ललितपुरको माझखण्डस्थित बुद्ध विहार सम्भावनाको केन्द्र हो। जसले शान्त वातावरण, सांस्कृतिक सौन्दर्य र बौद्ध दर्शनको मौलिकता बोकेको छ।
लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गरिएपछि नेपाल बौद्ध धर्मावलम्बीको प्रमुख गन्तव्यको रूपमा स्थापित छ। धार्मिक पर्यटन क्षेत्रभित्र ललितपुरको माझखण्डमा रहेको बुद्ध विहार आकर्षणको रूपमा छ।
माझखण्डमा साढे दुई दशकअघि स्थापित बौद्ध विहार बुद्ध धर्म मान्ने भक्तजनका लागि भने सुपरिचित गन्तव्य हो। तर पर्याप्त जानकारी नहुँदा कतिपय भक्तजन यहाँ पुग्न सकिरहेका छैनन्। दक्षिण ललितपुरमा तामाङ समुदाय बाहुल्य बसोबास छ।
थेरावादी सम्प्रदायले विहारमार्फत बौद्ध धर्मप्रति आस्था प्रकट गर्छन् भने तामाङले गुम्बामार्फत आस्था प्रकट गर्छन्। ललितपुर उपत्यका कला, संस्कृति र बौद्ध सम्पदाको प्राकृतिक संग्रहालय जस्तै छ। यहाँका विहार, चैत्य, स्तूप र परम्परागत समुदायले बौद्ध धर्मको गहिरो इतिहास बोकेका छन्। यही सांस्कृतिक पहिचानबीचमा अवस्थित माझखण्डको बुद्ध विहार धार्मिक, सांस्कृतिक र अध्ययनपरक पर्यटनका लागि आकर्षणको स्थल बनेको छ।
काठमाडौं उपत्यकाको मूल भीडभाडबाट केही पर, तर सहजै पुग्न सकिने माझखण्डमा रहेको यो धार्मिक क्षेत्र शान्त ध्यानस्थल र सांस्कृतिक अवलोकनको उपयुक्त गन्तव्य बन्दैछ। माझखण्ड पुग्न सातदोबाटोबाट कान्ति लोकपथ हुँदै छपेली पुगेपछि लोकपथ छाडेर सहायक सडकको यात्रा गर्नुपर्छ। सातदोबाटोबाट २६ किमिको दूरीमा छपेली पर्छ। छपेलीबाट माझखण्ड १२ किमिको दूरीमा छ।
छपेलीबाट माझखण्डसम्म २.८ किमिको स्टेसन टु स्टेसन प्रविधिको केवलकार र माझखण्डमा पर्यटनका विविध प्याकेजसहितको पूर्वाधार विकासमा डेस्टिनेसन माझखण्ड कम्पनीका साथमा स्थानीय समुदाय जुटेको छ। अत्याधुनिक स्विस प्रविधिको ३ हजार ६ सय केजी बोक्ने क्षमता भएको केबलकारले यहाँको यात्रा मात्र चार मिनेटमा पूरा गर्ने कम्पनीले दाबी गरेको छ। दक्षिण एसियामै पहिलो हुने यो प्रविधिको केवलकार स्विट्जरल्यान्डमा निकै लोकप्रिय मानिन्छ।
माझखण्डको बुद्ध विहारले स्थानीय समुदायको विश्वास, परम्परा र बौद्ध संस्कृतिको निरन्तरता सुरक्षित राख्दै आएको विहार स्थापनामा खटिएका स्थानीय एवं विहारका संस्थापक अध्यक्ष चन्द्रबहादुर स्याङतान बताउँछन्। यहाँको एकमात्र बुद्ध विहार र बुद्ध मूर्ति कलात्मक तथा धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिएको छ। स्थानीय नेवार समुदायको बौद्ध परम्परा, पूजा–पाठ, पात्रोअनुसार हुने पर्व तथा साँझबिहानको दीप प्रज्ज्वलनजस्ता गतिविधिले यहाँको आध्यात्मिकता झनै गहिरो बनेको छ। बुद्धविहार स्थानीय समाजको सांस्कृतिक केन्द्रमात्र होइन, बौद्ध दर्शन सिक्ने र अध्ययन गर्ने स्थलका रूपमा विकसित भइरहेको छ। यहाँ वार्षिक रूपमा गरिने वर्षाबास र कठिन चीवर दानले बौद्धमार्गीलाई आकर्षित गर्छ।
