सन्तानका आँखा ठीक त छन् ?
छोरीले सेतोपाटीमा लेखेको अक्षर प्रस्ट नदेखेको थाहा पाउँदा खोटाङका दीपक दाहाल झसंग भए। छोरीलाई तीलगंगा आँखा अस्पताल, काठमाडौंमा जँचाए। दाहाल भन्छन्, ‘अहिले बल्ल थाहा भयो छोरीलाई त मायोपिया भएको रहेछ। चश्मा लगाउनु पर्यो। अहिले पढाइ लेखाइमा पनि सुधार आएको छ।’
ओखलढुंगाकी ८ वर्षीया समीक्षा (नाम परिवर्तन) तीन कक्षामा पढछन्। शिक्षकले सेतोपाटीमा लेखेको नदेखेपछि अभिभावकसँग जँचाउन गइन्। एउटा आँखामा अदूरदृष्टि (मायोपिया)को समस्या पत्ता लाग्यो। अहिले माइनस चार पावरको चश्मा लगाउँछिन्। उनलाई टाढाको अक्षर देख्न, पढ्न सजिलो भएको छ।
सन्तानका आँखा जँचाउनेतर्फ अभिभावकले पनि खासै हेक्का राख्दैनन्। विद्यालयमा पनि आँखा जाँच हुँदैन। जसका कारण बालबालिका एवं किशोरकिशोरीहरूलाई समस्या भएको छ। अभिभावकमात्र नभई शिक्षकहरूको पनि खासै चासो र चिन्ता लिएको पाइँदैन।
के हो अदूरदृष्टि (मायोपिया) ?
बाल आँखा रोग विशेषज्ञहरूका अनुसार, दृष्टि दोष दुई किसिमको हुन्छ –दूरदृष्टि (हाइपरट्रोपिया) र अदूरदृष्टि (मायोपिया)। पछिल्लो समय स्कुले विद्यार्थीमा अदूरदृष्टि (मायोपिया)को समस्या देखिएको आँखा रोग विशेषज्ञहरू बताउँछन्। तीलगंगा आँखा अस्पतालको बाल आँखा रोग विभागकी प्रमुख डा. सिर्जना अधिकारीका अनुसार, भित्तामा टाँसिएको सेतोपाटीमा शिक्षकले लेखिरहेको बेला बेन्चमा बसेको विद्यार्थीले प्रस्टसँग देख्न सकेन भने अदूरदृष्टि (मायोपिया) को समस्या भएको हुन सक्छ। डा. अधिकारी भन्छिन्, ‘टाढाका वस्तुहरू धमिलो देख्ने समस्या भएका बालबालिकालाई मायोपिया भएको हुन सक्छ।’
डा. अधिकारीका अनुसार, अदूरदृष्टि भएका बालबालिकाले नजिकका वस्तुहरू स्पष्ट देख्न सक्छन्। तर टाढाको धमिलो देख्छन्। प्रस्टसँग देख्न सक्दैनन्। जसका कारण सेतोपाटीमा शिक्षकले लेखेको नदेखेर नजिकै बसेको साथीको कापीबाट सार्छन् वा सोध्छन्। तीलगंगा आँखा अस्पतालमा जँचाउन आएकी ७ कक्षाकी एक छात्रा भन्छिन्, ‘सरले लेख्नु भएको प्रस्टसँग नदेखेपछि छेउको साथीलाई सोध्थें। साथीले झर्कोफर्को गर्दै त्यत्ति पनि देख्निस् भन्दा चित्त दुख्थ्यो।’
वरिष्ठ बाल आँखा रोग विशेषज्ञ डा. अधिकारीका अनुसार, अदूरदृष्टि भएका विद्यार्थीहरू उपचार गर्न आउने क्रम बढ्दो छ। यो समस्याको समयमा उपचार गर्न नपाएका कारण कतिपयलाई स्कुलमा पढ्न लेख्न नै समस्या भएको । कतिपयको दैनिक जीवनमा नै नकारात्मक प्रभाव पारेको डा. अधिकारी बताउँछिन्। नेपालमा एक सय बालबालिकामा ८ जनामा दृष्टि दोषको समस्या भएको अनुमान छ।
सन्तानको आँखा जँचाउन आएका अभिभावकहरू छोराछोरीका पढाइको स्तर खस्केको थाहा पाएको तर कारण पत्ता पाउन नसकिएको बताउँछन्। ‘पहिला–पहिला छोरीको पढाइ राम्रो थियो। तर विस्तारै खस्किँदै गयो,’ एक अभिभावकले भनिन्, ‘शिक्षकले सेतोपाटीमा लेखेको देख्न अप्ठेरो भएको र छेउको साथीलाई सोध्दा झर्केको सुनाएकी थिइन्। त्यसपछि बल्ल आँखामा समस्या हो कि ? भन्ने शंका लाग्यो। उपचार गराए पछि भेद खुल्यो।’
प्रस्टसँग आँखा देख्न नसकेकै कारण कतिपय बालबालिका स्कुल जान नचाहने र पढाइलेखाइ एवं सिकाइमा समस्या हुने बालमनोचिकित्सकहरू बताउँछन्। कान्ति बाल अस्पतालका वरिष्ठ बालमनोचिकित्सक डा. अरुणराज कुँवर भन्छन्, ‘छोराछोरीलाई के समस्या भइरहेको छ ? किन विद्यालय जान मन गर्दैन ? पढाइमा किन मन लगाउँदैनन् ? किन नतिजा खस्किरहेको छ ? भन्नेतर्फ अभिभावकले चिन्ता गर्छन्। तर, कारण पत्ता लगाउन खोजीनीति गर्दैनन्।’
