सुषुप्तिको गहिरो अध्ययनले अन्ततः पाठकलाई एउटै प्रश्नको सामु उभ्याएर छाड्छ। त्यो प्रश्न हो– ‘म को हुँ ?’ जुन चेतनाको साक्षी हो। त्यही बिन्दुमा सुषुप्ति ऐना बन्छ।
शरीरमा सास भित्र तान्ने र भित्रको सास बाहिर फाल्ने प्रक्रिया निरन्तर चलिरहन्छ। हामी सचेत हुँदा पनि यो चल्छ, अचेत हुँदा पनि। सास चलाइरहने त्यो को हो ? यही प्रश्नबाट चेतनाको रहस्य सुरु हुन्छ।
अब यहाँनेर प्रश्न पनि मीठो उठ्छ– सबै कुरा मौन हुँदा पनि त्यो ‘मलाई मीठो निद्रा लाग्यो’ भन्ने अनुभव कसले ग¥यो ? रात परेको छ, दिनभरिको कामले शरीर थाकेर चुपचाप छ, मनले आफ्ना सारा कथाहरू बिसाएको छ र बुद्धि प्रश्नहरूरहित अवस्थामा छ अर्थात् निर्णयविहीन अवस्थामा छ।
अतः त्यो अनुभव न शरीरको हो, न मनको, न बुद्धिको। त्यसो भए यो अनुभव गर्ने को हो त ?
अस्तित्वमा हुनेलाई ‘आफू छु’ अर्थात् ‘म छु’ भन्ने यादै नभएको अवस्थामा, उसलाई संसारको कुनै पनि चिन्ता नभएको अवस्थामा निद्राको त्यो मीठो मिठास जान्ने को हो ? त्यसलाई अनुभव गर्ने को हो ? हो यही मिठास जान्ने त्यो मौन साक्षी भनेकै सुषुप्ति हो।
माथिको अनुच्छेदबाट हामीलाई स्पष्ट हुन्छ– सुषुप्तिमा चेतना नष्ट हुँदो रहेनछ। अर्को के पनि स्पष्ट हुन्छ भने सुषुप्ति परम शान्तिको अनुभूति होइन, बरु परम शान्तिको नजिकको अवस्थान हो।
शास्त्रका नजरमा सुषुप्ति : वैदिक दर्शनका अनुसार सुषुप्तिलाई गहिरो निद्राका रूपमा मात्रै बुझ्न मिल्दैन। खासमा यो आत्मस्वरूपको साक्षात्कारसँग जोडिएको अवस्था हो। अर्थात्, यो आत्मा र ब्रह्मको प्रतिदिनको मिलन हो, जुन कुरा आत्मा स्वयंलाई थाहा हुँदैन। आउनुस्, अब यसलाई उपनिषद्, वेदान्त, योगशास्त्र, बौद्धिक व्याख्या आदिका दृष्टिबाट बुझौं–
माण्डुक्य उपनिषद्को पाँचौं श्लोकले भन्दछ–
यत्र सुप्तो न कञ्चन कामं कामयते
न कञ्चन स्वप्नं पश्यति तत् सुषुप्तम्।
अर्थ हो– जहाँ मानिस न कुनै इच्छा गर्छ, न कुनै स्वप्न देख्छ, त्यो अवस्था भनेकै सुषुप्ति हो। यहाँ मन, बुद्धि, अहंकार सबै हराउँछन् तर– आत्मा नष्ट हुँदैन। यतिबेला आत्मा अव्यक्त रूपमा रहन्छ। बृहदारण्यक उपनिषद्को श्लोक–४.३.१९ मा भनिएको छ–
यत्र तु अस्य सर्वं आत्मैवाभूत् तत् केन कं पश्येत् ? अर्थात्, जब सबै वस्तु आत्मा नै बनेको हुन्छ, त्यहाँ कसले कसलाई देखोस् ? यसको तात्पर्य हो– सुषुप्तिमा द्वैतता पूर्णतः हुँदैन। यसैले, यतिबेला अनुभव र अनुभवकर्ताको बीचमा कुनै भेद रहन्न।
यस प्रकार सुषुप्ति आत्माको परम गति हो, जहाँ आत्मा सबै इच्छा, कर्म र अनुभवबाट विश्राम लिएर ब्रह्ममा विलीन हुन्छ। यो आत्माको विश्रान्तिको अवस्था हो, शान्तिको अवस्था हो। तर– अज्ञानको शान्ति। अतः यो मुक्तिको अवस्था भने होइन। किनकि सुषुप्तिमा आत्मा ब्रह्ममा त रहन्छ, तर ‘म ब्रह्म हुँ’ भन्ने ज्ञान उसमा निदाएको हुन्छ।
बृहदारण्यक उपनिषद्को श्लोक–२.१.१९ ले यसलाई अरू स्पष्ट पार्दै भनेको छ– यो सर्वसाधारणलाई प्राप्त अज्ञानावृत्त आभासको स्थिति हो। जब ऊ गहिरो निद्रामा सुत्दछ, जुनबेला ऊ कसैको बारेमा केही पनि जान्दैन। त्यसबेला हितानामका जुन ७२ हजार नाडीहरू हृदयबाट सम्पूर्ण शरीरमा व्याप्त भएर रहेका छन्। तिनीहरूद्वारा बुद्धिका साथ गई ऊ शरीरमा व्याप्त भएर शयन गर्दछ। जसरी कुनै बालक वा महाराज अथवा महाब्राह्मणले आनन्दको दुःखनाशिनी अवस्था प्राप्त गरेर शयन गर्दछ, त्यसै प्रकारले ऊ शयन गर्दछ।
आदि शंकराचार्य यसलाई स्पष्ट पार्दै भन्छन्– यो त्यस्तो अवस्था हो, जहाँ सूर्य बादलले ढाकिएको छ तर हराएको छैन। उहाँ भन्नुहुन्छ–सुषुप्तौ अहं सुखमस्वाप्सम् न किञ्चिदवेदिषम्।
अर्थात्, ‘म सुखले सुतें, मैले केही जानिनँ’ भन्ने स्मृति उसमा उठिसकेपछि हुन्छ। यसले के प्रमाणित गर्छ भने– सुषुप्तिमा आनन्द छ, यसको साक्षी चेतना छ तर ज्ञानको विषय छैन। यसका लागि उहाँले अर्को उदाहरण दिनुहुन्छ– जसरी दिनभरि आकाशमा उडेको पन्छी साँझमा आफ्नै गुँडमा फर्किन्छ, त्यसरी नै आत्मा पनि दिनभरि इन्द्रियहरूसँग खेल्छ, कर्म गर्छ, संसार भोग्छ र थाक्छ; अनि थाकेपछि राति ब्रह्मको काखमा फर्किन्छ।
तर उसको त्यो फर्काइमा स्मृति हुँदैन।
छान्दोग्य उपनिषद्को श्लोक–६.९.१ ले भन्छ–
स यथा सौम्य मधु मधुकृतो
नानारसान् संहृत्यैकं रसां करोति...!