दकिला स्याङ्तान परियति शिक्षाबाट प्रव्रजित भइन्। त्यो भनेको गृहस्थी जीवन त्यागेर बुद्ध मार्गमा सन्न्यासी हुनु हो। अर्थात्, विहारमै बसोबास गर्नेगरी केश मुण्डन गरी घरपरिवार त्यागेर बुद्ध धर्ममा तल्लीन हुनु हो। यसरी प्रव्रजित भइसकेपछि गृहस्थी नामबाट उनी अनागरिका अरियञाणी गुरुमा बनिन्।
ध्यानका लागि शान्त, निर्मल र आत्मिक ऊर्जा भरिएको वातावरण अत्यावश्यक मानिन्छ। विश्वभरका बौद्ध अनुयायी, आध्यात्मिक साधक तथा मनोवैज्ञानिक सन्तुलन खोज्ने व्यक्तिहरू नेपालजस्ता शान्त मुलुकमा आउने प्रमुख कारण पनि यही हो। यस सन्दर्भमा माझखण्डको प्राकृतिक सुन्दरता, हरियाली, ताजा हावा र प्रदूषणरहित वातावरण आफैंमा एक विशिष्ट आकर्षण बनेको छ। यहाँ रहेको बौद्ध विहार तथा ध्यानस्थलले केवल धार्मिक दृष्टिले मात्र होइन, अध्ययन, अनुसन्धान तथा आध्यात्मिक साधनाका लागि पनि उपयुक्त माहोल सिर्जना गर्छ। बौद्ध दर्शन बुझ्ने, जीवनका यथार्थ पक्षहरूमा ध्यान दिने र आत्मचिन्तनमा डुब्नेहरूका लागि यो क्षेत्र क्रमशः महत्त्वपूर्ण आश्रयस्थल बन्दैछ।
उच्च पदस्थ गुरुहरूको मार्गदर्शनमा चलाइने ध्यान, विपश्यना, प्राणायाम तथा योग सत्रहरू सञ्चालन गर्न सक्दा साधकलाई मानसिक शान्ति, आत्मचेतना र शरीर–मनको सन्तुलन गर्न सहयोग पुग्ने देखिन्छ। यीमध्ये ध्यान र अध्ययनसम्बन्धी कार्यक्रम माझखण्डमा नियमित हुन्छ। बौद्ध सिद्धान्त, जीवनशैली, नैतिक मूल्य, ध्यान पद्धति र ऐतिहासिक पृष्ठभूमिसम्बन्धी कक्षाले विद्यार्थी, अनुसन्धानकर्ता तथा अनुयायीलाई गहिरो अध्ययनको अवसर पनि दिइरहेको छ।
स्थानीय बस्ती, परम्परागत शैली, वास्तुकला, स्थानीय संस्कार–रीतिरिवाज, भोजन र दैनिक जीवनशैलीको अवलोकनले पर्यटकलाई समाजको वास्तविक रूप बुझ्न मद्दत गर्छ। यहाँ बुद्धजयन्ती, लोसार, धर्मचक्र प्रवर्तन, विभिन्न पूजा र सांस्कृतिक अनुष्ठानको अवलोकनले आध्यात्मिक पर्यटनमा नयाँ आयाम थप्छ। स्थानीयसँग बसोबास, होमस्टे, किसान जीवन, पारिवारिक संस्कार र सामुदायिक सहभागिताले पर्यटकलाई आत्मीयता र नजिकको मानवीय अनुभव दिन्छ।
स्थानीय समुदायका अनुसार, यहाँ संरचित कार्यक्रम विकास गर्ने, प्रशिक्षित गाइड उपलब्ध गराउने, होमस्टेहरूको स्तर सुधार गर्ने तथा सूचना प्रणाली व्यवस्थित बनाउनेजस्ता कामबारे चर्चा सुरु हुन थालेको छ। जसले नियमित ध्यान, अध्ययन र आध्यात्मिक साधनाको प्रमुख गन्तव्य बन्न सक्छ। धर्मगुरु तथा गुरुआमाहरूको अनुभवअनुसार, यहाँ गरिने ध्यान अन्य धेरै स्थानभन्दा गहिरो, सार्थक र ऊर्जामय हुन्छ। प्राकृतिक मौनता र सकारात्मक आध्यात्मिक कम्पनले ध्यान गर्नेहरूलाई आन्तरिक शान्ति र स्पष्टता प्रदान गर्छ भन्ने विश्वास छ।
