साउदी अरेबियामा मनाइयो पृथ्वी जयन्ती
साउदी : साउदी अरेबियामा पृथ्वी जयन्ती मनाइएको छ। पानस साउदी अरेबियाको आयोजनामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती मनाइएको हो।
साउदीको जुबेल शहरमा आयोजना गरिएको कार्यक्रममा श्रद्धाञ्जलि अर्पण गरिनुको साथै प्रतिकूल समयलाई मध्यनजर गर्दै समारोहमा उपस्थित वक्ताहरूले नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान र उनको जीवनी बारे उल्लेख गरेका थिए।
उपस्थित वक्ताहरुले राष्ट्रनिर्मातालाई राज्यले सोही अनुसारको सम्मान दिन चुकेको भन्दै पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राज्यले सार्वजनिक बिदा तथा हरेक क्षेत्रमा सालिक बनाउनु पर्नेमा जोड दिनुको साथै राष्ट्र प्रेमले भरिएको पृथ्वीनारायण शाहको हरेक दिव्योपदेश आज पनि उत्तिकै सन्दर्भिका र मननयोग्य रहेकाले कुनै पनि वादका नाममा इतिहासलाई कसैले फेरबदल गर्न नमिल्ने धारणा समेत राखेका थिए।
इतिहासलाई सम्झँदै पृथ्वीनारायण शाहको फोटो सम्झना स्वरूप हरेक नेपालीको घर घरमा हुनुपर्ने र इतिहासलाई सम्झनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा पानस साउदी अध्यक्ष कुवेर हुमागाईंले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन व्यक्त गर्दै हरेक वर्ष साउदी अरबमा पृथ्वी जयन्ती मनाउनुको साथै राप्रपा जहिले पनि विचारमा केन्द्रित हुने र राष्ट्रको हितमा सदैव लाग्ने बताए।
कार्यक्रममा नेपाली दूतावास, भातृसंगठन, एनआरएन, सामाजिक संस्थाका प्रतिनिधि लगायत अन्य नेपाली समुदायको उपस्थित रहेको थियो।
प्रतिक्रिया दिनुहोस !