नेपालीको बचत गर्ने उमेर २७ देखि ४६ वर्ष
काठमाडौं : मुलुकमा २७ देखि ४६ वर्षको उमेर समूहले खर्च गरेर बचत गर्ने गरेको छ। २७ देखि ४६ वर्ष उमेर समूहमा आम्दानी (आय) उपभोग (खर्च) भन्दा बढी रहेको र जीवनचक्र बचत (लाइफस्टाइल सरप्लस) देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेसनल ट्रान्सफर एकाउन्ट ०७८/७९ प्रतिवेदनले २७ देखि ४६ वर्ष उमेर समूहको बचतले नै अन्य उमेर समूहको खर्चलाई पनि धान्ने गरेको देखाएको छ। प्रतिवेदनले समग्रमा आम्दानीभन्दा खर्च बढी देखाउँदै करिब १,५२७ अर्ब रुपैयाँबराबरको जीवनचक्र अभाव (लाइफस्टाइल डेफिसिट) औंल्याएको छ। बालबालिका, युवा तथा वृद्ध उमेर समूहमा आयभन्दा खर्च बढी रहेकोले जीवनचक्र अभाव देखिएको हो।
सबैभन्दा बढी प्रतिव्यक्ति जीवनचक्र अभाव वृद्ध उमेर समूहमा देखिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसंख्याको करिब ६५ प्रतिशत हिस्सा काम गर्न योग्य उमेर समूह (१५–६४ वर्ष) मा रहेको छ, जसले नेपाललाई जनसांख्यिक अवसरको अवस्थामा राखेको छ। यद्यपि, नेसनल ट्रान्सफर एकाउन्टको विश्लेषणअनुसार आम्दानी र खर्चबीच उल्लेखनीय अन्तर देखिन्छ। हरेक उमेर समूहले शिक्षा र स्वास्थ्यसँगै अरू क्षेत्रमा कति खर्च गर्यो भन्ने आधारलाई लिएर तथ्यांक विश्लेषण गरिएको छ। यो तथ्यांकले सरकारले गरेको खर्च पनि जोडेको छ। कार्यालयले युनाइटेड नेसन पपुलेसन फन्ड (यूएनएफपीए) को प्राविधिक सहयोगमा ६ महिना लगाएर यो तथ्यांक संकलन गरेको बताइएको छ।
नेपालमा पहिलोपटक जनसंख्यायिकी र एकाउन्टिङ (आय,बचत, खर्च) लाई जोडेर तथ्यांक प्रस्तुत गरिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताए। ‘नेपालमा पहिलोपटक हरेक उमेर समूहका मानिसले कति खर्च गर्छन् र कति कमाउँछन् अनि बचत गर्छन् भन्ने तथ्यांक सार्वजनिक गरेको छ। यो तथ्यांकले सरकारले कुन उमेर समूहमा लगानी गर्नुपर्छ भन्ने देखाउन मदत गर्छ,’ उनले अन्नपूर्णसँग भने।
सरकारी तथ्यांकअनुसार अहिले पनि कुल जनसंख्याको करिब ६५ प्रतिशत जनशक्ति युवा समूहमा पर्छ। नेपाल जनसंख्यायिकीको हिसाबले सबल रहेको सम्बन्धमा राष्ट्रिय आम्दानी तथा खर्चमा उनीहरूको प्रयोग भयो कि भएन भनेर स्पष्ट खाका दिने काम यस तथ्यांकले गरेको छ। ‘अरू समूहले कमाइभन्दा बढी खर्च गरेको छ। २७–४६ वर्षको उमेर समूहकोे बचतले आर्थिक रूपमा निर्भर रहने २६ वर्षभन्दा तलका र ४६ वर्षभन्दा माथिकाको खर्चलाई पनि पुर्याएको छ, ’ लामिछाने बताउँछन्।
समीक्षा वर्षमा प्रतिव्यक्ति कुल श्रम आम्दानी लगभग ८७ हजार ८१४ रुपैयाँ रहेको छ। कुल श्रम आम्दानीको लगभग ६९ प्रतिशत हिस्सा तलब तथा ज्यालाको छ भने लगभग ३१ प्रतिशत हिस्सा स्वरोजगारबाट प्राप्त आम्दानीको रहेको छ। उमेर समूहअनुसार हेर्दा २५ देखि ६४ वर्ष उमेर समूहको तलब तथा ज्यालाबाट प्राप्त आम्दानीको हिस्सा (७१ प्रतिशत) सबैभन्दा ठूलो रहेको छ भने ६५ वर्ष र माथिका वृद्ध उमेर समूहमा यो हिस्सा सबैभन्दा कम (३५ प्रतिशत) रहेको छ। समग्रमा उपभोग र श्रम आम्दानीबीच तुलनात्मक रूपमा ठूलो अन्तर देखिन्छ। देशको कुल उपभोगभन्दा कुल श्रम आम्दानी कम भएकाले ठूलो जीवनचक्र घाटा रहेको तथ्यांकले देखाउँछ। नेपाल श्रमशक्ति सर्वेक्षण २०१७/१८ ले नेपालको बेरोजगारी दर ११.४ प्रतिशत देखाउनुले नेपालमा बेरोजगारीका कारण उपभोग र श्रम आयबीच ठूलो खाडल स्थापित भएको छ भन्ने आधार स्पष्ट हुन्छ।
नेपालमा १५ देखि ६४ वर्षका काम गर्न सक्ने उमेर समूह कुल जनसंख्याको ६५ प्रतिशत रहेको छ, जसले आर्थिक वृद्धिका लागि प्रशस्त सम्भावना देखाउँछ। तर, यसको प्रभावकारी उपयोगका लागि रणनीतिक नीति हस्तक्षेप हुन सकेको छैन। श्रम बजारमा श्रम सहभागिता दर ३८.५ प्रतिशत मात्र छ भने युवा बेरोजगारी १२.७ प्रतिशत रहेको छ। बेरोजगारीको यो अवस्थाले नेपालमा सीप विकास र रोजगारी सिर्जना कार्यक्रमको अविलम्ब अभिवृद्धि गर्नुपर्ने आवश्यकता दर्शाउँछ।
शिक्षा क्षेत्रमा सार्वजनिक लगानी कम भएकाले शैक्षिक पहुँचमा असमानता कायम रहेको छ। वृद्ध जनसंख्याको बढ्दो हिस्साले दीर्घकालीन समयमा पेन्सन र स्वास्थ्य नीतिमा चुनौती बढ्दै जाने देखिन्छ। साथै, अबको २३ वर्षपछि श्रमशक्ति क्रमशः घट्दै जाने भएकाले निवृत्त जीवनको सुरक्षा, स्वास्थ्य खर्च व्यवस्थापन र वृद्धका लागि सामाजिक सुरक्षाका थप नीति तथा कार्यक्रम आवश्यक देखिन्छ।
प्रतिक्रिया दिनुहोस !