अन्ततः यदि धार्मिक–आध्यात्मिक पर्यटनलाई नेतृत्वदायी रूपमा व्यवस्थित गरियो भने माझखण्ड नेपालका प्रमुख बौद्ध–पर्यटन गन्तव्यमध्ये एक स्थापित केन्द्र बन्न सक्ने सम्भावना बलियो छ। नेपालमा बौद्ध धार्मिक पर्यटनलाई थप व्यवस्थित बनाउन विभिन्न बौद्धस्थललाई एकीकृत बुद्धिस्ट सर्किटको रूपमा जोड्ने अवधारणा अत्यन्त उपयोगी मानिन्छ। यही सर्किटभित्र लुम्बिनी–काठमाडौं–पाटन–माझखण्ड समेटिएमा पर्यटकले एकै यात्रामा विविधतासहितको ज्ञान हासिल गर्न सक्छन्। जस्तो कि, लुम्बिनी (बुद्ध जन्मस्थल), स्वयम्भू, बौद्धनाथ (काठमाडौं), हिरण्यवर्ण महाविहार, पाटन (ललितपुर), अक्षेश्वर महाविहार, पुल्चोक र माझखण्ड बुद्ध विहार (उदीयमान बौद्ध गन्तव्य)।
यसरी, माझखण्ड बौद्ध सर्किटको महत्त्वपूर्ण स्टप बन्ने सम्भावना छ। माझखण्ड बुद्ध विहारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तीर्थयात्रीको मुख्य केन्द्र बनाउने हो भने केही आधारभूत पूर्वाधार र व्यवस्थापन आवश्यक छ। जसबारे स्थानीय स्तरमा पर्याप्त सुझबुझका साथ काम थालनी भइसकेको छ। जस्तो कि, पहुँच मार्ग, संकेत बोर्ड व्यवस्थापन, पर्यटक सूचना केन्द्र, चोक–पाटी, विश्रामस्थल तथा पवित्रस्थलका संरक्षण कार्य, स्थानीय समुदायलाई समावेश गरी होमस्टे कार्यक्रम, बौद्ध पर्व तथा सांस्कृतिक समारोहको प्रचारप्रसार र ध्यान शिविर र अध्ययन केन्द्रको विस्तार। यी सुधारले यहाँ आउने धार्मिक यात्रुको अनुभव अझ समृद्ध हुन्छ र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुग्छ।
बुद्ध विहार सम्भावनाभित्रको महत्त्वपूर्ण केन्द्र हो। माझखण्डले शान्त वातावरण, सांस्कृतिक सौन्दर्य र बौद्ध दर्शनको मौलिकता बोकेको छ। आवश्यक पूर्वाधार, प्रभावकारी प्रवद्र्धन र सामुदायिक सहभागितासँगै माझखण्ड बुद्ध विहार प्रमुख गन्तव्य बन्ने पूर्ण क्षमता राख्छ।
बुद्धले गरेको ध्यान– वर्षाबास
अधिकांश तामाङले महायानीको बाटो समात्छन् तर तपाईंले थेरावादी बाटो समात्नु भयो। किन ?
ठूलोबुबा चन्द्रबहादुरलगायतको समूहले माझखण्डमा बुद्ध विहार बनाउनु भयो। जहाँ बुद्ध धर्म र बुद्ध भगवान्बारे नियमित धर्मकर्म हुन्थ्यो। सानोछँदै त्यहाँ गएर धर्मबारे सुन्थ्यौं। हरेक शनिबार प्रवचन हुन्थ्यो। धार्मिक गतिविधिसँगै मेरो आस्था पनि बढ्यो। जसले परियति शिक्षातर्फ लाग्ने प्रेरणा दियो। एसएलसी सकेसँगै यतातिर लागें।
विहारमा हरेक वर्ष वर्षाबास हुन्छ। यो भनेको के हो ?
वर्षात्को समयमा तीन महिनासम्म एकै ठाउँमा बसिने भएकाले पाली भाषामा वर्षाबास भन्छौं। असार पूर्णिमादेखि असोज पूर्णिमासम्मको तीन महिना प्रवजितहरू एकै ठाउँमा बसेर बुद्ध शिक्षालाई प्रचारप्रसार गर्ने र आत्मसाथ गर्ने काम हुन्छ। वर्षात्को समयमा बाहिर हिँड्दा धेरै कीटपतंगलाई कुल्चने र मार्ने सम्भावना बढी हुने हुँदा नराम्रो कर्मबाट बच्न र अन्य विपत्तिबाट पनि सुरक्षित हुन वर्षात्को समयमा एकै ठाउँमा बसेर ध्यान र अध्ययन गरिन्छ।
एकाग्रता, एकमन र एक चित्तले ध्यान गर्दा लाभ हुन्छ भन्ने विश्वास छ जुन निकै जटिल छ। कारणबस वर्षाबास बस्ने ध्यानी साताभन्दा बढी गयल हुन पुगे वर्षाबास बिग्रेको मानिन्छ। भगवान् बुद्धले बुद्धकालीन समयमै तीन महिना एकै ठाउँमा बसेर अधिस्थान लिनु भएको थियो। यो त्यसैको निरन्तरता हो।
नबोली तीन महिना ध्यान साधनामा बस्नुपर्छ। कथिन चीवर दान भनेको के हो ?
वर्षाबास सकेपछि हर्षोल्लासका साथ दान कार्य हुन्छ। यही पुण्य कर्मलाई कथिन चीवर दान भनिन्छ। यो बेलामा भन्ते, गुरुमा, उपासक, उपासिकाले पञ्चशीलप्रति प्रतिबद्ध भएर दान गर्नुहुन्छ। त्यो दान भनेको भिक्षु वा भन्तेले लगाउने लुगा हो। जसलाई चीवर भनिन्छ। यतिबेला चीवरमात्रै नभएर खानेकुरा तथा अन्य सामग्री र रकम पनि दान गरिन्छ। कठिन चीवर दान यसै समयमा मात्रै गरिन्छ। भन्तेका कपडा बढीमा तीन सेट मात्रै लगाउन पाउने नियम छ। त्यस्तो कपडालाई चीवर भनिन्छ। चीवरको जोरजाम यही समयमा मात्रै गरिन्छ।
यस्तो दान जसले पनि गर्न सक्छ। जहिले पनि गर्न पाइँदैन। उठेको रकम विहार वा भिक्षु संघलाई नै दिइन्छ। प्रतिबद्धताबाट दायाँबायाँ हुन पनि पाइँदैन। सत्वचन र सत्कर्मको पालना महत्त्वपूर्ण हुन्छ। हुन त सत्चरित्र, सत्मार्ग पनि उत्तिकै महत्त्वपूर्ण नै छन्।
माझखण्डमा नै ध्यान किन ?
माझखण्डको रुद्रेश्वर मन्दिर तथा विहार आसपासमा छुट्टै भाइब्रेसन आउँछ। रुद्रेश्वर वरपर ध्यान बस्नै पर्दैन, हिँड्दा नै छुट्टै ऊर्जा प्राप्त हुन्छ। परापूर्वकालमा तपस्वीहरूले तपस्या गरेर सिद्ध प्राप्त गर्नु भएको किंवदन्ती छ। सायद त्यसैले होला यहाँ ध्यानका लागि एकपटक पुग्नु भएका धार्मिक अनुयायी पुनः जान चाहनुहुन्छ। यहाँको ऊर्जाबारे थाहा पाउन एकपटक माझखण्ड पुग्नैपर्ने हुन्छ। यो ठाउँ एकान्त छ। बुद्धकालीन समयको जस्तो परिवेश भएकाले र प्राकृतिक छटामा ध्यान बस्न पाउँदा ध्यानीहरू आह्लादित हुन्छन्। रुखमुनि बसेर र खाली गोडा हिँड्दा पनि एकाग्रता भएको र स्मृति बढेको अनुभव ध्यानीहरूले सुनाउनु हुन्छ।
प्रतिक्रिया दिनुहोस !