एन्फा राष्ट्रिय लिग : काँक्रेविहारमाथि फ्रेन्ड्सको विजयी सुरुवात, चर्चव्बाइज र श्री भगवतीले अंक बाँडे
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय लिग २०८२ को उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले सुर्खेतको काँक्रेविहार क्लबमाथि ३–१ को जितसहित लिगमा सुखद सुरुवात गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैटौं मिनेटमा फ्रेन्ड्सका राइटब्याक कमल श्रेष्ठको आत्मघाती गोलमार्फत काँक्रेविहारले अप्रत्याशित अग्रता लिएको थियो। पहिलो हाफको थप गरिएको इन्जुरी समयमा सेन्ट्रल मिडफिल्डर प्रशान्त लक्समले गोल गर्दै फ्रेन्ड्स क्लबलाई बराबरीमा ल्याएका थिए।
खेलको ५९औँ मिनेटमा फरवार्ड प्रवेश बस्नेतको गोलमा फ्रेन्ड्सले अग्रता लियो। निर्धारित समयको अन्तिम मिनेटमा अर्का फरवार्ड आशिष चापागाईँले गोल गरेपछि फ्रेन्ड्सको जित सुनिश्चित भएको हो।
लिगको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र श्री भगवती क्लबले अंक बाँडेका छन्। चर्चव्बाइज र श्री भगवतीले १–१ गोल गरे।
पहिलो हाफमा हरिहर बुढा मगरको गोलमा पहिलो हाफमा अग्रता बनाएको श्री भगवतीले अग्रता जोगाउन सकेन। खेलको ४५ औँ मिनेटमा हरिहरले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए।
खेलको ५६ औँ मिनेटमा चर्चब्वाइज युनाइटेडका कप्तान एरिक विष्टले सेटपिसमार्फत गोल हान्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि भने दुवै टोलीले गोल गर्न सकेनन्।
प्रतिक्रिया दिनुहोस !