सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा
सुनसरी : सगरमाथा लोकमार्ग अन्तर्गतको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशी नदीको फोक्सिङटारमा निर्माण गरिएको बेलिब्रिजको निर्माण सम्पन्न भएको छ। बेलिब्रिज बनेपछि लामो समयदेखि अवरुद्ध बनेको गाईघाट–दिक्तेल सडक सञ्चालनमा आएको छ।
सुनकोशीमा पुल नभएकाले ८ महिनादेखि सडक अवरुद्ध हुँदा खोटाङ जिल्लाको जनजीवन, व्यापार, यातायात र सेवा प्रवाहमा गम्भीर असर परेको थियो। अहिले बेलिब्रिज जडानको काम सम्पन्न भएपछि गाईघाट–दिक्तेल सडक सञ्चालनमा आएसँगै यातायातका साधन गुड्न थालेको फोक्सिङटारका व्यापारी उमेश रिजालले बताए।
२०८१ असोज १२ गते आएको अविरल वर्षासँगैको बाढीले फोक्सिङटारस्थित सुनकोशी नदीमाथिको पक्की पुल बगाएपछि खोटाङ जिल्ला प्राकृतिक नाकाबन्दीको अवस्थामा पुगेको थियो। पुल बगेसँगै दिक्तेल–गाईघाट सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। यस सडक खण्ड खोटाङलाई तराई तथा प्रदेश राजधानीसँग जोड्ने मुख्य मार्ग भएकाले पुल बग्नु जिल्लाका लागि ठूलो संकट बनेको थियो। बिरामीलाई अस्पताल लैजान, दैनिक उपभोग्य वस्तु भित्र्याउन तथा निर्माण सामग्री ढुवानी गर्न अत्यन्त कठिनाइ भएको थियो। सुनकोशीमा बेलिब्रिज बनेसँगै खोटाङवासीका लागि अस्थायी समाधान भएको छ।
दिक्तेल–गाईघाट सडक आयोजनाका प्रमुख इन्जिनियर दिपेश रजकले बेलिब्रिज निर्माणको काम सम्पन्न गरी शनिबारदेखि गाईघाट–दिक्तेल सडकमा यातायातका साधन सुचारु गरिएको जानकारी दिए। उनले बेलिब्रिजको संरचना जडान, डेक प्लेट बिछ्याउने र पहुँच मार्ग मिलाउने काम सकिएपछि सडक सञ्चालनमा ल्याइएको जानकारी दिए।
यो बेलिब्रिज निर्माणका लागि गाईघाट–दिक्तेल सडक आयोजनाले ९६ लाख ७७ हजार ९३७ रुपैयाँ लागतमा एम/एस आर्यन कन्स्ट्रक्सन मल्टी प्रपोज, कटारी–३ उदयपुरसँग ठेक्का सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले सीमित समय र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच पनि कामलाई निरन्तरता दिँदै तोकिएको समयमै बेलिब्रिज निर्माणको काम सम्पन्न गरेको जानकारी दिएको छ।
बेलिब्रिज बनेसँगै खोटाङ र उदयपुर जिल्लाका बासिन्दालाई आवतजावतमा सहज हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेश राईले बताए। उनका अनुसार यस पुलले खोटाङ जिल्लाका नागरिकलाई प्रदेश राजधानी विराटनगर, तराईका विभिन्न जिल्ला तथा ठूला अस्पतालसम्म पुग्न सजिलो बनाउनेछ। बेलिब्रिज बनेपछि खोटाङवासीहरू ओखलढुंगा र भोजपुर हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएकाले समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको खोटाङवासीले बताएका छन्।
उद्योग वाणिज्य संघ खोटाङका महासचिव अजय बस्नेतले सुनकोशीमा बेलिब्रिज निर्माण भएपछि जिल्लामा दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी सहज हुने बताए। सडक अवरुद्ध हुँदा खाद्यान्न, इन्धन, औषधि र अन्य सामग्रीको मूल्य बढेको उल्लेख गर्दै उनले सडक खुल्नासाथ व्यापार व्यवसायले पुनः गति लिने विश्वास व्यक्त गरे। निर्माण सामग्री सहज रूपमा भित्रिन थालेपछि विकास निर्माणका काम पनि तीव्र हुने उनको भनाइ छ।
स्थानीय बासिन्दाले बेलिब्रिज निर्माणलाई अस्थायी भए पनि तत्कालका लागि अत्यन्त आवश्यक समाधानका रूपमा लिएका छन्। दीर्घकालीन रूपमा भने स्थायी र मजबुत पुल निर्माण गर्न सरकारको ध्यान जानुपर्ने खोटाङवासीको भनाइ छ। लामो समयको कठिनाइपछि सडक खुल्ने आशाले यहाँका नागरिकमा नयाँ उत्साह र आशा थपिएको खोटाङका व्यवसायी मनोजराज आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस !