election background

प्रतिनिधि सभा निर्वाचन २०८२

थाक्दैछ मुटु, बढ्दैछ हृदयघात

थाक्दैछ मुटु, बढ्दैछ हृदयघात

काठमाडौं : शरीरको थाक्न नपाउने अंग हो, मुटु। यही मुटु थाकेर अचानक काम गर्न छोड्दा कलाकार प्रशान्त तामाङ ४२ वर्षमै अस्ताए। घरमा होस् वा अस्पताल पुर्‍याउँदै गर्दा तामाङकै उमेर समूहका युवाहरूको ज्यान हृदयघातले लिइरहेको छ। छातीको बीच भागमा रहेको मुटुले कार्य गर्न नसक्दा तामाङ जस्ता युवाले अल्पायुमै ज्यान गुमाइरहेका छन्। 

७ वर्षअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको पनि मुटुजन्य समस्याकै कारण अल्पायुमै निधन भएको थियो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीका अनुसार युवाहरूमा हृदयघात (हार्ट अट्याक) समस्या बढ्दै गएको छ। डा.रेग्मी भन्छन्, ‘नेपालमा १८/२० वर्षदेखि ५० वर्षका युवाहरूमा मुटुजन्य समस्या बढ्दो छ। हृदयघातका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।’

के हो हृदयाघात ?    

मुटुरोग विशेषज्ञका अनुसार महिला र पुरुषमा हृदयघातको लक्षण फरक–फरक हुन सक्छन्। छातीको बीच भागमा गहिरोसँग अप्ठ्यारो भयो भने मुटुको समस्या हुन सक्छ। पुरुषलाई चाहिँ छातीको बीच भागमा दुख्ने हुन्छ। हृदयघातको लक्षण बायाँतिर सर्छ। तर, महिलामा ढाडको तल्लो भागतिर सर्छ। 
 हृदयघात (हार्ट अट्याक)  हुँदा मुटुको नशा बन्द भएर मांसपेशीमा रगत आपूर्ति हुन पाउँदैन। जसबाट मुटुको मांसपेशीसमेत मृत हुन पुग्छ। त्यसपछि मुटुले राम्रोसँग कार्य गर्न नसकेर रोकिन्छ। त्यस्तै मुटुले नै शरीरलाई चाहिनेजति रगत पम्प गर्न नसकेको अवस्था हार्ट फेल हो। मुटु चल्न बन्द हुने अवस्थालाई चिकित्सकीय भाषामा सडेन कार्डियाक अरेस्ट भनिन्छ। ‘हार्ट अट्याक, हार्ट फेल र सडेन कार्डियाक अरेस्टबाट ज्यान गुमाउनेहरूको संख्या बढेको बढ्यै छ,’ डा.रेग्मी भन्छन्, ‘हार्ट अट्याक भएपछि हार्ट फेल हुन पुग्छ । अन्ततः मुटु चल्न बन्द (रोकिएको) अवस्था नै कार्डियाक अरेस्ट हो।’ मुटुको धड्कनमा समस्या भएर पनि हृदयघात हुन्छ। मुटुको धड्कनमा हुने समस्यालाई एरिदमया भनिन्छ। 

किन हुन्छ पुरुषलाई बढी ?     
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीका  अनुसार अस्वस्थ जीवनशैली र तनाबका कारण पुरुषहरूलाई हृदयघात बढी भएको पाइएको छ। ‘अस्वस्थकर खानपान र जीवनशैली र मानसिक तनावकै कारण पुरुषहरूमा हृदयघात बढी हुने गरेको छ,’ डा.रेग्मी भन्छन्, ‘पुरुषहरूले जंक फुडका साथै बढी धूमपान, मद्यपान पनि गर्छन्। जुन हृदयघातका लागि कारक मानिन्छ।’

