४२ औँ पिस्कर स्मृति दिवसमा ‘जेल भित्रका सङ्घर्ष’ लोकार्पण
काठमाडौं : पञ्चायती निरङ्कुशताविरुद्धको ऐतिहासिक जनआन्दोलनका क्रममा पिस्करमा घटाइएको नरसंहारको स्मरणमा माघ १ गते ४२ औँ पिस्कर स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा लेखक तथा राजनीतिक अभियन्ता सरेश नेपालद्वारा लिखित पुस्तक ‘जेल भित्रका सङ्घर्ष’को लोकार्पण समारोह सम्पन्न भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिस्कर आन्दोलन नेपाली लोकतान्त्रिक आन्दोलनको एक महत्त्वपूर्ण मोड भएको उल्लेख गर्दै निरङ्कुशताविरुद्ध संघर्ष गर्ने शहीद तथा योद्धाहरूको योगदान इतिहासमा अमर रहने बताए।
कार्यक्रममा वक्ता अमृत बोहराले पिस्कर आन्दोलनले जनतामा चेतना र प्रतिरोधको भावना जगाएको उल्लेख गर्दै लोकतन्त्र आजको अवस्थामा आइपुग्नुमा यस्ता आन्दोलनहरूको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे।
लेखक सरेश नेपालले ‘जेलभित्रका सङ्घर्ष’ आफ्नो भोगाइ र अनुभूतिको जगमा लेखिएको र इतिहासको दस्ताबेज भएको दाबी गरे।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी डा. देवी नेपालले प्रस्तुत गर्दै ‘जेल भित्रका सङ्घर्ष’ पञ्चायती शासनकालको राज्य दमन, जेल जीवनको पीडा र राजनीतिक बन्दीहरूको संघर्षलाई जीवन्त रूपमा उतारेको महत्त्वपूर्ण कृति भएको बताए।
प्रतिक्रिया दिनुहोस !