जोखिममा तन्नेरी मुटु
जब देश तनावमुक्त बन्छ, तब मात्रै नागरिक साँच्चै स्वस्थ हुन सक्छन्। नागरिकको स्वास्थ्य बचाउन सोही अनुरूपको नीति तीनै तहका सरकारमा हुन जरुरी छ।
मुटु थाक्न नपाउने अंग हो। तर पछिल्लो समय यही मुटु अचानक थाकेर काम गर्न छोड्दा युवावस्थामै ज्यान जाने घटनाहरू बढ्दै गएका छन्। युवावस्थामै असामयिक मृत्यु भएका केही घटनाले नेपालमा मुटुरोग अब वृद्धावस्थाको समस्यामात्र रहेन भन्ने यथार्थ उजागर गरिरहेछ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीका अनुसार नेपालमा १८–२० वर्षदेखि ५० वर्ष उमेरसमूहका युवामा हृदयघातको जोखिम तीव्र रूपमा बढ्दो छ। यो अवस्था व्यक्तिगत लापरबाहीमात्रै होइन, मुलुकको सामाजिक, आर्थिक र मानसिक तनावसँग गहिरो रूपमा जोडिएको विषय हो। हृदयघात तब हुन्छ, जब मुटुको नसा बन्द भई मांसपेशीमा रगत पुग्दैन। यसले हार्ट अट्याक, हार्ट फेल हुँदै सडेन कार्डियाक अरेस्टसम्म पुर्याउँछ। तथ्यांकअनुसार हृदयघात बढी पुरुषमा देखिन्छ तर मृत्युको जोखिम महिलामा बढी हुन्छ। महिलाको मुटु आकार र तौलमा सानो तथा मांसपेशी कमलो हुने भएकाले सानो हृदयघातले पनि गम्भीर क्षति पुर्याउने चिकित्सकहरूको भनाइ छ। अझ मेनोपजपछि एस्ट्रोजेन हर्मोन घट्दा महिलामा जोखिम झन् बढ्छ।
मुटुरोग बढ्नुको प्रमुख कारण अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धूमपान–मद्यपान र मानसिक तनाव हो। नेपाल अहिले गहिरो राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको छ। बेरोजगारी, महँगी, अनिश्चित भविष्य र अस्थिर शासन व्यवस्थाले नागरिकमा निरन्तर तनाव सिर्जना गरिरहेको छ। यही तनावले रक्तचाप, मधुमेह र मुटुरोगलाई बढावा दिएको छ। किसान, उद्यमी, श्रमिक, युवा सबै वर्ग मानसिक दबाबमा बाँचिरहेका छन्। यस्तो अवस्थामा चिकित्सको केवल ‘स्वस्थ खानू’ भन्ने सुझाव पर्याप्त हुँदैन। तनाव व्यवस्थापन आज सार्वजनिक स्वास्थ्य नीतिको केन्द्रमा हुनुपर्छ। बुद्धको देश नेपालमा विपश्यना, ध्यान र योगजस्ता अभ्यास केवल आध्यात्मिक अभ्यास होइनन्, वैज्ञानिक रूपमा प्रमाणित तनाव न्यूनीकरणका उपाय हुन्। सरकारले विद्यालय, कलेज, कार्यालय र समुदाय तहमा ध्यान र मानसिक स्वास्थ्य कार्यक्रमलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो। तनावमुक्त नागरिक नै स्वस्थ नागरिक हुन्छन्। स्वस्थ नागरिकबिना समृद्ध राष्ट्रको कल्पना सम्भव छैन।
अर्काेतर्फ, गम्भीर मुटुरोगको उपचारका लागि स्वास्थ्य संस्थाको स्तरोन्नति पनि पहिलो प्राथमिकतामा पर्नुपर्छ। कार्डियो भास्कुलर चिकित्सकका अनुसार हृदयघात भएको ९० मिनेटभित्र उपचार पाउन सके ९०–९५ प्रतिशतसम्म ज्यान जोगाउन सकिन्छ। तर देशभर यस्तो सुविधा सर्वसुलभ छैन। ग्रामीण भेगमा एम्बुलेन्स, प्रशिक्षित जनशक्ति र अत्याधुनिक उपकरणको अभावले धेरैको ज्यान गइरहेको छ। नेपालमा मृत्यु हुने चारजना व्यक्तिमध्ये एक रक्तनली बन्द भएर हुने गरेको तथ्यांक छ। अर्थात्, मृत्युको २५ प्रतिशत हिस्सा मुटुरोगले लिएको छ। मुटु बचाउने जिम्मेवारी व्यक्तिमा मात्र थोपर्न मिल्दैन। स्वस्थ जीवनशैली अपनाउने संस्कार नागरिकले विकास गर्नुपर्छ, तर त्यसका लागि वातावरण राज्यले बनाइदिनुपर्छ। राजनीतिक स्थिरता, आर्थिक सुरक्षा, मानसिक स्वास्थ्य नीति र गुणस्तरीय स्वास्थ्य सेवा यी सबै एकआपसमा जोडिएका छन्।
जब देश तनावमुक्त बन्छ, तब मात्रै नागरिक साँच्चै स्वस्थ हुन सक्छन्। नागरिकको स्वास्थ्य बचाउन सोही अनुरूपको नीति तीनै तहका सरकारमा हुन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !