराएका नेपालीहरू हुन् उनीहरूको पत्तोसमेत लाग्दैन। प्रहरीका अनुसार १८ जना व्यक्तिहरू अमेरिका जाने सपनामा बाटोमै बिलाएका छन्। हराउनेको संख्या पनि दर्जनौं हुन सक्ने प्रहरी अनुमान छ। 

११ महिनामा मात्रै २६९३ डिपोर्ट 
सन् २०२५ को जनवरीदेखि डिसेम्बर १७ सम्म विभिन्न देशबाट २ हजार ६ सय ९३ जना नेपाली डिपोर्ट भएर फर्किएका छन्। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार विभिन्न देशमा गएर त्यहाँको कानुन उल्लंघन गरेको, नक्कली कागजात पेस गरेर उक्त देश गएको तथा विभिन्न अपराधका घटनामा संलग्न भएको आरोपमा नेपाली डिपोर्ट हुने गरेका छन्। 

किन जाहेरी दिँदैनन् पीडित ? 

सपनाको देश हो अमेरिका। राम्रो कमाइ र सुरक्षित भविष्यका लागि अमेरिका जाने अधिकांशको सपना हुन्छ। सहजै प्रवेश नपाइने भएपछि ‘मानव तस्कर’ लाई मोटो रकम तिरेर तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्नेको संख्या धेरै छ । दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि आप्रवासीविरुद्ध कडा कदम चाले। त्यसैकारण, गैरकानुनी बसोबास गरेका र तल्लो बाटोबाट अमेरिका छिर्न खोज्नेहरू भटाभट पक्राउ पर्न थालेका छन्। त्यसरी पक्राउ परेकालाई अमेरिकाले सीधै निष्कासन (डिपोर्ट) गरिरहेको छ। 

तर, अचम्मको कुरा के छ भने दलाललाई मोटो रकम बुझाएर गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्नेहरू दलालबारे चुइँक्क पनि बोल्दैनन्। त्यसैकारण प्रहरीले दलालहरूलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताइरहेको छ। मानव बेचबिखन तथा ओसार–पसारको कसुरमा पीडितको जाहेरीबिना अनुसन्धान प्रक्रिया नै अघि नबढ्ने भएकाले अनुसन्धानमै समस्या भइरहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अनुसन्धान अगाडि बढाउनका लागि पनि पीडितले जाहेरी दर्ता गर्नैपर्छ। आपूmले पाएको दुःख, हन्डर र समस्याबारे प्रहरीलाई जानकारी नदिँदासम्म कुनै पनि कानुनी उपचार गर्न सकिँदैन। मानव तस्करको समूहले पुनः अर्को देश पठाउने प्रलोभन देखाउने र नसके पैसा फिर्ता दिने बचन दिने गरेकाले पीडितले जाहेरी दिनै नमान्ने प्रहरीको अनुमान छ। 

अध्यागमन विभागका प्रमुख रामचन्द्र तिवारी गैरकानुनी रूपमा अमेरिका गएका र जाने प्रक्रियामा बाटोमा अल्झिएकाहरूको विषयमा सरकारले केही गर्न सक्ने अवस्था नरहेको बताउँछन्। ‘कसैले जानाजान गलत काम गर्छ भने त्यसको नतिजा भोग्ने पनि उनीहरू आफैं हुन्,’ तिवारी भन्छन्। विदेशबाट डिपोर्ट भएर आउनेको विषयमा भने सम्बन्धित देशको दूतावासले नेपाल सरकारलाई अग्रिम जानकारी दिने गरेको तिवारी बताउँछन्। ‘त्यही सूचनाका आधारमा फर्किएर आउनेहरूको विषयमा प्रहरीले छानबिन त गर्छ तर उजुरी नगरेपछि अनुसन्धान अगाडि बढ्न सक्दैन,’ उनले भने।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले गैरकानुनी रूपमा प्रवेश गर्नु गलत हो र त्यसका लागि दलाललाई पैसा दिनु राम्रो होइन भनेर सम्बन्धित व्यक्ति नै सचेत हुनुपर्ने बताउँछन्। ‘अलपत्र परे आपूmलाई प्रलोभन दिने र ठगी गर्ने व्यक्ति तथा गिरोहका बारेमा उहाँहरूले प्रहरीलाई जानकारी दिनुपर्‍यो,’ काफ्लेले भने। 

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रमुख कृष्ण पंगेनीका तल्लो बाटो हुँदै सर्वसाधारलाई अमेरिका पठाउनेमा प्रायः छरछिमेकी, आफन्त तथा पहिल्यै अमेरिका पुगेका व्यक्तिहरू हुने भएकाले पनि पीडितहरू उजुरी दिन नचाहने बताउँछन्। ‘डिपोर्ट भएकाहरूलाई फेरि अर्को देश पठाइदिने वा पैसा फिर्ता गर्ने तथा अन्य प्रलोभन दिएर उजुरी दिन गिरोहले रोकेका हुन्छन्,’ उनले भने, ‘त्यसैकारण फर्कनेहरू प्रहरीको सम्र्पकमा जानै चाहन्नन्। बोल्नै चाहन्नन्। उनीहरू गाउँमै गएर पठाउने समूहमाथि दबाब दिने गर्छन्।’

ब्युरो प्रमुख पंगेनी अमेरिका पठाउने एजेन्टले अमेरिका पुर्‍याउने मात्रै जिम्मा लिने गरेको बताउँछन्। ‘त्यहाँ पुगेपछि पक्राउ पर्ने, काम नपाउने, दुःख पाउने जस्ता त व्यक्तिको भाग्यको कुरा हो भन्दै तस्कहरू तर्किने गर्छन्,’ पंगेनी भन्छन्, ‘सुरुवातमै अमेरिका पुर्‍याउने डिल भएको हुन्छ। यसैले पनि बोल्नै चाहन्नन् डिपोर्ट भएकाहरू। यस्ता गिरोह अन्तर्राष्ट्रियस्तरमै जोडिएका हुन्छन् । एक जनाको सहयोगले मात्रै अमेरिका पुग्न सम्भव छैन। सांगठनिक रूपमा लागेका हुन्छन्। करोडौं खर्च गरेर अमेरिका पुगेकाहरू पनि फर्किएका छन्। उनीहरू फर्कंदा फर्कनुको पीडा त छँदैछ, उत्तिकै तनाव हुन्छ, जाँदा लागेको ऋण तिर्न कठिन हुन्छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.