अथवा– जसरी मौरीले विभिन्न फूलका रस लिएर एक रसयुक्त मह बनाउँछ। सबै रस एकत्र भइसकेपछि ती रसले म फलाना वृक्षको हुँ भन्दैनन् वा म फलानो हुँ भन्दैनन्, त्यसैगरी सुषुप्तिमा सबै इन्द्रियका वृत्तिहरू एकत्वमा विलीन हुन्छन्। यसमा चेतना रहन्छ तर विभाजन रहँदैन।
योगशास्त्र (पतञ्जलि योगसूत्र) १.१० ले ‘अभावप्रत्ययालम्बना वृत्तिर्निद्रा’ अर्थात् विषयको अभावलाई आधार बनाउने चित्तवृत्ति नै निद्रा (सुषुप्ति) हो भनेर बताएको छ। यसको तात्पर्य– निद्रा पनि चित्तवृत्ति नै हो, तर शून्यता होइन, भन्ने हो।
- सुषुप्तिलाई केवल निद्रा नभई आत्माको दैनिकी भेटघाट ठानेर हेर्न थाले भने, ‘म को हुँ ?’ भन्ने प्रश्न उत्तार होइन, अनुभूति बन्न थाल्छ। र, यही अनुभूति नै आत्मज्ञानतर्फको पहिलो, निःशब्द पाइला हो।
- बृहदारण्यक उपनिषद्को श्लोक–२.१.१९ ले भनेको छ– सुषुप्ति सर्वसाधारणलाई प्राप्त अज्ञानावृत्ता आभासको स्थिति हो। जब ऊ गहिरो निद्रामा सुत्दछ, त्यसबेला हितानामका जुन ७२ हजार नाडी हृदयबाट बुद्घिका साथ शरीरमा व्याप्त भएर शयन गर्दछ।
- आधुनिक न्युरोसाइन्सका अनुसार– गहिरो निद्रामा मस्तिष्कका धेरै भाग शान्त हुन्छन्, तर चेतना शून्य हुँदैन। यसले सिद्घ गर्न खोजेको के हो भने– ‘सुषुप्तिमा चेतना लोप हुँदैन तर अभिव्यक्ति बन्द हुन्छ। यो त्यो अवस्था हो– जहाँ अनुभव हुँदैन, तर अस्तित्व हुन्छ।’
यसरी शास्त्रहरूद्वारा सुषुप्तिमाथि बताइएका तथ्यहरूको सार हो– सुषुप्ति मोक्ष होइन तर मोक्षको स्वाद हो। यो आँखा बन्द गरेर सूर्यको मुनि उभिएको व्यक्तिजस्तै हो। सूर्य उसैको माथि छ तर उसलाई आफैंमाथि सूर्य छ भन्ने अनुभव छैन। सुषुप्ति किन मोक्ष होइन ? : संक्षिप्तमा यी दुईको भेदलाई यसरी बुझ्न सकिन्छ– सुषुप्तिमा दुःख हुँदैन, तर अज्ञान हुन्छ। मोक्षमा दुःख हुँदैन र अज्ञान पनि हुँदैन।
माण्डुक्य उपनिषद्–५ ले भने झैं सुषुप्तिमा– इच्छा छैन, स्वप्न छैन र मन, बुद्धि, अहंकार सबै लीन छन्। तर माथि शंकराचार्यले बताए अनुसार सुषुप्तिमा मीठो निद्राको अनुभव त हुन्छ, तर उसलाई यो थाहा हुँदैन।
ब्रह्मसूत्र– ४.१.३ को श्लोक ‘आनन्दो ब्रह्मेति व्यजानात्’का अनुसार मोक्ष भनेको ब्रह्मको आनन्द रूप हो। पूर्ण ज्ञानसहितको आनन्द हो। अतः मोक्षमा दुःख हुँदैन र अज्ञान पनि हुँदैन। मोक्षमा ‘अहं ब्रह्मास्मि’को ज्ञान हुन्छ। त्यसो त यी दुवैमा दुःख हुँदैन। सुषुप्तिमा चेतना अप्रकट हुन्छ भने मोक्षमा पूर्ण रूपमा प्रकट हुन्छ र यसमा ‘म’को पूर्ण बोध हुन्छ। बेहोसी पनि दुःखरहित हुन्छ, तर मोक्ष होइन।
