चिसोबाट जोगिऔं
हिमाल र पहाडमा हिमपात पर्दैछ। तराई (मधेस) मा हुस्सु र शीतलहरले सताउँदै छ। जब हिमपात, बाक्लो हुस्सु, चिसो वातावरण र शीतलहर चल्दछ तब शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुने गर्दछ। शरीरको भित्री तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम भएपछि स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। जुन समस्यालाई हाइपोथर्मिया भनिन्छ। यो एउटा मेडिकल इमरजेन्सी हो जसमा तुरुन्तै उपचारको जरुरत पर्दछ।
शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्दछ। तर त्योभन्दा कम भए शरीर काम्नुको साटो मांसपेशी कडा हुने निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ। तापक्रम कम हुँदा मुख्यतया मुटु, मस्तिष्क वा गिदीजस्ता संवेदनशील अंगहरूमा सजिलै असर पर्दछ। जब गुदद्वारको अर्थात् भित्री तापक्रम २५ डिग्री सेल्सियस वा ७७ डिग्री फरेनहाइटभन्दा कम हुन्छ तब व्यक्तिको मृत्यु हुने हुन्छ।
शीतांग वा हाइपोथर्मियाबाट प्रभावित व्यक्तिलाई उपचारको क्रममा एकैपटक वा छिटो तताउनु हुँदैन। किनभने यसो गर्दा शरीरको रक्तनली एक्कासि फुल्न गई ताप नष्ट हुन्छ र प्रभावित व्यक्ति अचेत भई मृत्यु पनि हुन सक्छ। न्यानो कोठामा राख्ने, तातो झोल खानेकुरा पिउन दिने, न्यानो लुगा लगाइदिने, बाक्लो कपडाले ढाकिदिने र विस्तारै तताउँदै लग्नु पर्दछ। तताउँदा ०.५ देखि १ डिग्री सेल्सियस प्रतिघण्टाका दरले तापक्रम बढाउनु पर्दछ। तर हिटर वा आगो ताप्न दिनु हुँदैन। प्रभावित व्यक्तिको तापक्रम, रक्तचाप नाडीचाल श्वासप्रश्वास दर पटक पटक जाँचिरहने जसबाट शरीर तातिरहेको वा अचेत हुन लागेको वा शरीर तीव्र गतिमा तातिरहेको थाहा हुन्छ। प्लास्टिकको झोला वा स्पेस ब्ल्याङ्केटलाई घाँटीसम्म राखी तातो पार्न सकिन्छ।
हाइपोथर्मियाका अतिरिक्त अत्यधिक चिसो र शीतलहरले रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ। मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले। चिसोले हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउलाको समस्या पनि निम्त्याउन सक्छ।
दाउरा, गुइँठा र कोइलाको प्रयोग, बढी मादक पदार्थ सेवन गर्ने, प्रदूषित र गुम्म परेको बन्द कोठामा आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल र ग्यास हिटर माथि पानी नराखी ताप्ने र बालेरै सुत्ने, तमाखु, चुरोट र सुर्तीजन्य पदार्थको बढी सेवन गर्ने गर्छन्। कार्बनडाइअक्साइड बढी भए विषमा परिणत हुन्छ र अक्सिजन कम हुन जान्छ। जसले गर्दा निसास्सिएर मानिस बेहोस भई मृत्यु हुन्छ। सन्तुलित खाना र पोषणको कमी, रक्तअल्पता आदिले धेरैमा दम, ब्रोङकाइटिस, मुटुसम्बन्धी रोग, निमोनिया लाग्ने गर्दछ साथै हाइपोथर्मिया भएर मृत्युसमेत हुने गर्दछ।
चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन भने धुवाँ धुलोबाट जोगिनु पर्छ। न्यानो लुगा लगाउनु पर्छ। पोषणयुक्त सन्तुलित खाना खानुपर्छ। भिटामिन सी पर्याप्त मात्रामा भएको ताजा फलफूल खानुपर्छ। मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खानुपर्छ। त्यस्तै साबुनपानीले हात धुनुपर्छ। व्यक्तिगत, वातावरणीय सरसफाइमा बढी ध्यान दिनुपर्छ। प्रशस्त मात्रामा झोल पदार्थ खानुपर्छ। धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नु पर्दछ।
प्रतिक्रिया दिनुहोस !