महिलाको मुटु किन कमजोर ?    
मुटुरोग विशेषज्ञका अनुसार, मुटुको तौल पुरुषको तुलनामा महिलामा ५० देखि १ सय ग्रामसम्म कम हुन्छ । त्यस्तै मुटुको साइज पनि पुरुषको भन्दा अलि सानो हुन्छ। पुरुषको भन्दा महिलाको मुटु छिटो धडकन्छ। ‘हृदयघात बढी पुरुषलाई हुन्छ, मृत्यु बढी महिलाको हुन्छ,’ वरिष्ठ  मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन्, ‘ महिलाको मुटु कमलो हुन्छ। सानो हृदयघातले पनि मुटुलाई क्षति पुर्‍याउँछ।’ डा.रेग्मीका अनुसार महिलाको मुटुको मांसपेशी पुरुषको भन्दा कमलो हुन्छ। मुटुका नसाहरू पनि पातला हुन्छन्। पुरुषको भन्दा महिलाको मुटु बढी संवेनदशील हुन्छ।

हृदयघातको केही हदसम्म रक्षाकवच मानिन्छ, एस्ट्रोजेन हर्मोन। महिलामा यो हर्मोन धेरै पाइन्छ। महिनावारी सुकेको अवस्था (मेनोपज) पछि यो हर्मोनको लेबल घट्न पुग्ने हुँदा हृदयघातको जोखिम महिलामा बढी हुने मुटुरोग विशेषज्ञको दाबी छ। 

‘महिलामा मुटुसम्बन्धी समस्या आएमा पुरुषलाई भन्दा बढी जटिलता हुने हुन्छ। मृत्यु हुने जोखिम पनि बढी हुन्छ। एउटै तहको हृदयघात महिला र पुरुषलाई भयो भने मृत्यु हुने सम्भावना पुरुषमा भन्दा महिलामा बढी हुन्छ,’ डा. रेग्मीले भने।

खानपान र जीवनशैली सुधारौं
युवावस्थामै मुटुजन्य समस्याले सताउनुको मुख्य कारण हो, अस्वस्थ खानपान र जीवनशैली। मुटुरोग विशेषज्ञहरूको सुझाव छ, ‘स्वस्थ खाऔं। सक्रिय जीवनशैली अपनाऔं। नियमित व्यायाम गरौं। मध्यपान र धूमपान नगरौं।’ उच्चरक्त चाप, मधुमेह नियन्त्रणमा ल्याउनुपर्ने मुटुरोग विशेषज्ञको सुझाव छ। 

वरिष्ठ कार्डियोभास्कुलर सर्जन प्राडा उत्तमकृष्ण श्रेष्ठका अनुसार हृदयघात हुनेबित्तिकै सुविधायुक्त अस्पतालमा पुर्‍याउने र समयमै उपचार भएमा ज्यान जोगिन सक्छ। 
‘हृदयघात भएको शंका लाग्नेबित्तिकै अस्पताल पुर्‍याई हाल्नुपर्छ,’ प्राडा.  श्रेष्ठ भन्छन, ‘हृदयघात हुनेबित्तिकै अस्पतालमा ल्याईपुर्‍याएमा ९० देखि ९५ प्रतिशतको जीवन जोगाउन सकिन्छ।’ रक्तनलीहरू धेरै साँगुरिएको वा बन्द भएको छ भने  खुलाउनका लागि एन्जियोप्लास्टी तथा स्टेन्ट गरिन्छ।  ९० मिनेटभित्र बन्द भएको नसा खुलाउन सकेमा ज्यान जोगाउन सकिने विज्ञहरूको भनाइ छ। 

मुटुका धेरै रक्तनलीहरू बन्द भएको अवस्थामा बाइपास सर्जरी गरिन्छ। प्राडा श्रेष्ठ भन्छन्, ‘हृदयघात हुँदैमा ज्यान गइहाल्ने हुँदैन। हृदयघात भएका व्यक्तिहरू पनि समयमै उपचार गराएर बाँचिरहेका उदाहरण धेरै छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.