अब यसलाई एकै वाक्यमा टुंग्याउँदा– सुषुप्ति दुःखको अभाव हो भने मोक्ष अज्ञानको अन्त्य हो। वा– सुषुप्ति मोक्षजस्तै लाग्छ तर त्यो अज्ञानसहितको आनन्द हो। मोक्ष ज्ञानसहितको आनन्द हो।
विज्ञानको दृष्टिमा–सुषुप्ति : आधुनिक न्युरोसाइन्सका अनुसार– गहिरो निद्रामा मस्तिष्कका धेरै भाग शान्त हुन्छन्, तर चेतना शून्य हुँदैन। यसले सिद्ध गर्न खोजेको के हो भने– ‘सुषुप्तिमा चेतना लोप हुँदैन तर अभिव्यक्ति बन्द हुन्छ। यो त्यो अवस्था हो–
जहाँ अनुभव हुँदैन, तर अस्तित्व हुन्छ।’
त्यसो त कुनै पनि वैज्ञानिकले सुषुप्तिलाई सिद्ध गरेका छैनन्। तर यसले सुषुप्तिलाई यसरी बताएको छ– यो एक मस्तिष्क अत्यन्तै ढिलो तर स्थिर तरंग (जसलाई डेल्टा तरंग पनि भनिन्छ) मा चलिरहेको अवस्था हो।
जुन अवस्थामा आँखा, कान, जिब्रो, छालाजस्ता इन्द्रियहरू पूर्णतः बन्द जस्तै हुन्छन्। यो अवस्थामा कुनै पनि सपना देखिँदैन। यतिबेला दिमागले बाहिरी संसारको जानकारी लिँदैन तर मस्तिष्क बन्द हुँदैन– मात्रै चुपचापको अवस्थामा हुन्छ। यसलाई बुझ्न तपाईंहरूलाई एउटा सरल उदाहरण बताउँछु–
तपाईंहरूले एउटा खेत सम्झनुहोला, जहाँ किसानहरूले खेत जोत्ने, खन्ने र बीउ छर्ने काम गरिरहेछन्। तर त्यही खेत राति भने चुपचाप हुन्छ। त्यहाँ न हलो चल्छ न त कोदालो नै। न त त्यहाँ जोत्ने गोरुहरू हुन्छन्, न त कुनै किसानहरू नै। खेत सुनसान अवस्थामा हुन्छ। तर, भित्र माटोले भने काम गरिरहेकै हुन्छ– बेर्नो सर्छ र बीउको फुट्ने तयारी हुन्छ। सुषुप्ति भनेको त्यही रातिको खेत जस्तै बाहिर शान्त, भित्र कर्महरूको गतिको अवस्था हो।
अर्थात् यो दिउँसो जोत्न गएका गोरुहरूको राति बाँधिएको अवस्था हो। यतिबेला गोरु जोत्न जाँदैन तर उसभित्र सास चलिरहेको हुन्छ। उसमा शक्ति संकलन भइरहेको हुन्छ।
विज्ञान यहीसम्म आएर चुपचाप हुन्छ। अनि यहाँबाट पछाडि उपनिषद्हरू बोल्न थाल्छन्।
सुषुप्ति : गणितको सरल भाषामा : अब सुषुप्तिलाई गणितको अत्यन्त साधारण भाषामा बुझौं।
मानौं, कसैले १० रुपैयाँ बोकेको छ। ऊ हिँड्दै जान्छ र हरेक पाइलामा एकेक रुपैयाँ खसाल्दै जान्छ। जब ऊ १० पाइला हिँड्छ, उसँग भएको १० रुपैयाँ सबै सकिन्छ। अब ऊसँग कत्ति पनि पैसा रहँदैन।
अब यहाँ एउटा प्रश्न उठ्छ– उससँग पैसा नहुनु भनेको के ऊ आफैं हरायो त ?
पक्कै होइन। ऊ सकिएको होइन, सकिएको त केवल उसको पैसा हो। ऊ त त्यहीँ उभिएको छ, उस्तै छ।
यही सुषुप्तिको पहिलो संकेत हो। सुषुप्तिमा पनि यस्तै हुन्छ। विचारहरू सकिन्छन्, चेतना सकिँदैन। चलायमान वस्तुहरू हराउँछन्, अनुभोक्ता बाँकी रहन्छ।
मनको घट्ने गणित : अब अर्को उदाहरणबाट बुझौं। दिनभरि हाम्रो मनमा अनेक कुराहरू जम्मा हुन्छन्। जस्तैः एउटा चिन्ता, एउटा डर, एउटा इच्छा, एउटा रिस, एउटा सम्झना...
