election background

प्रतिनिधि सभा निर्वाचन २०८२

जीवन, तिमीलाई सलाम !

अनुभूति

जीवन, तिमीलाई सलाम !

सबैभन्दा धेरै प्रेम लेखेछु। यो नै सबैभन्दा शक्तिशाली चिज रहेछ। त्यसपछि प्रकृति लेखेछु। मानवता र करुणाको कथा लेखेछु।

उमेरको प्रसंग उठ्दा जोन कोलिन्सको भनाइ सम्झन्छु, ‘उमेर भनेको एउटा संख्यामात्र हो।’ लाग्छ, यो संख्यामात्र होइन। उमेरसँगै जीवनमा परिवर्तन पनि आउँँछ। शारीरिक, मानसिक अवस्थामा फेरबदल आउँछ। माघ २ मा ४० पुग्दैछु। मान्छेको जीवनमा ४० वर्षले विशेष स्थान लिएको हुन्छ।

बाँच्न सफल भएर यो समयसम्म आइपुग्नु सितीमिति उपलब्धि होइन जस्तो लाग्छ। मान्छेको चोला पाउनु धेरै महत्त्वपूर्ण अबसर हो। यो सुन्दर संसारमा आमाको कोखबाट आउनु अहोभाग्य हो। यो दुनियाँको प्रत्यक्षदर्शी भएर अनुभव लिइरहेछु। हरेक वर्ष झैं जन्मदिनमा भावुक र सोचमग्न हुन्छु। अचम्म लाग्छ, जीवनरूपी नाट्यशालामा एक कलाकार बन्ने मौका पाएकी छु र अभिनय गरिरहेकी छु। थरीथरी सम्बोधनको भूमिका निर्वाह गर्नुछ।

अविस्मरणीय छ मानिसको जीवन। वर्तमान समय लेखक भएका नाताले हरेक विषयलाई नौलो शैलीमा सोच्नु मेरो विशेषता हो। कोलाज र क्यानभासको अन्तद्र्वन्द्व हेर्छु। भित्तामा झुन्ड्याइएको क्यालेन्डरमा पल्टाइरहन्छु। जन्मदिनमा पुगेपछि चिह्न लगाउँछु। आफू धर्तीमा आरेखित हुँँदाको माहोलमा विचरण गर्छु। तेह्रथुमको आठराई चुहानडाँँडास्थित जन्मघर सम्झन्छु। आहा ! मेरो आगमनलाई वहार बनाउने धन्यवाद ए जन्मभूमि !

माघ–२ सर्वप्रिय दिन। कहिले मुस्कुराउँछु त कहिले गम्भीर बन्छु। अक्षर र भावना सिलाउन जन्मिएछु जस्तो लाग्छ। किताबका पानामा लेखनको इम्ब्राइडरी गर्न मन लाग्छ। त्यो चिसो माघले लेखपढमा मरिहत्ते गर्ने मान्छे जन्माएको रहेछ। जब लेख्ने पढ्नेबारे सोच्छु, तब आफूभित्र न्यानोपना प्रवेश गरेजस्तो लाग्छ। अक्षरप्रेम मृगतृष्णा हो मेरो। प्राप्य अनि अप्राप्य संवेगको सँगालो हो।

स्मृति र विस्मृतिमा लुकामारी गरिरहेको मझधार परिस्थिति। कयौं घटनाको झझल्कोले रन्थन्याइरहेको छ, आफूलाई। कतिपय गरिसकेका काम छन् त कतिपय गर्न बाँकी। विपनामा अनुवादित हुन जुर्मुराएका सपना छन्। गन्तव्यमा चुम्न अहोरात्र खटिरहेछु। सलाम छ त्यो जन्मदिनलाई। चुनौतीले भरिपूर्ण मेरो जिन्दगीलाई। हरेक पाइलामा जंघार आए पनि पार गर्ने ल्याकत र हिम्मतको जोहो गरेकी छु। जसले जीवनयात्रालाई यहाँसम्म ल्यायो। जीवनयान सकुशल अवतरण गरायो। आउँँदो उडानका लागि पनि निरन्तर सवार छु। यो संसारमा आएँ र त देख्न अनि भोग्न पाएँँ। धन्य, मेरा सृष्टिकर्ता ! सुवर्ण मौका प्रदान गरेकोमा।

अर्थपूर्ण जीवन बिताउन चाहन्छु। यो धर्तीमा केही न केही कृति राखेर जान मन छ। ४० पछिको समयलाई अझ मूल्यवान् र उर्बर बनाउने प्रण गर्छु। अविस्मरणीय घटनाको महफिल जमाउने जमर्को गर्छु। अझ लिनुपर्नेछ अथाह ज्ञान। वर्षमा सीमित राख्न नसक्ने अनुभव मिलेको छ। किताबमा नभएको पाठ संघर्षले सिकाएको छ। कोमल छ यो हृदय। चिन्तनशील छ मस्तिष्क। कतिपय मर्मस्पर्शी कुराले सजल बनाउँछन् नजर। आफूलाई सिर्जनातिर जोड्छु। सबैभन्दा धेरै प्रेम लेखेछु। यो नै सबैभन्दा शक्तिशाली चिज रहेछ। प्रेमको विषयले मेरो अध्ययन र लेखनलाई अत्यधिक प्रभावित गरेको छ। त्यसपछि प्रकृति लेखेछु। मानवता र करुणा लेखेछु। मूर्त–अमूर्त दुवै तत्त्वको साथमा भलाकुसारी गरेछु। मौखिक र लिखित अन्तर्क्रिया गरेछु।

जतिजति उमेर बित्यो, त्यति नै वास्तविकतासँग नजिक जाउँजस्तो लाग्दो रहेछ। जीवनको औधी माया लाग्दो रहेछ। किसिम–किसिमका अनुभूति छन्। सम्झनाको ध्वजा मुटुमा उभिएर फहराइरहेछ। अब पनि भरपूर बाँच्नु छ। प्रेम दिनुछ, प्रेम लिनुछ। भरसक कसैको मन नदुखाउँ लाग्छ। आफू हाँँसेर अरूको पनि खुसी चाहान्छु। मान्छे भएर जन्मिएपछि मानवता प्रथम प्राथमिकता हुनुपर्छ। यो मेरो मान्यता हो। आत्मीयताको पर्चा हरेक आत्माभित्र टाँस्नु छ। अझै जन्मिएको माहोललाई रौनकमय बनाउनु छ। जन्मोत्सव सदा भव्य बनिरहोस्। शब्द र प्रणयको जादुले दिल दिललाई मोहित बनाऊ।

मान्छे भएर जन्म लिन पाउनु अहोभाग्य हो। त्यसैले आफूलाई माया गरौं। जन्मिँदाको साइतमा पाएको समयको भरपूर सदुपयोग गरौं। छैटीमा लेखेको भाग्यलाई भोगौं। बाँचौ र बचाऔं। अकालमा आफैंलाई नमारौं। स्वयं अस्तित्वको विवेचना गरौं। पृथ्वीमा दुःखसुख साटासाट गर्न आएका हौं। हिचकिचाहटबिना आपत्विपदमा साथ देऔं।

उमेरको गन्तीमा एउटा अंक थपिए पनि अभिलाषा घटेको छैन, नघटाऔं। आगामी पल मनमोहक बनाउन आशाको बीजारोपण गरेकी छु। जीवनपर्यन्त मुस्कुराइरहन चाहान्छु। हरेक वर्षको जन्मदिनलाई स्वागत छ। बाँचुञ्जेल प्रेमोल्लासको होली खेल्न पाउँ। जुझारु मान्छे बन्न सकूँ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.