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला शिक्षकले अलि चनाखो भएर विद्यार्थीले कति टाढासम्मको हेर्न सक्छ ? भनेर सामान्य जाँच गर्न सक्ने बताउँछन्। प्राडा कोइराला भन्छन्, ‘घरमा पनि अभिभावकले छोराछोरीले कति दूरीसम्मका देख्न सक्छ ? भनेर अक्षरको जाँच गर्ने हो भने समस्या थाहा पाउन सकिन्छ। यसमा अभिभावक र शिक्षक दुवै पक्ष सजग भए पुग्छ।’
अभिभावक–शिक्षक सम्बन्ध कमजोर भएकै कारण विद्यार्थीलाई अदूरदृष्टि (मायोपिया)को पहिचानमा ढिलाइ हुने गरेको छ। शिक्षाविद् डा. कोइराला थप्छन्, ‘शिक्षक सँगसँगै अभिभावकले पनि विद्यार्थीको आँखा जाँच सम्बन्धमा ख्याल गर्नुपर्छ। शिक्षकलाई आँखा परीक्षणसम्बन्धी सामान्य तालिम दिनु नै प्रभावकारी उपाय हो।’
आँखा अस्पताल वा आँखा परीक्षण केन्द्रसँग समन्वय गरेर पनि विद्यार्थीको जाँच गराउन सकिन्छ। डा. कोइरालाका अनुसार, शिक्षक महासंघको तर्फबाट तालिमको व्यवस्था गर्ने वा अपिलको रूपमा सन्देश प्रवाह गर्ने हो भने अदूरदृष्टि (मायोपिया)को पहिचान छिट्टै गर्न सकिन्छ।’
छोरीलाई मायोपियाको उपचार गराएका अभिभावक दीपक दाहाल शिक्षकले लेखेको पढ्न सक्छौ कि सक्दैनौ ? भन्दै सोध्ने अथवा साथी वा शिक्षकसँग सोधपुछ गर्नुपर्ने सल्लाह दिन्छन्। नेपाल अभिभावक संघका अध्यक्ष भण्डारी आँखामात्र नभई कानको पनि समस्या पनि हुन सक्ने भएकोले विद्यालयले अनिवार्य रूपमा स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन्। अभिभावकले घर नजिकैका आँखा अस्पताल, आँखा उपचार केन्द्र र शिविरमा जँचाउन सक्छन्।
राष्ट्रिय खोपमै आँखा परीक्षण जरुरी
अभिभावकहरूले सन्तानलाई सबै खोपहरू लगाउन जति महत्त्व दिन्छन्, त्यस्तै महत्त्व आँखालगायतका अंगहरूको पनि जाँचलाई पनि दिनुपर्ने चिकित्सकहरूको सुझाव छ। डा. अधिकारीका अनुसार, विद्यालय भर्ना अगाडि नै बालबालिकाको आँखा जाँच गराउनु पर्छ। डा. अधिकारी थप्छिन्, ‘सरकारले राष्ट्रिय खोप कार्यक्रममा आँखा जाँचलाई पनि समावेश गर्ने हो भने समयमै यो समस्या पहिचान हुन्थ्यो। समयमै उपचार गर्न पाए समस्या भएका बालबालिकाले पढ्ने, लेख्ने बेला अनावश्यक तनाव व्यहोर्नु पर्दैनथ्यो।’
अभिभावक, विद्यालय, स्थानीय सरकारले पनि आँखा परीक्षणलाई प्राथमिकता दिनुपर्ने डा. अधिकारीको सुझाव छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले आधारभूत स्वास्थ्य सेवाको आँखा स्वास्थ्य सेवालाई समेटेको छ। तर, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत आँखा स्वास्थ्यसेवाको सञ्जाल बनाई वडातहसम्म विस्तार कार्यान्वयन भएको छैन।
राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६)मा आँखा स्वास्थ्यसम्बन्धी दिशा निर्देश गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आँखा स्वास्थ्यसम्बन्धी उच्चस्तरीय समिति गठन गरिने उल्लेख छ। राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६)मा आँखा स्वास्थ्यसम्बन्धी दिशा निर्देश गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आँखा स्वास्थ्यसम्बन्धी उच्चस्तरीय समिति गठन गरिने उल्लेख छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शिशु अवस्थामा (जन्मेपछि दुई वर्ष अवधि) र प्रि–स्कुलिङ (२ देखि ६ वर्ष ) र स्कुल भर्ना भइसके पछि (६ वर्षपछि ) पनि आँखामा जाँच गराउनुपर्ने सुझाएको छ। तर, आँखामा जाँच गराउने कार्यमा न अभिभावक सचेत छन्, न त विद्यालयले नै आँखा जाँच कार्यक्रम गर्छ। डा. अधिकारीका अनुसार, शरीरमा हुने कुनै रोगका कारण पनि बालबालिकाको आँखामा समस्या देखिन सक्छ। शिशु अवस्थामा, विद्यालय भर्ना नहुँदै (प्रिस्कुलिङ) र स्कुल भर्ना गरिसकेपछि पनि आँखा जाँच गर्नुपर्ने सुझाव डा. अधिकारीको छ।
के हो, दृष्टि दोष ?