यसरी मानौं, दिनभरि मनमा १० वटा विचारहरू जम्मा भए। जब साँझ पर्छ र सुत्ने समय नजिकिन्छ, ती विचारहरू पनि थाक्न थाल्छन्। एकेक गर्दै बिस्तारै हराउँदै जान्छन्। अन्ततः मनमा कुनै पनि विचार बाँकी रहँदैनन्।
अब यहाँ अर्को प्रश्न उठ्न सक्छ– मनमा विचार नै नहुनु भनेको के मन पनि मर्नु हो ? पक्कै होइन। बरु यो त मन मरेको अवस्था नभएर, मन शान्त भएको अवस्था हो। मनको यही गहिरो शान्त अवस्था नै सुषुप्ति हो।
एउटै हिसाब, एउटै ध्यान : अब अझ एउटा सानो र सरल गणितलाई हेरौं। मानौं – तपाईं ५ + ५ + ५ जोड्दै हुनुहुन्छ। तपाईं जति पटक जोड्नुहोस्, उत्तर सधैं १५ नै आउँछ। जब हामी बारम्बार एउटै हिसाब गर्छौं, ध्यान त्यहीँ मात्र केन्द्रित हुन्छ। अरू हिसाब, अरू विचार मनमा आउँदैनन्।
सुत्नुअघि पनि यस्तै हुन्छ। यदि सुत्नुअघि मनले एउटा कुनै राम्रो वाक्य वा मन्त्र वा एउटै शुभ सम्झना समातेको छ भने, मन त्यही एउटै हिसाब गर्दैगर्दै निद्रामा प्रवेश गर्छ।
शून्यमा पुग्नु भनेको के हो ? : वास्तवमा सुत्नु भनेकै शून्यतर्फ जानु हो। यो कुरा सामान्य मान्छेले पनि अनुभवबाट जान्दछ। जस्तै–धेरै आवाज भयो भने निद्रा लाग्दैन, धेरै उज्यालो भयो भने निद्रा लाग्दैन। धेरै हलचल भयो भने पनि निद्रा लाग्दैन।
तर जब आवाज घट्छ, उज्यालो घट्छ, हलचल घट्छ, विचार घट्छ र अन्ततः सबै कुरा शून्यजस्तै भएपछि निद्रा लाग्छ। तर यहाँ एउटा गहिरो कुरा के सम्झनुपर्छ भने– शून्य भनेको खालीपन होइन। शून्य भनेको पूर्ण विश्राम हो।
सुषुप्ति– योगको सरल निष्कर्ष : सुषुप्ति–योगलाई गणितको साधारण भाषामा भन्नुपर्दा, यो सुत्नुअघि मनको हिसाब–किताब मिलाउनु हो।
दिनभरि भएका अनावश्यक जोड–घटाउ रोक्नु हो। मनलाई शून्यमा पुर्याएर, शरीरलाई विश्राम र आत्मालाई उज्यालो दिनु हो। गणितले भन्छ– सबै घटेपछि पनि घटाउने कर्ता बाँकी रहन्छ। अनि यता निद्राले भन्छ– सबै विचार थामिएपछि पनि चेतना बाँकी रहन्छ। यही बाँकी रहने चेतनाको शान्त अनुभव नै सुषुप्ति–योग हो।
आउनुस्, सुषुप्ति–योगलाई राम्ररी बुझौं– सुषुप्ति योग । जसलाई आत्मयोग वा तुर्ययोगको प्रत्यक्ष अनुभव छैन, उनीहरूले पनि गहिरो निद्रा अर्थात् सुषुप्तिको अनुभूति अवश्य गर्छन्। जाग्रत र स्वप्न अवस्था सुषुप्तिभन्दा तलका अवस्था हुन् र ती सबैलाई सामान्य मानिसले पनि अनुभव गर्न सक्छन्। यी तीन
अवस्थामध्ये सुषुप्ति अवस्था ब्रह्मरूपताको अत्यन्त निकट अवस्था हो। यस अवस्थामा कुनै प्रयास बिना नै ब्रह्मानन्दको क्षीण तर शुद्ध अनुभूति प्राप्त हुन्छ।
यदि सुषुप्ति अवस्थाको अनुभवलाई सूक्ष्म रूपमा विचार गरियो भने शरीर र आत्मा भिन्न हुन् भन्ने सत्य स्वतः स्पष्ट हुन्छ। विशेषगरी, जाग्रत अवस्थाको अन्त र निद्राको प्रारम्भबीचको सन्धि अवस्थामा प्रवेश गर्दा, त्यहाँ अनुभव हुने चेतनाको सूक्ष्म स्पर्शले आत्मा शरीरभन्दा पृथक् सत्ता हो भन्ने बोध गराउन थाल्छ।
यदि यस सन्धि अवस्थाको अनुभूतिलाई सजगतापूर्वक अवलोकन गरियो भने एक वर्षभित्रै आत्मा र शरीरको भिन्नताको प्रत्यक्ष अनुभूति हुन थाल्छ। यस सन्धिकालमा मनमा जुन विचार स्थिर रहन्छ, त्यही विचार पुनः जाग्रत अवस्थामा फर्किंदासम्म सूक्ष्म रूपमा विद्यमान रहन्छ। केवल त्यतिमात्र होइन, त्यो विचारले हाम्रो स्थूल, सूक्ष्म र कारण तीनै शरीरहरूमा निरन्तर प्रभाव पारिरहेको हुन्छ।
यही कारण सुत्नुअघि मनमा उत्पन्न हुने शुभ वा अशुभ विचारअनुसार शरीरमा असल वा खराब परिणाम देखा पर्दछन्। त्यसैले सुत्न जाने क्षण अर्थात् जागरण र निद्राबीचको सन्धि काल, अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यस समयमा मनमा केवल शुभ, शान्त र आरोग्यमय विचारहरू स्थिर पार्ने अभ्यास अत्यावश्यक छ। उदाहरणका लागि, जब शरीरमा कुनै रोग हुन्छ, तब सुत्नुअघि मनमा ‘म स्वस्थ छु’ भन्ने आरोग्यको विचार दृढतापूर्वक स्थापित गरी गहिरो निद्रामा प्रवेश गर्न सकेमा भोलिपल्ट उठ्दा रोगमा केही न केही सुधार अवश्य अनुभूत हुन्छ।
अतः यस अवस्थामा शरीरको भयानक रोग र त्यसको दुखाइलाई पनि बिर्सिन्छ। वास्तवमा मन नै अमृत हो। सुविचारद्वारा मनले शरीरमा आरोग्य, शान्ति र सन्तुलन स्थापना गर्न सक्दछ। यही मनको सूक्ष्म शक्ति, सुषुप्ति अवस्थामा निःशब्द रूपमा कार्यरत रहन्छ र त्यही निःशब्द कार्य नै आत्मिक उन्नतिको आधार बन्छ।
सुषुप्ति अवस्थामा सुविचारलाई स्थिर पार्ने अभ्यासलाई नै सुषुप्ति–योग भनिन्छ। जाग्रत अवस्थाको अन्त र निद्राको आरम्भबीचको यो सन्धिकाल अत्यन्त सूक्ष्म र प्रभावशाली हुन्छ। यस समयमा मनमा शुभ विचारहरूलाई दृढतापूर्वक स्थिर राख्ने उपाय अपनाउनु आवश्यक छ।
