रानीजस्तै रानी झरना

रानीजस्तै रानी झरना

रानी झरनाको मनोरम दृश्य र मनोकामना पूरा हुने विश्वासका कारण त्यसबेलाकी रानी बेलाबेला झरनामा नुहाउन आउने गर्थिन्।

झट्ट हेर्दा स्वर्गको एक टुक्रा धर्तीमा खसेको जस्तै लाग्छ। सुनसान जंगलमा छङछङ बगेको झरना गर्जिरहन्छ। झरेको पानी नीलो दहमा फैलिएको छ। यही दहलाई ब्रह्माण्ड ठान्दै पौडिरहेका माछाहरू देख्दा यस्तो लाग्छ, भगवान्ले पनि यो ठाउँलाई निकै फुर्सदमा सिर्जना गरेका हुन्।

जंगलको बीच भागको सिमसार क्षेत्र उत्तिकै रमणीय छ। छेउमा भएको शिव मन्दिरमा बजिरहने शंखघण्टको आवाजले। मन्दिरमा बजिरहने टङटङ घण्टीको कर्णप्रिय धुनले हरकोहीलाई लट्ठ बनाउँछ। यस्तै छ, रानी झरना पुगेर फर्कने पर्यटकको अनुहारमा देखिने माधुर्य पनि। उफ, सम्झँदा पनि मनैदेखि रोमाञ्चकता थपिने। जोकसैलाई लाग्छ, प्रेमील मान्छेका साथ लागेर पुगिहालँु। अनि, परिवार र आफन्त भेला पारेर घुम्न हिँडौं जस्तो। नलागोस् पनि किन ? जहाँ पुगेपछि सारा दुःख बिर्सन्छ मानिस। तनाव, निराशा र रिस पर राखेर रमाउँछ जो कोही।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने रानी झरना प्रचुर पर्यटनको सम्भावना बोकेको स्थान हो। दोभान बजारदेखि पश्चिममा रहेको यस रानी झरनामा पुग्न गणेशटोल, झ्याङ्ला, बगाहा हँुदै पाँच किलोमिटरको दूरी पार गर्नुपर्छ। बगाहा गाउँको बाटो हुँदै पुगिन्छ रानी झरना। झरना बगेर ढाप खोला बनेको देखिन्छ। झरना वारपार गर्न झोलुंगे पुल छ। झरनाको छेउमै छ शिवमन्दिर। मन्दिर पुग्न काठको कलात्मक रेलिङ हालिएको छ। यो झरनाको माथि छ, राजारानी सामुदायिक वन। हरियाली गाउँ हुँदै पुगिने राजाराजी वनको कथा झनै बेग्लै छ।

प्राचीन किवंदन्ती र मिथअनुसार १८७२/७३ सालमा नेपाल–अंग्रेज युद्धको बेला पाल्पाको नुवाकोटगढी जितगढी युद्धपुर्व यस क्षेत्रमा 
भुरे–टाकुरे राजाहरूले राज गर्थे। यसको प्रमाणस्वरूप रानी झरनाभन्दा ३.५ किमिमाथि राजा बस्ने धुरी अहिले पनि यथावत् छ। यस रानी झरनाको मनोरम दृश्य र मनोकामना पूरा हुने विश्वासका कारण त्यस समयकी रानी बेलाबेला झरनामा नुहाउन आउने गर्थिन्। यहाँ आएर नुहाउँदा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ।

एक दिन यस झरनाबाट बनेको पोखरीमा रानीले नुहाउने क्रममा सुनको औंठी पोखरीमा खसेको किंवदन्ती छ। उक्त औंठी पोखरीका माछाले निलेका थिए। अनि यहाँ पाइने सबै माछाहरू नै सुनौला रंगका बनेका थिए। यसलै झरनाको पानीले पनि रंग बदलिरहन्छ भन्ने जनश्रुति छ। बूढापाका भन्छन्, यहाँ कोही धार्मिक व्यक्ति गयो भने उसले सुनको मुन्द्री लगाएका माछाहरू देख्न सक्नेछन्। झरनाको वरिपरि नागहरू प्रशस्तै देखिने स्थानीय बताउँछन्।

स्थानीय एवं अध्येता चक्रव्यूह थापाका अनुसार अहिले पनि उक्त स्थानमा नागका आकृति र भगवान्का स्वरूपहरू देखिन्छन्। प्राकृतिक र धार्मिक महत्त्व बोकेको यो स्थान देशविदेशका पर्यटकको आगमनको पर्खाइमा छ। यहाँको शिवमन्दिर निकै शक्तिशाली रहेको थापाको भनाइ छ। उनी भन्छन्, ‘नागपञ्चमी, शिवरात्रि, माघेसंक्रान्तिजस्ता धार्मिक दिनहरूमा यहाँको पोखरीमा स्नान गरी, पूजाआजा गरेमा सम्पूर्ण दुःख निवारण हुन्छ भन्ने विश्वास छ। मनोकामना पूरा हुने र रोगव्याधि निको हुने विश्वास छ ।

तिनाउ गाउँपालिकाले यस झरनाको संरक्षण गर्न विभिन्न पहल गरिरहेको छ। पालिका अध्यक्ष प्रेम श्रेष्ठ भन्छन्, ‘नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत रानी झरना हेर्न हजारौं मानिस आउँछन्। उनीहरूलाई झरना भएकै गाउँमा बस्ने र केही दिन बिताउने व्यवस्था गर्न पहल गरिरहेका छौं। नजिकैको गाउँमा होमस्टे सञ्चालनका लागि सहकार्य गरिरहेका छौं।’ हरेक वर्ष बजेट छुट्ट्याएर रानी झरना सरसफाइ र शिवमन्दिर संरक्षण गरिरहेको उनको भनाइ छ।

तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा रानी झरना पाल्पाको मात्रै नभएर नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देख्छन्। उनी भन्छन्, ‘संरक्षण र प्रचारप्रसारको अभावले केही समय अघिसम्म सुनसान रहेको यो स्थान अहिले भने हजारौं पर्यटकलाई स्वागत गरिरहेको छ। पालिकाले त्यहाँसम्म पुग्न बाटो पनि निर्माण गरेको छ।’ स्थानीय चक्रव्यूह थापा भन्छन्, ‘एउटा शक्तिशाली रानीको नामबाट नामकरण भएको यो स्थान चर्चित छ। यहाँ पुग्ने हरकोही रमाउँदै खुसी हुँदै फर्कन्छन्।’

भारतीय सहरबाट समेत पर्यटक आउने क्रम बढ्दो छ। विहार, उत्तरप्रदेशका स्थानीय समूह नै बनाएर रानी झरना हेर्न आउँछन्। पूजा गर्छन्। यहाँ आउनेले सिद्धबाबा मन्दिर, विश्वशान्ति गुम्बा, अविरल पार्क, सुकेताल, राजा झरना घुम्न र दर्शन गर्न सक्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.