हाम्रो आँखाले कुनै पनि वस्तुको आकार, प्रकार, रंग, गहिराइ छुट्ट्याउन सक्नुलाई दृष्टि भनिन्छ। हामीले हेरेका वस्तुहरू सफासँग देखिनका लागि वस्तुहरूको आकृति प्रकाशका किरणको सहायताले आँखाभित्रको दृष्टि पर्दासम्म पुग्नुपर्ने डा. अधिकारी बताउँछिन्। यसरी दृष्टि पर्दामा बनेको आकृति दिमागमा पुगेपछि हामीले प्रस्टसँग देख्छौं। तर यदि हामीले हेरेको वस्तुको आकृति दृष्टि पर्दामा नपरी पर्दाको अगाडि वा पछाडि केन्द्रित भएमा हामीले प्रस्टसँग वस्तुहरू देख्न सक्दैनौं वा धमिलो देखिन्छ यो अवस्थालाई दृष्टिदोष भनिन्छ। यो सबैभन्दा सामान्य प्रकारको दृष्टि समस्या हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०५० सम्ममा विश्वको आधा जनसंख्यामा दृष्टि दोष हुने जनाएको छ। नेपालमा प्रति एक सय बालबालिकामा ८ जना र वयस्कहरूमा ११ जनासम्ममा दृष्टिदोष रहेको अनुमान गरिएको छ। जुन चश्मा वा कन्ट्याक्ट लेन्सको प्रयोगले सुधार गर्न सकिने बाल आँखा रोग विशेषज्ञ डा. अधिकारी बताउँछिन्।
दृष्टिदोषका प्रकार
आँखा रोग विशेषज्ञहरूका अनुसार, दृष्टिदोष दुई प्रकारको हुन्छ– दूरदृष्टि (हाइपरट्रोपिया) र अदूरदृष्टि (मायोपिया)।
दूरदृष्टि (हाइपरट्रोपिया)
नजिकका वस्तुहरू धमिलो देख्ने समस्या नै दूरदृष्टि भएका बालबालिकाको समस्या हो। दूरदृष्टि भएका बालबालिकाले टाढाका वस्तुहरू स्पष्ट नदेख्न सक्छन्। डा. अधिकारीका अनुसार यस्तो हुनुमा हामीले हेरेको वस्तुको आकृतिको प्रतिविम्ब दृष्टि पर्दा (रेटिना)भन्दा पछाडि केन्द्रित हुनु हो। यस अवस्थामा टाढाका वस्तुहरू नजिकका वस्तुहरूभन्दा बढी प्रस्ट रूपमा देख्न सकिन्छ।
अदूरदृष्टि (मायोपिया)
टाढाका वस्तुहरू धमिलो देख्ने समस्या भएका बालबालिकालाई मायोपिया भएको हुन सक्छ। अदूरदृष्टिमा मानिसले नजिकका वस्तुहरू स्पष्ट देख्न सक्छन्। हेरेको वस्तुको आकृतिको प्रतिविम्ब दृष्टि पर्दा (रेटिना) भन्दा अगाडि केन्द्रित हुनु हो। डा. अधिकारी भन्छिन्, ‘यो समस्या विशेषगरी बालबालिकामा देखिने समस्या हो। यो समस्या भएका बालबालिका उपचार गर्न आउने क्रम बढ्दो छ। कतिपयलाई स्कुलमा पढ्न लेख्न नै समस्या भएको पाइएको छ। दैनिक जीवनमा प्रभाव पारेको छ।’
दृष्टि दोषका कारण : आँखा रोग विशेषज्ञका अनुसार, दृष्टि दोषका कारणहरूमा आँखाको गेडीको लम्बाइ सामान्यभन्दा लामो वा छोटो हुनु नै हो। आँखाको बाहिरी नानीको आकारमा समस्या हुनु र आँखाको भित्री नानी पछाडि रहेको लेन्सको पारदर्शितामा परिवर्तन हुँदा पनि दृष्टि दोष देखा पर्छ।
जोखिममा को ?
डा. अधिकारीका अनुसार, दृष्टि दोष जसलाई पनि हुन सक्छ। तर यदि परिवारका कुनै सदस्यहरू चस्मा वा कन्ट्याक्ट लेन्स लगाउने गरेका छन् भने परिवारका अन्य सदस्यहरूलाई दृष्टि दोष हुने सम्भावना रहन्छ।
प्रतिक्रिया दिनुहोस !