यसका लागि सबैभन्दा सरल र प्रभावकारी उपाय हो– कुनै उत्तम मन्त्रलाई त्यसको अर्थको चिन्तनसहित जप्दै–जप्दै निद्रामा प्रवेश गर्ने प्रयत्न गर्नु। जब यस्तो अभ्यास निरन्तर गरिन्छ, तब भोलिपल्ट बिहान उठ्दा त्यही मन्त्र मनमा स्वतः स्फुरण भइरहेको अनुभव हुन थाल्छ। यस्तो अनुभूति हुनुको अर्थ हो– उक्त मन्त्रको विचार रातभरि मनमा स्थिर रह्यो।
यो मानसिक जप ओछ्यानमै सुती–सुती गर्न सकिन्छ। यस अभ्यासका क्रममा सम्भव भएसम्म मनमा अन्य कुनै विचार प्रवेश गर्न नदिने प्रयास गर्नुपर्दछ। मन्त्र जपको समयमा, कुनै महापुरुषको पवित्र जीवन–प्रसंग, त्याग, करुणा वा आत्मबलको चिन्तन पनि लिन सकिन्छ।
यस सन्धिकालको साधनाबाट आरोग्य स्थापनामा, दुव्र्यसन निवृत्तिमा तथा शुभ गुणहरूको ग्रहणमा अद्भुत लाभ प्राप्त हुन्छ। किनकि यस समयमा रोपिएको विचार मनको गहिराइमा सूक्ष्म र शान्त रूपमा अंकुरित हुन्छ र सुषुप्तिको शान्त गर्भमा परिपक्व हुँदै जीवनमा फल दिन थाल्छ।
निष्कर्ष : ‘म को हुँ ?’ भन्ने प्रश्नको ऐनामा सुषुप्ति सुषुप्तिको गहिरो अध्ययनले अन्ततः पाठकलाई एउटै प्रश्नको सामु उभ्याएर छाड्छ। त्यो प्रश्न हो– ‘म को हुँ ?’ दिनभरि जसलाई हामी ‘म’ ठान्छौं, त्यो शरीर थाक्छ, मन थाक्छ, बुद्धि पनि थाक्छ। तर गहिरो निद्रामा यी सबै विश्राममा जाँदा पनि बिहान उठेर हामी भन्छौं– ‘क्या मीठो निद्रा लाग्यो !’ यदि शरीर, मन र बुद्धि सबै शान्त थिए भने त्यो सुख जान्ने ‘म’ को हो ?
यही बिन्दुमा सुषुप्ति ऐना बन्छ। त्यस ऐनामा हेर्दा शरीर देखिँदैन, विचार देखिँदैन, नाम–रूप केही देखिँदैन। तर पनि अस्तित्वको अनुभूति बाँकी रहन्छ।
त्यो नै चेतनाको साक्षी हो, जो न बोल्छ, न सोच्छ, तर सधैं उपस्थित भइरहन्छ। सुषुप्तिले हामीलाई सिकाउँछ कि ‘म’ कुनै भूमिका होइन, कुनै कथा होइन, कुनै चिन्ता होइन; ‘म’ त ती सबैलाई आएको गएको हेर्ने मौन उपस्थिति हुँ।
सुषुप्ति मोक्ष होइन, तर मोक्षतर्फ इशारा गर्ने मौन संकेत हो। यहाँ दुःख छैन, तर अज्ञान छ; आनन्द छ, तर आत्मबोध छैन। यही कारण सुषुप्तिले हामीलाई प्रत्येक दिन सम्झाइरहन्छ– तिमी त्यो होइनौ, जुन थाकेर हराउँछ; तिमी त्यो हौ, जो हराउँदा पनि बाँकी रहन्छ।
यदि पाठकले सुषुप्तिलाई केवल निद्रा नभई आत्माको दैनिकी भेटघाट ठानेर हेर्न थाले भने, ‘म को हुँ ?’ भन्ने प्रश्न उत्तर होइन, अनुभूति बन्न थाल्छ। र, यही अनुभूति नै आत्मज्ञानतर्फको पहिलो, निःशब्द पाइला हो। हरि ॐ तत्सत् !
प्रतिक्रिया दिनुहोस !